News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका प्रखर अर्थशास्त्री तथा नागरिक अधिकारका अभियन्ता डा. देवेन्द्रराज पाण्डेको साउन १ गते ८० वर्षको उमेरमा निधन भएको छ ।
- डा. पाण्डेले नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि २०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
- पञ्चायती व्यवस्थाविरुद्ध अर्थसचिवको पदबाट राजीनामा दिएर सार्वजनिक जीवनमा उदाउनुभएका उहाँले जीवनभर सादगीपूर्ण जीवन र इमानदारितालाई आत्मसाथ गर्नुभएको थियो ।
वैशाखको पहिलो साता दिउँसोतिर डा. पाण्डेको घरमा पुग्दा उहाँ प्याङ्क्रियाजमा भएको क्यान्सरले दिएको दुःख व्यवस्थापन गर्दै निश्चित भएर पनि अनिश्चित अन्तिम समय कुरिरहेको भेटिनुभयो । केही पीडायुक्त हाँसो र ठट्टा सहित सहज तरिकाले आफ्नो अवस्था बारे बताउनुभयो । केही समय पहिले डाक्टरले परीक्षण गरिसकेपछि क्यान्सर भएको जानकारी दिएछन् । डा. पाण्डेले हतार नगरिकन भन्नुभएछ- अब म यसको उपचार गर्नतिर लाग्दिनँ डाक्टरसाहेव । मैले जे जस्तो जीवन बिताएँ त्यो नै पर्याप्त छ । म आफ्नो जीवनबाट सन्तुष्ट नै छु । अब थप बाँचेर मैले गर्न सक्ने पनि केही छैन । म थप उपचार र त्यसका कारण व्यहोर्नुपर्ने कष्ट सामना गर्न लाग्दिनँ । जति समय बाँचिन्छ त्यति अलि सहज तरिकाले बाँच्न पाइयोस् । धेरै पीडा नहोस् । त्यस्तो व्यवस्था मिलाउनुस् ।
अनुहारमा घरीघरी थकान र दुःखाइका केही धमिला चिह्नहरू देखिन्थे । भित्तामा टीभीको स्क्रिन थियो । भन्दै हुनुहुन्थ्यो, युट्युबमा जलवायु परिवर्तनका असर बारे एउटा डकुमेन्ट्री हेर्दै थिएँ । विषय तत्काल समकालीन राजनीति, बालेन सरकारले गर्न खोजिरहेको काम र लोकतन्त्रको भविष्यतिर सोझियो । लोकतन्त्रको स्थापनाका लागि सँगै लडेका दल र तिनको नेतृत्वका कारण लोकतन्त्रमाथि नै आइरहेको जोखिमका कुरा भए । पछिल्लो समय सेनाको भूमिका के हो भन्ने प्रश्न उठ्यो । एकाध घन्टा बसेर आफ्नो निकट हुँदो मृत्युको प्रतीक्षाको समयलाई सेलिब्रेशन गरिरहेको एउटा ऋषितुल्य तपस्वी पुरुषका रूपमा डा. पाण्डेका अन्तिम दिनहरू सहज होउन् भन्ने कामना गर्दै म निस्किएँ ।
दुइटा प्रश्नले मनमा शून्यता अनुभव गरें । पहिलो डा. पाण्डेको मृत्युपछि नेपालको नागरिक समाज, नागरिक अधिकारको आन्दोलनले अनुभव गर्ने उहाँको व्यक्तित्वको अभाव । र अर्को के म उनको जस्तो नजिकिंदो मृत्युबारे थाहा भएर पनि यति शान्त हुन सक्छु भन्ने प्रश्न ।
उहाँलाई आउँदै गरुँला त भनेको थिएँ तर कहिल्यै फर्किनँ । मे ६ तारिखमा उहाँसँग अन्तिम पटक संवाद भएछ मेसेन्जरमा ।
मः नमस्कार डा.सा’ब के कस्तो चल्दैछ ?
डा. पाण्डेः चल्न छाडे सबै कुरा । काल पर्खाइ छ । अब धेरै कुर्न नपर्ला भन्ने आश छ । मानिस अलिअलि बोल्दा बोल्दै लोकबाट विदा हुनुपर्छ भन्ने मान्यताले अलिअलि ट्विट गर्न थालें ।
मैले ट्विटर चलाउन छाडेकाले पाण्डेले आफ्ना अन्तिम दिनहरूमा के भनेर लोकसँग संवाद गरिरहेका थिए भन्ने थाहा भएन । यसपछि कहिले आफ्नै लुते धन्दाको शिकार भएर र कहिले आफैंमा मगनमस्त भएर उनलाई सम्पर्क गर्न बिर्सिरहें या कहिले तर्किपनि रहें ।
यस बीचमा भास्कर गौतमको सक्रियतामा देवेन्द्रराज पाण्डे प्रवचन शृंखलाको पहिलो सत्र आयोजना भयो । उनलाई सार्वजनिक रूपमा गरिएको त्यो नै अन्तिम कार्यक्रम थियो । पाण्डेको अनुपस्थितिमा सम्पन्न उनका योगदानहरूलाई सम्झन र नयाँ पुस्तामा उनको भूमिकाको अर्थ सम्प्रेषण गर्न ऊक्त कार्यत्रमले एउटा भूमिका खेल्यो ।
साउन १ गते साँझ उनै पाण्डेले अन्तिम सास फेरेको खबर आयो । भोलिपल्ट उहाँको साथ–संगतमा केही समय सँगै रहेका काठमाडौंको नागरिक समाजको एउटा पंक्ति विशालनगरदेखि आर्यघाटसम्म उहाँको अन्तिम यात्रामा सहभागी भयो । सबैको अनुहारले भनिरहेको थियोः लोकतन्त्र र विधिको शासन सहित नागरिक अधिकारहरू खुम्चिने खोसिने प्रक्रिया शुरु हुँदै गर्दा हामीलाई एउटा सक्रिय डा. पाण्डेको खाँचो थियो । उनले अलि हतारमा हामीलाई छाडेर हिंडे ।
पाण्डेको अन्तिम यात्रा थाल्नु अगाडि निवासमा रामवरण यादव, बाबुराम भट्टराई, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, कृष्ण खनाल, कृष्ण पहाडी, गगन थापा, नारायणकाजी श्रेष्ठ, अमृता लम्साल, चन्द्रकिशोर, राजेन्द्र दाहाल, अर्चना थापा, भोजराज पोख्रेल, केदारभक्त माथेमा, भास्कर गौतम, राजेन्द्र महर्जन, सञ्जीव उप्रेती लगायत राजनीतिक वृत्त र नागरिक समाजका जानेमाने अनुहार उपस्थित थिए ।

हुनत उनले आफ्ना बारेमा आफ्नो पछिल्लो कृति ‘एक ज्यान दुई जुनी’मा धेरै र सबैजसो कुरा बताएका छन् । पारिवरिक पृष्ठझूमि, शिक्षा, सरकारी सेवामा संलग्नता, अर्थसचिवबाट हठात् राजीनामा, नागरिक समाजमा सक्रियता, अध्ययन, अनुसन्धान, लेखन, स्वावलम्बन कार्यत्रम मार्फत विपन्न वर्गको उत्थानका लागि गरिएका प्रयासहरू । तर केही समयको निकट सम्बन्धका कारण उनका केही जीवनदृष्टिलाई नजिकबाट नियाल्न पाएकोले यहाँ केही टाढाबाट पढिएका केही नजिकबाट देखिएका डा. पाण्डेका सार्वजनिक जीवनका पाटाबारे चर्चा गर्ने प्रयास गरिनेछ ।
मैले चिनेका नागरिक देवेन्द्रराज
२०३६ सालको विद्यार्थी आन्दोलन राजाको अधिनायकवादी पञ्चायती शासनका विरुद्ध आम जनआक्रोशको रूपमा फैलिएको थियो । म पनि आफैंभित्रका जिज्ञासाहरूले धकेलेर आन्दोलनमा सामेल भएँ । लाठी र अश्रुग्याँसको प्रहार पचाएँ र जनमतसंग्रहको घोषणापछिको माहोलमा साथीहरूको संगतले नेकपा मालेसँग जोडिएँ । त्यसपछि मार्क्सवादको छिपछिपे अध्ययन गर्न थालें ।
मालेले जनमतसंग्रहको बहिष्कारको नीति लियो । हामी पञ्चायत र राजाको विरोध गर्दागर्दै पनि जनमतसंग्रहको खुलापनको सही उपयोग गर्न चुक्दै थियौं । तर राजा र पञ्चायत कसरी कमजोर हुन्छन् भन्ने चासो हुने नै भयो । यही क्रममा फागुनको पहिलो साता पत्रपत्रिकामा एउटा सनसनी खोज समाचार आयोः अर्थसचिव डा. देवेन्द्रराज पाण्डेद्वारा राजीनामा । प्रधानमन्त्री थापाले जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थालाई सहयोग गर्न व्यापक रूपमा वन फँडानी र राज्यकोषको दुरुपयोग गरेको कुरामा असहमति जनाउँदै पाण्डेले राजीनामा दिएका हुन् आदि आदि । कतिपय मसला थपेर पनि समाचार आउँथे । यसबाट हामीभित्र एउटा खुशी उत्पन्न हुने नै भयो । त्यसयता उनका लेख, अन्तर्वार्ता खोजेर पढ्ने गरियो ।
पञ्चायतभित्रै या दरबारले निर्माण गरेको भृत्यतन्त्र भित्रै पनि अन्तरविरोधहरू छन् त्यसले दरबारलाई कमजोर पार्छ र विरोधीहरूलाई सहज बनाउँछ भन्ने अपेक्षा राखिन्थ्यो । उनका अन्तर्वार्ता र लेखमा सहभागितामूलक प्रजातन्त्र र उनको परिभाषाको प्रजातान्त्रिक समाजवादले गर्ने सोसियल इञ्जिनियरिङका सूक्ष्म विषयहरू हुन्थे ।
२०४६ सालको आन्दोलनपछि बनेको सरकारमा उनी मानवअधिकारवादीहरूका तर्फबाट (त्यतिबेला नागरिक शब्दको प्रयोग लोकप्रिय भइसकेको थिएन) मन्त्री भए । पाण्डे कांग्रेस तर्फबाट अर्थमन्त्री मथुरा श्रेष्ठ कम्युनिष्टहरूका तर्फबाट स्वास्थ्यमन्त्री । तर उनी हार्डकोर कांग्रेसी थिएनन् । त्यसैले उनका कुराहरूप्रति हाम्रो चाख थियो । जनआन्दोलनको समयमा एउटा मानवअधिकारवादी तथा पार्टीसँग आवद्ध नभएको स्वतन्त्र बुद्धिजीवीका रूपमा उनी सबैका साझा व्यक्तित्व पनि थिए ।
कम्युनिष्टहरूका दुःख उतिबेला पनि थिए, अहिले पनि छन् कि विश्व विरादरीमा कम्युनिष्टहरूलाई सहजै स्वीकारिंदैन । अनि आफ्नो राजनीति अघि बढाउन पनि गैरकम्युनिष्टहरूको अनुमोदन चाहिने गरेको छ । गणतन्त्रको लडाइँ मूलतः माओवादीले लडे तर गिरिजाप्रसाद कोइराला कांग्रेसको नेता हुँदैनथे भने त्यही समयमा गणतन्त्र स्थापित गर्न लगभग असम्भव थियो । यसैले पनि पाण्डे जस्ता व्यक्तित्वहरू एमालेमा भइदिए राम्रो हुन्थ्यो भन्ने हामीलाई लोभ लाग्थ्यो ।
पाण्डेको दोस्रो अवतार २०३६ मा शुरु भयो भने तेस्रो अवतार चाहिं २०५० तिर लोकदल खोलेपछि । आफ्नो संस्मरणात्मक कृति ‘एक ज्यान दुई जुनी’मा उनी बारम्बार सम्झिन्छन् कि ठूला अर्थ दिने समाज रूपान्तरणका शब्द या जार्गन प्रयोग गरे पनि यथार्थमा तत्कालीन कांग्रेस र कम्युनिष्ट पार्टीहरूमा समाज रूपान्तरणको आधारभूत गृहकार्य थिएन, त्यता तिनको ध्यान पनि जाँदैनथ्यो । उनले लेखेका पनि छन् ः २०४६ सालको परिवर्तनपछि अर्थमन्त्री हुँदा पनि मेरो अनुभव के रह्यो भने नेपाली कांग्रेस वा त्यसबेलाको वाममोर्चाभित्र समाज परिवर्तन बारे गहन, कार्यमूलक र परिणाममुखी चिन्तनको लक्षण भेट्न गाह्रो हुन्थ्यो । पार्टीका दस्तावेजहरूमा ‘क्रन्तिकारी’ शब्दावली जति थुप्रिएका भए पनि आस्था वा आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न अथवा राज्य सञ्चालनमा आवश्यक नीतिगत, विधिगत र संरचनागत परिवर्तनको अजेण्डा प्रवेश गराउन चाहिने खाकाको झझल्को वाममोर्चाका नेताहरूमा समेत थिएन ।

उनलाई कांग्रेस र तत्कालीन एमाले दुवैले आफ्नो दलमा आउन आग्रह गरेका पनि हुन् । हामीलाई लाग्थ्यो यत्तिको जानेबुझेको समाजवादी झुकाव भएको मान्छे एमालेमा भइदिए एमालेका नीतिहरू बढी व्यावहारिक हुँदा हुन् । एउटा रमाइलो सम्झना पनि छ । पोखराका चन्द्रकान्त पौडेल उर्फ गोर्खापत्र बाजे पत्रपत्रिका बोकेर शहरमा कराउँदै बिक्री गर्न हिंड्थे । रमाइलो शीर्षक मिलाउँथे । उनी एकपटक कराउँदै हिंडेको सुनियोः डा. पाण्डे मालेतिर । हत्तपत्त अलि रोमाञ्चित हुँदै पत्रिका किनेर पढियो । पाण्डे सार्क अर्थमन्त्रीहरूको बैठकमा भाग लिन माल्दिभ्सको राजधानी मालेतिर जान लागेका रहेछन् । मजाले हाँसियो ।
उनलाई यी दलहरूका प्रति विश्वास लागेन र आफ्नै प्रयोग गर्न भनेर लोकदल खोले । यसका मुख्य सहायक नेताहरू माले र मार्क्सवादी पृष्ठभूमिबाट आएका टंक कार्की लगायतका थिए ।
शायद कुनै समयको उनको पुर्ख्यौली पाल्पाका पाण्डेहरू थिए । यी काठमाडौं जन्मेर यतै हुर्केका र उनको आफ्नै भनाइमा काठमाडौं मानसिकतामा हुर्केका (एक ज्यान दुइ जुनीमा एउटा च्याप्टर नै छ यो शीर्षकको) पाण्डेले पाल्पालाई निर्वाचन क्षेत्रका रूपमा रोजे । निर्वाचनमा पराजित भएपछि पाण्डेको राजनीतिको प्रयोग असफल भयो । लोकदलमा रहेका वामपन्थीहरू फेरि माले, एमालेमा फर्के । बाँकी आफ्नो बाटो लागे ।
यहाँनिर दुइटा प्रसंग थप्नु आवश्यक होला । काठमाडौं मानसिकता र उनले नेपालका पहाड र तराईका केही गाउँहरूमा प्रयोग गरेको स्वावलम्बन कार्यक्रमको विषय । यी दुवै कुरा भने मैले उनको संगत गरेपछि मात्रै थाहा पाएको हुँ ।
स्वावलम्बन र सहभागितामूलक प्रजातन्त्र
बाहिरबाट हेर्दा त मैले उनलाई एक जना अनुसन्धानकर्ता, अर्थतन्त्र र राजनीति बारे चिन्तन–मनन गर्ने र नागरिक अधिकारका पक्षमा सुशासनका पक्षमा बोलिरहने बौद्धिकका रूपमा चिनेको थिएँ । २०५६ जेठबाट काठमाडौंमा बस्न थालेपछिको बेरोजगारीको समयमा म मार्टिन चौतारी लगायत विभिन्न बहसका थलोहरूमा जाने गर्थें । त्यसक्रममा कतैबाट अनिल भट्टराईसँग चिनजान भयो । उनले मलाई नेपाल दक्षिणएशिया केन्द्र (नेसाक)सम्म पुर्याए, उनी त्यसका निर्देशक थिए । त्यहाँ पुस्तकहरूको संग्रह थियो । नेसाककै उत्पादन रहेको १९९८ को मानव विकास प्रतिवेदन । डा. पाण्डेको नेपालको असफल विकास (फेल्ड डेभलपमेन्ट) लगायत । प्रा. वीरेन्द्रप्रसाद मिश्र अध्यक्ष हुनुहुन्थ्यो । कुन संयोगले मलाई पछि त्यसको सदस्य र खासै गरिखान नसक्ने अध्यक्ष पनि बनायो । म आफैं यस्ता संस्थाहरू चलाउने काममा बिल्कुल अनाडी मान्छे हुँ, प्रमाणित खालको ।
मानव विकास प्रतिवेदन डा.पाण्डेको नेतृत्वमा चैतन्य मिश्रहरूको संलग्नतामा तयार भएको त्यसप्रकारको पहिलो प्रतिवेदन रहेछ । यसले अर्थतन्त्र, समाज र राज्यको भूमिकालाई बुझ्ने, आर्थिक विकास र जीडीपीलाई बुझ्ने मेरो अर्थशास्त्रीय दृष्टिलाई बदल्न मद्दत गरेको थियो । साथै आर्थिक विकासको केन्द्रमा मान्छे हुनुपर्छ भन्ने मान्यता सहित नेपाली समाज विविधतायुक्त छ र एउटै नीति र प्राथमिकताले सबैमाथि न्याय हुँदैन भन्ने धारणा विकास गर्न मद्दत पुगेको थियो । मानव विकासका सूचकहरूले महिला, दलित, मुस्लिम, जनजाति, मधेशी, विकट पहाडी र हिमाली क्षेत्रका जनता र शहर तथा मध्यपहाडका जनताको जीवनस्तर किन फरक छ, किन समावेशी विकासको अवधारणा आवश्यक छ भन्ने विषयको ज्ञानको ढोका पनि उघारिदियो । मैले पनि समाजलाई हेरिरहेका पहिलेको मार्क्सेली स्कुलिङबाट ग्रहण गरेको एक आयामिक वर्ग चेतनाको दृष्टिकोणलाई फराकिलो पार्ने मौका पाएँ । नेपालको २०६० पछिको राजनीतिमा समावेशी र समानुपातिक प्रतिनिधित्वको बहसलाई प्रभावशाली बनाउन यो प्रतिवेदनको अर्थपूर्ण भूमिका छ भन्ने मलाई लाग्छ ।
नेसाकको सम्बन्ध ग्रामीण स्वावलम्बन विकास केन्द्रसँग थियो । म त्यहाँ जाने–आउने गर्न थालें । दुर्गा पौडेल, राम रिसालहरू त्यसका हर्ताकर्ता हुनुहुन्थ्यो । त्यहाँ पुगेपछि थाहा पाएँ डा. पाण्डे सार्वजनिक बौद्धिक विमर्शमा सामेल हुने मात्र होइन समाजलाई भुइँतहबाट रूपान्तरण गर्न प्रयासरत रहेछन् । नेपालको ग्रामीण समाज र शहरका बीचको खाडल, धन, सुविधासम्पन्न नागरिकहरूको सम्भ्रान्त काठमाडौं, काठमाडौंको सम्भ्रान्त वर्ग र हुर्कंदो बुर्जुवा वर्गको सेवा गरेर व्यापक ग्रामीण क्षेत्रको पिछडापन बिर्सने नोकरशाही संयन्त्र अनि गाउँबाटै काठमाडौंको सत्तासम्म पुगेपछि गाउँलाई नै बिर्सेर काठमाडौंकै सत्तारुढ वर्गको भाषा, संस्कृति र शैली पछ्याउने नेता र टेक्नोक्र्याटहरूको मानसिकता विपरित काठमाडौंको खाल्डो बाहिर चियाउँदै दुई वटा नेपाललाई जोड्ने प्रयास गरिरहेका रहेछन् ।
यसमा उनका के के सपना थिए कति सफल असफल भए अर्को कुरा होला । एकपटक संस्थाका निर्देशक भीम भुर्तेलको आग्रहमा म पनि कपिलवस्तु र बाँकेका गाउँहरूमा स्वावलम्बन कार्यक्रमबाट भइरहेका परिवर्तन अनुगमन गर्न पुगें ।
गाउँका गरिबहरू, खासगरी महिलाहरूलाई सहभागी गराएर अघि बढाइएको यो कार्यक्रमले सुस्त–सुस्त सहभागीहरूमा जागेको आत्मसम्मान र नागरिक चेतना देखेर प्रभावित भएको थिएँ । यो कार्यक्रमको सुरुआत चाहिं पाण्डे आफैंले गाउँमा बसेर, अध्ययन गरेर, जनताको सहभागितामा पाल्पाको एउटा गाउँबाट गरिएको थियो । समुदायलाई जागृत बनाउन र समाज, इतिहास र राजनीतिले तोकेको पर्खालभित्र जीवन बिताउनु बाध्यताको सीमा होइन भनेर साधारण मानिसलाई जगाउन उनले गम्भीर प्रयास गरेका थिए ।
दुई वर्ष जति पहिले त्यही संस्थाले काठमाडौंमा डा. पाण्डेको अभिनन्दन गरेको थियो । प्राध्यापक चैतन्य मिश्रले त्यसबेला पाण्डेको जीवनदर्शनका विषयमा विस्तारमा चर्चा गर्नुभएको थियो । डा. पाण्डेको उपस्थितिमा भएको उनको सम्मान कार्यक्रम शायद त्यो नै अन्तिम थियो ।
काठमाडौं मानसिकता
काठमाडौं मानसिकता भन्ने एउटा अवधारणालाई उनले विस्तारमा चर्चा गरेका छन् र आफू २०३६ मा सचिव छाड्नु पहिले यसको शिकार भएको भन्दै आत्मालोचना पनि गरेका छन् । नेपाल नचिन्नु कुनै समयको काठमाडौंमा हुर्के–बढेका बौद्धिकहरूको पनि समस्या थियो । काठमाडौंलाई नै नेपाल ठान्ने, गाउँको विविधता, जनजीवनका कठिनाइ, उनीहरूमाथि भइरहेको विभेद र सत्ताबाट गरिने तिरस्कार यताकालाई थाहा हुँदैनथ्यो । जो बाहिरबाट काठमाडौंको सत्तामा आउँथे उनीहरू प्रायः धनी या जमिनदार परिवारबाट आउँथे । उनीहरू ग्रामीण समाजको शोषणबाट आर्जेको धन र शक्ति जोगाइरहन चाहन्थे । जो अलि मध्यम तथा गरिब परिवारबाट पढे–लेखेर काठमाडौंमा स्थान बनाउँथे उनीहरू यहाँको जीवनशैलीसँग आफूलाई सामेल गरेर विशिष्ट बन्ने ध्याउन्नमा हुन्थे । जे योजना बन्थे त्यसले नेपालका ग्रामीण समाजको वास्तविकताको प्रतिनिधित्व गर्दैनथे ।
पाण्डेले फादर लुडविग स्टिलर र रामप्रकाश यादवको पुस्तकलाई रिफ्रेन्समा लिएर लेखेका छन्ः उक्त पुस्तकमा नेपाली समाजको एक खास विशेषता दर्साउने मनोसामाजिक लक्षणलाई घतलाग्दो कोणबाट चित्रण गरिएको छ । त्यो कोण हो काठमाडौं मानसिकता । मुलुकको आर्थिक, शासकीय र प्रशासनिक केन्द्र काठमाडौंको राजनीतिक, सामाजिक र बौद्धिक जगतको केन्द्रमा रहेका भाग्यमानी बासिन्दाको काठमाडौं बाहिरका अर्थात् ग्रामीण क्षेत्रका बासिन्दा र तिनको सामाजिक अवस्था एवं मौलिक स्थिति बारेको चेत र व्यवहारलाई काठमाडौं मानसिकताले प्रतिबिम्बित गर्छ । आफू काठमाडौंको बासिन्दाभित्र पर्छु कि भन्ने लाग्छ । …
उनले काठमाडौंका बासिन्दाभित्र आदिवासी नेवारहरू मात्र होइन, पृथ्वीनारायण शाहसँगै र त्यस अघि–पछि आएका जाति, प्रजाति, समुदाय र सबैखाले शासक पर्छन् भनेर उल्लेख गरेका छन् । र यस्ता सबैखाले शासकमा खासगरी पहाड क्षेत्रका खस वा बाहुन, क्षत्री समुदायलाई सम्झनुपर्ने भनी खुलाएका छन् । “मुलुकको राजनीति, विकास बहस र आम जनजीवनको दृश्य–परिदृश्य बारे शासक वर्गको सोच र स्वार्थका प्रमुख पाटा काठमाडौं मानसिकतामा झल्किन्छन् ।”
उनले कांग्रेस, एमाले र पछि माओवादीको नेतृत्वलाई पनि काठमाडौं मानसिकता बोकेको सत्तारुढ वर्गका पक्षमा लागेर जनतालाई घात गरेको अनुभूति भएको कुरा लाक्षणिक रूपमा व्यक्त गरेका छन् ।
आफ्नो आधा जीवन काठमाडौं मानसिकताको कोठाभित्र बसेर राजाको सिन्दुर पहिरिएर देश र नरेशको सेवामा काम गरेको भए पनि उनमा दुई वटा कुरा विस्तारै अंकुराएको देखिन्छ । एउटा भारत र अमेरिकामा पढेर आउँदा उनले अलिकति विश्वका सन्दर्भहरू र खुलापनको अनुभव गरेका थिए । अर्को आफूभित्र आत्मसम्मान र स्वाभिमानलाई जोगाउनुलाई आफ्नो जीवनदृष्टि बनाएका थिए । यही स्वाभिमानका कारण उनले आफू मन्त्रालयमा रहँदा कतिपय मामिलामा दाताहरूको दबाबमा नझुकेको र पछि दरबार र प्रधानमन्त्रीका तर्फबाट गरिएको राज्यको स्रोत तथा शक्तिको दुरुपयोगका विपक्षमा उभिएर छँदाखाँदाको सचिव पद छाडेर हिंडेका थिए । दरबारसँग पुरानै साइनो र सम्बन्ध, राजासँग प्रत्यक्ष चिनाजानी र भेटघाट हुने गरेका उनले हठात् र एकैरातको झोंकले त्यो संगत छाडेका थिएनन् । इन्टिग्रिटी, पारदर्शिता र उत्तरदायित्व नभएको शासन व्यवस्थाप्रति उनको असहमति थियो त्यो ।
उनको भनाइ र प्राध्यापक मिश्रको टिप्पणीले पनि के देखाउँछ भने ऊनी अमेरिकी बसाइका क्रममा लिवरल डेमोत्रेसीको प्रभावमा परेका थिए । अनि आफ्नै बुझाइबाट समाजवादी चिन्तनलाई अँगालेका थिए । उनी पार्टीका रूपमा कहिल्यै कांग्रेस भएनन् र गतिविधिमा कहिल्यै कम्युनिष्ट पनी भएनन् । बरु दुवैलाई अलिकति सल्लाह र अलिकति हप्कीदप्की गर्ने नैतिक साहस उनमा थियो ।
नागरिक आन्दोलन र गणतन्त्रको वकालत
उनको नैतिक बल नै थियो जसले उनलाई २०६२/६३ मा शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनको नेतृत्व गर्न र आम जनसमुदाय मात्र होइन सातै राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीलाई अपिल गर्ने हैसियत दियो ।
उनको आह्वानमा गिरिजाप्रसाद कोइराला समेत नयाँ बानेश्वरको सभागृह पश्चिमतर्फको गेट अगाडिको सडकमा आयोजित सभामा आएर भुइँमा पलेंटी कसेर बस्न तयार भए । जनताको आक्रोश र अवहेलनाको शिकार भएका, ज्ञानेन्द्र शाहको दमन खेपेका र माओवादीको लखेटाइमा परेर हतोत्साही भएका दलहरूको फितलो आन्दोलनमा स्लाइन पानी र अक्सिजन भर्ने काम पाण्डेकै नेतृत्वमा नागरिक आन्दोलनबाट भएको थियो ।
मैले उनलाई नजिकबाट चिन्न र संगत गर्न पाएको यही नागरिक आन्दोलनको टिममा सहयोगीका रूपमा रहेर निरन्तर भएको संवादका क्रममा हो । धेरैजसो काठमाडौंमा र कहिलेकाहीं देशका विभिन्न भागमा सँगै यात्रा गर्ने मेसो पनि मिल्यो । हामी सबै केटाहरू (भास्कर, विमल, अनुभव लगायत) लाई आफ्ना काममा परिचालन गर्न डा. पाण्डे कहिले हप्काउँथे, कहिले फकाउँथे र कहिले घुर्की पनि लगाउँथे । उनको व्यक्तित्व, ज्ञानको दायरा, अनुभव र कतिपय सन्दर्भमा उनको सम्बन्धहरूको आन्तरिक र बाह्य सञ्जालले उनी आफैं एउटा शक्तिकेन्द्र बन्दै गएका थिए । हामी उनको व्यक्तित्वबाट थिचिन्थ्यौं । तर उनले कहिल्यै हामीलाई फरक व्यवहार गरेनन् । उनीभित्र जुन नैतिक साहस थियो त्यो उनले २०३६ पछि स्थापित गरेको जनपक्षधरता, जीवन र आदर्शप्रतिको तालमेल र इमानदारीको उपज थियो । उनलाई सरकारले गिरफ्तार गरेर थुनामा राख्यो । आन्दोलन सफल भएपछि मात्र छुटे ।
केही महिना थुनामा परेर वैशाख १२ वरपर छुटेका नागरिक अगुवाहरूको भेला वैशाखको दोस्रो या तेस्रो साता मार्टिन चौतारीमा आयोजना गरियो । डा. पाण्डे, खगेन्द्र संग्रौला, कृष्ण पहाडी, कृष्ण खनाल, लक्ष्मण अर्याल, कनकमणि दीक्षित, मुक्ता श्रेष्ठ लगायत स्थापित नाम र व्यक्तित्वहरू सहभागी थिए । यसबाहेक पापडमा सामेल विभिन्न संस्थाका प्रतिनिधि पनि थिए ।
उपस्थित नागरिक अगुवाहरूका बीच एउटा लक्ष्मणरेखा पनि कोरिन पुग्यो । एकथरीले राजाको घोषणा पछि संसद् पुनर्स्थापना भएकोले आन्दोलन सकिएको र अब माओवादीले पनि हतियार बिसाएर यो मूलधारमा सामेल हुनुपर्ने कुरा बताएका थिए । र उनीहरू आन्दोलन सफल भएको निष्कर्षमा पुगेका थिए ।
बहस हुँदै जाँदा डा. पाण्डेले अलिअलि अनुहार खुम्च्याउँदै दुई वटा कुरा स्पष्ट पारेका थिए । पहिलो आन्दोलन सफल भए पनि मधेशी, जनजाति, दलित र पछिपरेका क्षेत्रहरूको प्रतिनिधित्व तथा सहभागिताको सवाल ज्युँदै छ । अर्को गणतन्त्र (उनले सिधा यो शब्द प्रयोग गरेका थिएनन्) स्थापना अगाडि आन्दोलन सफल भएको किन मान्ने ? अहिले पछि हटेको तर शक्ति आर्जनको भोक कायम राखेको दरबार र सत्ता पाएपछि जनता बिर्सने नेता तथा दलहरूमाथि हामीले लगातार दबाब दिइरहनुपर्छ भन्ने उनको राय थियो ।
त्यो भेलापछि नागरिक समाज दुई भागमा विभाजित भयो । एकथरी सरकारी नियुक्तितिर लागे, आफ्ना आफ्ना दलका नीतिहरूको समर्थन गर्न थाले । त्यसैमध्येको एउटा हिस्सा माओवादीहरूलाई निषेध गर्ने अघोषित अभियानमा सामेल भयो । डा. पाण्डे लगायतका केहीले राजनीतिक दलहरू, सरकार र दरबारलाई निरन्तर खबरदारी गरिरहे । माओवादी र सरकारका बीच शान्ति प्रक्रियाका सम्बन्धमा उत्पन्न तनाव र डिरेल हुन लागेको प्रक्रिया सोझ्याउन र निष्कर्षमा पुर्याउन पनि उनले निकै दौडधुप गरिरहे ।
यही विन्दुमा एक जना काठमाडौं मानसिकतामा हुर्केका, जिजुबाजेका समयदेखि दरबारको निकट रहेका, हुर्कंदा दुःखसुख व्यहोरे पनि काठमाडौंको सम्भ्रान्त बाहुन परिवारका डा. पाण्डेले आफूलाई प्रखर गणतन्त्रवादीका रूपमा स्थापित गरे । नागरिक सर्वोच्चताका लागि गणतन्त्र अनिवार्य छ भन्ने उनले आफ्नै जीवनका अनुभवबाट सिकेका थिए । उनलाई काठमाडौंको भारदारी नागरिक समूहबाट अलग पहिचान दिएको यसैले हो । उनको एउटा पुस्तक प्रकाशित छ नागरिक आन्दोलन र गणतान्त्रिक चेतना । यसमा उनले नागरिकको अर्थ र आफू गणतन्त्रवादी हुनुपछिका कारणहरू विस्तारमा चर्चा गरेका छन् ।

सहकार्यका केही सम्झना
दुई वटा घटनाको सन्दर्भ उल्लेख गर्नु उपयुक्त लागेको छ । पहिलो हो कटवाल काण्ड । जब निर्वाचित प्रधानमन्त्रीले सेनापति आफ्नो काममा बाधक बनेको अनुभव गरेर हटाउने निर्णय गरे त्यतिबेला उनलाई उक्त निर्णय कार्यान्वयन गर्न बाधा दिइयो । यसले लोकतान्त्रिक आन्दोलन र संवैधानिक प्रावधानहरूको मर्म उल्लंघन गरेको छ भन्ने डा. पाण्डेको ठम्याइ थियो । नागरिक सर्वोच्चताको माग गर्दै उनको नेतृत्वमा हामी सडकमा निस्क्यौं । कतिपयले यसलाई नागरिक आन्दोलनको माओवादीकरण भनेर आक्षेप पनि लगाए । तर पाण्डेले यसलाई चिर्दै आन्दोलनको अगुवाइ गरिरहे । पछि पाण्डेकै नेतृत्वमा राष्ट्रपति रामवरण यादवसँग भेटेर पनि यो कुरा राखियो । संविधान निर्माण कालभरि खबरदारी गरिरहने, मधेशमा आन्दोलनमाथि दमन हुँदा, कपिलवस्तुमा हिन्दु–मुश्लिम दंगा र मुश्लिमहरूमाथि दमन हुँदा स्थलगत भ्रमणमा जाने र शान्तिका लागि पहल गर्ने यिनै पाण्डे थिए ।
दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी र मधेशवादीहरू कमजोर भए । संविधानसभा र संसद्मा नेपाली कांग्रेस र एमालेको गरेर दुईतिहाइ बहुमत स्थापित भयो । उनीहरूको भुँइमा खुट्टा थिएन । माओवादी र मधेशवादीलाई पेलेरै भए पनि २०७१ माघ ५ गतेसम्ममा संविधान जारी गरिसक्ने घोषणा संसद्बाटै गरे । तर त्यो माघ ५ आउँदा समाजमा तीव्र ध्रुवीकरण भइरहेको थियो । संसद्मा पनि भौतिक आक्रमण–प्रत्याक्रमण चलेको थियो । एउटा अनिश्चयता व्याप्त थियो । कांग्रेस–एमालेका लागि २०४७ को संविधान नै काफी थियो, त्यसैमा गणतन्त्र थपे पुग्थ्यो, पार्टी र संसदीय दलको नेता चुनिएका केपी शर्मा ओली त्यतिबेलाको दक्षिणपन्थी हिस्साका प्रतिनिधि थिए । यसो गर्दा समावेशी र सहभागितामूलक लोकतन्त्र स्थापित हुँदैनथ्यो । जुन राजनीतिक परिकल्पनाका साथ संघीयताको कार्यसूची नेपाली राजनीतिमा प्रवेश गरेको थियो त्यो पनि खोसिने जोखिम थियो ।
त्यसै क्रममा एक दिन डा. पाण्डेका घरमा नागरिक आन्दोलनसँग जोडिएका व्यक्तित्वहरू जम्मा भएका थिए । कांग्रेस नेता नरहरि आचार्य पनि आइपुगेका थिए । कृष्ण खनाल, पीताम्बर शर्मा, कृष्ण पोखरेल, खगेन्द्र संग्रौला थिए । देश दुर्घटनातिर जान्छ कि भन्ने पीर थियो । सबैलाई समेटेर संविधान जारी गर्ने वातावरण बनाउन पहल गर्ने निधो भयो ।
नरहरि र कृष्ण खनालले सुशील कोइरालासँग संवाद गर्ने । कृष्ण पोखरेलसँग म पनि गएर वामदेव मार्फत केपी ओलीलाई सम्झाउन प्रयास गर्ने र प्रचण्डलाई पनि भेट्ने सल्लाह भयो । प्रचण्डलाई भेट्न त सजिलो थियो, उनलाई पनि हाम्रो सहयोगको खाँचो थियो । कतिपय कार्यसूची पनि मिल्थे । ओलीलाई मनाउन सहज थिएन ।
कृष्ण पोखरेल सर र म एकरात उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष गौतमसँग भेट्न पुल्चोकको मन्त्री क्वार्टर पुग्यौं, एमाले नेता किरण गुरुङ पनि सँगै थिए । भेटमा शुरुमै हामीलाई वामदेवले प्रचण्डका कुरा लिएर आएको भन्दै आक्रामक रूपमा यति अराजनीतिक कुरा र व्यवहार गरे हामी छक्क पर्यौं । प्रचण्डसँग हाम्रो भेट भएकै थिएन । २०३६ साउनदेखि परिचित वामदेवसँग तर्सिनुपर्ने कुरा थिएन । हामीले पनि चर्कैसँग आफ्ना कुरा राख्यौं । केही दिनपछि प्रचण्डलाई पनि सँगै गएर भेट्यौं । र यसको रिपोर्ट पाण्डेलाई दियौं । हाम्रो प्रयासले केही काम गरेन ।
त्यसपछि २०७२ मा संविधान जारी हुने बेलामा भएको मधेश आन्दोलनमा भएको सरकारी दमनको विरोध, उनीहरूका चासो सम्बोधन गर्न सरकारलाई दबाब दिने र भारतीय नाकाबन्दीको आलोचना गर्दै २०६२ साउनबाट सक्रिय रहेको शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनको अघोषित अवसान भयो ।
सम्बन्ध र विश्वासको एउटा फुर्को
विशालनगरको एलिट इलाकामा उनको निवास छ । छिमेकका सापेक्षतामा टिनले छाएको झण्डै एउटा टहरो जस्तो । एक रोपनी जति जमिन भएको घर–कम्पाउण्ड छ । त्यो उहिले बनेको टिनको घर भत्काएर महल बनाउने कहिल्यै प्रयास गरेनन् । नपुगेर हैन । उनले सधैं एउटा सादगीपूर्ण जीवन रोजे । घरमा एउटा ठूलै पुस्तकालय थियो । ती पुस्तक उनले नर्थ साउथ कलेक्टिभलाई हस्तान्तरण गरे । हामी वामपन्थी पृष्ठभूमिकाहरू भेट हुँदा जिस्केर म त बुर्जुवा हुँ तिमेरु जस्तो हो र भन्दै ठट्टा गर्थे ।
व्यक्तिगत रूपमा उनी बडो रमाइलो र रसिक पनि थिए । कहिले कहिले कुनै विषयमा निर्णयमा पुग्नुपर्ने भयो भने हामीलाई आफ्नो घरमा चिया पिउन अथवा कहिले कहिले सन्ध्याकालीन खानपिनको रमाइलो गर्न बोलाउँथे । केही अन्तरंग कुरा गर्थे । धेरैजसो गम्भीर कुरा ठट्टाका रूपमा भन्थे । कसैलाई नपिराउने खालका । निर्णयमा पुग्नु अगाडि सबैलाई आफ्ना कुरा राख्न दिने लोकतान्त्रिक स्वभाव कहिल्यै उल्लंघन गरेनन् ।
अनिल भट्टराईपछि भीम भुर्तेल नेसाकको निर्देशक भए । उनले केही अर्थपूर्ण काम पनि गरे वित्तीय संघीयता बारे एउटा पुस्तक पनि प्रकाशित गरे । तर यो संस्था जोगाउन सकिएन, विस्तारै निभ्दै गयो ।
नेसाकले पाण्डेको पुस्तक नेपाल्स फेल्ड डेभलपमेन्ट प्रकाशित गरेको थियो । हामीसँग अब भाडा तिरेर अफिस राखिरहने क्षमता पनि थिएन । सम्भवतः २७० वटा जति पुस्तक बाँकी थिए । यस्तैमा सांग्रिला बुक्सका मणि शर्मासँग कुरा भयो ।
उनले पुस्तक बिक्री गर्ने र ५५ प्रतिशत रोयल्टी डा. पाण्डेलाई दिने ४५ प्रतिशत उनले लिने सहमति भयो । उनले पुस्तक लगे पनि । तर मैले थाहा पाएसम्म उनले पुस्तक के गरियो भन्ने विषयमा कहिल्यै जानकारी दिएनन् ।
२०७७ सालतिर होला । एक दिन डा. पाण्डेको फोन आयो । झलकजी तपाईंले मलाई एउटा सहयोग गर्नुपर्यो भन्नुभयो । उहाँको पुस्तक एक ज्यान दुई जुनी फाइन प्रिन्टले प्रकाशित गर्ने भएको रहेछ । मलाई एकपटक आफ्नो पुस्तकको पाण्डुलिपि पढेर सल्लाह दिन भन्नुभयो । अरूलाई पनि दिएको हुनुपर्छ । एक दिन विशालनगर घरमा पुगें । पाण्डुलिपिको प्रिन्टेड भर्सन फाइन प्रिन्टले ल्याइदियो । असीको उमेर पार गरेका र कतिपय रोगले अलि कमजोर शरीर भएका पाण्डेले प्रत्येक शब्द र प्रत्येक वाक्य तौलेर, जोखेर, नापेर, त्यसका चारै आयामका अर्थहरूको सम्भावना केलाएर आफ्नो अनुभवलाई शब्दमा उनेका थिए । एकादुई प्रसंगमा मेरा जिज्ञासा त थिए बाँकी कतै एउटा शब्द पनि थपघट गर्ने आवश्यकता परेन । अथवा म प्रभावित भएँ पाठकका रूपमा लट्ठ पर्दै गएँ अनि त्यसमा कुनै कमजोरी थिए भने पनि मैले भेउ पाइनँ । त्यही कुरा उनलाई सुनाएँ ।
पछि फाइन प्रिन्टको आग्रहमा पुस्तकको ब्लर लेख्ने मौका पनि पाएँ । अनि कोरोनाका कारण भएको भर्चुअल विमोचनका लागि अलिकति भिडियो संवाद पनि गरें जसमा डा. पाण्डे र खगेन्द्र संग्रौलाले पनि बोल्नुभएको छ । यसरी डा. पाण्डेसँग संवाद गर्ने अतिरिक्त अवसर पनि जुरेको थियो ।
पाण्डेमाथि अन्याय
उनले जीवनमा प्राप्त गर्नुपर्ने केही थिएन । भारतदेखि अमेरिकासम्मको पढाइ, ४० वर्ष नहुँदै अर्थसचिव । २०४७ को अन्तरिम सरकारमा अर्थमन्त्री । देश–विदेशसम्म परिचय । छरितो र सुखी परिवार । नागरिक समाजको मान्य व्यक्तित्व ।
उनले नेपालमा नागरिक अधिकार अथवा नागरिकका विषयमा जुन चेतना भर्ने काम गरे त्यो उनको सबैभन्दा ठूलो योगदान थियो । उनी वैयक्तिक स्वतन्त्रतामा विश्वास गर्थे र सामाजिक उत्तरदायित्व स्वीकार गर्थे । अथवा उत्तरदायित्व र जिम्मेवारीबोध सहितको स्वतन्त्र नागरिक नै समाजको प्रगतिका लागि मुख्य चालक शक्ति हो भन्नेमा विश्वास गर्थे । २०६० वरपरको अन्धकार समयमा आशा र भरोसाको सानो दियो बाल्ने काम उनले गरे ।
काटेर फालेको कर्कलो झैं ओइलाएका दलहरूलाई पानी छम्केर ब्युँताए । जनतालाई जागृत गरे र लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि, सहभागितामूलक र समावेशी लोकतन्त्र स्थापनाका लागि एउटा वातावरण तयार पारे । भूमिगत रूपमा दिल्लीमा प्रचण्डहरूलाई भेटेर होस् या काठमाडौंमा कूटनीतिक समुदायलाई तटस्थ रहन लविइङ गरेर उनले ज्ञानेन्द्रको तानाशाही कमजोर बनाउन या उखेलेर फाल्न योगदान गरे । खासगरी माओवादीहरूलाई शान्ति प्रक्रियामा आउन वातावरण बनाउनमा उनको योगदान रहेको थियो ।
तर २०६३ पछि पाण्डे र नागरिक समाजलाई किनारामा धकेल्न खासगरी नेपाली कांग्रेस र नेकपा एमालेको जोडबल रहेको देखियो । पहिलो पटक सार्वजनिक जीवनमा प्रचण्ड सहित माओवादीहरूको नेतृत्वलाई हामीले पाण्डेकै घरमा भेटेका थियौं २०६३ असार २ गतेपछि । उनीहरूसँग पनि पाण्डेको निरन्तर संवाद थियो । माओवादीले पनि उनलाई गणतन्त्रपछि राजकीय भूमिकामा सहभागी हुन आग्रह त गरेको थियो तर भूमिका दिलाउन भने सकेन ।
गणतान्त्रिक आन्दोलनका तीन पक्ष, सात राजनीतिक दल, विद्रोही माओवादी र नागरिक समाजमध्ये नागरिक समाजलाई मूल राजनीतिक प्रक्रियाबाट बाहिर राखियो । जब गणतन्त्र आयो अनि तत्कालीन कांग्रेस र एमाले एकातिर र माओवादी अर्कोतिर भएर समाजमा अनावश्यक संघर्षको अवस्था आयो । नागरिक आन्दोलनलाई पन्छाउँदा यो संकट व्यवस्थापनको काम गर्ने कोही भएन । पहिलो संविधानसभा विघटन भयो र संविधान पनि मधेशमा लासमाथि कुल्चेर जारी गर्ने अवस्था सिर्जना भयो ।
उनलाई संविधानसभाको सभामुख या राष्ट्रपति बनाएको भए राजनीतिलाई त्यतिविधि विथोलिनबाट रोक्न सकिन्थ्यो, विकृतिहरू कम हुन्थे कि भन्ने मलाई लागिरहन्छ । अथवा खिलराज रेग्मीको ठाउँमा उनलाई भूमिका दिएको भए कमसेकम शासकीय अराजकता सिर्जना हुने थिएन । उनको निष्ठा र इन्टिग्रिटीमाथि अपमान होला भनेर डा. पाण्डेलाई यस्तो कुरा कहिल्यै सोध्न सकिएन । उनले यसबारे आफ्नो पुस्तकको दोस्रो जुनीमा उल्लेख गरेका छन् ।
भदौ २४ को रापताप सहित बनेको बालेन शाहको सरकार नागरिक अधिकार संकुचित र संविधानमाथि हमला गर्न तम्सिरहेको समयमा डा. पाण्डेको अभाव थप खट्किनेछ । एउटा नभरिने अभाव र शून्यता महसुस भएको छ ।
तपाईंको जीवन आदर्श अनुसरण गर्ने पर्याप्त योग्यता मसँग छैन । तर तपाईंको योगदान हामी सम्झिरहनेछौं । अलविदा हाम्रा सम्मानित मार्गदर्शक, नागरिक, डा. देवेन्द्रराज पाण्डे !
प्रतिक्रिया 4