+

२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

२०८३ साउन  ७ गते १४:१७ २०८३ साउन ७ गते १४:१७
२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा ७१ वर्षीया वृद्धाको मस्तिष्क नसामा देखिएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

७ साउन, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरिएको छ । ७१ वर्षीया वृद्धामा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर देखिएको थियो ।

अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा रहेको चिकित्सकहरूको टिमले शल्यक्रिया गरी ट्युमर हटाएको हो । डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो थियो । २५ असारमा ७ घण्टा लामो शल्यक्रिया विधिबाट बिरामीको ट्युमर निकालिएको उनले जानकारी दिए ।

डा. भण्डारीका अनुसार उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या थियो । अचेत हुने, शरीरको कुनै भाग बेलाबेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्ने लगायतका समस्या बढ्दै गएका थिए ।

बिरामीका आफन्तले बताए अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिए पनि विभिन्न कारणले उपचार गरिएको थिएन ।

बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको डा.भण्डारीले बताए । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।

डिस्चार्जपछि बिरामी नियमित फलोअप जाँचका लागि साउन ५ गते अस्पताल आएकी थिइन् ।

के थियो समस्या ?

बिरामीका छोरा बुहारीका अनुसार २१ वर्ष अगाडि नै बिरामीमा समस्या सुरु भएको थियो । घाँटीको बायाँ भागमा बाहिरपट्टि एउटा डल्लो देखियो । उक्त डल्लो बिस्तारै बढ्दै गयो । गलगाँड हो कि भन्ने सोचे तर त्यतिबेला आफैँ ठिक होला भन्ने सोचेर उपचार गराएनन् ।

बिरामीको २०७२ साल अगाडि नै पत्थरीको समस्याको आकस्मिक रूपमा अपरेशन भयो । उक्त अपरेशनको क्रममा पनि घाँटीमा आएको डल्लो के हो भन्ने कुरा फेरि निस्कियो । तर त्यसको जाँच वा उपचारमा कसैले ध्यान दिएनन् ।

तर जब टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो, हरेक समस्याको कारण त्यही घाँटीमा आएको मासुको डल्लो हो कि भन्ने शंका भएपछि २०७२ साल असोज–कात्तिकतिर उनकी बुहारीले बिरामीलाई अपरेशन गराउन अस्पताल लगिन् । काठमाडौँको एक अस्पतालमा स्वास्थ्य जाँच गराइन् । जाँचको क्रममा चिकित्सकहरूले मुटुबाट टाउकोमा गएको नसामा मासु पलाएको र त्यसको अपरेशन गर्नुपर्ने बताए ।

न्युरोसर्जन डा. पावनबहादुर भण्डारी ।

त्यहाँबाट उनीहरूलाई काठमाडौँको वीर अस्पतालमा रेफर गरिदिए । उक्त मासुको डल्लो अपरेशन गरेर निकाल्ने तयारी भयो । उनीहरूले अपरेशनका लागि आवश्यक पर्ने औषधिहरू किनिसकेका थिए । चिकित्सकहरूले अपरेशन गर्नुअघि बिरामी पक्षलाई सर्जरीका क्रममा हुने जोखिमबारे प्रस्ट्याए । सर्जरीका क्रममा प्यारालाइसिस हुनेदेखि मृत्युको जोखिमसम्म हुनसक्छ भनेपछि उनीहरू डराए ।

त्यतिबेला बिरामीलाई सुगर पनि देखियो । किनिसकेको औषधि पनि फिर्ता गरेर अपरेशन नै नगरी उनीहरू घर फर्किए । बिरामीले सुगरको औषधि भने चिकित्सकको सल्लाह अनुसार नियमित खाइन् ।

अपरेशन नगरेपछि घर, परिवार, छिमेक र समाजमा घाँटीमै पलाएको मासुको डल्लोको मात्रै चर्चा हुने भएपछि बिरामी र उनका परिवार दिक्क भइसकेका थिए ।

नियमित सुगर जाँच गर्ने क्रममा २०७५ सालतिर फेरि अर्को अस्पतालमा सर्जरीको तयारी भयो तर त्यहाँ मेसिन बिग्रिएको कारण त्यतिबेला पनि सर्जरी सर्‍यो । अपरेशन टरेपछि बिरामीले केही वर्षअघि झण्डै ७ महिना नियमित थेरापी समेत गराएकी थिइन् । तर थेरापीले पनि घाँटीमा पलाएको मासु सुकेन ।

दुईपटक अपरेशन रोकियो । घाँटीमा भएको मासुको डल्लोको आकार बढ्दै÷बढ्दै गयो । त्यसले गर्दा बिरामी र उनका परिवारमा तनावको अवस्था भइरह्यो ।

बिस्तारै स्वास्थ्यमा जटिलताहरू देखिन थाले । बेलाबेलामा अत्यधिक टाउको दुख्ने, चिटचिट पसिना आउने, अचेत भएजस्तो हुने र शरीरको कुनै भाग नचलेजस्तो झम्झमाउने, घाँटी बाँधिएजस्तो हुने लक्षणहरू देखिए ।

नियमित सुगर जाँच गरिरहेका चिकित्सकले पनि बिरामीको अवस्था देखेर घाँटीमा पलाएको मासुको डल्लो अपरेशन गरेर हटाउन सुझाव दिए । बेलाबेलामा नाक, कान तथा घाँटी विभागमा जाँदै जँचाउँदै गरेका थिए । धेरैपछि मात्रै चिकित्सकहरूले यो न्युरोसँग सम्बन्धित समस्या हो भनेका थिए र ।

नियमित जाँच गर्ने अस्पतालमा त्यसको पुष्टि गरेपछि बिरामी थप उपचारका लागि नर्भिक अस्पताल आइपुगेका हुन् । नर्भिकमा डा. भण्डारीसँगको परामर्शपछि उनीहरूले सर्जरी गरेर ट्युमर हटाउने निर्णय गरेका थिए ।

ट्युमर मस्तिष्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

२१ वर्षअघि घाँटीमा देखिएको थियो सानो डल्लो, रहेछ दुर्लभ ट्युमर

बारम्बार आँखा र मुख सुक्छ ? हुन सक्छ ‘स्याग्रेन्स सिन्ड्रोम’ को संकेत

बारम्बार आँखा र मुख सुक्छ ? हुन सक्छ ‘स्याग्रेन्स सिन्ड्रोम’ को संकेत

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म : सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?