News Summary
Generated by OK AI. Editorially reviewed.- मनसुनमा बढ्दो तापक्रम र आर्द्रताका कारण बालबालिकामा रोगको जोखिम हुने हुँदा उनीहरूको विशेष हेरचाह तथा सरसफाइमा ध्यान दिनुपर्छ।
मनसुनको समयमा तापक्रम परिवर्तन हुन्छ र हावामा आर्द्रता धेरै हुन्छ, जसले गर्दा रोग लाग्ने जोखिम बढ्छ । त्यसैले, यस मौसममा बालबालिकाको उचित हेरचाह आवश्यक पर्छ ।
आफ्नो बच्चालाई कसरी लुगा लगाउने, कस्तो खानेकुरा खुवाउने, बच्चा सुत्ने कोठाको तथा बच्चाको सरसरफाइमा कसरी ध्यान दिने भन्ने कुरा बुझ्न आवश्यक छ।
केही कुराहरूमा ध्यान पुर्याउन सके बच्चाहरूलाई मौसमी रोगहरूले सताउने जोखिममा कम गर्न सकिन्छ ।
१.घर/कोठालाई ओसिलो हुन नदिने
घरमा ओसिलोपन जम्मा हुन नदिनुहोस् । घरलाई सधैं सुख्खा र सफा राख्नुपर्छ । बच्चा रहने कोठामा उचित भेन्टिलेसन हुनुपर्छ ।
२.बच्चाको सरसफाइमा ध्यान दिने
आफ्नो बच्चाको शरीरलाई सफा राख्नका लागि समय–समयमा नुहाइदिनुपर्छ । उसको काखीमुनि, गुप्तांग, घाँटी र शरीरका अन्य भागहरू राम्ररी सफा गर्नुहोस्। उसको शरीरमा ओस जम्मा नहोस् भन्ने कुरा सुनिश्चित गर्नुहोस् । छालामा दागहरू हुनबाट रोक्न मोइस्चराइजर लगाउनुहोस्।
३.सही कपडा लगाइदिने
बच्चालाई सफा राखेर मात्रै हुँदैन, मौसमअनुसार सही कपडा लगाइदिन पनि उत्तिकै जरुरी छ । गर्मीको समयमा धेरै कपडा लगाइदिनु हुँदैन । बच्चा आफैं कपडा लगाउन सक्ने उमेरको छ भने उसलाई धेरै लुगा नलगाउन भन्नुपर्छ ।
गर्मीमा बाक्लो लुगा लगाउँदा पसिनाले धेरै आउँछ । पातलो र राम्रो हावा पास हुने कपडा लगाइदिनुपर्छ । तपाईंको बच्चालाई लामखुट्टेको टोकाइबाट जोगाउनु पनि महत्वपूर्ण हुन्छ । बच्चा सुतेको बेला अनिवार्य झुल प्रयोग गर्नुपर्छ ।
४. खानपानमा ध्यान दिने
बालबालिकालाई स्वास्थ्य समस्यहरूबाट जोगाउन गर्मी र वर्षाको समयमा सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा खानपान नै हो । वर्षाको समयमा हुने एउटा समस्या भनेको पानीको कमी हो । गर्मीमा धेरै पसिना आउँछ, यसले शरीरमा पानीको कमी गराउँछ । बालकालिकालाई लगातार पानी र झोलिलो खानेकुरा दिइरहनुपर्छ ।
बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र संक्रमणको जोखिम उच्च हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । झाडापखाला र हैजा, टाइफाइड आदिको जोखिम हुन्छ । यस्तो समस्या बाट बच्न उमालेर चिसो बनाएको पानी मात्रै पिउन दिनु राम्रो हुन्छ ।
यो समयमा खानेकुरा चाँडै बिग्रने सम्भावन हुन्छ । उच्च तापमान र ओसिलोपनले कीटाणु चाँडै फैलाउँछ । पकाएको खाना थोरै समयमै सड्न वा बिग्रन सक्छ। बालबालिकालाई सधैं ताजा खानेकुरा दिनुपर्छ । खानालाई सधैं राम्रोसँग छोपेर राख्न जरुरी छ ।
गर्मीमा बालबालिकाको पाचन शक्ति केही कमजोर हुन्छ । बढी चिल्लो, पिरो र मसलादार खानाले पेट बिगार्छ । यो समयमा पचाउन सजिलो हुने हल्का खानेकुरा चाहिन्छ ।
५.भीडभाड तिर धेरै नलैजाने
रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले बालबालिकालाई छिट्टै भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न सक्छ । साना बच्चालाई सकेसम्म भीडभाडमा लैजानबाट बच्नुपर्छ ।
६.आमाले आफ्नो स्वास्थ्यमा ख्याल राख्ने
बच्चाको स्वास्थ्य सुनिश्चित गर्न, आमाले पनि आफ्नो ख्याल राख्नुपर्छ । बच्चा अधिकांश समय आमासँगै रहने भएकाले आमालाई स्वास्थ्य समस्या हुँदा यसले बच्चालाई पनि असर गर्न सक्छ । फ्लु तथा संक्रामक रोगहरू आमालाई भएमा त्यो बच्चालाई छिट्टै सर्छ । आमाको दूधमा मात्रै निर्भर रहने नवजात शिशुलाई त झन आमा स्वस्थ नहुँदा धेरै समस्या हुन्छ ।
आमा स्वस्थ नभएको खण्डमा बच्चाहरूको हेरचाहमा समेत असर पर्ने हुन्छ । यस्तो विविध कारणले गर्दा बालबालिकाको राम्रो हेरचाहका लागि आमा पनि स्वस्थ रहनु आवश्यक छ । त्यसैले, वर्षाको समयमा बच्चाको आमाले दूषित पानी तथा खानाको सेवनबाट बच्नुपर्छ पिउनबाट जोगिनुपर्छ।
सावधानी
यदि तपाईंको बच्चालाई ज्वरो, खोकी वा दागहरू देखा परेको छ भने बाल रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4