News Summary
Generated by OK AI. Editorially reviewed.- भावनात्मक बुद्धिमत्ताले आफ्ना भावना बुझ्ने, नियन्त्रण गर्ने, अरूप्रति सहानुभूति राख्ने र विवेकपूर्ण निर्णय लिने क्षमतालाई जनाउँछ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई केवल रोग वा अशक्तताको अभाव मात्र नभई शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण सुस्वास्थ्यको अवस्था मानेको छ।
पछिल्ला दशकहरूमा यस अवधारणामा आध्यात्मिक, नैतिक, भावनात्मक तथा वातावरणीय स्वास्थ्यलाई पनि समेट्ने अभ्यास बढ्दै गएको छ । यसले स्पष्ट पार्छ कि स्वस्थ जीवनको आधार केवल बलियो शरीर होइन, सन्तुलित मन, स्वस्थ सम्बन्ध, नैतिक आचरण र जिम्मेवार सामाजिक व्यवहार पनि हो ।
यसै सन्दर्भमा भावनात्मक बुद्धिमत्ता आजको विश्वमा अत्यन्तै महत्वपूर्ण जीवनकौशलका रूपमा स्थापित भएको छ । आफ्ना भावनालाई बुझ्ने, उचित रूपमा नियन्त्रण गर्ने, अरूका भावना बुझ्ने, सहानुभूति राख्ने र परिस्थितिअनुसार विवेकपूर्ण निर्णय गर्ने क्षमता नै भावनात्मक बुद्धिमत्ता हो ।
यो केवल व्यक्तिगत सफलताको साधन मात्र होइन, व्यक्ति, परिवार, समाज, संस्था र राष्ट्रलाई स्वस्थ, शान्त र समृद्ध बनाउने आधार पनि हो । आधुनिक मनोविज्ञानले वैज्ञानिक अनुसन्धानमार्फत यसको महत्व प्रमाणित गरिरहेको छ भने पूर्वीय दर्शन, विशेषतः भगवदगीता, उपनिषद्, बौद्ध दर्शन र योगशास्त्रले हजारौँ वर्षअघि नै भावनात्मक सन्तुलनलाई सफल र स्वस्थ जीवनको आधारका रूपमा व्याख्या गरिसकेका छन्।
भावनात्मक बुद्धिमत्ता भनेको के हो ?
भावनात्मक बुद्धिमत्ता भन्नाले आफ्ना भावना, विचार र व्यवहारबीच सन्तुलन कायम राख्ने तथा अरूका भावनालाई सम्मान गर्दै स्वस्थ सम्बन्ध निर्माण गर्ने क्षमता हो । मनोवैज्ञानिक डेनियल गोलम्यानका अनुसार यसको पाँच प्रमुख आधार छन् – आत्मचेतना , आत्मनियन्त्रण, आत्मप्रेरणा, सहानुभूति, र सामाजिक सीप । यी पाँच पक्षको विकासले मानिसलाई केवल सफल मात्र होइन, समग्र रूपमा स्वस्थ पनि बनाउँछ ।
भावनात्मक बुद्धिमत्ता र स्वास्थ्यका विभिन्न आयाम
१.शारीरिक स्वास्थ्य
मानिसको मन र शरीर एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । लामो समयसम्मको तनाव, चिन्ता, रिस, ईर्ष्या, घृणा वा निराशाले शरीरमा कोर्टिसोलजस्ता तनाव हर्मोनको मात्रा बढाउँछ ।
यसले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, निद्रासम्बन्धी समस्या, पाचन प्रणालीका विकार तथा रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउन सक्छ । भावनात्मक रूपमा सन्तुलित व्यक्तिले तनावलाई स्वस्थ तरिकाले व्यवस्थापन गर्न सक्छ ।
नियमित ध्यान, योग, सकारात्मक सोच र आत्मनियन्त्रणले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । आधुनिक स्नायुविज्ञानले पनि भावनात्मक नियन्त्रण भएका व्यक्तिमा तनाव कम हुने, प्रतिरक्षा प्रणाली बलियो हुने र दीर्घकालीन रोगको जोखिम घट्ने देखाएको छ। यसरी भावनात्मक बुद्धिमत्ता शारीरिक स्वास्थ्यको पनि महत्वपूर्ण आधार हो।
२.मानसिक स्वास्थ्य
मानसिक स्वास्थ्य भावनात्मक बुद्धिमत्तासँग प्रत्यक्ष सम्बन्धित छ । आफ्ना भावनालाई बुझ्न नसक्ने व्यक्तिमा चिन्ता, तनाव, क्रोध, असन्तोष र अवसाद बढ्ने सम्भावना बढी हुन्छ । तर आत्मचेतना र आत्मनियन्त्रण भएका व्यक्तिले कठिन परिस्थितिलाई पनि धैर्यपूर्वक सामना गर्न सक्छन् । भगवदगीताले यही अवस्थालाई समत्व अर्थात् मानसिक सन्तुलन भनेको छ-
“योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते।।” (२.४८)
सफलता र असफलता दुवै अवस्थामा मानसिक सन्तुलन कायम राख्नु नै वास्तविक योग हो । आधुनिक मनोविज्ञानले पनि यही अवस्थालाई भावनात्मक स्थिरता भन्छ। आज बढ्दो मानसिक तनाव, आत्महत्या, हिंसा र लागूपदार्थ दुर्व्यसनका समस्याको समाधानका लागि भावनात्मक बुद्धिमत्ताको विकास अत्यन्त आवश्यक देखिन्छ।
३.सामाजिक स्वास्थ्य
मानिस सामाजिक प्राणी हो । स्वस्थ समाज स्वस्थ सम्बन्धबाट निर्माण हुन्छ । भावनात्मक बुद्धिमत्ता भएका व्यक्तिहरूले- अरूको भावना बुझ्छन्, सम्मानपूर्वक संवाद गर्छन्, क्षमा गर्न जान्दछन्, सहकार्यमा विश्वास गर्छन्, विवादलाई हिंसाबाट होइन, संवादबाट समाधान गर्छन् ।
यसले परिवारमा प्रेम, विद्यालयमा अनुशासन, कार्यस्थलमा सहकार्य र समाजमा विश्वासको वातावरण निर्माण गर्छ। बौद्ध दर्शनका मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता मूल्यहरू भावनात्मक बुद्धिमत्ताकै उत्कृष्ट रूप हुन्। यिनले सामाजिक सद्भाव, सहिष्णुता र मानवतावादी संस्कृतिको विकास गर्छन्।
४.आध्यात्मिक र नैतिक स्वास्थ्य
पूर्वीय दर्शनले मानिसको वास्तविक स्वास्थ्यलाई केवल शरीरसँग जोडेर हेर्दैन । मन, बुद्धि, आत्मा र चरित्रको शुद्धतालाई पनि स्वास्थ्यकै आधार मानिन्छ।
भगवद्गीतामा भनिएको छ-
“उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।” (६.५)
अर्थात् मानिसले आफ्नै विवेकद्वारा आफूलाई माथि उठाउनुपर्छ । आत्मसंयम, सत्य, करुणा, क्षमा, दया, त्याग र निष्काम कर्मजस्ता गुणहरूले मानिसलाई नैतिक रूपमा स्वस्थ बनाउँछन् । भावनात्मक बुद्धिमत्ता यी सबै गुणको व्यवहारिक अभिव्यक्ति हो ।
पूर्वीय दर्शन र आधुनिक विज्ञानको संगम
पूर्वीय साहित्यले हजारौँ वर्षअघि मनलाई सबैभन्दा ठूलो शक्ति मानेको थियो । उपनिषद्हरूले मनलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई नै वास्तविक विजेता भनेका छन् । योगशास्त्रले चित्तको स्थिरतालाई स्वास्थ्यको आधार मानेको छ । बौद्ध दर्शनले सचेतनालाई दुःखमुक्तिको मार्ग मानेको छ ।
आज आधुनिक विज्ञानले पनि नियमित ध्यान, योग, सचेत अभ्यास र भावनात्मक नियन्त्रणले मस्तिष्कको निर्णय गर्ने भागलाई सक्रिय बनाउने तथा तनाव नियन्त्रण गर्ने प्रणालीलाई सुदृढ बनाउने तथ्य प्रमाणित गरेको छ । यसले स्मरणशक्ति, एकाग्रता, निर्णय क्षमता, सहानुभूति र मानसिक सन्तुलन बढाउँछ । यस अर्थमा पूर्वीय दर्शन र आधुनिक विज्ञान फरक होइनन्; विज्ञानले आज पूर्वीय ऋषिमुनिहरूले अनुभूतिमार्फत प्रतिपादन गरेका सत्यहरूलाई प्रयोगशालामा प्रमाणित गरिरहेको छ ।
सङ्घसंस्था सञ्चालनमा भावनात्मक बुद्धिमत्ताको भूमिका
कुनै पनि संस्था मानिसबाट सञ्चालन हुन्छ । त्यसैले संस्थाको सफलता मानिसबीचको सम्बन्धमा निर्भर हुन्छ । भावनात्मक बुद्धिमत्ता भएका नेतृत्वकर्ताले- कर्मचारीको भावना बुझ्छन्, निष्पक्ष निर्णय गर्छन्, विवादलाई संवादमार्फत समाधान गर्छन्, विश्वासको वातावरण निर्माण गर्छन्, परिवर्तनलाई सहज रूपमा व्यवस्थापन गर्छन्, प्रेरणा र उत्तरदायित्वको संस्कृति विकास गर्छन् । यस्तो संस्थामा कर्मचारीको मानसिक स्वास्थ्य राम्रो हुन्छ, कार्यसन्तुष्टि बढ्छ, तनाव घट्छ र उत्पादनशीलता वृद्धि हुन्छ । स्वस्थ संस्था नै स्वस्थ समाजको आधार हो ।
राज्य सञ्चालनमा भावनात्मक बुद्धिमत्ताको भूमिका
राष्ट्रको स्वास्थ्य केवल आर्थिक वृद्धिले मापन हुँदैन । नागरिकको मानसिक शान्ति, सामाजिक सद्भाव, न्याय, विश्वास, सुरक्षा र सुशासन पनि राष्ट्रको स्वास्थ्यका सूचक हुन् । भावनात्मक बुद्धिमत्ता भएका नेतृत्वले- नागरिकको पीडा बुझ्छन्, सहानुभूतिपूर्ण नीति निर्माण गर्छन्, संवाद र सहमतिलाई प्राथमिकता दिन्छन्, विभाजनभन्दा एकतालाई जोड दिन्छन्, संकटका बेला संयमित निर्णय गर्छन्, नैतिक नेतृत्व प्रस्तुत गर्छन् ।
यस्तो नेतृत्वले लोकतन्त्रलाई बलियो बनाउँछ, सामाजिक द्वन्द्व घटाउँछ, नागरिकको राज्यप्रतिको विश्वास बढाउँछ र राष्ट्रलाई स्थायित्व प्रदान गर्छ ।
नेपालका सन्दर्भमा यसको आवश्यकता
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। विविधतायुक्त समाजमा एकता कायम राख्न कानुन मात्र पर्याप्त हुँदैन; सहिष्णुता, सहानुभूति, संवाद र भावनात्मक परिपक्वता आवश्यक हुन्छ ।
आज परिवारमा बढ्दो विखण्डन, युवामा मानसिक तनाव, सामाजिक सञ्जालमार्फत फैलिने घृणा, राजनीतिक असहिष्णुता, कार्यस्थलको तनाव तथा सामाजिक अविश्वासजस्ता चुनौतीहरूको समाधान भावनात्मक बुद्धिमत्ताको विकासबाट सम्भव छ ।
यसका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म जीवनोपयोगी शिक्षामा भावनात्मक बुद्धिमत्ता समावेश गर्नुपर्छ । सार्वजनिक प्रशासन, राजनीतिक नेतृत्व, सुरक्षा निकाय, स्वास्थ्य सेवा तथा निजी क्षेत्रका नेतृत्व विकास कार्यक्रममा पनि यसको अभ्यास आवश्यक छ।
स्वस्थ व्यक्ति बिना स्वस्थ परिवार बन्दैन; स्वस्थ परिवार बिना स्वस्थ समाज बन्दैन; र स्वस्थ समाज बिना स्वस्थ राष्ट्रको निर्माण सम्भव हुँदैन । स्वास्थ्यको वास्तविक अर्थ शरीर मात्र स्वस्थ हुनु होइन, मन शान्त हुनु, सम्बन्ध सुमधुर हुनु, नैतिकता बलियो हुनु र समाजमा विश्वास कायम हुनु पनि हो । भावनात्मक बुद्धिमत्ता यी सबै आयामलाई जोड्ने साझा सूत्र हो । यसले व्यक्तिलाई आत्मसंयमी, परिवारलाई स्नेही, समाजलाई सहिष्णु, संस्थालाई प्रभावकारी र राष्ट्रलाई समावेशी, न्यायपूर्ण तथा समृद्ध बनाउँछ ।
भगवद्गीताको समत्व, बौद्ध दर्शनको करुणा, उपनिषद्को आत्मसंयम र आधुनिक विज्ञानले प्रमाणित गरेको भावनात्मक सन्तुलन अन्ततः एउटै सत्यतर्फ संकेत गर्छन्- मानिसले बाहिरी संसार जित्नुअघि आफ्नो मन जित्नुपर्छ ।
जसले आफ्ना भावनालाई विवेकपूर्वक सञ्चालन गर्न सिक्छ, ऊ केवल सफल व्यक्ति मात्र बन्दैन; ऊ स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणको पनि महत्वपूर्ण आधार बन्छ । यसैले आजको युगमा भावनात्मक बुद्धिमत्ता कुनै वैकल्पिक सीप होइन, व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधारभूत जीवनदर्शन हो ।
प्रतिक्रिया 4