News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको इस्लामावादमा आजबाट सुरु हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
- नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुने यो खेलमा नेपालले पहिलोपटक एफआईभिबी वरियता प्राप्त प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
- सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा युवा खेलाडीहरूको बाहुल्य छ भने ६ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्दैछन् ।
६ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा आजदेखि सुरु हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
एफआईभिबीको विश्व वरियता मान्यता प्राप्त प्रतियोगिताको पहिलो खेलमै नेपालले बलियो टोली कजाखस्तानको सामना गर्ने लागेको हो । यो खेल नेपाली समय अनुसार विहान १०:४५ बजे गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा हुनेछ ।
नेपाली पुरुष भलिबल टोलीले प्रहिलो पटक एफआईभिबी वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो ।
सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ६ टोलीले यस पटक काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्दैछन् । जसमा आयोजक पाकिस्तान र काजखस्तान बलियो टोलीको रुपमा छ ।
हाल नेपाल एफआईभिबीको वरियतामा समावेश छैन भने कजाखस्तान ६४औं स्थानमा छ । यस्तै घरेलु टोली पाकिस्तान सबैभन्दा माथि ४९औं स्थानमा छ ।
यस्तै उज्वेकिस्तान पनि ११९औं वरियतामा छ भने श्रीलंका र बंगलादेश हाल वरियतामा समावेश छैन ।
काजखस्थानले केही समयअघि भारतमा भएको एभिसी मेन्स कप खेलेको थियो । जहाँ ११ टोलीमध्ये काजखस्तान पाँचौ भएको थियो । एभिसी कप खेलेको टिममध्ये काजखस्तान मात्र हाल काभा पुरुष भलिबल खेल्न गएको छ ।
सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा खेलाडीहरुको बाहुल्य छ । हरिहजुरसँगै लिबेरो विनोद चन्दसँग एक भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ भने सुनिल बोहरा, पहल गहतराज, रविन नगरकोटी र नृपध्वज बस्नेतसँग एक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।
टिममा नेपाली घरेलु भलिबलका चर्चित खेलाडी हिमाल सुनारीसहित ६ नयाँ खेलाडी छन् । उनीहरु राष्ट्रिय टिमबाट डेब्यु गर्ने तयारीमा छन् ।
प्रतिक्रिया 4