+

टी-२०आई ब्याटिङ वरियता : वैभव सूर्यवंशी २३० स्थान फड्को मार्दै शीर्ष ५० मा

२०८३ साउन  १३ गते १४:५६ २०८३ साउन १३ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आईसीसी टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा २३० स्थान सुधार गर्दै करिअरकै उत्कृष्ट ४८औं स्थान हासिल गरेका छन् ।
  • जिम्बावेविरुद्धको शृङ्खलामा १५१ रन बनाउँदै प्लेयर अफ द सिरिज बनेका सूर्यवंशीको हालको रेटिङ ५३६ अंक पुगेको छ ।
  • भारतीय ब्याटर इशान किशनले ९१६ रेटिङ अंकसहित शीर्ष स्थान कायमै राख्दै टी–२० अन्तर्राष्ट्रिय इतिहासकै तेस्रो उच्च रेटिङको कीर्तिमान कायम गरेका छन् ।

१३ साउन, काठमाडौं । भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरियतामा ऐतिहासिक छलाङ मारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरियताअनुसार सूर्यवंशी २३० स्थान सुधार गर्दै करिअरकै उत्कृष्ट ४८औं स्थानमा पुगेका हुन् ।

जिम्बावेविरुद्ध हरारेमा सम्पन्न तीन खेलको शृङ्खलामा भारतले ३–० को क्लिन स्वीप गर्दा सूर्यवंशीले ५०.३३ को औसतमा १५१ रन बनाएका थिए । उत्कृष्ट प्रदर्शनकै आधारमा उनले पहिलो पटक शृङ्खलाकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) अवार्ड पनि जितेका थिए ।

ब्याटिङ वरियतामा भारतकै इशान किशन शीर्ष स्थानमा कायम छन् । जिम्बावेविरुद्धको दोस्रो खेलमा ८१ रनको उत्कृष्ट इनिङ्स खेलेपछि उनले करिअरकै उच्च ९१६ रेटिङ अंक बनाएका थिए । शृङ्खला सकिँदा उनको रेटिङ ९१० अंकमा झरे पनि उनी दोस्रो स्थानका साहिबजादा फरहान (८४८) भन्दा निकै अगाडि छन् ।

इशानको ९१६ रेटिङ टी–२० अन्तर्राष्ट्रिय इतिहासकै तेस्रो उच्च ब्याटिङ रेटिङ हो । उनीभन्दा माथि भारतकै अभिषेक शर्मा (९३१) र इंग्ल्यान्डका डेविड मलान (९१९) मात्र रहेका छन् ।

सूर्यवंशीको हालको रेटिङ ५३६ अंक पुगेको छ । यद्यपी उनी अझै अनुभवी भारतीय ब्याटरहरूभन्दा पछि रहे पनि छोटो समयमै गरेको प्रगतिले भविष्यका लागि उनको सम्भावना अझ बलियो देखिएको छ ।

आईसीसीको पछिल्लो वरियतासँगै इशान किशनले भारतका चर्चित ब्याटर सूर्यकुमार यादव (९१२ को करिअर उच्च रेटिङ) र विराट कोहली (९०९) भन्दा पनि उच्च करिअर रेटिङ हासिल गर्ने उपलब्धि कायम गरेका छन् ।

आईसीसी ब्याटिङ वरियता टी-२०आई वरियता वैभव सूर्यवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय