+
+
Shares

कांग्रेस पुनर्निर्माणका लागि चाहिन्छ बीपीको विनिर्माण  

बीपीका विचारलाई विनिर्माण गर्दै अब कांग्रेसले गगन थापाको नेतृत्वमा पुनर्जीवनको अन्तिम अवसर पाएको छ। विशेष महाधिवेशनबाट यो प्रक्रिया प्रारम्भ भएको छ।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८३ साउन ६ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी कोइरालाका विचार र कांग्रेसको भविष्यबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्न सैद्धान्तिक विमर्श र पार्टीको सांगठनिक पुनर्संरचना आजको प्रमुख आवश्यकता बनेको छ।
  • कांग्रेसले बीपीका सिद्धान्तलाई जडसूत्रका रूपमा नभई समयानुकूल पुनर्परिभाषा गर्दै सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने देखिन्छ।
  • पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउँदै जनतामा आधारित खुला प्रणाली अवलम्बन गरेमा मात्र कांग्रेसले गुमेको विश्वसनीयता पुन: प्राप्त गर्न सक्नेछ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछिको राजनीतिक परिवेशमा बीपी  कोइरालाका विचार कति सान्दर्भिक छन् ? लोकप्रिय जनमतसहित अर्को लोकतन्त्रवादी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भइसकेको पृष्ठभूमिमा कांग्रेसको भविष्य कस्तो छ ? भन्ने प्रश्नहरू अहिले राजनीतिक वृत्तमा सर्वाधिक चासो र बहसको विषय भएका छन्।

राजनीतिक पार्टीहरूले विचारधारा, सिद्धान्त र नीतिलाई तिलाञ्जली दिएर केवल सत्ता र शक्तिको राजनीति हावी भएको कारणले विगत लामो समयदेखि सैद्धान्तिक-वैचारिक बहसको खडेरी परिरहेको छ। यस्तो खडेरीको शुष्क कालखण्डमा यस्ता प्रश्न उठ्नु र यसबारे चर्चा र बहस हुनु स्वयंमा सकारात्मक पक्ष हो। बीपी विना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक-वैचारिक विमर्श नै अपूर्ण हुने भएकाले बीपी स्मृति दिवसको अवसरमा यस्ता प्रश्नबारे विमर्श गर्नु थप सान्दर्भिक भएको छ।

कांग्रेसले जन्मजयन्ती र स्मृति दिवस गरी वर्षमा दुईपटक श्राद्ध जस्तै कर्मकाण्डी कार्यक्रम गर्दै आएको छ। कांग्रेसले हालसम्म बीपीका सिद्धान्त र विचारलाई वेदका ऋचा जस्तै पाठ तथा गायत्री मन्त्र जस्तै जप गर्दै आइरहेको छ, यान्त्रिक रूपमा बुझ्दै वा अनुसरण गर्दै आएको देखिन्छ। यस्तो शास्त्रीय सिद्धान्त, शास्त्रीय चिन्तन र शास्त्रीय प्रवृत्तिले कांग्रेस स्वयं शास्त्रीयताको प्रतीक भएको छ।

तर ४४औं स्मृति दिवसमा यसपटक कर्मकाण्डी र शास्त्रीय परम्परा तोडेर अहिलेको ज्वलन्त एजेन्डा जलवायु परिवर्तनबारे विचार गोष्ठी र ‘ग्रीन रन’ जस्ता सिर्जनशील कार्यक्रम गरी कांग्रेसलाई जनता र जनताका एजेन्डासँग जोड्ने नीति लिएको देखिन्छ। यस्तो क्रमभंगता प्रारम्भिक र सांकेतिक भए पनि सकारात्मक छ।

बीपीका विचारको सान्दर्भिकता र कांग्रेसको भविष्यको बारेमा उठेका प्रश्नले नयाँ बहस जन्माएको छ। बीपीको वैचारिक उत्तराधिकारी पार्टी कांग्रेसका लागि त यी केवल प्रश्न मात्रै होइनन्, यक्षप्रश्न नै भएका छन्। त्यसैले यस्ता गहन सैद्धान्तिक-वैचारिक प्रश्नको उत्तर खोज्नु कांग्रेसका लागि आजको प्रमुख चुनौती र सर्वोच्च प्राथमिकता हो।

 बीपीको वैचारिक विरासत 

निरंकुश राणा शासनको अन्त्य गरी लोकतन्त्र स्थापना गर्ने उद्देश्यले बीपीको नेतृत्वमा २००३ सालमा कांग्रेसको स्थापना भएको थियो। कांग्रेसको स्थापना मात्रै होइन, यसको आदर्श, सिद्धान्त र विचारको प्रतिपादन पनि बीपीले नै गरेका हुन्। त्यसैले कांग्रेसको वैचारिक प्रणेता र सिद्धान्तकार बीपी नै हुन्।

तत्कालीन परिवेशमा राजनीतिक तथा सामाजिक चेतनाको स्तर न्यून भएको कन्जरभेटिभ समाज भए पनि बीपी समयको गति र जनताको भावना बुझ्ने दूरदर्शी नेता थिए। राष्ट्रियताको संवर्धन, सार्वभौमसत्तासम्पन्न जनता, नागरिक अधिकार, लोकतान्त्रिक प्रणाली, बहुलवाद, समतामूलक समाज बीपीका प्रमुख सैद्धान्तिक प्रस्तावना हुन्। बीपीको सिद्धान्तको केन्द्रमा जनता थिए, लोकतन्त्र थियो। जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमान, समुन्नति र समानतालाई बीपीले कांग्रेसका मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गरेका थिए।

‘जुन प्रणालीले जनताको सार्वभौमिकता, स्वतन्त्रता र लोकतान्त्रिक अधिकारलाई संरक्षण गरी आर्थिक-सामाजिक रूपान्तरण गर्न सक्दैन, त्यो प्रणाली लोकतान्त्रिक पनि होइन र जनताको प्रणाली पनि हुन सक्दैन’ भन्ने बीपीको स्पष्ट दृष्टिकोण थियो। त्यसैले बीपीका सिद्धान्त र विचार लोकतान्त्रिक, उदारवादी, जनतामुखी, अधिकारमैत्री र समानतामूलक सिद्धान्त र मूल्य-मान्यताबाट नि:सृत थिए।

बीपीकै सैद्धान्तिक-वैचारिक नेतृत्वको कारणले कांग्रेस राष्ट्रवादी, लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील पार्टीको रूपमा स्थापित भएको थियो। नेपालमा लोकतन्त्र, बहुलवाद, उदारवाद, संविधानवाद र सार्वभौम जनताको सैद्धान्तिक जग बीपीकै कारणले बसेको वास्तविकता घामजत्तिकै छर्लङ्ग छ।

बीपीको अभीष्ट केवल सत्ता परिवर्तन मात्रै थिएन, लोकतान्त्रिक प्रणाली र समतामूलक समाज स्थापना गर्नु प्रमुख उद्देश्य थियो। बीपीका लागि लोकतन्त्र केवल शासन पद्धति मात्रै थिएन, जीवन पद्धति थियो। लोकतन्त्र स्थापनाका साथै नेपाली समाजको उदारीकरण र आधुनिकीकरणका लागि वैचारिक दृष्टिले बीपीले विशिष्ट र अतुलनीय योगदान गरेका छन्।

यस्ता सार्वभौम मूल्य-मान्यता र जनतामुखी विचार असान्दर्भिक हुने प्रश्नै भएन। पपुलिस्ट, अनुदारवादी, दक्षिणपन्थी, अतिवादी पार्टी, प्रवृत्ति र पात्र हावी हुँदै गइरहेको वर्तमान परिदृश्यमा बीपीका सिद्धान्त र विचार हिजोभन्दा आज झन् सान्दर्भिक छन्।

 बीपी विचारको विनिर्माण

बीपीका आधारभूत सिद्धान्त र विचार सान्दर्भिक छन्। त्यो बहसको विषय नै होइन। तर बीपीका सिद्धान्त, विचार र नीति तथा कांग्रेसका दस्तावेज धर्मग्रन्थ भने होइनन्। त्यसैले धर्मग्रन्थ जस्तो स्वस्तिवाचन वा मन्त्रोच्चरण गरेर कांग्रेस र बीपीको सान्दर्भिकता रहँदैन।

कुनै पनि पार्टीका विचारधारा (आइडियोलोजी), सिद्धान्त, नीति, रणनीति र कार्यनीतिहरू हुन्छन्। विचारधारा र सिद्धान्त सर्वकालिक र स्थायी हुन्छन्। तर राजनीतिक परिस्थिति र शक्ति सन्तुलन अनुसार नीति, रणनीति र कार्यनीतिहरू परिवर्तन भइरहन्छन्।

यदि कुनै पनि विचारधारा, सिद्धान्त वा पार्टी समयानुकूल गतिशील, परिवर्तनशील र अद्यावधिक भएनन् भने सान्दर्भिक रहँदैनन्। सैद्धान्तिक तथा वैचारिक गतिशीलतामा नै कुनै पनि विचारधारा, सिद्धान्त वा पार्टीको भविष्य अन्तर्निहित हुन्छ। त्यसैले परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यमा बीपीका विचार र नीतिका बारेमा पनि वस्तुनिष्ठ अध्ययन-अनुसन्धान र यथार्थपरक मूल्याङ्कन गर्नु आवश्यक छ।

बीपी जडसूत्रवादी थिएनन्, गतिशील थिए। बीपीका विचार पनि जडसूत्रवादी होइन, गतिशील छन्। उक्त वास्तविकताप्रति बीपी स्पष्ट थिए। तर केही कन्जरभेटिभ कांग्रेसजन र बुद्धिजीवीहरू अन्योलमा भएको देखिन्छ।

बीपीबारे कांग्रेसले थप अध्ययन वा पुन: अध्ययन (रि–लर्न) गर्नु आवश्यक देखिएको छ। बीपीलाई जडसूत्रका रूपमा होइन, गतिशील सिद्धान्तकारका रूपमा बुझ्न आवश्यक छ। त्यसैले उत्तरआधुनिक शब्दमा बीपीका सिद्धान्त र विचारलाई विनिर्माण (डिकन्स्ट्रक्सन) गर्न आवश्यक देखिएको छ। यसैगरी बीपीका सिद्धान्त र विचारका बारेमा कांग्रेसजन र कांग्रेसनिकट बुद्धिजीवीहरूको बुझाइलाई पनि विनिर्माण गर्नुपर्ने देखिएको छ।

यद्यपि विनिर्माण गर्ने पंक्तिकारको प्रस्तावलाई बीपीका विचारलाई चुनौती दिएको आरोप लाग्न सक्छ, जुन सत्य होइन। विनिर्माण भनेको कुनै विचारधारा वा सिद्धान्तलाई प्रतिवाद गर्नु वा चुनौती दिनु होइन।

२०औं शताब्दीमा फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले प्रतिपादन गरेको यो उत्तरआधुनिक अवधारणा मूलत: भाषा, साहित्य र दर्शनसँग सम्बन्धित छ। समाजमा स्थापित वा मूलधारका मूल्य-मान्यता, सिद्धान्त, अर्थ र संरचनालाई फरक, वस्तुनिष्ठ र आलोचनात्मक आयामबाट थप अध्ययन, प्रश्न र विश्लेषण गरेर विकसित हुने नूतन वैचारिक प्रक्रियालाई विनिर्माण भनिन्छ। राजनीतिशास्त्रमा विनिर्माण भन्नाले कुनै पनि मूल्य-मान्यता, सिद्धान्त, विचारलाई सबै आयामबाट अध्ययन गरी वास्तविक रूपमा बुझेर समयसापेक्ष बनाउने उद्देश्यले मौलिक रूपमा पुनर्परिभाषा, पुनर्व्याख्या वा पूरक व्याख्या गर्नु हो।

विनिर्माण किन

अन्य कारण पनि छन्। तर विनिर्माण गर्नुपर्ने प्रमुख रूपमा दुई कारण छन्:

पहिलो, १९औं र २०औं शताब्दीभन्दा २१औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य मौलिक रूपमा परिवर्तन भएको छ र समाजका समस्या थप जटिल र चुनौतीपूर्ण भएका छन्। कम्युनिजम, पपुलिजम, अधिनायकवाद, सर्वसत्तावाद, सैन्य तानाशाही, गरिबी, बेरोजगारी, युद्ध, द्वन्द्व जस्ता परम्परागत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भूराजनीतिक समस्या त छँदैछन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक असमानता, जलवायु परिवर्तन, दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासन जस्ता नयाँ समस्या र चुनौती सिर्जना भएका छन्।

यस्ता नवीन र जटिल चुनौतीको सामना गर्न नयाँ भिजन र नीति आवश्यक छ। उक्त वास्तविकतालाई आत्मसात् गर्दै बीपीका विचार र कांग्रेसका सिद्धान्तलाई जनभावना र समयानुकूल व्याख्या, पुनर्व्याख्या, परिमार्जन र अद्यावधिक गर्नु आवश्यक छ। यदि देश र जनताका समस्या समाधान गर्ने भिजन र नीतिका रूपमा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन। उदारवादी, लोकतन्त्रवादी र प्रगतिशील सिद्धान्त, विचार र पार्टीको त यो स्वाभाविक वैचारिक उद्विकास प्रक्रिया हो। किनभने यस्तो सिद्धान्त, विचार र पार्टीको भविष्य गतिशीलता, परिवर्तनशील र उदारतामा अन्तर्निर्भर हुन्छ।

दोस्रो, लोकतान्त्रिक समाजवादलाई परिवर्तित आर्थिक-सामाजिक परिवेशमा पुनर्विचार वा समयानुकूल पुन: परिभाषित गर्नु आवश्यक छ। सामन्तवादको अन्त्य गरी आर्थिक विकास र सामाजिक रूपान्तरणमार्फत समतामूलक समाज स्थापना बीपीको प्रमुख उद्देश्य थियो। एकातिर, दोस्रो विश्वयुद्धपछि औपनिवेशिकताबाट स्वतन्त्रता हासिल गरेका अविकसित तेस्रो विश्वमा समाजवाद लोकप्रिय अवधारणा थियो। अर्कोतिर, भारतीय समाजवादी पार्टी र नेताहरूसँगको घनिष्ठ सम्बन्धका कारण बीपी समाजवादी दर्शन, सिद्धान्त र जीवनशैलीबाट प्रभावित थिए। लोकतन्त्रले राजनीतिक स्वतन्त्रता र समाजवादले आर्थिक समानता प्रत्याभूत गर्ने बीपीको दृढविश्वास थियो।

तर फुटकर अन्तर्वार्ता, लेख, विचार बाहेक लोकतान्त्रिक समाजवाद र अर्थनीतिबारे बीपीका विस्तृत दस्तावेज छैनन्। लोकतान्त्रिक समाजवादबारे थप अध्ययन गरेर नेपालका लागि उपयुक्त र स्पष्ट दृष्टिकोण सहितको ठोस दस्तावेज प्रकाशित गर्ने चाहना अधुरो रहेको प्रति बीपी स्वयंले आत्मवृत्तान्तमा पश्चात्ताप गरेका छन्।

लोकतान्त्रिक समाजवादबारे राजनीतिक जीवनको पूर्वार्ध र उत्तरार्धमा बीपीका दृष्टिकोण पनि फरक देखिन्छन्। जीवनको पूर्वार्धमा बीपी मार्क्सबाट प्रभावित थिए। त्यसैले आर्थिक वृद्धि, भूमिसुधार, उत्पादन र प्रगतिशील कर प्रणालीलाई विशेष जोड दिएका थिए। तर उत्तरार्धमा महात्मा गान्धी र जर्मन दार्शनिक सुमाकरसँग सैद्धान्तिक निकटता देखिन्छ।

शायद यही वास्तविकतालाई आत्मसात् गरेर होला, अर्थतन्त्र र अर्थनीतिबारे कांग्रेसले आफ्नो सिद्धान्तलाई पुन:परिभाषा र पुनर्व्याख्या गर्नुपर्ने विचार कांग्रेस सभापति गगन थापाले व्यक्त गर्दै आएका छन्। कांग्रेसलाई लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) भन्दा एक कदम अगाडि बढेर सामाजिक लोकतन्त्रवादी (सोसल डेमोक्रेटिक) पार्टीको रूपमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। थापा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिले उदारवादी सिद्धान्त पक्षधर हुँदै गएको देखिन्छ।

समाजवादको पुनर्व्याख्या गर्ला कि सामाजिक लोकतन्त्र अंगीकार गर्ला ? यस्तो गहन सैद्धान्तिक-वैचारिक विषयमा निष्कर्षमा पुग्न कांग्रेसलाई समय लाग्न सक्छ। तर थापाको प्रस्ताव अनुसार कांग्रेसलाई सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा रूपान्तरण गर्नु सबैभन्दा उपयुक्त वैचारिक धार हो। किनभने सामाजिक लोकतन्त्र बीपीकै विचार र सिद्धान्तको विकसित, उन्नत र अद्यावधिक अवधारणा हो।

यदि सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा रूपान्तरण गर्न नसके पनि समाजवादको पुनर्परिभाषा र पुनर्व्याख्या गर्नु अपरिहार्य छ। त्यसैले कांग्रेसको आसन्न १५औं महाधिवेशनमा यसबारे गम्भीर छलफल र बहस गरी उपयुक्त नीति अंगीकार गर्नु आजको आवश्यकता हो।

कांग्रेस पुनर्निर्माणको प्रस्तावना  

केवल सैद्धान्तिक-वैचारिक दृष्टिले पुनर्परिभाषा वा पुनर्व्याख्या मात्रै पनि पर्याप्त छैन। कांग्रेसको सान्दर्भिकता र भविष्यका लागि सांगठनिक दृष्टिले पनि मौलिक रूपमा पुनर्गठन, पुनर्निर्माण र रूपान्तरण गर्नु आवश्यक छ। होइन भने यथास्थितिमा कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छैन। किनभने कांग्रेसको संरचना परम्परागत र भद्दा छ भने पार्टी प्रणाली मृतप्राय: छ। केन्द्रदेखि गाउँसम्मका संरचनाहरू गतिशील र कार्यमूलक छैनन्।

कांग्रेसका नेता-कार्यकर्ताले सिद्धान्तलाई भन्दा सत्ता र संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिंदै आएको देखिन्छ। कांग्रेस नीतिप्रधान होइन, नेताप्रधान पार्टी भएको छ। कांग्रेसका कार्यकर्ताहरू पनि जनतामुखी होइन, नेतामुखी छन्। उनीहरू जनताको होइन, नेताहरूको घर-दैलो गर्छन्। यो उनीहरूको जीवन पद्धति बनिसकेको छ। त्यसैले कांग्रेसका नेतादेखि कार्यकर्तासम्म सबै जनताबाट विमुख भएका छन्।

विगत दुई दशकदेखि यी एजेन्डा बौद्धिक समुदाय, सञ्चारमाध्यम, नागरिक समाजले सशक्त रूपमा उठाउँदै आएका छन्। तर नेतृत्वले सुनेन।

यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने अब लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्र अनुसार कार्यकर्तामा आधारित (क्याडर बेस्ड) होइन, जनतामा आधारित (मास बेस्ड) उदार र खुला पार्टीका रूपमा रूपान्तरित गर्नुपर्छ। नेताप्रधान होइन, नीतिप्रधान पार्टी हुनुपर्छ। पार्टीका कार्यकर्ता नेताप्रति वफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ।

क्रियाशील र साधारण गरी दुई सदस्यता प्रणाली अन्त्य गरी एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ। हालसम्म प्रतिनिधिमूलक रूपमा नेतृत्व चयन गरिंदै आएको छ। तर अब पार्टी सदस्यहरूबाटै प्रत्यक्ष प्रक्रियामार्फत वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्नु उपयुक्त हुनेछ। अब प्राइमरी निर्वाचनबाटै टिकट वितरण गर्ने लोकतान्त्रिक र पारदर्शी प्रणाली अनुसरण गरिएन भने नयाँ र युवा पुस्ता आकर्षित हुँदैन।

विगत लामो समयदेखि नेतृत्वपंक्तिमा रहेका तथा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका असफल दोस्रो र तेस्रो पुस्तालाई अब अनिवार्य अवकाश दिनुपर्छ। विशेष महाधिवेशनदेखि हालसम्मका विवादास्पद अभिव्यक्ति र लज्जास्पद गतिविधिको आधारमा विश्लेषण गर्दा यस्तो प्रवृत्तिबाट कांग्रेसलाई अविलम्ब मुक्ति दिनु आवश्यक छ। पार्टी विभाजनको त्रास देखाएर उक्त समूहले बार्गेनिङ गर्दै आएको छ। तर वास्तविकता के हो भने यस्तो असफल र अलोकप्रिय पंक्तिको अब पार्टी विभाजन गर्न सक्ने हैसियत समेत छैन। त्यसैले अब कांग्रेस गुटगत भागबण्डा र नेताहरूको व्यवस्थापन गर्ने पार्टी होइन, जनताको विश्वास आर्जन गर्ने पार्टीका रूपमा रूपान्तरित गर्न आवश्यक छ।

बौद्धिक, व्यावसायिक र आफ्नो क्षेत्रमा स्थापित विज्ञ तथा विशिष्ट व्यक्तित्वलाई न्यायोचित स्थान र भूमिकाको व्यवस्था छैन। यही कारणले कांग्रेसप्रति आकर्षण छैन। बौद्धिक, व्यावसायिक तथा विज्ञहरूले सकारात्मक योगदान गर्न सक्ने भएकाले उनीहरूलाई ‘ल्याटरल इन्ट्री’ (विशेष प्रकियामार्फत पार्टीमा स्थान र भूमिका दिने प्रणाली) गर्नु आवश्यक छ। किनभने जहिलेसम्म सम्पूर्ण लोकतन्त्रवादीहरूको साझा मञ्च बन्न सक्दैन, त्यसबेलासम्म कांग्रेसले पुनर्जीवन पाउन सक्दैन।

यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी-जनजाति, दलित बाहेकका भ्रातृ संस्थाहरूको बारेमा समेत पुनर्विचार गरी खारेज गर्नुपर्छ। कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, कानून व्यवसायी, इन्जिनियरिङ, पत्रकारिता जस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रका शुभेच्छुक संस्था खारेज गर्नुपर्छ।

गत पुसमा भएको विशेष महाधिवेशनले विधान संशोधन गरी यी केही प्रस्तावलाई सम्बोधन गरेको छ, केही अझै बाँकी छन्। यस्तो व्यापक पुनर्गठन र रूपान्तरण प्रक्रियालाई पूर्णता दिन आसन्न १५औं महाधिवेशनबाट बाँकी प्रस्तावलाई पनि विधान संशोधन गरी सम्बोधन गर्नुपर्छ।

फगत एउटा कुनै पार्टीको उदयको कारणले यान्त्रिक रूपमा ‘बाइ डिफल्ट’ (स्वत) कांग्रेस जस्तो लोकतन्त्रवादी पार्टीको सान्दर्भिकता, विश्वसनीयता र भविष्यको अवसान हुँदैन। कांग्रेसको भविष्य स्वयं यसकै नीति र पार्टी पुनर्निर्माणमा अन्तर्निहित छ।

पुनर्गठन र रूपान्तरण थापाका एजेन्डा हुन्। यही एजेन्डाका आधारमा विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएका हुन्। सभापति भएपछि थापाले पुनर्गठन र रूपान्तरण गरी बदलिएको कांग्रेस बनाउने घोषणा गरेका थिए। विशेष महाधिवेशनबाट यो प्रक्रिया प्रारम्भ भएको छ। थापाकै भाषामा कांग्रेसलाई बदल्न अपरिहार्य छ र बदलिएको सन्देश जनतामा प्रभावकारी रूपमा पुर्‍याउन पनि आवश्यक छ। त्यसैले थापाको नेतृत्वमा कांग्रेस पुनर्जीवनको यो अन्तिम अवसर हो भने थापाका लागि अन्तिम परीक्षा।

बीपी र कांग्रेसबारे उठेका यस्ता सैद्धान्तिक-वैचारिक प्रश्नबारे गम्भीर अध्ययन, अनुसन्धान र विमर्श गर्न ‘वैचारिक बहस शृङ्खला’ आजैदेखि शुरु गर्नु स्मृति दिवसको सार्थकता र बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

लेखक
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?