News Summary
Generated by OK AI. Editorially reviewed.- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा ७१ वर्षीया वृद्धाको मस्तिष्क नसामा देखिएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
७ साउन, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरिएको छ । ७१ वर्षीया वृद्धामा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर देखिएको थियो ।
अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा रहेको चिकित्सकहरूको टिमले शल्यक्रिया गरी ट्युमर हटाएको हो । डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो थियो । २५ असारमा ७ घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकालिएको उनले जानकारी दिए ।
डा. भण्डारीका अनुसार उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या थियो । अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए ।
बिरामीका आफन्तले बताए अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन ।
बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको डा.भण्डारीले बताए । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।
डिस्चार्जपछि बिरामी नियमित फलोअप जाँचका लागि साउन ५ गते अस्पताल आएकी थिइन् ।
के थियो समस्या ?
बिरामीका छोरा बुहारीका अनुसार २१ वर्ष अगाडि नै बिरामीमा समस्या सुरु भएको थियो । घाँटीको बायाँ भागमा बाहिरपट्टि एउटा डल्लो देखियो । उक्त डल्लो बिस्तारै बढ्दै गयो । गलगाँड हो कि भन्ने सोचे तर त्यतिबेला आफैँ ठिक होला भन्ने सोचेर उपचार गराएनन् ।
बिरामीको २०७२ साल अगाडि नै पत्थरीको समस्याको आकस्मिक रूपमा अपरेशन भयो । उक्त अपरेशनको क्रममा पनि घाँटीमा आएको डल्लो के हो भन्ने कुरा फेरि निस्कियो । तर त्यसको जाँच वा उपचारमा कसैले ध्यान दिएनन् ।
तर जब टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो, हरेक समस्याको कारण त्यही घाँटीमा आएको मासुको डल्लो हो कि भन्ने शंका भएपछि २०७२ साल असोज–कात्तिकतिर उनकी बुहारीले बिरामीलाई अपरेशन गराउन अस्पताल लगिन् । काठमाडौँको एक अस्पतालमा स्वास्थ्य जाँच गराइन् । जाँचको क्रममा चिकित्सकहरूले मुटुबाट टाउकोमा गएको नसामा मासु पलाएको र त्यसको अपरेशन गर्नुपर्ने बताए ।

त्यहाँबाट उनीहरूलाई काठमाडौँको वीर अस्पतालमा रेफर गरिदिए । उक्त मासुको डल्लो अपरेशन गरेर निकाल्ने तयारी भयो । उनीहरूले अपरेशनका लागि आवश्यक पर्ने औषधिहरू किनिसकेका थिए । चिकित्सकहरूले अपरेशन गर्नुअघि बिरामी पक्षलाई सर्जरीका क्रममा हुने जोखिमबारे प्रस्ट्याए । सर्जरीका क्रममा प्यारालाइसिस हुनेदेखि मृत्युको जोखिमसम्म हुनसक्छ भनेपछि उनीहरू डराए ।
त्यतिबेला बिरामीलाई सुगर पनि देखियो । किनिसकेको औषधि पनि फिर्ता गरेर अपरेशन नै नगरी उनीहरू घर फर्किए । बिरामीले सुगरको औषधि भने चिकित्सकको सल्लाह अनुसार नियमित खाइन् ।
अपरेशन नगरेपछि घर, परिवार, छिमेक र समाजमा घाँटीमै पलाएको मासुको डल्लोको मात्रै चर्चा हुने भएपछि बिरामी र उनका परिवार दिक्क भइसकेका थिए ।
नियमित सुगर जाँच गर्ने क्रममा २०७५ सालतिर फेरि अर्को अस्पतालमा सर्जरीको तयारी भयो तर त्यहाँ मेसिन बिग्रिएको कारण त्यतिबेला पनि सर्जरी सर्यो । अपरेशन टरेपछि बिरामीले केही वर्षअघि झण्डै ७ महिना नियमित थेरापी समेत गराएकी थिइन् । तर थेरापीले पनि घाँटीमा पलाएको मासु सुकेन ।
दुईपटक अपरेशन रोकियो । घाँटीमा भएको मासुको डल्लोको आकार बढ्दै÷बढ्दै गयो । त्यसले गर्दा बिरामी र उनका परिवारमा तनावको अवस्था भइरह्यो ।
बिस्तारै स्वास्थ्यमा जटिलताहरू देखिन थाले । बेलाबेलामा अत्यधिक टाउको दुख्ने, चिटचिट पसिना आउने, अचेत भएजस्तो हुने र शरीरको कुनै भाग नचलेजस्तो झम्झमाउने, घाँटी बाँधिएजस्तो हुने लक्षणहरू देखिए ।
नियमित सुगर जाँच गरिरहेका चिकित्सकले पनि बिरामीको अवस्था देखेर घाँटीमा पलाएको मासुको डल्लो अपरेशन गरेर हटाउन सुझाव दिए । बेलाबेलामा नाक, कान तथा घाँटी विभागमा जाँदै जँचाउँदै गरेका थिए । धेरैपछि मात्रै चिकित्सकहरूले यो न्युरोसँग सम्बन्धित समस्या हो भनेका थिए र ।
नियमित जाँच गर्ने अस्पतालमा त्यसको पुष्टि गरेपछि बिरामी थप उपचारका लागि नर्भिक अस्पताल आइपुगेका हुन् । नर्भिकमा डा. भण्डारीसँगको परामर्शपछि उनीहरूले सर्जरी गरेर ट्युमर हटाउने निर्णय गरेका थिए ।
प्रतिक्रिया 4