News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुबाट काठमाडौँ आएका गणेश नेपालीले ट्राफिक र नगर प्रहरीको दुर्व्यवहारपछि वीर अस्पतालमा आत्मदाह गर्दा उनको दुखद निधन भएको छ।
- माइतीघर मण्डलमा ८२ दिनदेखि डेराको माग गर्दै आन्दोलनरत सुकुमवासीहरू राज्यको दमन र बासको समस्याका कारण सडकमा बस्न बाध्य भएका छन्।
- पहाडको विकासका लागि पर्यटन, व्यावसायिक कृषि र शिक्षामा लगानी गर्दै गाउँलाई आत्मनिर्भर बनाए मात्र बसाइँसराइको समस्या समाधान हुने सम्भावना छ।
“त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकुँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको एउटा लेखकले निबन्ध लेख्न सकोस् ।”
(मीनबहादुर विष्ट, साला पहाडमे क्या है ?)
१.
हो, पहाडमा अझै पनि केही छैन र शहर झरिरहेका छन् गणेश नेपालीहरू। बिहीबार काठमाडौंको छातीमा मुगुबाट झरेका एक जना जेनजी युवा नागरिक, पति, भाइ र पिता गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे। भोलिपल्टै वीर अस्पतालमा उनको निधन भयो।
आत्मदाह गर्नुको तत्कालीन कारण चाहिं नगर प्रहरी र ट्राफिकले उनको जिजीविषाको किलकिले समाउने गरी गरेको दुर्व्यवहार या दण्ड–जरिवाना देखिन्छ। राज्यका अङ्गहरू काम गरिखान खोज्नेलाई पनि देखिनसहने बन्दै गएका छन्। राज्य कसको सेवामा स्यालुट गर्दै तनक्क तन्केर हाजिर हुन्छ र कसको जीविका खोस्न नियमको हतियार लिएर टुप्लुकिन्छ, अनुमान गर्न गाह्रो छ।
मुगुबाट काठमाडौंसम्म आएर शून्यबाट जीवन जिउन शुरु गर्ने र आफ्नी पत्नी र छोरीसँगै एउटा अनिश्चित भविष्य लिएर जीवन गुजारिरहेका गणेशको पेशागत आबद्धताको क्षेत्र भने चमकधमकयुक्त छ- ‘गिग वर्कर’। उनी नेपालका ४० प्रतिशत जनताका एक जना प्रतिनिधि हुन्- जन्मेको ठाउँले ठगिएका, जन्मको पहिचानले ठगिएका र संरचनागत विभेद सहेर काठमाडौं झरेका। उनी हाम्रा समाजका गरिबहरूको अवस्था चित्रण गर्ने एउटा बिम्ब हुन्, र देशमा दुसाध्य हुँदो अर्थराजनीतिक सङ्कटका सूचक पनि। गणेशप्रति हार्दिक श्रद्धाञ्जली!
२.
यता शहरका छापाहरूमा आइरहेछन्- भक्कानिएर रोइरहेका सुकुमवासीका उदास अनुहारहरू। श्रम, भोक र रोग समेत घुलेको चिन्ताले एकैपटक आक्रमण गरेपछि अधबैंसे हुन नपाउँदै बुढिएका शरीरहरू। भोलि उठी कहाँ जाने भन्ने थाहा नभएका, भरे साँझ के खाएर, खुवाएर कहाँ टाउको ओत लाग्ने भन्ने थातठेगान नभएका।
पहिले बासमा डोजर लगाएर राखिएको होल्डिङ सेन्टरमै नालापानी किल्लामा अङ्ग्रेजहरूले पानीको मुहान बन्द गरिदिए झैं पानी बन्द गरेर निकालिएका, आफ्नो भनिएको देशमा राज्यबाटै शरणार्थी बनाइएका सुकुमवासीहरूको छाती चिरिने चीत्कार आइरहेका छन् सञ्जालहरूबाट। म अवाक् छु।
मानवता यति निरीह भएको यसअगाडि अनुभूति गरिएको थिएन। राज्यको दमनकारी हर्कत थाहा थियो, भदौ २३ पनि देखिएकै हो। र, मानिसहरूले के-के गर्न सक्छन् भन्ने भदौ २४ पनि। अर्काको दुःखमा खुशी मनाउनेहरू के भदौ २३ र २४ का (दुर्) घटनाका उपज हुन् ? म घोरिइबस्छु र कवि मीनबहादुर विष्टको ‘साला पहाडमे क्या है’ कविताका यी पङ्क्तिहरू सम्झन्छु-
… लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका परेवाका बथानहरू
सुकुमवासी झैं
खडेरीले शुष्क भएको छाती र
बर्सातले निथ्रुक्क भिजेको जीउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाँसको ठेगान
बिल्कुल बेठेगान भएर भौंतारिइरहेछन्
कहिले पूर्व दिशा त कहिले पश्चिम दिशा …
… र छन्, आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी घुरिरहेका
सुकुमवासी परेवाका बथानहरू …
घरबाट उठीबास लगाइएका र अरू ठाउँमा बस्ने क्षमता बनाउन नसकेका विभेदको शिकार नागरिकहरूको यो दुर्दशा देख्दा भविष्यप्रति झन् निराश बनाउँछ, मन एकतमासको बन्छ। घर भत्काइएपछि शहरमा ‘पैसा तिरेरै बस्छु’ भन्दा पनि बास नपाउने अवस्था विद्यमान छ, हाम्रो जनसङ्ख्याको १४ प्रतिशतका लागि।
यो बिहीबार माइतीघरमण्डलतिर बाटो हिंड्दै थिएँ। दीपा नेपाली ८२औं दिन आफ्ना साथीहरूसँग सरकारलाई ‘डेरा खोइ ?’ भनेर प्रश्न गर्दै उभिइरहेकी थिइन्। विभेदका सांस्कृतिक पर्खालहरू सिंहदरबारभन्दा पनि अग्ला छन्।
सिंहदरबारका पर्खाल बरु आममानिसले चाहे भने ढलाउन सक्दा रहेछन्, सांस्कृतिक विभेदका पर्खाल त्योभन्दा चट्टाने रहेछन्। मिटरब्याज पीडितहरू तराईको घाम र गर्मीमा पैदलै काठमाडौंतिर मार्च गरिरहेका छन्। देश एक जना युवा प्रधानमन्त्रीले बनाइदिन्छन् भन्ने विश्वासमा आलसतालस छ। मलाई यसपालि यी विषयमा लेख्न मन छैन।
३.
अरू धेरैले जस्तो मैले पनि वर्षौं पहिले गाउँ छाडेको थिएँ- अलिकति ‘साला गाउँमे क्या है ?’ भन्दै, अलिकति खिया लागेका सिद्धान्तहरू झोलामा राखेर, बा-आमाका आशा र सपनाहरूमा झिनो आशा र केही असन्तोषका सुस्केरा छाडेर।
गाउँलेहरूको अलिकति भरोसा, अलिकति आशा, अलिकति प्रश्न र आशङ्काका पोकापन्तुराहरूलाई खोलापारि माइती–मावली या जात्रा–मेला गएर फर्केका गुरुङसेनीहरूले नदी किनारमा मौरो र पातीले पुछपाछ पारेर छाड्ने पिराहा पिशाचहरू झैं मैले पनि मादी किनारतिर छाडेर हिंडेको थिएँ।
२०४८ सालको असारमा २२ दिन जति रोपाइँमा बाउसे भएर, चैते धान थन्क्याएर, रोपाइँ सकेपछि गाउँबाट एउटा जाँगे र टिसर्ट लगाएर चप्पल पड्काउँदै पोखरा झर्दा मभित्र बाँकी सबै अनिश्चितता थिए। निश्चित कुरा चाहिं ‘अब बसोबासकै लागि गाउँ नफर्किने गरी हिंड्दैछु’ भन्ने मात्र थियो। भर्खर पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको थिएँ र झन्डै १० वर्षको सक्रिय राजनीतिक जीवनबाट बिदा लिएको थिएँ।
केही दिन पहिले अस्ट्रेलिया निवासी भतिजी अनिताले भन्दै थिइन्, ‘किन हो, म त जहिले पनि सपना चाहिं उतै गाउँको मात्रै देख्छु।’
म पनि सपनामा गाउँमै डुल्छु। बिरानो हुँदै गएको गाउँ, पुराना हुँदै गएका घरहरू, उग्लिंदै गएका स्मृतिहरू, धमिलो हुँदै गएको माया। र पनि गाउँको सम्झना आइरहन्छ।
बेलाबखत पुग्छु। गाउँको छाती चिरेर गएका डोजरका डोबले पुरानो गाउँको परिचय विनिर्माण गरिरहेका छन्। जो बाँकी छन्, तिनका मनमा ‘आफूहरू मात्र गाउँमा बस्नुपर्दाको हीनताबोध’ उनीहरूका अनुहारभरि अनुभूति गर्छु। खल्तीमा बसेर मेलापात, गाउँबेंसी गरिहिंड्ने मोबाइलसँग मानिसको सम्बन्ध यताको जस्तै छ। टाढाको आफन्त र प्रियजनलाई घरको पिंढी र अँगेनासम्म ल्याइदिने यो प्रिय जिनिसले मानिसहरूलाई निहुराइरहेको उता पनि छ।
म लमजुङमा जन्में, हुर्केर त्यहीं बस्दाबस्दै ठामका ठाम कास्कीको भएको हुँ, २०३२ सालमा। मेरो ८ कक्षा पढ्ने बेलामा ‘झलक सुवेदी, सैमराङ आगाप वडा नम्बर ६, पश्चिम ३ नम्बर लमजुङ’ बाट सर्लक्क कास्कीतिर सरेको थियो हाम्रो ठेगाना। हुर्कंदा मैले सुनेका प्रारम्भिक ज्ञानका शब्दहरूमा विकासका कुरा थिए।
झारा टन्टा, गाउँफर्क र विकासको मूल फुटाउने नाराहरूको ओइरो। दुराडाँडाका श्रीकान्त अधिकारी, रम्घाका लेखनाथ अधिकारी, कन्धनीडाँडाका सूर्यमोहन भट्टराई, कास्कीकै चन्द्रसिंह घलेहरू विकासका दूतहरू जस्ता सुनिन्थे। त्यो समयका हाम्रा अभिभावकहरूले विद्यालय खोलिदिए र हामी आँखा देख्ने भयौं। तर सडकका कुरा, कुलो नहरका कुरा, यातायात सुविधाका कुरा, कृषि विकासका कुरा, रोजगारीका कुरा उतिबेला पनि थिए। अहिले आधा शताब्दीभन्दा बढी समयपछि पनि गाउँबाट सञ्जालको बाटो यिनै कुरा आइरहन्छन्।
४.
गाउँ पातलिएको छ। हामी हुर्कंदा आधा दर्जन सन्तान जन्माउनेका सन्तानहरूले अब मुस्किलले दुई जना जन्माउन थालेका छन्। बसाइँ हिंड्ने ताँती उतिबेला पनि थियो तर अहिले जस्तो गाउँ रित्तो हुँदैनथ्यो। पढ्नेहरू काम खोज्न शहर पसे, नपढ्नेहरू पनि कामै खोज्न शहर पसे। पढेकाहरू पनि जीवन सहज बनाउन विदेश लागे, नपढेकाहरू पनि अलिकति पुरुषार्थ गर्न विदेश पसे। गाउँमा भएको स्रोत परिचालन गर्दाभन्दा शहरको काम सजिलो। हामीले देख्दादेख्दै हाम्रै पुस्ताले समेत पहल गरेर बनाएका विद्यालयहरू रित्ता-रित्ता हुँदै गएका छन्।
केही महिना पहिले नागीधारे ओमप्रकाश गुरुङको पहलमा कम्दीका कृष्ण पौडेल, ढोडेनीका जसबहादुर गुरुङहरू को-को मिलेर राखी-मिजुरे बाटो सरसफाइ गर्न सात-दश दिन त झारा उठाएर काम गरेछन्। अर्थात्, पचास वर्ष पहिले ओख्लेका इन्द्रप्रसाद शर्माले सडक बनाउँदा झारा उठाएको जस्तो अझै पनि गाउँलेहरू श्रमदान गर्न तयार!
२०५६ सालमा विश्व बैंकको ऋणमा ओटासिल गरेको सौरेदेखि पैह्रेटार हुँदै घुम्ले पुग्ने सडक अहिले नियमित गाडी पनि नचल्ने भएको छ। पोखरा महानगरको सीमाबाट पाँच-सात किमी पर मध्यपहाडी लोकमार्गकै वरपर यस्तो अवस्था छ। देशका अरू भागमा कस्तो होला ?
ठूलढुङ्गादेखि साप्ले जाने मोटरेबल बाटोमा यसै साताबाट नियमित बस सञ्चालन हुन थालेको खबर भतिज ब्रिलियन्ट गुरुङको पोस्ट हेरेपछि थाहा भयो। बरालडाँडातिरको बाटो त पिच हुन थालेको। केही नभएको पनि होइन भन्नलाई यो एउटा उदाहरण हो।
केही वर्ष पहिले गाउँ जाँदा २०३७ सालतिरको मेरो विद्यार्थी पितृराज लामिछानेकहाँ पुगेको थिएँ। ऊ मौरीपालनबाट वार्षिक ८-१० लाख आरामले कमाउँदै घर बसिरहेको भेटियो। मैले पार्टी बनाउन राति–राति किसानसँग जमघट गर्ने गरेको घर भट्टेडाँडाका अमर तिमिल्सिना १०-१५ वर्ष भारत बसेर फर्केपछि अस्ट्रेलियाबाट ‘बोयर’ जातका बोका ल्याएर यता बाख्रापालनमा लागेको। राज्यबाट सुविधा नलिएरै पनि बाख्रापालनबाट राम्रो आयस्ता गरिरहेको।
व्यावसायिक बाख्रापालनमा लागेको कयारेको सन्तोष गुरुङ भने केही वर्षपछि हार खाएर अरबतिर हिंडेछ। भाइ रेखबहादुर परियार अहिले बस किनेर राखी-मिजुरे सडकमा आफैं चलाउने भएछ। उसका सन्तानले पनि राम्रो शिक्षा लिएका छन्। समाजको अन्तरकुन्तर सामाजिक संरचनामा, परम्परागत जातीय संरचनाका कारणले हुने स्रोतमाथिको नियन्त्रणको चक्रमा विस्तारै रूपान्तरण आउँदै गरेको।
हाम्रो वरपरका अहिलेको पाँचवटा वडालाई पायक पर्ने कस्यारीमा साप्ताहिक हाट चलाउन सके गाउँमा आयस्ता र रोजगारीको अवसर फैलन सक्थ्यो कि भन्ने लाग्छ। यस्तो हाटबजार भए मानिसहरूले आफ्नो घरपाखा, खोला र वन, बारी र खेतमा गरिने या खोजिने उत्पादन बजारसम्म आउँथ्यो। परिवारका हातमा अलिकति पैसा जान थाल्थ्यो र मानिसहरू गाउँमा अडिन्थे कि भन्ने लाग्छ। प्रस्ताव गरे पनि काम लागेको छैन।
मादी गाउँपालिकामा आएको ठूलो परिवर्तन भने ताङतिङ र सिक्लेस क्षेत्रको पर्यटन विकास हो। सिक्लेस, कफुचे हिमताल (ग्लेसियर), कोरी ट्रेकिङका सुन्दर गन्तव्य बनेका छन्। ताङतिङ क्रपु, थर्जु, ठुलेक, क्होलासोंथर अर्को आकर्षक गन्तव्य बनेको छ। पोखराबाट सवारी साधनमा दुई घण्टाको दूरीमा रहेका यी गन्तव्यहरू विकास हुँदै जाँदा त्यसको लाभ दुवै गाउँलेहरूले पर्याप्त लिन थालेका छन्। प्रायः शुक्रबार र शनिबार थामिनसक्नुको भीड लाग्छ स्थानीय पर्यटकको।
लम्तरी–क्रपु पदयात्राको विकास गर्न सके यस्तो लाभ वार्चोक, भाचोक, नागीधार र त्यसको बाटोमा पर्ने गाउँहरूले लिने थिए। २०६४ तिर जिल्ला विकास समितिका पूर्वसदस्य जसबहादुर गुरुङको नेतृत्वमा हामीले एउटा समिति बनाएर त्यताको एक्सप्लोर यात्रा पनि गरेका थियौं। तर केही स्थानीय विवादहरू भए र तत्काल काम अघि बढाउन सकिएन।
यतिबेला लम्तरीमा पूर्वाधार बनेको छ, वार्चोके र भाचोके गाउँलेहरूको पहलमा। उनीहरूकै पुर्खाहरू बसोबास गरेको, ३०० वर्ष अगाडि गुरुङहरूको एउटा महत्त्वपूर्ण गाउँ रहेको लम्तरी पर्यटकीय रूपले आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेर बसेको छ।
यसपालि पर्यटन मन्त्री गणेशको पहलमा सरकारले लिप्यानी-लम्तरी-क्रपु साइकल लेनको कुरा अघि सारेको भन्ने सुनेको छु। बन्दै गए यसले क्रपु हुँदै क्होलासोंथर, दूधपोखरी र नामुन्ला हुँदै मनाङ जोड्ने पैदल मार्गको गतिलो गन्तव्य बन्ने सम्भावना राख्छ।
५.
विकासकै कुरा गर्दा मादीका उत्तर-पश्चिम भेगका ७ वटा वडा र पूर्व-दक्षिण भेगका ५ वटा वडाको बीच रहेको एउटा दूरीको विषय उठिरहन्छ। जनसङ्ख्या र स्थानीय राजनीतिक पावर ब्यालेन्स ७ वटा वडातिर ढल्केको छ। देशकै ठूलोमध्येको एउटा पालिका पर्ने मादीको स्रोत परिचालनमा गाउँपालिकादेखि प्रदेश र सङ्घीय सरकारसम्मको प्राथमिकता ७ वटा वडातिर ढल्किंदा बाँकी ५ वटाले आफूहरूको विकास अवरुद्ध भएको अनुभव गरिरहेका छन्। धेरैले ५ वटा वडाको अलग्गै पालिका बनाउन माग गरिरहेका पनि छन्।
यी कुराले फेरि मलाई हामी सानो छँदा ‘विकास सजिलो हुन्छ’ भनेर लमजुङबाट कास्की सार्दा पनि यो क्षेत्रको विकास पछि परिरहेको कुराले झस्काउँछ। मूल कुरा राज्यको स्रोत वितरणमा स्थानीय राजनीतिक शक्तिको पहुँच कति छ भन्ने कुराले पारिरहेको प्रभावको हो। कसैले विभेद महसुस गर्छ भने विकल्प खोज्छ नै।
यी वडाहरू मिलेरै बसेको बेस भन्नेहरूले चाहिं शक्ति विन्यास र स्रोत वितरणमा स्थानीय शक्ति सम्भ्रान्तहरूले कहीं न कहीं सम्झौताका लागि तयार हुनुपर्छ भनेर बहस गर्नुपर्ने हो। कमसेकम एमाले, कांग्रेस, माओवादी र अहिले रास्वपाका प्रतिनिधिहरू, जनप्रतिनिधि र नागरिक समाजका बीच यो समस्याबारे गहन बहस आवश्यक छ। नभए ‘हेलाँ भएर बस्नुभन्दा डिभोर्स उचित’ भन्ने मान्यताले झैं मुद्दा-कचहरी त हुने नै छन्।
६.
मादी–सेती जलाशययुक्त आयोजनाले उठीबास पो लगाउँछ कि भन्ने चिन्ता गर्दै केही उत्साही भाइहरूले फोन गरिरहेका थिए। विद्युत् विकास विभागमा सम्पर्क गर्दा यो ‘अध्ययनकै चरणमा रहेको र अरू कुरा यथावत् रहेमा नेपाल सरकारले छिट्टै बनाउने बहुउद्देश्यीय आयोजना रहेको’ कुरा थाहा भयो। केही घर र खेतीपाती सहित स्थानीय कल्याङबेंसी, मुग्रीबेंसी, मौरीबेंसी, गहतेबेंसी र थुम्सीकोटसम्मका २०० घरपरिवार विस्थापित हुनसक्ने भनिएको यो योजनाबारे विस्तारमा थाहा भएन।
तर यो योजना सम्पन्न हुन सक्दा राष्ट्रिय विद्युत् आपूर्ति प्रणालीमा सहयोग हुने मात्र होइन, उक्त क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ। एकीकृत विकासको अवधारणाका आधारमा विस्थापित हुनेहरूको व्यवस्थापन राम्ररी गर्न सक्ने हो भने मादी किनारका बस्तीहरू र मादीको पूर्वी भेगका ५ वटा वडामा बसाइँसराइ घटाउने मात्र होइन, अरू ठाउँबाट समेत मानिसहरू यता बस्न आई यहाँको भविष्य अलि उज्यालो हुने आशा गर्न सकिन्छ। सरकारले यो योजना छिटो अघि बढाउन पहल गरोस् र स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गरोस्।
७.
केही दिनअघि नेपाल विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्की र प्रोफेसर सूर्यराज आचार्यसँग भेट भयो। उहाँहरू पोखरा नजिक रूपा–७ को हंसपुर र माझगाउँको पश्चिम-उत्तरमा पर्ने पाखोमा यदि स्थानीय गाउँलेहरू सहमत भएमा ‘विश्वविद्यालयको सबै संरचना बनाउन पाए हुन्थ्यो’ भन्दै हुनुहुन्थ्यो। ‘प्रयास भइरहेको तर परिणाम नआइसकेको’ जस्तो बुझेथें मैले चाहिं।
वास्तवमा गाउँमा ज्ञानको उच्चस्तरको संस्था जानु दीर्घकालमा समाज र देशलाई नै योगदान गर्ने अवसर प्राप्त गर्नु पनि हो। अध्ययनको अवसरले सबैभन्दा बढी फाइदा पनि स्थानीयले नै लिने थिए। तत्कालका लागि स्थानीय बासिन्दामध्ये केहीले रोजगारी पाउलान्, वरपर साना-ठूला होटल र खाना-खाजा घर बन्लान्। गाउँलेहरूको उत्पादन खासगरी दूध तथा तरकारी, फलफूलले पर्याप्त बजार पाउला। तर जब त्यहाँ गाउँको नयाँ पुस्ताले ज्ञान हासिल गर्न र अध्ययन गर्न थाल्छ, त्यसले हो गाउँ र देशको पनि दीर्घकालीन विकासमा योगदान गर्ने।
यसै पनि नेपाल विश्वविद्यालय यस प्रकारको नेपालकै पहिलो संस्था बन्नेवाला छ। यो राम्ररी सञ्चालन गर्न सक्दा नेपाली मात्र होइन ‘लिबरल आर्टस्’ अध्ययनको लागि दक्षिणएशिया र चीनको समेत गतिलो गन्तव्य बन्ने सम्भावना छ। लिबरल आर्टस्को पढाइ अहिलेको नेपालको सबैभन्दा ठूलो आवश्यकता हो, जहाँबाट विश्वस्तरको ज्ञान र प्रश्न गर्न, नेतृत्व लिन सक्ने जनशक्ति उत्पादन हुनेछ।
क्रिटिकल जनशक्तिले मात्र आजको नेपालको लोकतान्त्रिक पद्धतिको रक्षाका लागि योगदान दिन सक्छ। विकास सम्बन्धी परिभाषालाई रैथाने ज्ञान, परम्परा र आवश्यकतासँग मिसाएर व्याख्या दिन सक्छ। यस्तो अवसर हंसपुरले उपयोग गर्न सक्यो भने हामी जस्ता छेउछाउका गाउँलेका लागि पनि यो एउटा ठूलो अवसरका रूपमा बदलिने थियो। लमजुङको दक्षिण-पश्चिम भेग र त्यहाँको लेकाली गुरुङ गाउँहरूले नयाँ पर्यटकहरू पाउने थिए। कास्कीको मादी र रूपालाई गुल्जार बनाउन योगदान पुग्नेथियो।
यी समाचार हेर्दा ‘साला पहाडमे क्या है’ भन्ने कवि विष्टको भनाइ अब हाम्रो कास्की र खासगरी मादीको सेरोफेरोका लागि नमिल्दो बन्न जाने सम्भावना छ। त्यस्तै होस्। ‘साला पहाडमे सबकुछ है’ भन्दै नयाँ कविहरूले कविता लेख्न पाऊन्।
गणेश नेपालीहरूले अनाहकमा मृत्युवरण गर्नु नपर्ने बनाउन, कसैलाई अहिलेको जस्तो सुकुमवासी बन्नुपर्ने बाध्यताबाट मुक्त गर्न पनि मध्य पहाडको विकासको रणनीतिक महत्त्व छ। पहाडलाई जहिलेसम्म फेरि हराभरा र गुल्जार बनाउन सकिन्न, त्यतिबेलासम्म हामी छिमेकीको सस्ता मालको बजार बन्ने, देशभित्र दलाल पूँजीवादको विकास मात्र सप्रने, राष्ट्रिय उद्योगधन्दाको विकास नहुने र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास असम्भव हुन जाने गोलचक्करमा फसिरहनेछौं।
प्रतिक्रिया 4