News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुर प्रहरीले इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरीलाई जिल्ला तानिएको छ।
- स्थानीय घर भएका प्रहरीको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन उनीहरूलाई जिल्ला झिकाएर अन्य कर्मचारी पठाइएको डीएसपी टेकबहादुर रावतले जानकारी दिनुभयो।
- प्रहरीले केही दिनअघि भारतबाट चोरी गरिएका गरगहना बरामद गरेको घटनामा केही प्रहरीको भूमिका शंकास्पद देखिएको स्रोतको दाबी छ।
६ असार, धनगढी । कञ्चनपुरको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरीलाई जिल्ला झिकाइएको छ । दोधाराचाँदनी नगरपालिका नै घर भएर लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामदत्त जोशीसहितका प्रहरीलाई जिल्ला झिकाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले सोही ठाउँ घर भएका ११ प्रहरीलाई जिल्ला बोलाएर उनीहरूको ठाउँमा अन्य प्रहरी कर्मचारी पठाइएको जानकारी दिए । उनका अनुसार दोधाराचाँदनी नगरपालिकामै घर भएका स्थानीयलाई राख्दा कार्य सम्पादन प्रभावकारी नहुने भएकाले उनीहरूलाई हेरफेर गरिएको हो ।
असई बाहेक हेरफेरमा पर्नेमा जवान र हवलदार रहेका छन् । दोधाराचाँदनी नगरपालिकामा प्रहरीले केही दिनअघि भारतबाट चोरी गरि ल्याइएका सुनचाँदीका गरगहना बरामद गरेको थियो ।
गरगहना बरामद गरेको विषय समेत विवादमा परेको थियो । स्रोतकाअनुसार उक्त घटनामा सोही ठाउँ घर भएका केही प्रहरीको भूमिका शंकास्पद देखिएपछि जिल्लाले सबैलाई परिवर्तन गरेको हो । तर डीएसपी रावत भने गरगहना बरामद गरिएको विषयसँग प्रहरी झिकाउने विषय सम्बन्धी नभएको बताउँछन् ।
विस्तारै अन्य प्रहरी कार्यालयमा समेत उक्त नीति लागू गरिन कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4