+
+
Shares
अन्वेषण :

बाम माछाको रहस्यमय जीवन : नदीका पाहुना, समुद्रका सन्तान

बर्खामा हिलाम्मे खेतमा टुप्लुक्क देखिने बाम माछा त्यहीं जन्मिएको रैथाने जीव होइन। समुद्रमा जन्मेर नदीमा हुर्किने र प्रजननका लागि फेरि महासागरमै फर्किने यसको अद्भुत जीवनचक्र अरस्तुको समयदेखि आजसम्म पनि वैज्ञानिक जिज्ञासाको विषय बनेको छ।

प्रवेश खतिवडा प्रवेश खतिवडा
२०८३ साउन १५ गते १०:०६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाम माछाका बारेमा अरस्तुले गरेको हिलोबाट जन्मन्छन् भन्ने मान्यता वैज्ञानिक अनुसन्धानबाट गलत सावित भएको छ।
  • बाम माछा समुद्रमा जन्मेर ताजा पानीमा दशकौं बिताउँछन् र प्रजननका लागि पुनः जन्मिएको समुद्रमै फर्कन्छन्।
  • नेपालका खोला–नालामा पाइने बाम माछा हिन्द महासागरमा पुगेर प्रजनन गर्ने वैज्ञानिकहरूको अनुमान रहेको छ।

हामीमध्ये धेरैलाई लाग्छ, बर्खे झरीमा हिलाम्मे खेतहरूमा भेटिने बाम माछा पनि हिले र बुहारी लगायत अन्य माछा जस्तै यतैका रैथाने हुन्। नेपालमा भेटिने बाम माछा हिन्द महासागरमा जन्मिएका हुन्, यहाँका खेत–खोल्सामा केही दशक बिताउँछन् र सन्तान जन्माउन आफू जन्मिएकै ठाउँ खोज्दै फर्कन्छन् भन्ने कुरा मैले पनि धेरै पछि मात्र थाहा पाएको थिएँ।

ताजा पानीमा पाइने बाम माछाले कसरी सन्तान जन्माउँछन् भन्ने कुरा हामीले भर्खरै मात्र केही प्रमाण र अनुमानका आधारमा बुझ्न थालेका छौं। नेपालका बाम माछा बङ्गालको खाडी पार गरेर हिन्द महासागरको कुन ठाउँबाट आएका हुन् भन्ने यकिन अझै कसैलाई छैन। खासमा बाम माछाको प्रजनन प्रक्रिया अर्थात् तिनले अण्डा र शुक्रकीट निष्कासन गरेको न कसैले प्रत्यक्ष देखेको छ, न क्यामेरामा कैद गर्न सकेको छ।

अरस्तुको भ्रम र फ्रायडको अनुसन्धान

बाम माछा कसरी जन्मन्छन् भन्ने खुल्दुली नयाँ होइन। हामीलाई थाहा भएसम्म यसबारे खोजी गर्ने पहिलो व्यक्ति ग्रिक दार्शनिक अरस्तु हुन्।

पोथी माछाले अण्डा पार्छ, त्यसमा भाले माछाको शुक्रकीट मिसिएपछि भ्रूण बन्छ र त्यसैबाट नयाँ माछा जन्मन्छ भन्ने हामीमध्ये धेरैलाई थाहा छ। तर बाम माछा यसै कुरामा अन्य माछाभन्दा फरक छन्।

प्रायः सबै माछामा भाले र पोथी छुट्याउने सूचक हुन्छन्। प्रजनन अङ्गका रूपमा भालेमा अण्डकोष र पोथीमा डिम्बाशय विकसित भएको हुन्छ। तर ताजा पानीमा भेटिने बाम माछामा प्रजनन अङ्ग पूर्ण रूपमा विकसित भएको हुँदैन। त्यसैले प्रश्न उठ्छ- भाले र पोथी नै नछुट्टिने भए बाम माछा कसरी जन्मन्छन् त?

आजभन्दा करिब २३०० वर्षअघि अरस्तुले पनि यही प्रश्न गरेका थिए। न शुक्रकीट, न अण्डा, न अन्य माछामा जस्ता प्रजनन अङ्ग। त्यसो भए हरेक वर्ष समुद्रसँग प्रत्यक्ष नजोडिएका खेत, खोला, पोखरी र खोल्सामा बाम माछा कसरी टुप्लुक्क देखा पर्छन्?

त्यतिबेला युरोपमा बाम माछा जताततै भेटिन्थे। अरस्तुले सयौं बाम माछा चिरेर हेरे, तैपनि भाले वा पोथीको कुनै प्रजनन अङ्ग फेला पार्न सकेनन्। जति प्रयास गर्दा पनि भेटाउन नसकेपछि उनले निष्कर्ष निकाले— बाम माछा हिलोबाट आफैं जन्मन्छन्।

अरस्तुले स्थापित गरेको ‘बाम माछा हिलोबाट जन्मन्छ’ भन्ने मान्यता धेरै पछिसम्म कायम रह्यो। सन् १८७६ मा विश्वविख्यात मनोविश्लेषक सिग्मन्ड फ्रायड विद्यालय तहको अध्ययन सकेर चिकित्सा विज्ञान पढ्न भर्ना भएका थिए। इटालीको एक अनुसन्धान केन्द्रमा स्नातक अध्ययनका क्रममा उनले गरेको पहिलो अनुसन्धान बाम माछाको अण्डकोष पत्ता लगाउने प्रयास थियो। झन्डै चार सय बाम माछा चिर्दा पनि अण्डकोष भेटाउन नसकेपछि आफू मस्तिष्कको अध्ययनतर्फ लागेको भनेर फ्रायडले आफ्नो जीवनीमा लेखेका छन्।

आज अरस्तुले भने झैं ‘बाम माछा हिलोबाट जन्मन्छन्’ भन्दा हामीलाई हाँसो लाग्न सक्छ। अहिले असम्भव लागे पनि लामो समयसम्म यसको उत्तर कसैसँग थिएन। अरस्तु र फ्रायडले खोजी गरेका ताजा पानीका बाम माछामा त्यतिबेला प्रजनन अङ्ग विकसित भइनसकेकाले उनीहरूले ती अङ्ग भेटाउन सकेका थिएनन्।

बाम माछा समुद्रमा जन्मन्छन्। स–साना बचेरा ताजा पानी खोज्दै लामो यात्रामा निस्कन्छन्, बाटोमै तिनको स्वरूप परिवर्तन हुँदै जान्छ र नदी–नालामा पुगेर वयस्क जीवन बिताउँछन्।

समुद्र बाहिर ताजा पानीमा रहँदा बाम माछाका प्रजनन अङ्ग पूर्ण रूपमा विकसित भएका हुँदैनन्। दशकौंपछि आफू जन्मिएको समुद्रतिर फर्कने बेला मात्र तिनमा प्रजनन अङ्गको विकास शुरु हुन्छ।

यही कारण बाम माछा कसरी जन्मन्छन् भन्ने कुरा अरस्तुको समयपछि दुई हजार वर्षसम्म पनि रहस्य बनेर रह्यो। यसको जवाफ नदीमा थिएन, टाढाको समुद्रमा लुकेको थियो। अझ स्पष्ट रूपमा भन्दा, समुद्रमा बाम माछाले ठ्याक्कै कसरी प्रजनन गर्छन् भन्ने यकिन आज पनि कसैसँग छैन।

सर्प होइन, साँच्चिकै माछा

पहिलो पटक बाम देख्दा मलाई यो ढोडे सर्पको दाजुभाइ जस्तै लागेको थियो— लामो र चिल्लो शरीर, खुट्टा नभएको अनि पानीमा सलल बग्ने चाल। दुवै विषालु थिएनन्, तर बाम र सर्प बीच आकाश–जमिनको फरक छ।

सर्प सरीसृप हो। यसले फोक्सोबाट सास फेर्छ, यसको छाला सुक्खा र कत्लायुक्त हुन्छ अनि पानीमा भए पनि यो हावाकै भरमा बाँच्छ। हेर्दा पानीभित्रको सर्प जस्तो देखिए पनि बाम सर्प होइन, एङ्गुइलिडी परिवारको साँच्चिकै माछा हो।

बाममा माछा हुनुका सबै प्रमाण भेटिन्छन्— बङ्गारा, हाड र पानीभित्र सास फेर्ने गिल। यसको पिठ्युँदेखि पुच्छर हुँदै शरीरको तल्लो भागसम्म एउटै लहरमा जोडिएको पखेटा हुन्छ। त्यही पखेटाले यसलाई छाल उठे झैं शरीर बटार्दै पौडिन सहयोग गर्छ। अन्य माछा जस्तै बामले पनि पानीभित्र गिलबाट सास फेर्छ। तर यसको छाला भने अन्य माछाको भन्दा केही विशेष हुन्छ।

बाम माछाको प्रजननको प्रत्यक्ष दृश्य अझै नभेटिए पनि उपलब्ध प्रमाणले एउटै निष्कर्षतर्फ सङ्केत गर्छ— वयस्क बाम माछा हजारौं किलोमिटर पौडिंदै सार्गासो पुग्छन्। कुनै रात करिब ४०० देखि एक हजार मिटर गहिराइमा अण्डा र शुक्रकीट छाड्छन् अनि मर्छन्।

बाम माछाको छालाभित्र स–साना कत्ला हुन्छन्, जसलाई माथिबाट चिप्लो लेसो अर्थात् म्युकसले ढाकेको हुन्छ। त्यही म्युकसले यसको छालालाई चिप्लो र ओसिलो बनाउँछ तथा छालाबाटै केही मात्रामा अक्सिजन लिन सक्ने क्षमता दिन्छ। त्यसैले बाम माछा पानीबाहिर अन्य माछाभन्दा केही बढी समय बाँच्न सक्छ।

ओसिलो घाँस वा माटोमाथि सर्प झैं घस्रँदै यो पानीको एउटा स्रोतबाट अर्को स्रोतसम्म पुग्न सक्छ। खडेरी पर्दा हिलोभित्रै गाडिएर सुषुप्त अवस्थामा पनि बाँच्न सक्छ। बर्खे झरीपछि पहिले पानी नै नभएका खेत र पोखरीमा बाम माछा ‘टुप्लुक्क’ देखा पर्नुको रहस्य यही हो। तिनीहरू आकाशबाट झरेका होइनन्, ओसिलो जमिन छिचोल्दै आफैं त्यहाँ पुगेका हुन्।

बाम माछाले रातमा आहारा खोज्छ, विस्तारै हुर्कन्छ र प्रायः कसैको ध्यान आफूतिर तान्दैन। आफ्नो जीवनको धेरैजसो समय— कहिलेकाहीं त ७०–८० वर्षसम्म— हाम्रै खोला, ताल र सिमसारमा बिताउँछ। यही देखेर हामी यसलाई नदी–खोल्साकै स्थायी वासी ठान्छौं।

तर वास्तवमा बाम माछा हाम्रा खेत–खोल्साका केही समयका पाहुना मात्र हुन्। नयाँ पुस्ता जन्माउन उनीहरू फेरि त्यही समुद्रतिर फर्कनुपर्छ।

अन्तिम यात्रा र शरीरमा आउने अद्भुत परिवर्तन

ताजा पानीमा वर्षौं विताएपछि एक दिन बाम माछाको शरीरले अन्तिम यात्राको तयारी शुरु गर्छ।

यसको पहेंलो–खैरो छाला चाँदी जस्तो टल्किने रङमा बदलिन्छ, जसले यसलाई समुद्रको गहिरो पानीमा लुक्न सजिलो बनाउँछ। छाला मात्र होइन, शरीर भित्रैदेखि फेरिन थाल्छ। आँखा फुलेर झन्डै दोब्बर हुन्छन्, किनकि अब यसले बाँकी जीवन समुद्रको गहिरो अन्धकारमा बिताउनुपर्छ। लामो दूरी पौडिनका लागि पखेटा फराकिला हुन्छन् र थुतुनो चुच्चो बन्छ।

बाम माछाको शरीरमा आउने सबैभन्दा अचम्मको परिवर्तन यसको पाचन प्रणालीमा हुन्छ। यसको पेटले काम गर्न छाड्छ, आन्द्रा क्षीण हुन थाल्छ र समुद्रको यात्रा शुरु गरेपछि यसले फेरि कहिल्यै खाना खाँदैन। वर्षौंसम्म खोला–नालामा सञ्चित गरेको बोसो नै अब यसको एक मात्र इन्धन हुन्छ।

समुद्रतिरको यात्राकै क्रममा यसको प्रजनन अङ्ग विकास हुन्छ। बाम माछाको सम्पूर्ण शरीर अब एउटै उद्देश्यका लागि ढालिन्छ— त्यो एकतर्फी यात्रा पूरा गर्न, जहाँबाट यो कहिल्यै फर्कने छैन।

बाम माछाको कथा यहींनेर झन् अनौठो बन्छ। कुनै रात यो चुपचाप खोलाबाट ओर्लन्छ— नदी हुँदै नदीमुख पार गरेर खुला समुद्रतिर। तर बाम माछा केवल ‘समुद्रतिर’ जाँदैन। यो एउटा निश्चित ठाउँ खोज्दै हिंड्छ, जहाँ संसारका लाखौं बाम माछा पुग्छन्। बचेरा हुँदा छाडेको त्यो ठाउँ, जहाँ आफ्नो वयस्क जीवनभर यो कहिल्यै पुगेको हुँदैन।

एटलान्टिक बाम माछाको जन्मथलो : सार्गासो सागर

वैज्ञानिकहरूका अनुसार करिब पाँच करोड वर्षअघि अहिलेको इन्डोनेसिया नजिक प्रशान्त महासागरमा बाम माछाको उत्पत्ति भएको हो। प्राचीन समयदेखि नै बाम माछाका पुर्खा गहिरो समुद्रमा बस्ने माछा थिए।

शुरुमा ती पूर्णतः समुद्री माछा थिए। तिनका बचेरा समुद्री धारामा बग्दै टाढा–टाढासम्म पुग्थे। समय बित्दै जाँदा कतिपय बाम माछाले आफ्नो यात्रा अझ लम्ब्याए र ताजा पानीमा प्रशस्त आहारा पाइने भएकाले त्यहीं पुगेर वयस्क हुन अभ्यस्त भए।

इन्डोनेसियातिर उत्पत्ति भएका बाम माछा विस्तारै अन्य समुद्रमा फैलिंदै जाँदा नयाँ–नयाँ प्रजाति छुट्टिए। अहिले बाम माछाका करिब १६ प्रजाति मानिन्छन्। अरस्तु र फ्रायडले अनुसन्धान गरेको युरोपेली बाम माछा (Anguilla anguilla) एटलान्टिक बामको समूहमा पर्छ।

एटलान्टिक क्षेत्रका बाम माछा जन्मने र प्रजननका लागि फर्कने एउटा निश्चित ठाउँ छ— सार्गासो सागर।

युरोपको खोलाबाट निस्किएको एउटा बाम माछाले त्यहाँ पुग्न पाँच–छ हजार किलोमिटरसम्म पौडिनु र महिनौं लामो यात्रा गर्नुपर्छ। त्यो पनि केही नखाई, दिउँसो गहिराइमा लुक्दै र राति पानीको माथिल्लो सतहतिर आउँदै। जीवनभर सञ्चित गरेको बोसो खर्च गर्दै यो एकतर्फी यात्रामा निस्कन्छ। गन्तव्यमा पुगेर प्रजनन गरेपछि सधैंका लागि विलाउँछ।

अब सबैभन्दा ठूलो प्रश्न उठ्छ— युरोप वा अमेरिकाका बाम माछा यति टाढा र कष्टपूर्ण यात्रा गरेर बारम्बार किन त्यही ठाउँमा फर्कन्छन्?

रोचक कुरा, अमेरिकी र युरोपेली बाम माछा झन्डै ३० देखि ६० लाख वर्षअघि मात्र एकअर्काबाट छुट्टिएका हुन्। अर्थात् सार्गासोको यो धारा प्रणाली बनिसकेको धेरै पछि मात्र तिनीहरू अलग प्रजातिमा विकास भए।

बर्मुडा नजिक एटलान्टिक महासागरमा रहेको सार्गासो पृथ्वीका सबैभन्दा अनौठा सागरमध्ये एक हो। संसारका अन्य समुद्रको कुनै न कुनै भौगोलिक किनारा हुन्छ र तिनको कुनै न कुनै भागमा देशहरूले दाबी गरेका हुन्छन्। तर सार्गासो सागरको न जमिनले बनेको किनारा छ, न यसलाई कुनै भूभागले घेरेको छ। समुद्री धाराले नै यसको सीमा निर्धारण गर्छ।

भूमध्यरेखातिरको बतास एकातिर र मध्य अक्षांशको बतास अर्कोतिर बग्छ। पानी र बतासको यही संयोजनले एटलान्टिकको पानीलाई घडीको सुई जस्तै घुमिरहने सुस्त फन्कोमा परिणत गरिदिन्छ।

यसरी बनेको ‘जायर’ अर्थात् पानीको विशाल फन्कोको बीचतिर पानी जम्मा भएर स्थिर रहन्छ। त्यही न्यानो, शान्त र स्थिर केन्द्र नै सार्गासो सागर हो।

फ्रान्सभन्दा झन्डै ६ गुणा ठूलो क्षेत्रमा फैलिएको यसको सतहभरि ‘सार्गासम’ नामक सुनौलो झार तैरिरहन्छ। यही झारको नामबाट सागरले आफ्नो नाम पाएको हो। समुद्रको पिंधबाट पोषक तत्त्व सतहसम्म कम आउने भएकाले यहाँ सार्गासम झार बाहेक अन्य जीव र शिकारीको सङ्ख्या पनि तुलनात्मक रूपमा कम हुन्छ।

समुद्रमा प्रजनन, पारदर्शी बचेरा र नदीतिरको यात्रा

यिनै विशेषताका कारण सार्गासो सागर एटलान्टिक बाम माछाको जन्मथलो बन्न पुग्यो। यहाँको पानी न्यानो र शान्त छ, जहाँ बचेरा शिकारीबाट जोगिन सक्छन्। वरिपरिका समुद्री धाराले तिनलाई किनारातिर पुर्‍याइदिन्छन्।

बाम माछाका पुर्खाले नदी चिन्नुभन्दा धेरै पहिलेदेखि समुद्रमा यसरी प्रजनन गर्ने बानी बसालेका थिए। अझ रोचक कुरा, युरोप र अमेरिका अहिलेको जति टाढा हुनुभन्दा धेरै पहिलेदेखि नै यो क्षेत्र बाम माछाको प्रजनन थलो थियो।

अँध्यारो रातमा वयस्क बाम माछाले सार्गासोको गहिरो पानीमा लाखौं अण्डा र शुक्रकीट छाड्छन्। अण्डाबाट निस्किने बचेरा भने वयस्क बाम माछा जस्ता पटक्कै हुँदैनन्। ती पाँचदेखि १० मिलिमिटर लामो, सिसा जस्तो पारदर्शी र पात जस्तो चेप्टो हुन्छन्। यिनलाई वैज्ञानिकहरू ‘लेप्टोसेफालस’ (leptocephalus) भन्छन्।

लेप्टोसेफालसको अनौठो आकारका कारण लामो समयसम्म यसलाई समुद्री कीरा मात्र ठानिन्थ्यो। यो बाम माछाको बचेरा हो भन्ने कुरा वैज्ञानिकहरूले उन्नाइसौं शताब्दीको अन्त्यतिर मात्र पत्ता लगाए।

अझ रोचक कुरा, यी बचेरा सक्रिय रूपमा लामो दूरी पौडिन सक्ने गरी बनेका हुँदैनन्। पात जस्तो फैलिएको र जेलीफिस जस्तै हलुका शरीरका कारण तिनीहरू पानीमा सजिलै तैरिन्छन्। पारदर्शी शरीरले शिकारीको आँखाबाट जोगिन पनि सहयोग गर्छ।

सार्गासोबाट निस्किएपछि लेप्टोसेफालस उत्तर एटलान्टिकको सामुद्रिक बहाव अर्थात् गल्फ स्ट्रिमसँगै बग्न थाल्छन्। युरोपेली बाम माछाका बचेराका लागि यो बहाव एकदेखि तीन वर्षसम्म लामो हुन सक्छ। यस क्रममा उनीहरूले हजारौं किलोमिटर दूरी पार गर्नुपर्छ।

बाटोभरि तिनले ‘मरिन स्नो’ (marine snow) खान्छन्। त्यसैको भरमा सार्गासोमा पाँचदेखि १० मिलिमिटर लामो रहेका बचेरा युरोप पुग्दा ६० देखि ९० मिलिमिटरसम्म लामा हुन्छन्।

महिनौं वा वर्षौंको बहावपछि बचेरा समुद्री किनाराको छिछलो पानीमा आइपुग्छन्। त्यसपछि तिनले फेरि रूप बदल्छन् र ‘ग्लास इल’ (glass eel) बन्छन्— सिसा जस्तै पारदर्शी, तर बाम माछाकै आकार भएका।

यी ग्लास इल नदीमुखमा भेला हुन्छन्। त्यसपछि ज्वारभाटा र पृथ्वीको चुम्बकत्वको सहारा लिंदै नदीको भित्री भागतिर उकालो लाग्छन्। ताजा पानीमा प्रवेश गरेपछि तिनको शरीरमा रङ चढ्न थाल्छ र तिनीहरू ‘एल्भर’ (elver) बन्छन्। यही एल्भर विस्तारै हुर्केर हामीले खोला–पोखरीमा देख्ने पहेंलो बाम माछामा परिणत हुन्छ।

रोचक कुरा, अमेरिकी र युरोपेली बाम माछा झन्डै ३० देखि ६० लाख वर्षअघि मात्र एकअर्काबाट छुट्टिएका हुन्। अर्थात् सार्गासोको यो धारा प्रणाली बनिसकेको धेरै पछि मात्र तिनीहरू अलग प्रजातिमा विकास भए।

करोडौं वर्षअघि एटलान्टिक महासागर अहिलेभन्दा धेरै साँघुरो थियो। युरोप र अमेरिका पनि अहिलेभन्दा धेरै नजिक थिए। महादेशहरू टाढिंदै गए, समुद्रको पिंध फैलिंदै गयो र बाम माछा आहाराको खोजीमा नदीभित्र पस्न थाले। तर तिनले आफ्नो पुर्ख्यौली प्रजनन थलो भने कहिल्यै छाडेनन्।

त्यसैले भन्न सकिन्छ— नदी त पछि बसेको बानी हो, सार्गासो तिनको आदिघर हो, जसलाई तिनले वास्तवमा कहिल्यै छाडेनन्।

हजारौं किलोमिटर टाढा समुद्रको बीचमा जन्मिएका पारदर्शी बचेरा वर्षौंसम्म समुद्री धारामा बग्दै अन्ततः युरोप वा अमेरिकाको कुनै किनाराको खोलासम्म आइपुग्छन्। त्यसपछि ताजा पानीमा दशकौं बिताएर वयस्क हुन्छन्।

समुद्रको बीचमा बाटो कसरी पत्ता लगाउँछन्?

वयस्क बाम माछा प्रजननका लागि फेरि समुद्रको त्यही ठाउँमा पुगेपछि मात्र तिनको जीवनचक्र पूरा हुन्छ। यहाँ अर्को अचम्म छ— खुला समुद्रमा आफू जन्मिएको ठाउँ खोज्दै उनीहरू कसरी पुग्छन्? ताजा पानीमा दशकौं बिताएका तिनलाई त्यो ठाउँको सम्झना कसरी रहिरहन्छ? कुनै किनारा वा टाकुरा नभएको सार्गासो सागर खोज्दै एटलान्टिक बाम माछा हजारौं किलोमिटर पौडेर कसरी फर्कन्छन्?

यसको सम्भावित जवाफ पृथ्वीको चुम्बकीय क्षेत्रमा लुकेको छ। सार्गासो सागर वरिपरिको चुम्बकीय पहिचानको छाप बाम माछाको मस्तिष्कमा सानैमा बसेको हुन सक्छ। वयस्क भएपछि तिनीहरू त्यही जैविक सम्झनाको सहायताले बाटो पत्ता लगाउँछन्।

युरोपेली बाम माछाको शरीरले कम्पास जस्तै काम गर्छ। पृथ्वीको चुम्बकीय क्षेत्रलाई नक्शा झैं पढ्दै तिनीहरू सार्गासोको चुम्बकीय पहिचान भएको दिशातिर अघि बढ्न सक्छन्। फरक–फरक चुम्बकीय अवस्था बनाएर प्रयोगशालामा गरिएको सन् २०१७ को एक अध्ययनले पनि यस्तै सम्भावना देखाएको छ।

तैपनि हजारौं किलोमिटर टाढा रहेको त्यो सीमाविहीन ठाउँ तिनले ठ्याक्कै कसरी पहिचान गर्छन् भन्ने रहस्य पूरै खुलेको छैन।

यहाँ अर्को प्रश्न पनि बाँकी रहन्छ— बाम माछाले प्रजनन कसरी गर्छन्? सार्गासोमा तिनले प्रजनन गरेको न कसैले प्रत्यक्ष देखेको छ, न क्यामेरामा कैद गरेको छ। त्यसो भए यही ठाउँ तिनको जन्मथलो हो भनेर वैज्ञानिकहरू कसरी यति विश्वस्त भए?

कसैले नदेखी वैज्ञानिकहरू कसरी पक्का भए?

बाम माछाको प्रजननबारे थाहा पाउने पहिलो आधार तिनका बचेरा थिए। उन्नाइसौं शताब्दीको अन्त्यतिर इटालीको एउटा प्रयोगशालामा अनुसन्धानकर्ताहरूले पहिलो पटक ट्याङ्कीमा पात जस्तो पारदर्शी जीव अर्थात् लेप्टोसेफालस विस्तारै बाम माछामा बदलिएको देखे।

त्यतिन्जेल बिल्कुलै फरक प्राणी वा समुद्री कीरा ठानिएको त्यो ‘पारदर्शी पात’ नै बाम माछाको बचेरा हो भन्ने थाहा भयो। अब वैज्ञानिकसँग बाम माछाको जन्मस्थल पछ्याउने एउटा बाटो थियो— सबैभन्दा साना बचेरा जहाँ भेटिन्छन्, बाम माछा त्यहीं जन्मेका हुनुपर्छ।

डेनमार्कका वैज्ञानिक योहानेस स्मिट यही सुराकको पछि लागे। सन् १९०४ देखि झन्डै २० वर्षसम्म उनले एटलान्टिक महासागरभरि जहाज चलाए, हजारौं ठाउँमा जाल हाने र समातिएका बचेरा एक–एक गरी नापे।

वर्षौंको मापनपछि एउटा स्पष्ट ढाँचा देखियो- सार्गासोबाट जति टाढा गयो, बचेरा त्यति ठूला थिए; जति नजिक गयो, त्यति साना। सबैभन्दा साना र भर्खरै अण्डाबाट निस्किएका बचेरा भेटिने ठाउँ एउटै थियो— सार्गासो सागरको मध्यभाग।

सन् १९२२ मा स्मिटले सबै एटलान्टिक बाम माछा सार्गासोमै जन्मन्छन् भन्ने निष्कर्ष सार्वजनिक गरे। उनको निष्कर्षलाई अहिले अन्य धेरै प्रमाणले पुष्टि गरेका छन्- डीएनए परीक्षण, बचेराको कानको हाडको रासायनिक विश्लेषण र आधुनिक विद्युतीय ट्यागिङ।

सन् २०२२ मा वैज्ञानिकहरूले ट्याग लगाइएका वयस्क युरोपेली बाम माछालाई सार्गासो सागरको नजिकसम्म पछ्याउन समेत सफल भए।

बाम माछाको प्रजननको प्रत्यक्ष दृश्य अझै नभेटिए पनि उपलब्ध प्रमाणले एउटै निष्कर्षतर्फ सङ्केत गर्छ— वयस्क बाम माछा हजारौं किलोमिटर पौडिंदै सार्गासो पुग्छन्। कुनै रात करिब ४०० देखि एक हजार मिटर गहिराइमा अण्डा र शुक्रकीट छाड्छन् अनि मर्छन्।

तिनका मृत शरीर प्रायः फेला पर्दैनन्। तिनका बच्चा भने समुद्री धारासँगै बग्दै किनारातिर फर्कन्छन्। ती वयस्क भएपछि यही चक्र फेरि शुरु हुन्छ।

हाम्रै खोलाको बाम माछा र हिन्द महासागरको रहस्य

हामीले युरोप र अमेरिकाका बाम माछाको कथा गर्‍यौं, जसको जीवनचक्र तुलनात्मक रूपमा सबैभन्दा धेरै अध्ययन गरिएको छ। तर समुद्रसँग जोडिएको बाम माछाको गाथा युरोप र अमेरिकामा मात्र सीमित छैन। हाम्रै खोलाका बाम माछाले पनि फरक समुद्रमा उस्तै जीवनचक्र पूरा गर्छन्।

संसारभर बाम माछाका करिब १६ प्रजाति छन् र प्रत्येक आफ्नै समुद्री जन्मथलोसँग बाँधिएका छन्।

दक्षिण एशियामा पाइने बाम माछा एङ्गुइला बेङ्गालेन्सिस (Anguilla bengalensis) हो। यसको यात्रा झन् लामो छ। पहाडका खोलाबाट ओर्लेर यो गङ्गा र ब्रह्मपुत्र जस्ता महानदीमा मिसिन्छ, समथर मैदान पार गर्छ, संसारकै सबैभन्दा ठूलो डेल्टा सुन्दरवन छिचोल्छ अनि बङ्गालको खाडी हुँदै गहिरो हिन्द महासागरमा पुग्छ।

हाम्रै खेत–खोल्सामा साधारण देखिने बाम माछाले गर्ने यो यात्रा संसारका सबैभन्दा लामा र कम अवलोकन गरिएका जीवयात्रामध्ये एक हो।

यस्तै यात्रा प्रशान्त महासागरमा जापानी बाम माछा (Anguilla japonica) ले पनि गर्छ। पूर्वी एशियाका नदीबाट दुई–तीन हजार किलोमिटर पौडिंदै यो ‘वेस्ट मारियाना रिज’ भनिने पानीमुनिको पर्वतशृङ्खलासम्म पुग्छ र औंसी आसपासको गहिरो अँध्यारोमा प्रजनन गर्छ।

अब सबैभन्दा ठूलो प्रश्न उठ्छ— युरोप वा अमेरिकाका बाम माछा यति टाढा र कष्टपूर्ण यात्रा गरेर बारम्बार किन त्यही ठाउँमा फर्कन्छन्?

हाम्रो बाम माछाको सबैभन्दा रोचक पक्ष यहीं छ। युरोपेली बाम माछा कहाँ जान्छन् भन्ने हामीलाई थाहा छ— सार्गासो सागर। तर हिन्द महासागरको ठ्याक्कै कुन क्षेत्रमा पुगेर हाम्रा बाम माछाले प्रजनन गर्छन् भन्ने विज्ञानलाई अझै पूर्ण रूपमा थाहा छैन। हिन्द महासागरको ‘सार्गासो’ अझै भेटिएको छैन।

एटलान्टिकका बाम माछाले एउटै क्षेत्रमा र निश्चित मौसममा प्रजनन गर्छन्। तर हाम्रातिरका उष्णप्रदेशीय बाम माछाले वर्षभरि र सम्भवतः फरक–फरक ठाउँमा प्रजनन गर्छन् जस्तो देखिन्छ।

बर्खे झरीमा हाम्रा खेतमा टुप्लुक्क देखा पर्ने त्यो साधारण बाम माछाले संसारका ठूला वैज्ञानिकले अझै नसुल्झाएको रहस्य आफ्नो शरीरभित्रै बोकेर हिंडिरहेको छ।

उल्टो दिशाका यात्री : सामन र हिल्सा

समुद्रको नुनिलो पानी र नदी–नालाको ताजा पानी दुवैमा जीवन विताउन सक्ने जीवलाई विज्ञानको भाषामा ‘डायड्रोमस’ (diadromous) भनिन्छ। ताजा पानीमा बस्ने तर प्रजननका लागि समुद्रतिर जाने बाम माछालगायत जीवलाई ‘क्याटाड्रोमस’ (catadromous) भनिन्छ।

यसको ठीक उल्टो जीवनचक्र भएका माछालाई ‘एनाड्रोमस’ (anadromous) भनिन्छ। यस्ता माछा समुद्रमा बस्छन्, तर प्रजननका लागि नदीमा माथितिर चढ्छन्।

एनाड्रोमस माछाको सबैभन्दा परिचित उदाहरण सामन अर्थात् सल्मन हो। यो ताजा पानीमा जन्मन्छ, वयस्क जीवन समुद्रमा विताउँछ र प्रजननका बेला आफू जन्मिएकै खोलामा फर्केर प्राण त्याग्छ।

रोचक कुरा, बाम माछाले बाटो पहिल्याउन पृथ्वीको चुम्बकीय क्षेत्रको सहायता लिन्छ भने सामनले आफू जन्मिएको खोलाको गन्धका आधारमा बाटो पत्ता लगाउँछ।

तर बाम माछाको ठीक उल्टो यात्रा गर्ने माछा भेट्न सामनसम्म पुग्नै पर्दैन। बङ्गालको खाडीमा पाइने प्रख्यात माछा हिल्सा अर्थात् इलिशले पनि त्यस्तै यात्रा गर्छ।

बाम माछा गङ्गा–ब्रह्मपुत्र हुँदै बङ्गालको खाडीतिर तल झर्छ। हिल्सा भने ठ्याक्कै त्यही खाडीबाट तिनै नदी हुँदै उकालो लाग्छ। कहिलेकाहीं १२०० किलोमिटरभन्दा माथिसम्म पुगेर ताजा पानीमा अण्डा पार्छ।

एउटै नदी र एउटै पानीमा बाम र हिल्सा ठ्याक्कै विपरीत दिशामा यात्रा गर्छन्— एउटा समुद्रमा बच्चा जन्माउन तल झर्छ, अर्को नदीमा बच्चा जन्माउन माथि चढ्छ।

नुनिलो र ताजा पानीको साँध नाघ्ने यस्तो बानी दुर्लभ भए पनि यसका अन्य उदाहरण छन्। चिनियाँ ‘मिटन क्र्याब’ नामक गँगटाले पनि बाम माछाले जस्तै जीवनको धेरैजसो समय नदीमा बिताएर प्रजननका लागि समुद्रतिर यात्रा गर्छ।

केही कछुवा आफू जन्मिएको ठाउँमा फर्केर मात्र प्रजनन गर्छन्। समुद्री ल्याम्प्री र स्टर्जन जस्ता माछा भने सामन र हिल्सा जस्तै नदीमा फर्केर अण्डा पार्छन्।

नुनिलो र ताजा पानी बीचको साँध नाघ्नु सजिलो छैन। त्यसका लागि शरीरले आफ्नो सम्पूर्ण नुन सन्तुलन प्रणाली नै बदल्नुपर्छ। त्यसैले यस्तो जोखिम मोल्ने प्राणी थोरै छन्। जसले यस्तो यात्रा गर्छन्, तिनीहरू लाखौं वर्षको विकासक्रममा त्यही असम्भव जस्तो यात्राका लागि विशेष रूपमा अनुकूलित भएका छन्।

अब आउने बर्खामा हिलाम्मे खेतमा फेरि बाम माछा देखा पर्नेछन्। ती हिलोमा लपेटिएका साधारण माछा मात्र होइनन्। तिनको शरीरमा प्राचीन समुद्रको छाप छ र मस्तिष्कमा पृथ्वीको चुम्बकीय नक्शा।

करोडौं वर्षअघि डीएनएमा लेखिएको जैविक सम्झनाको सहारामा प्रत्येक बाम माछा हजारौं किलोमिटर टाढा महासागरको त्यही गहिरो अन्धकारतर्फ फर्किनेछ।

बाम माछाको साँचो घर कहिल्यै नदी थिएन। हिलोबाट निस्किएको यो जीवको सत्य अरस्तुले बुझ्न सकेनन्, फ्रायडले भेटाउन सकेनन्। प्रत्येक बाम माछाले आफ्नो शरीरभित्र यस्तो यात्रा र रहस्य बोकेको छ, जसको पूर्ण उत्तर हजारौं वर्षपछि आजको विज्ञानसँग पनि छैन।

लेखक
प्रवेश खतिवडा

खतिवडा कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?