News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका पछिल्ला घटनाको छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ ।
- महामन्त्री प्रदीप पौडेलले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने अडान प्रतिनिधिसभा र राष्ट्रियसभामा राख्ने जानकारी दिनुभयो ।
- संसदीय दलको बैठकले सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति गर्दा कानून र स्थापित विधि पालना गर्न सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।
१८ साउन, काठमाडौं । नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका पछिल्ला घटनाको छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बसेको संसदीय दलको बैठकले घटनाको छानबिनका लागि न्यायिक समिति गठन हुनु पर्ने माग गरेको हो ।
बैठकमा सहभागी महामन्त्री प्रदीप पौडेलले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएका घटनाको न्यायिक छानबिनका लागि समिति गठनको विषय प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाउने जानकारी दिए ।
‘घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गरिनुपर्छ । कानूनबमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्छ,’ उनले भने, ‘त्यो विषय प्रतिनिधिसभा र राष्ट्रियसभामा नेपाली कांग्रेसले उठाउने छ । समिति बनाउनु पर्ने अडान नेपाली कांग्रेसले सभाहरूमा राख्ने छ ।’
सुनसरी र सिरहामा भएको घटना गम्भीर रहेकाले कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने कांग्रेसको निष्कर्ष छ । ‘त्यो गम्भीर घटना हो । घटनाको न्यायिक छानबिन हुनुपर्छ । स्वतन्त्र र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ,’ महामन्त्री पौडेलले भने ।
उनका अनुसार न्यायिक समिति गठनको विषय दलको बैठकको मुख्य प्रस्ताव थियो । ‘प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाउने र त्यसअनुसार समिति गठन गर्न दाबाब दिने, अरु विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने भन्ने विषय बैठकबाट पारित भएको छ,’ पौडेलले भने ।
बैठकले सरकारले गरेका कतिपय निर्णय संविधानको मर्म, भावना र विधिसम्मत प्रक्रियाविपरीत भएको उल्लेख गर्दै सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णय कानुन र स्थापित विधिअनुसार गर्न सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
यस्तै, नागरिक, सांसद र संसदबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ पारित गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले पारित गरेको छ ।
बैठकले कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवंगत व्यक्तित्वहरूप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिक्रिया 4