News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीमा भएको साम्प्रदायिक तनाव र झडपका कारण हालसम्म ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवसहित तीन जनाको मृत्यु भएको छ ।
- गृहमन्त्री सुधन गुरुङको अनुपस्थितिमा उनका निजी सहायक जेम्स कार्की सुरक्षाकर्मी र ड्रोन टोलीको नेतृत्व गर्दै सुनसरीको प्रभावित क्षेत्रमा पुगेका छन् ।
- सुरक्षा संयन्त्रले राजनीतिक र सामाजिक संवादमा जोड दिए पनि गृहमन्त्रीले सुरक्षा बल प्रयोगलाई मात्र प्राथमिकता दिएको भन्दै आफ्नै पार्टीका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
१४ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङका पीए (पर्सलन असिस्टेन्ट, प्रमुख स्वकीय) जेम्स कार्कीले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा नेपाली सेनाको स्काई ट्रकको ‘ककपिट’ को तस्वीर राखे ।
सामान्य व्यक्तिको पहुँच नहुने नेपाली सेनाको हवाई सेवाको ककपिटको तस्वीर राखेका कार्की स्काई ट्रक चढेर सुरक्षाकर्मीसहित विराटनगरस्थित विमानस्थल पुगे । त्यहाँबाट उनी दुई समुदायबीच तनाव भएको जिल्ला सुनसरी पुगेका थिए ।
मंगलबार साँझ बसेको सुरक्षा समितिको बैठकमै गृहमन्त्री गुरुङले ‘कसरी हुन्छ घटना साम्य पार्नु पर्यो, हेलिकप्टर पठाएर हुन्छ, कि ड्रोन उडाएर’ भनेका थिए । त्यसपछि उनै गुरुङको निर्देशनमा प्रहरी प्रधान कार्यालयबाट ड्रोन मगाएर सिंहदरबार ल्याइएको थियो । उक्त ड्रोन र सुरक्षाकर्मीसहित पीए कार्की सेनाको विमानमार्फत विराटनगर हुँदै सुनसरी पुगेका थिए ।

बिना गृहमन्त्री प्रहरीको ड्रोन टिम लिएर पीए कार्की सुनसरी जानुलाई सुरक्षा संयन्त्रले पनि राम्रो मानेको छैन । प्रहरीका ड्रोन टिम तथा सूचना संकलनको काममा मन्त्रीका पीएको उपस्थितिलाई कानुनले पनि चिन्दैन ।
यसरी सुरक्षाकर्मी र ड्रोनसहित पीए कार्की सुनसरी पुग्दा प्रदर्शनकारीहरू भने प्रधानमन्त्री र गृहमन्त्री खोज्दै थिए । प्रधानमन्त्री, गृहमन्त्री खोज्दै उनीहरूले नारा लगाइरहे । तर त्यहाँ न प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) पुगे, न गृहमन्त्री सुधन नै पुगे ।
ड्रोनबाट देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था भने पीए कार्कीले नियाले । सुरक्षाकर्मीलाई कमान्ड गर्न उनै पीए कार्की अग्रसर देखिए । गृहमन्त्रीका पीएसामु सुरक्षा निकाय पनि झुके ।
उनै पीएको उपस्थितिमा सुनसरीमा स्थानीय जनप्रतिनिधिदेखि सुरक्षा संयन्त्रहरूबीच छलफल भयो । सुनसरीका सांसददेखि, पालिका अध्यक्षहरू, सीडीओ, सुरक्षा निकायका प्रमुखहरूको लाइनमा पीए कार्कीले पनि हस्ताक्षर गरे । यो सबै काम गृहमन्त्रीबाट हुनुपर्ने थियो । तर त्यसो भएन । पीएमार्फत यी सबै काम भए । गृह प्रशासनका जानकाहरू पनि गृहमन्त्रीबाट हुनुपर्ने काम, निर्देशनहरू पीएबाट हुनलाई निको मान्दैनन् ।
‘यस्तो बेलामा गृहमन्त्री आफैं फिल्डमा जाने हो । राजनीतिक संवाद गर्ने हो । सबै समूहसँग बसेर संवाद गरेर समाधान गर्नुपर्ने हो,’ पूर्वगृहसचिव चण्डीप्रसाद श्रेष्ठ भन्छन्, ‘आईजीलाई हकार्ने, प्रहरी परिचालन गर्ने काम त गृहसचिवले गरिहाल्छन् नि ।’
अहिलेको घटना सुरक्षा भन्दा पनि राजनैतिक, सामाजिक हुनु र गृहमन्त्री पोलिटिकल मान्छे भएकाले राजनीतिक संवादको नेतृत्व गृहमन्त्रीले नै गरेर निकास दिनुपर्ने सुझाव उनको छ ।
त्यसो त अहिले मात्रै होइन । यसअघि पनि पीए कार्कीले सुरक्षा निकायलाई निर्देशन दिने काम गर्दै आएका थिए । सम्पत्ति र शेयरसम्बन्धी विवाद सतहमा आएपछि सुधन गुरुङले ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि गृहमन्त्री रिक्त हुँदा पनि उनै पीए कार्कीले सुरक्षाकर्मीलाई निर्देशन दिने र अरनखटन गराउने गर्थे । मनोहरा बस्तीको सुकुमवासी बस्ती हटाउन त सुरक्षाकर्मी लिएर पीए कार्की आफैं पुगेका थिए ।
त्यसो त यसअघि २७ असारमा कुनै कानुनले नचिनेका व्यक्ति ओजस्वी थापा प्रहरीको जत्था लिएर कीर्तिपुरस्थित राधा स्वामी सत्संगको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका थिए । थापाले प्रहरीलाई निर्देशन दिनेदेखि नागरिकको टोपी जबरजस्ती फुकाल्ने र सञ्चारकर्मीलाई अर्ती दिनेसम्म गरे ।
‘मसँग प्रहरी पनि आउनु भएको छ । खटिनु भएको छ । सरकारले समस्या समाधान गर्नुपर्छ भनेर हामी यहाँ आएको हो,’ थापाको भनाइ थियो । उनको भनाइले उनीबाटै प्रहरी त्यहाँ परिचालित र निर्देशित भएको बुझिन्थ्यो ।
थापा न गृहमन्त्रीको कुनै सचिवालय टिममा नियुक्त थिए न अन्य मन्त्री तथा प्रधानमन्त्री कै । तर, उनको शैली भने निर्वाचित व्यक्ति तथा सरकारी हैसियत प्राप्त अधिकारीको जस्तै थियो । अहिले त्यही शैलीमा पीए कार्कीले काम गरे, गृहमन्त्री भने चुपचाप रहे ।
सुनसरीमा मात्रै होइन, संसद्देखि उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि गृहमन्त्री र प्रधानमन्त्रीको उपस्थिति देखिएन । यस्तो बेलामा प्रधानमन्त्रीले मुख्य जिम्मेवारी लिएर सर्वदलीय बैठक डाक्नुपर्नेमा लामिछानेले डाकेको बैठकमा समेत अनुपस्थिति हुनुलाई प्रतिपक्षी दलहरूले प्रश्न उठाएका थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसद्मा बोल्दै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए ।
‘असहज परिस्थितिमा नेतृत्वदायी भूमिका संविधानतः, कानुनतः, व्यवहारतः पनि प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो । तर संवेदनशील बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो’ प्रचण्डले भने ।

प्रतिपक्ष दलहरूमात्रै होइन, अहिले गृहमन्त्री गुरुङको भूमिकालाई लिएर उनकै पार्टीभित्रका सांसदहरू पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार पार्टी सभापति लामिछानेलाई भेट्दै मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका छन् । सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरुले पार्टी सभापतिसँग असन्तुष्टि व्यक्त गरे ।
‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं,’ एक सांसद भन्छन् ।
यता मधेशका सांसद मनिष झाले लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताए । ‘सडकबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर छ । गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो’ झा भन्छन् ।

रसुवास्थित भोटेकेशीमा गाडी खस्दा आफैं घटनास्थल पुग्ने, पर्साको ठोरीका होटलमा आफैं गएर छापा हान्ने, यसअघि तराईका सीमामा भेष बदलेर छड्के जाने गृहमन्त्री गुरुङ तराईमा तनाव बढेको चार दिन बित्दा पनि निष्क्रिय मात्रै छैनन्, उनको बोली समेत फुटेको छैन । संसद्देखि सर्वदलीय बैठकसम्म उनको उपस्थिति शून्य छ ।
यो बीचमा उनले सुरक्षा प्रमुखहरूसँग छलफल गरे र केन्द्रीय सुरक्षा समितिको बैठक भने राखेका थिए । उक्त बैठकमा सुरक्षा प्रमुखहरूले गरेको ब्रिफिङ तथा दिएको सुझाव सुन्नेमा भन्दा पनि उनी गोली किन चल्यो र तत्कालै सुरक्षा व्यवस्था ठीक पार्नुभन्ने निर्देशनमात्रै दिन्थे ।
‘हेलिकप्टर पठाउनु पर्ने हो कि ड्रोन उठाउनु पर्ने हो । कसरी हुन्छ तत्कालै समाधान हुनुपर्थ्यो भन्दै’ गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई निर्देशन दिएका थिए । उनको जोड सुरक्षामै केन्द्रित थियो । जसरी हुन्छ सुरक्षा व्यवस्था कडा पारेर परिस्थिति नियन्त्रणमा लिनुपर्ने जोड थियो ।
जबकि सुरक्षा निकायका प्रमुखहरूले प्रष्ट रूपमा सामाजिक, धार्मिक र राजनीतिक कोणबाट समाधान खोजिनुपर्ने सुझाव दिएका थिए ।
सुरक्षा निकायले आफ्नो विश्लेषण, हुनसक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे गृहमन्त्रीलाई ब्रिफिङ गराउँदै सुनसरी घटनाको अब सुरक्षाको विषयमा मात्रै नभएर स्पष्ट रूपमा बताएका थिए ।
सुनसरीको घटना गणितको हल खोजेजस्तो अब सुरक्षाकर्मी मात्रै खटाएर नहुने भन्दै राजनीतिक, सामाजिक र धार्मिक कोणबाट पनि हल खोजिनुपर्ने सुझाव दिइएको थियो ।
तर सुरक्षा निकायको सुझावपछि पनि गृहमन्त्री गुरुङले कुनै राजनीतिक संवाद देखाएको देखिएन । सुरक्षा ब्रिफिङलाई उनले हलुका रूपमा लिए । परिणमस्वरूप सुनसरी घटनाको बाछिटा अहिले सिरहा र धनुषामा देखिएको छ । ती जिल्लामा कर्फ्यु लागेको छ भने आगजनी तोडफोड भएका छन् । केही व्यक्ति घाइते पनि भएका छन् ।

आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । त्यसपछि उत्पन्न विवाद अझै शान्त बन्न सकेको छैन ।
त्यतिबेला घाइते भएका सोही ठाउँका २२ वर्षीय जयप्रकाश मेहताको पनि मृत्यु भएको छ । सुनसरी घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनमा पनि गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।
एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको घटनाबाट सुरु भएको साम्प्रदायिक तनाव अहिले अन्य जिल्लाहरुमा पनि फैलँदो छ ।
प्रतिक्रिया 4