News Summary
Generated by OK AI. Editorially reviewed.- शरीरको चालमा आउने अनियन्त्रित परिवर्तनहरूलाई मुभमेन्ट डिसअर्डर भनिन्छ, जुन मस्तिष्कको स्नायु प्रणालीमा आएको गडबडीका कारण देखा पर्ने गर्छ।
हामीमध्ये धेरैले कसैको हात निरन्तर काँपिरहेको, घाँटी आफैं बांगिएको, अनुहार अनायासै खुम्चिएको, लेख्न खोज्दा हात नचल्ने वा राति सुत्न खोज्दा खुट्टा चलाइरहनुपर्ने समस्या देखेका हुन्छौँ ।
अधिकांशले यस्ता लक्षणलाई उमेर बढ्दै गएको असर, कमजोरी, तनाव वा भिटामिनको कमी भनेर बेवास्ता गर्छन् । तर यस्ता लक्षणहरू मस्तिष्कको चाल नियन्त्रण गर्ने प्रणालीमा आएको गडबडीका संकेत हुन सक्छन् । यिनै समस्यालाई चिकित्सकीय भाषामा ‘मुभमेन्ट डिसअर्डर’ अर्थात् अनियन्त्रित चालसम्बन्धी रोग भनिन्छ ।
मानव मस्तिष्क शरीरको सबैभन्दा जटिल र अद्भूत अंग हो । हिँड्ने, दौडने, लेख्ने, बोल्ने, मुस्कुराउने, खाना खाने वा सानोभन्दा सानो गतिविधि पनि मस्तिष्कले अत्यन्त सूक्ष्म रूपमा नियन्त्रण गरिरहेको हुन्छ ।
मस्तिष्कका केही विशेष भाग विशेषगरी बेसल ग्याङ्ग्लिया, सेरिबेलम र तिनलाई जोड्ने स्नायु सञ्जालले शरीरको चाललाई सन्तुलित, सहज र समन्वयात्मक बनाइरहेका हुन्छन् । यी भागमा समस्या आउँदा शरीरले बिरामीको इच्छाविपरीत आफैं चाल देखाउन थाल्छ ।
सबैभन्दा बढी देखिने समस्या कम्पन (ट्रेमर) हो । चिया पिउँदा, चम्चा समात्दा वा हस्ताक्षर गर्दा हात काँप्ने, कहिलेकाहीँ टाउको वा स्वरसमेत काँप्ने हुन सक्छ । धेरै वृद्धवृद्धामा देखिने एसेन्सियल ट्रेमर र पार्किन्सन्स रोग यसको प्रमुख कारण हुन् ।
सबै कम्पन पार्किन्सन्स होइनन्, त्यसैले, सही निदान आवश्यक हुन्छ । पार्किन्सन्स रोग उमेरसँगै बढ्ने प्रमुख स्नायुरोगमध्ये एक हो । यसमा हातखुट्टा सुस्त चल्ने, शरीर कडा हुने, आराम गर्दा हात काँप्ने, सन्तुलन बिग्रिने तथा अनुहारको भाव कम हुनेजस्ता लक्षण देखिन्छन् ।
पहिले यो रोगलाई असाध्यै जटिल मानिन्थ्यो, तर अहिले प्रभावकारी औषधि, पुनर्स्थापनात्मक उपचार तथा आधुनिक शल्यप्रविधिका कारण बिरामीले लामो समयसम्म सक्रिय र सम्मानजनक जीवन बिताउन सक्छन् ।
अर्को महत्त्वपूर्ण समस्या हो, डिस्टोनिया । यसमा शरीरका कुनै मांसपेशीहरू अनियन्त्रित रूपमा खुम्चिने भएकाले घाँटी बांगिने, आँखा आफैं बन्द भइरहने, मुख वा स्वर परिवर्तन हुने वा हात अस्वाभाविक अवस्थामा जाने हुन्छ । यसको विशेष प्रकार राइटर्स क्र्याम्प हो ।
यस्तो अवस्थामा व्यक्तिले अन्य सबै काम सामान्य रूपमा गर्न सक्छ, तर लेख्न थालेपछि मात्र हात कडा हुन्छ, औँलाहरू बांगिन्छन् र कलम समाउन गाह्रो हुन्छ । विद्यार्थी, शिक्षक, बैंक कर्मचारी, लेखक तथा धेरै लेख्नुपर्ने पेशाका व्यक्तिमा यो समस्या देखिन सक्छ ।
यसलाई सामान्य कमजोरी वा मानसिक तनाव ठानेर वर्षौं बेवास्ता गरिन्छ, जबकि समयमै उपचार गरे राम्रो सुधार सम्भव हुन्छ ।
केही बिरामीमा शरीरका हातखुट्टा अनियमित रूपमा नाचेजस्ता चल्छन् । यसलाई कोरिया भनिन्छ । बिस्तारै बांगिने चाललाई एथेटोसिस र एक्कासी झट्का लागेजस्तो हुने चाललाई मायोक्लोनस भनिन्छ ।
कतिपय बालबालिका र युवामा बारम्बार आँखा झिम्क्याउने, मुख बटार्ने, घाँटी हल्लाउने वा आवाज निकाल्ने बानी देखिन्छ । यस्ता अवस्थालाई टिक्स भनिन्छ । यी धेरैजसो उपचारयोग्य हुन्छन् ।
धेरै मानिसले अनुभव गर्ने तर कम चर्चा हुने समस्या हो, रेस्टलेस लेग्स सिन्ड्रोम । यसमा विशेषगरी साँझपख वा राति आराम गर्दा खुट्टा चलाइरहनुपर्ने तीव्र इच्छा हुन्छ । बिरामीले खुट्टाभित्र किरा हिँडेजस्तो, झमझमाएको, पोलेजस्तो वा तानिएको महसुस गर्छन् ।
खुट्टा चलाउँदा केही समय राहत मिल्छ, तर फेरि आराम गर्दा समस्या दोहोरिन्छ । परिणामस्वरूप निद्रा बिग्रिन्छ, दिनभर थकान, चिडचिडापन र काम गर्ने क्षमता घट्छ । अधिकांशले यसलाई बानी वा ग्यासको समस्या सम्झेर वास्ता गर्दैनन् । तर यो पनि स्नायुसम्बन्धी रोग हो र यसको प्रभावकारी उपचार उपलब्ध छ ।
यस्ता रोगहरू किन देखिन्छन् ?
कारण धेरै हुन सक्छन् । उमेरसँगै मस्तिष्कका कोषिकामा हुने परिवर्तन, वंशाणुगत प्रभाव, मस्तिष्कघात, मस्तिष्कको चोट, केही औषधिको दीर्घ प्रयोग, शरीरमा आइरनको कमी, मधुमेह, मिर्गौलाको रोग वा अन्य स्नायुरोगका कारण पनि अनियन्त्रित चाल देखिन सक्छ ।
पहिचान तथा उपचार
रोग पहिचान गर्न बिरामीको इतिहास, स्नायु परीक्षण, आवश्यक परे रगत परीक्षण, एमआरआई, सीटी स्क्यान तथा अन्य विशेष परीक्षण गरिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा आफैँखुसी औषधि सेवन नगर्नु र ढिलो नगरी विशेषज्ञसँग परामर्श गर्नु हो ।
जहाँसम्म उपचारको कुरा छ, जुन रोगअनुसार फरक हुन्छ । धेरै बिरामी औषधिबाट नै राम्रो हुन्छन् । डिस्टोनियाका धेरै बिरामीमा बोटुलिनम टक्सिनको सुई अत्यन्त प्रभावकारी हुन्छ ।
फिजियोथेरापी, व्यावसायिक पुनर्स्थापना, स्पिच थेरापी र नियमित व्यायामले पनि जीवनको गुणस्तर सुधार्छ । जब औषधिले पर्याप्त काम गर्दैन, आधुनिक कार्यात्मक न्युरोसर्जरीले नयाँ आशा दिएको छ । यसको सबैभन्दा सफल प्रविधि डिप ब्रेन स्टिमुलेसन हो ।
यसमा मस्तिष्कको निश्चित भागमा सानो इलेक्ट्रोड राखी छालामुनि जडान गरिएको ब्याट्रीबाट हल्का विद्युतीय उत्तेजना दिइन्छ । यसले असामान्य स्नायु संकेतलाई नियन्त्रण गरी पार्किन्सन्स रोग, एसेन्सियल ट्रेमर, डिस्टोनिया तथा केही अन्य चालसम्बन्धी रोगमा उल्लेखनीय सुधार ल्याउन सक्छ ।
विश्वका विकसित मुलुकहरूमा मात्र होइन, नेपालमा पनि यो उपचार सफलतापूर्वक उपलब्ध छ । हामीकहाँ डिप ब्रेन स्टिमुलेसन सेवा नियमित रूपमा उपलब्ध छ, र यस उपचारबाट अधिकांश बिरामीमा उल्लेखनीय सुधार तथा उत्साहजनक नतिजा प्राप्त भएका छन् ।
समाजमा अझै पनि यस्ता रोगलाई बुढेसकालको असर, देवताको प्रकोप, कमजोरी वा मानसिक समस्या भनेर गलत बुझ्ने प्रवृत्ति छ । यस्ता भ्रमका कारण धेरै बिरामी उपचारबाट वञ्चित हुन्छन् ।
वास्तविकता के हो भने, अधिकांश मुभमेन्ट डिसअर्डर समयमै पहिचान भएमा नियन्त्रण गर्न सकिन्छ, र धेरै बिरामी सामान्य जीवनमा फर्किन सक्छन् ।
शरीरको कुनै भाग बिना कारण काँप्न थालेमा, लेख्न गाह्रो भएमा, घाँटी वा अनुहार आफैं बांगिन थालेमा, अनियन्त्रित झट्का लागेमा, वा राति खुट्टा चलाइरहनुपर्ने समस्या भएमा त्यसलाई सामान्य ठानेर बस्नु हुँदैन । समयमै न्युरोलोजिस्ट वा न्युरोसर्जनसँग परामर्श गर्नु नै बुद्धिमानी हो ।
स्वास्थ्यप्रति सचेत नागरिक, समयमै निदान र आधुनिक उपचारको पहुँच यी तीनवटै मिलेर मात्र हामी अनियन्त्रित चालसम्बन्धी रोगबाट हुने अपाङ्गता घटाउन सक्छौँ ।
प्रतिक्रिया 4