News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा केही दशकयता उद्यमलाई नाफा वा शोषणका रूपमा हेर्ने गलत भाष्य हुर्किएकाले सिर्जनशील जनशक्ति विदेशिन बाध्य भएको छ।
- दक्षिण कोरिया र चीनले व्यापारबाट शुरु गरी उत्पादनमूलक उद्यममार्फत आर्थिक उन्नति हासिल गरेकाले नेपालले पनि बनाउने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ।
- उद्यमशीलतालाई लज्जित पार्ने सोच अन्त्य गरी मर्यादित र अनुशासित उद्योगको विकास गरेमा मात्र देशमै रोजगारी सृजना भई युवाको पलायन रोकिनेछ।
बाजेको पसलमा एउटा गन्ध थियो- पित्तलको, धुवाँको र बिहानको पहिलो चियाको। ती सबैभन्दा मुनि अर्कै एउटा गन्ध थियो, जसका लागि शब्द अहिलेसम्म बनेकै छैन होला- केही बनिरहेको गन्ध!
झिसमिसेमै भट्टीमा आगो सल्किन्थ्यो। पित्तल तातेर रातो हुन्थ्यो। अनि बाजे आफ्ना ठूला, धैर्यवान् हातले त्यसलाई पिट्थे। घनको प्रत्येक प्रहारसँगै एउटा आकार जन्मन्थ्यो- गाग्री, करुवा वा देवताका स–साना मूर्ति।
त्यो ताल टोलकै घडी थियो- टक्–टक् बजिरहने। त्यो आवाज रोकिएको बिहान छिमेकीहरू झसंग हुन्थे। त्यो ठाउँ पसल मात्र थिएन, सानो कारखाना थियो, जहाँ हरेक बिहान संसारमा त्यस्तो केही थपिन्थ्यो, जुन अघिल्लो साँझसम्म थिएन।
बुबाले त्यही पसल चलाए, तर घन बिसाए। टक्–टक् पिट्न छाडे र भटाभट किन्न थाले- सस्तो, चिल्लो र टाढा कतै बनेको मालसामान। त्यही सामान उस्तै सिपालु हात र बोलीले बेच्न थाले।
बुबालाई दोष दिन मिल्दैन। उनले त्यही गरे, जे समयले सिकायो वा शायद गर्न बाध्य बनायो। बनाउनेको नाफा पातलिंदै थियो, इज्जत झन् पातलो। साइनबोर्ड फेरिएन, तर गन्ध फेरियो। पसल त बाँच्यो, बनाउने काम सकियो।
अनि म? म त्यो पसलमा कहिल्यै पसिनँ। पस्दै पसिनँ।
म बिहान पाँच बजे मेरा साथीहरूसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाममा उभिन पुगें। त्यो चिरपरिचित लाम- काँधमा नयाँ झोला, खल्तीमा चारपटक दोब्रिएको करारपत्र र अन्य कागजात, ‘छुटेको त छैन नि?’ भनेर घरीघरी छामिने पासपोर्ट, ओठमा दोहा र दमामका नाम अनि आँखामा एउटा शून्यता। त्यस्तो शून्यता, जुन बिदाइको आँसु सुकिसकेपछि मात्र देखिन्छ।
तीन पुस्ता। एउटाले बनायो, अर्कोले बेच्यो र अर्को उड्यो।
हामीलाई लाग्छ, हामी उक्लियौं। तर उक्लिएनौं। हामी खुड्किलै खुड्किला ओर्लियौं- मुस्कुराउँदै। र, त्यही ओरालोलाई प्रगति भन्यौं।
अब एउटा साँचो कुरा भनिहालौं- यो पसल मेरो होइन। मेरा बाजेले पित्तल पिटेनन्। म त्यस्तो कोठाबाट लेखिरहेको छु, जहाँ भट्टीको धुवाँ कहिल्यै पुगेन।
त्रिभुवन विमानस्थलको त्यो लाममा उभिएको युवकले यी हरफ पढ्यो भने हाँस्न पाउँछ- ‘उद्यमको दर्शन छाँट्ने यो मान्छेलाई भोलि बिहानको ज्यालाको भाउ के थाहा?’
त्यो हाँसो जायज छ। म त्यसका अगाडि टाउको निहुराउँछु।
तर पसल मेरो नभए पनि कथा मेरै हो- हाम्रै हो। किनभने त्यो पसल यो देशका हरेक पुराना बजारमा उभिएको थियो। र, त्यो तीनपुस्ते ओरालो कुनै एक परिवारको होइन, सिंगो देशको सामूहिक वासलात हो।
त्यो युवकले किन नहाँसोस्? उसले पनि ठ्याक्कै त्यही पाठ घोकेको छ, जुन शायद मैले पनि सानैमा घोकें- ‘यहाँ बनाउनु सपना हो, उड्नु मात्र यथार्थ।’
हाम्रा बाजेहरूले त्यो पाठ पढेका थिएनन्। तिनका बाजेहरूले त झन् पढेका थिएनन्। उनीहरू ल्हासासम्म हिंडेरै पुग्थे। नून उत्तर लैजान्थे, ऊन र सुन दक्षिण ल्याउँथे। बाटैभरि भाषा साट्थे, देउता साट्थे। कतिले अतिथि सत्कारलाई सीप बनाए।
ती दलाल थिएनन्, सभ्यताका सेतु थिए। उनीहरूको कमाइमा लाज थिएन। त्यही कमाइले गुठी बन्यो, मन्दिर बन्यो र बटुवा ओत लागेर सुत्ने पाटी–पौवा समेत बने। शहर आफैं बन्यो।
बनाउनु, कमाउनु र कमाइलाई फेरि साझा जीवनमा फर्काउनु- एउटै हातका तीन चाल थिए। तर त्यो हात आज कहाँ छ?
त्यो हात आज बिहान पाँच बजे पासपोर्ट च्यापेर, जाडोमा अलिअलि काँप्दै, विमानस्थलको लाममा उभिएको छ। कसैले त्यो हातलाई सिकायो- पिट्न छाड्, किन्न सिक्। किनेर पनि नपुगेपछि सिकायो- उड्न सिक्।
यो संयोगले भएको होइन। यो एउटा पाठ हो र त्यो पाठ कसैले सिकाएको हो। पुस्तौंसम्म घोकिसकेपछि हामी त्यसलाई सिकाइएको पाठ भन्न छाड्छौं र भाग्य भन्न थाल्छौं।
त्यो पाठलाई ठ्याक्कै नाम दिनु जरुरी छ। किनभने जे भाग्य जस्तो देखिन्छ, त्यो प्रायः जकडिएर बसेको पुरानो तर्क मात्र हुन्छ।
अर्थशास्त्री जोसेफ सुम्पेटरका लागि आर्थिक विकासको केन्द्रमा ‘नयाँ संयोजन’ सिर्जना गर्ने उद्यमी थियो- पूँजी, श्रम र ज्ञानलाई पहिले नभएको ढंगले जोडेर नयाँ वस्तु, बजार वा उत्पादन विधि जन्माउने मानिस।
उनको प्रसिद्ध अवधारणा ‘सिर्जनात्मक विनाश’लाई हामी प्रायः विनाश अगाडि राखेर पढ्छौं। तर मैले बुझेको सुम्पेटरमा सिर्जना पहिले आउँछ। नयाँ बनेपछि पुरानो त्यसको छायाँमा आफैं ढल्छ। ढल्नु परिणाम हो, ढाल्नु उद्देश्य होइन।
मैले सापटी लिएका ती बाजे आफ्नो कारखानामा त्यो सिङ्गो सिद्धान्त थिए। त्यसका लागि उनले अर्थशास्त्रको एक अक्षर पढ्नु परेको थिएन। उनका लागि उद्यम भनेको संसारलाई पहिले नभएको कुरा दिने कर्म थियो।
हामीले त्यसैलाई लिने कर्म ठान्यौं- अर्काको श्रमबाट नाफा निचोर्ने धन्दा। अनि सिर्जनालाई समेत चोरी वा ठगीका रूपमा हेर्ने समाजले आफ्ना सबैभन्दा सिर्जनशील सन्तानलाई हजार मौन तरिकाले एउटै वाक्य भनिरहन्छ- ‘यहाँ होइन, अन्त जा!’
कुनै पाठकले औंला उठाउनुअघि एउटा कुरा स्वीकार गरौं- पूँजीलाई अनुशासन विना छाड्दा त्यसले शोषण गर्न सक्छ, गर्छ पनि।
कामदारलाई भोकै राख्ने वा समयमा ज्याला नदिने उद्योग, किसानलाई शोषण गर्ने साहु, नबनेकै पुलको बिल बुझाउने ठेकेदार- यी कल्पना होइनन्। नाफाका लागि हद नाघ्नेहरूप्रतिको शंका भ्रम थिएन। त्यसप्रति सजग रहनु समाजको दायित्व हो।
तर खराब उद्यमको उत्तर ‘उद्यम नै नगर्नु’ हुन सक्दैन। उत्तर हो- अनुशासित र मर्यादित उद्यम। खराब उद्यम र उद्यमशीलतालाई एउटै ठानेर सबै नाफालाई शोषण भन्नु भनेको गरिब देशलाई गरिबीबाट उकास्ने एउटा महत्त्वपूर्ण इन्जिन मिल्काइदिनु हो- त्यो पनि गरिबकै नाममा।
अघि चर्चा गरिएको ‘जकडिएर बसेको पुरानो तर्क’लाई बुझाउने अवधारणा कुनै बजारवादी चिन्तकले दिएका होइनन्। मुसोलिनीको जेलमा बसेर लेखिरहेका इटालियन कम्युनिस्ट चिन्तक एन्टोनियो ग्राम्स्कीले ‘सामान्य बुद्धि’ अर्थात् सेन्सो कमुने को चर्चा गरेका थिए।
ग्राम्स्कीका लागि ‘सामान्य बुद्धि’ आलोचनात्मक परीक्षण विना समाजले स्वाभाविक सत्य झैं स्वीकार गरेका विभिन्न धारणा र विश्वासको मिश्रण थियो। कुनै विचारलाई करकाप विना नै समाजले सत्य मान्न थालेपछि त्यसले वैचारिक वर्चस्व बनाउँछ।
नेपालमा पनि सात दशकयता यस्तै एउटा ‘सामान्य बुद्धि’ हुर्कियो- नाफा शोषण हो, व्यापारी दलाल हो र उद्यमी देशको नभई आफ्नै खल्तीको सेवक हो।
यो भाष्य कुनै एउटा दलमा सीमित रहेन। पाठ्यपुस्तकदेखि चलचित्रसम्म, सभाका भाषणदेखि चियापसलका गफसम्म फैलियो। फैलिंदै जाँदा यो हामीले फेर्ने श्वास जस्तै बन्यो- तर सजिलै फेर्न नसकिने खालको।
अब हामी त्यसलाई विचार ठान्दैनौं, यथार्थ ठान्छौं। त्यसको वैचारिक वर्चस्व देख्दैनौं, लोकप्रियताको खुड्किलो मात्र देख्छौं।
हाम्रो सन्दर्भमा ग्राम्स्कीको प्रश्न हुन्थ्यो होला- त्यो ‘सामान्य बुद्धि’ले वास्तवमा कसको सेवा गर्यो? गरिबको त गरेन।
सम्पत्ति आर्जनमा लाज मान्न सिकाइएको जनता पैसाको शासनबाट मुक्त हुँदैन। उसले पैसाको शक्ति लाज नमान्ने थोरै व्यक्तिको हातमा सुम्पिदिन्छ। अनि आफू देशमा अनुग्रह बाँड्नेको ढोकामा र परदेशमा आफ्नो सीप वा श्रम किन्नेको लाममा उभिन पुग्छ।
उद्यमलाई लज्जित पार्नु जनताको आर्थिक शक्ति बढाउने बाटो थिएन। त्यसले त त्यो शक्ति चुपचाप पहिल्यै शक्तिशाली व्यक्तिकै हातमा सारिदियो। र, यो प्रवृत्ति प्राचीन पनि होइन। हाम्रो पुरानो अभ्यास ल्हासाको बाटोमा हिंड्ने त्यही हात थियो- सिंगो समाजको सेवा गर्ने उद्यम। अरूले गर्न नसकेको काम गर्ने सामर्थ्य हाम्रो मौलिक स्वभाव थियो।
त्यसो भए प्रश्न उठ्छ- व्यापारको त्यो ऊर्जा आधुनिक उत्पादनमा किन पर्याप्त रूपमा रूपान्तरण हुन सकेन? व्यापार भर्याङको पहिलो खुड्किलो थियो। हामी त्यहीं रोकियौं। अझ ठीकसँग भन्दा, रोकिन पुग्यौं।
पूर्वी एशियाका धेरै देश भने क्रमशः माथिल्ला खुड्किला चढे। विश्वकै ठूलो कम्युनिस्ट पार्टीले शासन गरेको चीनले सन् १९९२ मा ‘समाजवादी बजार अर्थतन्त्र’लाई सुधारको लक्ष्य बनायो। बजार र योजना दुवैलाई उत्पादन शक्ति विस्तार गर्ने आर्थिक साधनका रूपमा स्वीकार गर्यो।
कम्युनिस्ट परम्पराप्रति श्रद्धा गर्ने नेपालीले त्यस अभ्यासको मुख्य सारलाई पन्छाउन मिल्दैन- सम्पत्ति निर्माण आफैंमा समाजवाद विरुद्धको अपराध होइन।
त्यही क्षेत्रका उद्यमहरूको यात्रा हेरौं। सामसुङ सन् १९३८ मा दक्षिण कोरियाको दाएगुमा स्थापित एउटा सानो व्यापारिक कम्पनी थियो। उसले चीन र मन्चुरियासँग स्थानीय उत्पादनको व्यापार गर्थ्यो। सुकेको माछा, तरकारी र चाउचाउ बेच्ने व्यापारबाट शुरु भएको कम्पनी पछि खाद्य प्रशोधन, कपडा र अन्ततः विद्युतीय सामग्री तथा प्रविधि उत्पादनतर्फ विस्तार भयो।
जापानको मित्सुबिसी सन् १८७० मा तीनवटा पानीजहाज सहित शुरु भएको ढुवानी कम्पनी थियो। त्यसपछि खानी, जहाज निर्माण, बीमा, व्यापार र उत्पादनतर्फ विस्तार भयो।
यी कम्पनी व्यापारबाट शुरु भए, तर व्यापारमै रोकिएनन्। क्रमशः सिर्जना र उत्पादनका माथिल्ला खुड्किला बनाए।
हामीले पनि विशाल आर्थिक प्रवाह छोइरहेका छौं- रेमिट्यान्स, पर्यटन, जलविद्युत् र उर्वर माटो। तर ती औंलाका कापबाट बगिरहन्छन्। अलैंची बोरामै कच्चा रूपमा सीमा काट्छ। बिजुली तारबाट विदेश जान्छ, तर त्यही सस्तो र सफा ऊर्जा खपत गर्ने उद्योग अन्तै ठडिन्छ।
औद्योगिक यात्रा सफल बनाएका देशको सूत्र सरल थियो- हात पुगेको खुड्किलोभन्दा ठीक माथिको खुड्किलो आफैं बनाउनु।
ती देशले उद्यमीलाई अनुदान र संरक्षण मात्र दिएनन्, अनुशासन पनि लगाए। दक्षिण कोरियामा नीतिगत ऋण र निर्यात प्रोत्साहनलाई व्यावसायिक उपलब्धिसँग जोडिएको थियो। विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीले सधैं राज्यको संरक्षण पाइरहने व्यवस्था थिएन।
राज्य उद्यमीको पछाडि प्रतिष्ठा र दीर्घकालीन पूँजी लिएर उभियो। बदलामा उसले माग्यो- विदेशीसँग प्रतिस्पर्धा गर, आफ्नै देशवासीको भरमा संरक्षणको पर्खालभित्र नलुक। किनभने अनुशासन विनाको अनुदान विकासको पोशाक लगाएको आसेपासेवाद मात्र हो। त्यसको स्वाद नेपालीले धोको मेटिने गरी चाखिसकेका छौं।
‘राज्यले त पहुँचवालालाई मात्र मोटाउँछ’ भनेर डराउने व्यक्ति ठीकै डराएको हो। तर ती देशहरूको उत्तर महत्त्वाकांक्षा घटाउनु थिएन। उनीहरूले उडान दिए, सँगै अनुशासन पनि कसे।
सबैभन्दा गहिरो फेरबदल बजेटमा होइन, नीतिनिर्माता र निर्णयकर्ताको सोचमा भएको थियो। ती देश त्यही दिन उठ्न थाले, जुन दिन तिनले निर्णय गरे- बनाउने मानिस नायक हो, चोर होइन।
यो निर्णय नभएसम्म अरू धेरै प्रयास निरर्थक हुन्छन्। किनभने जबसम्म नाफालाई चोरीकै रूपमा बुझिन्छ, सिर्जनशील नागरिकसँग एउटै तर्कसंगत निष्कर्ष बाँकी रहन्छ- इमानदार उडान भनेको देशको ढोका बाहिरको उडान हो।
त्यसपछि ती देशका प्रवासी पनि फर्किए- पैसा मात्र होइन, ज्ञान र अनुभव बोकेर। उनीहरूले आफैंलाई सोधे- घरलाई ज्ञान बोकेर फर्किन लायक ठाउँ कसरी बनाउने?
आज यो सबैमाथि एउटा घडी चलिरहेको छ- टक्–टक्। संसार भूआर्थिक खेमामा बाँडिंदैछ। अमेरिका र चीन बीच दूरी बढ्दैछ। उत्पादन र आपूर्ति शृंखला आ–आफ्ना राजनीतिक तथा आर्थिक वृत्ततर्फ फर्किंदै छन्।
यस्तो संसारमा बीचको व्यापारी दुवैतिरबाट किचिन्छ। ‘नाका’ मात्र बन्ने सपना देख्ने देश सजिलै प्रतिस्थापन गर्न सकिने गोटी बन्छ।
दुई विशाल अर्थतन्त्रको बीचमा रहेको नेपालले एक शताब्दीदेखि ‘व्यापारिक नाका’ बन्ने सपना देख्यो। तर नयाँ भूअर्थराजनीतिक यथार्थले भन्छ- नाका भएर मात्र होइन, कारखाना र सिर्जनाको केन्द्र बन्नु देशको लागि अपरिहार्य हुन्छ। त्यसैले अन्ततः यो अर्थशास्त्रको मात्र होइन, न्यायको पनि प्रश्न हो।
आज नेपालमा योभन्दा गहिरो विडम्बना अर्को के होला- हामी आफ्नो सबैभन्दा बहुमूल्य स्रोत अर्थात् युवा निर्यात गर्छौं र उनीहरूले पठाएको ज्यालालाई राष्ट्रिय उपलब्धि भन्छौं।
बजेट भाषणमा रेमिट्यान्सको अंक गर्वसाथ पढिन्छ। तर त्यो अंकको पछाडि उभिएको प्रत्येक एकाइ बिहान पाँच बजेको त्यही लामको एउटा अनुहार हो।
आफ्ना सन्तानलाई पेट भर्न विदेश पठाउनुपर्ने देशले विषमता समाधान गरेको हुँदैन। उसले विषमता विदेश पठाएको मात्र हुन्छ- ‘आउटसोर्स’ गरेको हुन्छ। त्यो अन्यायको अन्त्य थप रेमिट्यान्समा छैन। त्यो यहीं रोकिन र ज्ञान बोकेर फर्किन लायक घरभित्रको उद्यममा छ।
विकास भनेको अन्ततः अर्थतन्त्रको आकार मात्र होइन। अमर्त्य सेनको भाषामा भन्दा, मानिसले पाउने वास्तविक स्वतन्त्रता र सामर्थ्यको विस्तार पनि हो।
यसरी हेर्दा ‘स्वतन्त्र उद्यम’ नियम सजिलो बनाउने नारा मात्र होइन। त्यो मुक्तिकै नजिकको कुरा हो- मानिसले सिर्जना गर्न पाउने स्वतन्त्रता र सिर्जनाकै बाटो आफू बन्न पाउने स्वतन्त्रता। त्यही स्वतन्त्रता हामीले आफैंलाई दिएनौं। अझ अचम्म, न्यायकै नाममा दिएनौं।
अब म ती हात सम्झन्छु- ती बाजेका हात, जो मेरा थिएनन् र त्यसैले हामी सबैका थिए।
बल्ल बुझ्छु, घन भुइँमा बिसाइएको त्यो दिन हामीले के गुमाएछौं। त्यो कुनै पेशा मात्र थिएन। त्यो कुनै सीप मात्र पनि थिएन। त्यो एउटा विश्वास थियो- बनाउन लायक कुनै कुरा यहीं, यही माटोमा बन्न सक्छ।
विश्वास पुल हो- भत्किन एक दिन लाग्छ, फेरि उभ्याउन पुस्तौं। तर उभिन्छ। हामीभन्दा गरिब र हामीभन्दा बढी थिचिएका देशहरूले हाम्रै जीवनकालमा त्यस्तो पुल उभ्याएका छन्।
संस्कृतको ‘उद्यम’ शब्दले उठान, प्रयास, लगन र निरन्तर प्रयत्नको अर्थ बोक्छ। ‘उडान’सँग यसको व्युत्पत्ति एउटै नभए पनि दुवै शब्दले माथितिरको गति सम्झाउँछन्।
उड्ने युवक र उसले कहिल्यै नपाएको उद्यम- दुवैभित्र माथि उठ्ने एउटै आकांक्षा छ। जुन दिन हामी उद्यम शब्दलाई फेरि स्वतन्त्र पार्छौं, उडानले दिशा फेर्छ। त्यो ढोका बाहिर होइन, भित्रतिर फर्किन्छ।
त्यो बिहान पाँच बजेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार होइन, वीरगञ्जको कुनै कारखाना ब्युँझिन्छ- जहाँ कुनै युवा नेपाली अन्ततः रोकिन्छ र संसारमा त्यस्तो एउटा कुरा थप्छ, जुन अघिल्लो साँझसम्म थिएन।
गन्ध फर्केर आउनेछ- पित्तलको, धुवाँको र बिहानको पहिलो चियाको। र, ती सबैभन्दा मुनि त्यो गन्ध, जसका लागि शब्द अझै बनेको छैन होला- केही बनिरहेको गन्ध।
प्रतिक्रिया 4