+
+
Shares

एक रुपैयाँको सिक्कामा किन राख्न लागिएको थियो लो घेकर गुम्बा ?

साढे १२ सय वर्ष पहिले बनेको तिब्बतको साम्ये गुम्बाभन्दा पनि पहिला पद्मसम्भवले मुस्ताङमा लो घेकर गुम्बा बनाएको देखिन्छ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ साउन १६ गते १६:०९
Photo Credit : लो घेकर गुम्बाको तस्विर : मुस्ताङ ट्रेक नेपाल ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाउने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
  • राष्ट्र बैंकले सिक्कामा लो घेकर गुम्बा राख्ने प्रस्ताव गरे पनि नक्सासँगै आकाश भैरवको मूर्ति राख्ने निर्णय अन्तिम चरणमा पुगेको छ ।
  • संस्कृतिविद्हरूले १२ सय वर्ष पुरानो लो घेकर गुम्बालाई नेपाली गौरवको प्रतीक मान्दै यसको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरेका छन् ।

१६ साउन, काठमाडौं । असार ३२ मा बसेको मन्त्रिपरिषद् बैठकले एक रुपैयाँको सिक्कामा भएको नेपालको नक्सा हटाउने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भयो । नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा उपल्लो मुस्ताङको लो घेकर गुम्बा राख्न प्रस्ताव गरेको थियो ।

संस्कृतिविद् डा. जगमान गुरुङ यस्तो गुम्बालाई सिक्कामा राख्ने प्रस्ताव आफूलाई एकदमै मन परेको बताउँछन् । उनी भन्छन्, ‘लो घेकर गुम्बा सिक्कामा राख्नु भनेको नेपालीका लागि धेरै ठूलो गौरवको कुरा हो । यस्तो प्रस्ताव धेरै सकारात्मक हो ।’

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले सिक्का वा नोट डिजाइनको अधिकार राष्ट्र बैंकलाई दिएको छ । तर सिक्का डिजाइन, साइज वा तौल परिवर्तन गर्नुपर्दा नेपाल सरकारसँग स्वीकृत लिनुपर्दछ ।

बैंकले स्वीकृतिका लागि प्रस्ताव गर्नुअघि डिजाइन समितिले डिजाइन तयार पार्छ । बैंकका गर्भनर अध्यक्ष हुने यो समितिमा दुई जना डेपुटी गर्भनर, नेपाल प्रज्ञा प्रतिष्ठान, पुरातत्व विभागका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका इतिहासका प्राध्यापक, बैंकले तोकेको नोट तथा सिक्का विशेषज्ञ सदस्य रहने व्यवस्था छ । समितिमा बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख सदस्य सचिव रहने नोट तथा सिक्का नियमावलीमा उल्लेख छ ।

डिजाइन समिति हुँदै मन्त्रिपरिषद्मा पुगेको रु. १ को सिक्काको डिजाइनमा लो घेकर गुम्बा नरहने निश्चित प्राय: भइसकेको छ । त्यसको सट्टा नेपालको नक्सासँगै आकाश भैरवको मुर्ति राखिने भएको छ । आकाश भैरव सहितको सिक्काको डिजाइन अन्तिम चरणमा पुगेको डिजाइन समितिका सदस्यहरू बताउँछन् ।

लो घेकर गुम्बा राख्ने प्रस्ताव कसरी आयो भन्ने प्रश्नमा ती सदस्य भन्छन्, ‘हामीले नोटमा हिमाल, लालीगुराँस, विभिन्न जनावर राख्दै आएका छौं । ती सबै प्रकृतिले दिएका हुन् । मान्छेल आफैंले बनाएको ऐतिहासिक संरचनामा पनि किन नराख्ने भन्ने सन्दर्भमा १२–१३ सय वर्ष पुरानो लो घेकर गुम्बाको प्रस्ताव आएको हो ।’

आफ्नै देशभित्रको पुरातात्विक महत्त्वको संरचना राख्न खोज्दा राजनीतिक रङ दिएर अनावश्यक विरोध भएको ती सदस्यको भनाइ छ । नाम उल्लेख गर्न नचाहने उनले अनलाइनखबरसँग भने, ‘अरूले आफ्नो रुचि देखाउन खोज्नुलाई अस्वाभाविक भन्न नमिल्ला । तर हामी आफैंले विरोध गरेर देशभित्रैको गुम्बा पनि सिक्कामा राख्न नसक्ने अवस्था आउनुलाई चाहिं विडम्बना नै भन्छु म त ।’

कसरी बन्यो लो घेकर गुम्बा ? के हो यसको ऐतिहासिक महत्त्व ?

यो गुम्बा मुस्ताङको लोघेर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर १ स्थित मराङमा छ । पालिकाको नामै यही गुम्बा र दामोदरकुण्डको नामबाट राखिएको छ ।

लो घेकर गुम्बालाई घार गुम्बा वा गोम्पा ग्याङ पनि भन्छन् । ‘लो घेकर’ शब्दलाई अर्थ्याउँदै संस्कृतिविद् डा. गुरुङ भन्छन्, ‘लो भनेको स्थानीय वा तिब्बती भाषामा मुस्ताङ हो । घे भनेको पुण्य र कर भनेको सेतो हो । लो घेकरको मोटामोटी अर्थ मुस्ताङको सेतो पुण्य गुम्बा भन्ने हुन्छ ।’

लो घेकर गुम्बा निर्माणको सन्दर्भ तिब्बतको साम्ये गुम्बासँग जोडिन्छ । साम्ये गुम्बा तिब्बतका राजा थिरोङ दे चनको पालामा बनेको थियो । ‘द टेस्टामेन्ट अफ बा’ पुस्तक अनुसार साम्ये गुम्बा सन् ७६७ वा ७७९ बनेको थियो । अर्कोपुस्तक ‘द ब्लु एनल्स’मा सन् ७८७ र ७९१ को बीचमा बनेको उल्लेख छ ।

साढे १२ सय वर्ष पहिले तिब्बतमा साम्ये गुम्बा बनाउने क्रममा देखिएको बाधा व्यधान हटाउन मुस्ताङमा लो घेकर गुम्बा निर्माण गरिएको जानकारहरू बताउँछन् । डा. गुरुङले आफ्नो पुस्तक ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’ मा साम्ये गुम्बा भन्दा पहिला नै लो घेकर गुम्बा बनेको उल्लेख गरेका छन् ।

‘भोटको प्रसिद्ध साम्ये गुम्बाभन्दा लो गेकर गुम्बा अघि बनेको मानिन्छ । साम्ये गुम्बा भोटको पहिलो गुम्बा हो,’ नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रिविद्वारा प्रकाशित उक्त पुस्तक (पृष्ठ ६७) मा गुरुङले लेखेका छन्, ‘यो गुम्बा भोटका राजा थिरोङ दे चनको समय ई. ७५१ मा बनेको हो ।’

लोचवा पुण्यप्रसाद पराजुलीले तिब्बतमा साम्ये गुम्बा निर्माणको क्रममा देखिएका अवरोध हटाउनका लागि लो घेकर गुम्बा बनेको बताउँछन् । उनका अनुसार लो घेकर गुरु पद्मसम्भवको नेपालभित्रको तीर्थस्थल मध्यमा एउटा छुटाउनै नहुने ठाउँ हो ।

तिब्बती भाषाका समेत ज्ञाता लोचवा पराजुली नागको समस्याले तिब्बतमा जुन स्तुपा बनाउन सकेको थिएन, त्यसलाई साम्य गर्नका लागि सुरुमा नागहरूलाई वसमा लिनका लो घेकर गुम्बा बनेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएको बताउँछन् ।

‘तिब्बतमा साम्ये गुम्बा बनाउने क्रममा देउताहरूले विघ्न बाधा पारेको र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा लो घेकरको बयान गरिएको छ । लो राक्षसनी सुतेको जस्तो रहेको छ,’ पेमा काथाङको सन्दर्भ उल्लेख गर्दै पराजुली भन्छन्, ‘राक्षसनीको मुटुमा नौ तला भएको गुम्बाको आवश्यकता पर्छ । यसको नाभीमाथि स्तुप बनाउनु पर्छ । राक्षसनीको शिरमा कालो देउ चाहिन्छ  र हात–खुट्टाहरू चारै वटामा १०८ वटा स्तुपा बनाउनु पर्छ भनेर यो गुम्बा बनाएको देखिन्छ ।’

‘मुस्ताङ दिग्दर्शन’ पुस्तकमा  नारायणप्रसाद क्षेत्रीले घार गुम्बा बारे चर्चा गरेका छन् । आफ्नो पुस्तक (पृष्ठ १३७)मा क्षेत्रीले लेखेका पद्मसंभवले उक्त मृत्युस्थलमा गई त्यसको सबै अवस्था हेरिसकेपछि विचार गरे कि दुष्ट राक्षसीले प्रतिशोधको भावना लिई पुन: जन्मिन सक्ने र त्यसको आत्मालाई शान्ति पनि दिनुपर्नै हुनाले आन्द्रा तेर्छौ परेको स्थान घमी (मुस्ताङ जाने मूल बाटो) मा लामो पर्खालजस्तो मानेको गुम्बा बनाएको उल्लेख छ । उनले लेखेका छन्, ‘लासबाट मृटु झिकि अलग राखेर मृत शरीरलाई काटी एक शय आठ टुक्रा बनाए । त्यसपछि मुटुलाई बीचमा र मृत शरीरका एक शय आठ टुक्रालाई वरिपरि राखी गुम्बा बनाए । त्यसपछि यस ठाउँलाई घार गुम्बा भनिन्छ ।’

रोचक के छ भने यो गुम्बामा मुल प्रतिमा पद्मसम्भवको  छ । ‘लो गेकरलाई बज्रगुरु पद्मसम्भवको विभिन्न धार्मिक ग्रन्थ एवं तान्त्रिक उपकरणहरू गुप्त राखेको पहिलो नीधितीर्थ मानिन्छ,’ डा. गुरुङले आफ्नो पुस्तकमा लेखेका छन्, ‘यसरी लामा बौद्ध धर्ममा पहिलो निधितीर्थको रुपमा मुस्ताङको लोगेकर गुम्बाको ठूलो महत्त्व र लोकप्रियता रहेको छ ।’

यो गुम्बाको जिर्णोद्धारका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले वर्षेनी बजेट विनीयोजन गर्दै आएको छ । गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनीयोजन गरेको थियो । २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको गुम्बा मर्मतका लागि अमेरिकी दूतावास मार्फत् करिब ३ करोड रुपैयाँ सहयोग लिइएको थियो ।

गुम्बाको पहिलो पटक जिर्णोद्धार भने मुस्ताङी राजा अहं दोनढुव् दोर्जेले गरेको डा. गुरुङ बताउँछन् । गुम्बाको वास्तुकलाबारे उनले पुस्तक (पृष्ठ ७०)मा लेखेका छन्, ‘गुम्बाको चारवटा छ्योर्तेन् बनाउनु र गुम्बालाई मणिखोर्लोको लहरले परिवेष्टित गर्नु यस गुम्बाको वास्तुकलात्मक विशेषता हो ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?