News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने खेलमा केन्द्रित हुनु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्नुभएको छ ।
- दाहालले कम्युनिस्ट नेताहरूको जीवनशैली र सत्तामुखी व्यवहारले गर्दा जनतामा पार्टीप्रतिको विश्वास कमजोर हुँदै गएको बताउनुभयो ।
- नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा एक सञ्चारकर्मीको स्थिरतासम्बन्धी प्रश्नमा दाहाल आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो ।
१८ साउन, काठमाडौं । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार २४ औं बोत्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरको थापागाउँ पुगेका थिए ।
सशस्त्र युद्धकालमा २०५९ साल साउन १८ गते दोलखाको बोत्लेमा १५ जना माओवादी कार्यकर्ता मारिएका थिए । त्यही दिनको सम्झनामा प्रत्येक वर्ष यो कार्यक्रम गर्ने गरिन्छ । त्यही कार्यक्रम सहभागी हुने कार्यक्रम स्थलमा पुग्दा उनी सञ्चारकर्मीको क्यामेरा र प्रश्नहरूले घेरिए । उनलाई एक सञ्चारकर्मीले ‘जहिले पनि कांग्रेस, एमालेतिर जानुहुन्छ तपाईं स्थिरता चाहिँ कहिले हुन्छ प्रचण्डजी ?’
प्रश्न सुनेपछि अघि बढिरहेका प्रचण्डले फरक्क फर्केर प्रश्न सोध्नेलाई धारे हात लगाउँदै आक्रोशित मुद्रामा भने- मरेपछि….
त्यसपछि उनी थप बोलेनन् । सरासर कार्यक्रमको स्टेजमा गए । त्यहाँबाट भने उनले पार्टीभित्रका समस्याबारे बोले ।
प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरे ।
‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भन्याजस्तो गरी चल्यौं गल्ती त्यही नै भयो,’ प्रचण्डले भने, ‘हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लियौं । हाम्रो वर्गसँग, मजदुर किसानसँग उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भयो । जीवन्त भएन ।’
केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि यस्तै प्रवृत्ति दोहोरिनु स्वभाविक भएको उनको भनाइ थियो ।
‘मन्त्री बन्ने र प्रधानमन्त्री बन्नेतिरै केन्द्रित भएको देखेपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वभाविक नै भयो । हामी कम्युनिस्ट आदर्शबाट कहिँ न कहिँ विचलित भयौं । गल्ती त्यही नै भयो भन्ने मलाई लागेको छ,’ प्रचण्डले भने ।
नेताहरूको जीवनशैली देखेरै जनताले कम्युनिस्ट भनेर पत्याउन छाडेको उनको भनाइ थियो ।
‘नेताहरू सदरमुकाम र राजधानीमा बस्ने र उनीहरूको जीवनशैली हेर्दै जाँदा यी कम्युनिस्ट जस्ता छैनन् भन्ने कुरा विस्तारै महसुस गर्दै जाने स्थिति बन्यो,’ प्रचण्डले अघि भने, ‘हामी भने किताबमा लेखिएकै छ, दस्तावेजमा लेखिएकै छ भनेर सरकार बनाउने कुरामा लाग्यो ।’
प्रतिक्रिया 4