+

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

२०८३ साउन  १७ गते २०:१६ २०८३ साउन १७ गते २०:१६
Shares
रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेपाटाइटिस बी र सी को सङ्क्रमण रगतमार्फत सर्न सक्ने भएकाले बिरामीलाई रगत चढाउनुअघि यी भाइरसको अनिवार्य परीक्षण गर्नुपर्ने चिकित्सा विज्ञानले जनाएको छ।

विश्वभरि करोडौं बिरामीहरूलाई जीवन जोगाउन रगत चढाइन्छ । शल्यक्रिया, दुर्घटना, प्रसव, क्यान्सर, थालासेमिया, एनिमिया – यी सबै अवस्थामा रगत जीवनदायक हुन्छ । तर यही जीवनदायक रगतले यदि हेपाटाइटिस ‘बी’ वा ‘सी’ को भाइरस बोकेको छ भने, त्यो जीवनरक्षक नभएर एउटा मौन जोखिम बन्न सक्छ । त्यसैले बिरामीलाई रगत चढाउनुअघि हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण हुनु अति जरूरी हुन्छ ।

के विश्वभरि चढाइने प्रत्येक रगतको हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण हुन्छ त ?

हेपाटाइटिस बी र हेपाटाइटिस सी के हो ?

हेपाटाइटिस भनेको कलेजो फुल्नु वा सुन्निने समस्या हुनु हो । यो भाइरसको आक्रमण, अत्यधिक मदिराको सेवन, औषधि वा अन्य कारणले हुन सक्छ । रक्तसञ्चारको सन्दर्भमा हेपाटाइटिस ‘बी’ (एचबिभी) र हेपाटाइटिस ‘सी’ (एचसिभी) सबैभन्दा खतरनाक मानिन्छन् किनकी यी दुवै रगतमार्फत एक मानिसबाट अर्कोमा सर्न सक्छन् ।

हेपाटाइटिस ‘बी’

हेपाटाइटिस ‘बी’ भाइरस विश्वमा सबैभन्दा धेरै फैलिएको हेपाटाइटिस भाइरस हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब २९ करोड ६० लाख (२९६ मिलियन) भन्दा बढी मानिसहरू दीर्घकालीन (एचबिभी) संक्रमणमा छन् ।

यो भाइरस निम्न माध्यमबाट सर्छ ।

–संक्रमित रगत र रगतका अवयवहरू मार्फत,

–असुरक्षित यौन सम्पर्क मार्फत,

–संक्रमित आमाबाट जन्मका शिशुमा,

–संक्रमित सुई वा चिकित्सा उपकरण मार्फत सर्छ ।

दीर्घकालीन (एचबिभी) संक्रमणले कलेजोको सिरोसिस र कलेजोको क्यान्सर निम्त्याउन सक्छ । प्रत्येक वर्ष करिब ११ लाख मानिसको मृत्यु (एचबिभी) सम्बन्धित जटिलताबाट हुन्छ ।

हेपाटाइटिस ‘सी’

हेपाटाइटिस ‘सी’ भाइरस (एचसिभी) पनि त्यत्तिकै खतरनाक छ । विश्व स्वास्थ्य संगठनकका अनुसार विश्वमा करिब ५ करोड ८० लाख मानिसहरू दीर्घकालीन एचसिभी संक्रमणमा छन् । एचसिभी को एउटा सबैभन्दा खतरनाक पक्ष के छ भने यो वर्षौंसम्म कुनै लक्षण नदेखाई शरीरमा रहन सक्छ, तर भित्रभित्रै कलेजो नष्ट गरिरहन्छ । एचबिभीको खोप छ तर (एचसिभी) को भ्याक्सिन अझसम्म विकास भएको छैन ।

एचसिभी संक्रमणको सबैभन्दा ठूलो स्रोतहरूमध्ये एक असुरक्षित रक्तसञ्चार हो । सन् १९९२ अघि जब रगतमा एचसिभी परीक्षण हुँदैनथ्यो, रगत चढाउँदा लाखौं मानिसहरू एचसिभी संक्रमित भएका थिए ।

रगतमार्फत हेपाटाइटिसको संक्रमण : यो कति गम्भीर छ ?

रगत मार्फत हेपाटाइटिस सर्नु आधुनिक चिकित्सा विज्ञानका लागि एउटा गम्भीर चुनौती हो । एचबिभी र एचसिभी दुवै रगतमा अत्यन्त कम मात्रामा पनि सक्रिय रहन सक्छन् । सिर्फ एउटा सुईको टुप्पोभर लागेको सूक्ष्म रगतले पनि संक्रमण गर्न सक्छ । यसको मतलब हो-एउटा परीक्षण नगरिएको रगतको थैलोले दर्जनौं बिरामीलाई जीवनभरका लागि दीर्घकालीन कलेजो रोगको शिकार बनाउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विकासशील देशहरूमा रगत चढाउँदा एचसिभी संक्रमण हुने समस्या धेरै छ । विश्वभरि हुने कुल हेपाटाइटिस ‘सी’ संक्रमणमध्ये करिब २ प्रतिशत बिरामीलाई रगत दिँदा सर्छ । विकासशील देशहरूमा यो अनुपात झन् बढी छ ।

हेपाटाइटिस परीक्षण : रगत चढाउनुपूर्वको अनिवार्य कदम

आधुनिक रक्तसंचार केन्द्रमा प्रत्येक रक्त दाताको रगत संकलन गरेपछि अनिवार्य रूपमा टीटीआई स्क्रिनिङ गरिन्छ । यसमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षणले केन्द्रीय भूमिका खेल्छ ।
हेपाटाइटिस ‘बी’ का लागि परीक्षणहरू हेपाटाइटिस ‘बी’ को पूर्ण र प्रभावकारी स्क्रिनिङका लागि निम्न परीक्षणहरू गरिन्छन्:

१.एचबीएसएजी (हेपाटाइटिस बी सर्फेस एन्टिजेन)

यो सबैभन्दा आधारभूत र अनिवार्य परीक्षण हो । यसले रगतमा ‘एचबिभी’ को उपस्थिति पत्ता लगाउँछ । संसारका अधिकांश रक्तसञ्चार केन्द्रहरूले यो परीक्षण गर्छन् ।

२.एन्टी–एच ‘बी’ ‘सी’ (हेपाटाइटिस ‘बी’ कोर एन्टिबडी)

एचबीएसएजी नेगेटिभ भए पनि कतिपय अवस्थामा रगतमा ‘एचबिभी’ हुन सक्छ-यसलाई ‘विन्डो पिरियड’ भनिन्छ । एन्टी–एच ‘बी’ ‘सी’ परीक्षणले यस खाली अवधिमा पनि संक्रमण पत्ता लगाउन सक्छ ।

३.’एचबिभी’ एनएटी (न्यूक्लिक एसिड टेस्टिङ)

यो सबैभन्दा संवेदनशील परीक्षण हो जसले ‘एचबिभी’ को डीएनए सिधै पत्ता लगाउँछ । यो परीक्षणले ‘विन्डो पिरियड’ लाई अझ कम गर्छ र संक्रमण पनि पत्ता लगाउँछ ।

४.एचबीईएजी (हेपाटाइटिस बी ई-इन्टिजेन)

यसले ‘एचबिभी’ को सक्रियता र संक्रामकताको मात्रा बताउँछ ।

हेपाटाइटिस ‘सी’ को स्क्रिनिङका लागि गरिने परीक्षणहरू

१.एन्टी एचसिभी (हेपाटाइटिस सी एन्टिबडी टेस्ट)

यो परीक्षणले एचसिभीविरुद्ध, शरीरले बनाएको एन्टिबडी पत्ता लगाउँछ । यो सबैभन्दा व्यापक रूपमा प्रयोग हुने ‘एचसिभी’ स्क्रिनिङको परीक्षण विधि हो ।

२.’एचसिभी’ एनएटी (न्यूक्लिक एसिड टेस्टिङ)

यसले ‘एचसिभी’ को आरएनए सिधै पत्ता लगाउँछ र एन्टी-एचसिभी भन्दा ७–१० दिन अगावै संक्रमण देखाउन सक्छ । विन्डो पिरियड करिब ३–५ दिनमा झार्छ ।

३. एचसिभी कोर एन्टिजेन टेस्ट

एन्टी एचसिभी र एनएटीको बीचको विकल्पको रूपमा प्रयोग गरिन्छ, विशेष गरी एनएटी महँगो भएका ठाउँहरूमा यसको प्रयोग हुन्छ ।

विन्डो पिरियड : सबैभन्दा ठूलो जोखिम

विन्डो पिरियड भनेको त्यो समय हो, जुन बेला मानिस संक्रमित त हुन्छ तर परीक्षणमा नेगेटिभ देखिन्छ । एन्टी एचसिभी परीक्षणका लागि ‘एचबिभी’ को विन्डो पिरियड करिब ३०–४५ दिन र एचसिभी को ५०–८० दिन हुन सक्छ । एनएटी प्रयोग गरेमा यो विन्डो पिरियड धेरै छोटो हुन्छ ।

यसमा ‘एचबिभी’ का लागि करिब १५–२० दिन र ‘एचसिभी’ लागि ३–५ दिन हुन्छ ।

यसको अर्थ हो- एचबीएसएजी परीक्षणले मात्र पर्याप्त छैन । उच्च जोखिम भएका देशहरूमा एन्टी–एचबीसी र एनएटी परीक्षण पनि अनिवार्य गर्नुपर्छ । यही कारण विकसित देशहरूले आफ्ना रक्तसंचार केन्द्र हरूमा यस्तो परीक्षण विधि लागू गरेका छन् ।

विश्वको अवस्था : के यो सबैतिर परीक्षण हुँदैछ त ?

दुःखद् वास्तविकता के छ भने विश्वका सबै देशहरूमा रगतको ‘एचबिभी’ र ‘एचसिभी’ परीक्षण समान स्तरमा हुँदैन । विश्व स्वास्थ्य संगठनको एक अनुसन्धान अनुसार विश्वका करिब ३९ देशहरूले अझै पनि सबै दान गरिएको रगतको अनिवार्य टीटीआई स्क्रिनिङ सुनिश्चित गर्न सकेका छैनन् ।

उच्च आयस्तरका देशहरूको अवस्था अमेरिका, युरोप, अस्ट्रेलिया, जापान जस्ता विकसित देशहरूमा रगतको स्क्रिनिङ अत्यन्त उन्नत छ । यी मात्रै नभएर एचआईभी, सिफलिस, एचटीएलभी र अन्य संक्रमणहरूको परीक्षण पनि हुन्छ । यी देशहरूमा बिरामीलाई रगत चढाउँदा ‘एचबिभी’ वा एचसिभी’ सर्ने सम्भावना अत्यन्त न्यून छ ।

विकासशील देशहरूका चुनौती 

सीमित बजेटका कारण केही रक्तसंचार केन्द्रहरूले सामान्य परीक्षण मात्र गर्न सक्छन् । उन्नत खालका परीक्षण गर्न सकिरहेका हुँदैनन् । ग्रामीण क्षेत्रका साना रक्तसञ्चार केन्द्रहरूमा आधुनिक उपकरण र प्रशिक्षित जनशक्तिको अभाव छ ।

आपत्कालीन अवस्थामा परीक्षण पर्खन नपाई रगत दिनुपर्ने बाध्यता छ । रगतको अभावका कारण बिरामीका आफन्तले तुरुन्तै रगत दिनुपर्ने अवस्था पनि अर्को मुख्य चुनौतीको हो

नेपालमा के भइरहेको छ ?

नेपालमा राष्ट्रिय रक्त नीति अन्तर्गत स्थापित रक्तसञ्चार केन्द्रहरूमा एचबीएसएजी, एन्टी एचसीभी, एचआईभी, सिफलिस र औलोको परीक्षण अनिवार्य गरिएको छ ।

तर नेपालको वास्तविकता गम्भीर छ । इएलआईएसए (इन्जाइम-लिंक्ड इम्युनोसर्बेन्ट आसेइ) र सीएलआईए (केमिल्युमिनेसेन्स इम्युनोएसे) बाट यो परीक्षणहरू नेपालका ५ प्रतिशतभन्दा कम रक्तसञ्चार केन्द्रमा मात्र गरिन्छ । बाँकी करिब ९५ प्रतिशत रक्तसञ्चार केन्द्रहरू र्‍यापिट टेस्ट किटमा निर्भर छन् । एनएटी (न्यूक्लिक एसिड टेस्टिङ) परीक्षण नेपालमा कतै पनि गरिँदैन ।

नेपालका चुनौतीहरू

–ग्रामीण क्षेत्रका साना अस्पताल र रक्तसञ्चार केन्द्रहरूमा आधुनिक उपकरणको अभाव छ ।

–विन्डो पिरियड मा दिइएको रगतबाट संक्रमण हुने जोखिम अझ पनि शून्यमा झार्न सकिएको छैन ।

–ट्रान्सफ्युजनबाट सरेको संक्रमणको पूर्ण तथ्यांक उपलब्ध छैन ।

एन्टी– एचबीसी रीक्षण अझ नेपालका सबैजसो रक्तसञ्चार केन्द्रहरूमा गरिँदैन ।

नेपालका लागि तत्कालको आवश्यकता भनेको इएलआईएसए (इन्जाइम-लिंक्ड इम्युनोसर्बेन्ट आसेइ) र सीएलआईए (केमिल्युमिनेसेन्स इम्युनोएसे) बाट गरिने परीक्षण विस्तार गर्नु र एनएटी परीक्षण सुरु गर्नु पर्ने देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशहरूलाई चढाउने सम्पूर्ण रगतको अनिवार्य स्क्रिनिङ सुनिश्चित गर्न आह्वान गरेको छ । विश्व स्वास्थ्य संगठनको दिशानिर्देश अनुसार प्रत्येक रगत इकाईको निम्न परीक्षण अनिवार्य हुनुपर्छ:

–एजबीएसएजी-हेपाटाइटिस ‘बी’ का लागि

–एन्टी-‘एचसिभी’- हेपाटाइटिस ‘सी’ का लागि

–एन्टी–एचआईभी– एचआईभीका का लागि

–सिफलिस परीक्षण

–मलेरिया प्रभावित क्षेत्रमा मलेरिया परीक्षण

विश्व स्वास्थ्य संगठनले एनएटी परीक्षण क्रमशः लागू गर्न र एन्टी–एचबीसी परीक्षण उच्च जोखिम क्षेत्रहरूमा थप्न सिफारिस गरेको छ ।

‘इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन’ ले पनि सदस्य देशहरूलाई यी मापदण्डहरू अपनाउन प्रोत्साहन गर्छ ।

सुरक्षित रगत : मानवीय अधिकार

एउटा सुरक्षित, पर्याप्त र गुणस्तरीय रगत आपूर्ति प्रणाली एउटा स्वस्थ समाजको आधारशिला हो । हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण बिना चढाइएको रगत भनेको एउटा बिरामीको एउटा रोग निको गर्दा अर्को गम्भीर रोग दिनु हो । यो नैतिक रूपमा अस्वीकार्य र चिकित्सकीय रूपमा अक्षम्य हो ।

स्मरण रहोस्: एउटा परीक्षण नगरिएको रगतको थैलो एउटा परिवारको जीवनभरको दुःखको कारण बन्न सक्छ । सुरक्षित रगत प्राप्ति-मानवीयता र दया मात्र होइन, यो त अधिकार समेत हो । यसको सुनिश्चिततता राज्यको दायित्व हो ।

रक्तरोग रगत हेपाटाइटिस
डा. विपिन नेपाल
लेखक
डा. विपिन नेपाल
ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९५२० एमबीबीएस, एमएस इशरत उल इबाद खान संस्थानमा मेडिकल अफिसर तथा सिफ्ट इन्चार्ज डाउ सेफ ब्लड ट्रान्सफ्युजन परियोजनामा सहसंयोजक, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ट्रान्सफ्युजन मेडिसिन विभाग प्रमुख, त्रिवि लायन्स ट्रान्सफ्युजन सेवा तथा अनुसन्धान केन्द्रका निर्देशक तथा विराट मेडिकल कलेजका प्राध्यापक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट