+

नेपालमा घट्दो पूर्ण स्तनपान : जिम्मेवार को ?

२०८३ साउन  १९ गते १४:४० २०८३ साउन १९ गते १४:४०
नेपालमा घट्दो पूर्ण स्तनपान : जिम्मेवार को ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पूर्ण स्तनपान गराउने दर सन् २०११ को ७० प्रतिशतबाट घटेर सन् २०२२ मा ५६ प्रतिशतमा सीमित भएको तथ्यांक सार्वजनिक भएको छ।

स्तनपान शिशुको स्वास्थ्य तथा पोषणका लागि सबैभन्दा प्रभावकारी र तथ्यमा आधारित अभ्यास हो । आमाको दूधले शिशुलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व तथा प्रतिरक्षात्मक तत्व को परिपूर्ति गर्छ । विभिन्न संक्रमणबाट सुरक्षा प्रदान गर्नुका साथै शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

स्तनपान शिशुलाई जीवनको सुरुवातमै स्वास्थ्य, पोषण र रोग प्रतिरोधात्मक क्षमताको आधार निर्माण गर्ने जनस्वास्थ्यको एक महत्वपूर्ण रणनीति हो ।

विश्व स्वास्थ्य संगठन र युनिसेफको पछिल्लो रिपोर्टअनुसार, हाल विश्वभर ६ महिना मुनिका ४७ प्रतिशत शिशुहरूलाई मात्र पूर्ण स्तनपान गराइन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पूर्ण स्तनपानको दरलाई ६० प्रतिशत पुर्‍याउने विश्वव्यापी लक्ष्य राखेको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण लगायतका विभिन्न प्रतिवेदनले नेपालमा पूर्णस्तनपानलाई निरन्तरता प्रदान गर्न अझै चुनौती रहेको देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा सीमित छ, यो दर सन् २०११ मा ७० प्रतिशत थियो ।

नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण स्तनपानको दर सबैभन्दा बढी ७४ प्रतिशत छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम ४३ प्रतिशत रहेको छ । यसले देखाउँछ कि स्तनपान प्रवर्द्धन केवल आमालाई ज्ञान दिने विषय मात्र होइन, स्तनपानका लागि आवश्यक वातावरण निर्माण गर्ने विषय पनि हो ।

बिहानै उठेर घरको काम सक्काएर, शिशुलाई स्तनपान गराई कार्यालय जान तयार हुने एक आमाको अवस्था कल्पना गरौं । घरमा रहेको बच्चाको चिन्ता लिँदै कार्यलयमा काम गर्न बाध्य छन् कयौँ आमाहरू ।

जसलाई कार्यालयमा स्तनपान गराउने उपयुक्त स्थान नहुनु, समयको अभाव हुनु र घर फर्किएपछि फेरि अर्को जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता छ ।

अर्कोतर्फ, केही परिवारमा अझै पनि आमाको दूध पुगेन होला, बच्चालाई थप दूध वा खाना चाहिन्छ, बोतलबाट खुवाउन सजिलो हुन्छ जस्ता धारणाले स्तनपान अभ्यासलाई प्रभावित गरिरहेको छ ।

त्यसैले प्रश्न केवल आमाले स्तनपान गराइन् कि गराइनन् ? भन्ने मात्र होइन, के हामीले आमालाई स्तनपान सफल बनाउन आवश्यक वातावरण दिएका छौं ? भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ ।

अगस्ट महिनाको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउँदै स्तनपान प्रवर्धन गर्ने अवसरको रूपमा लिइन्छ । विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो ६ महिनासम्म पूर्णस्तनपान र त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेको छ । तर विश्वव्यापी रूपमा ६ महिनासम्म पूर्ण स्तनपानको अभ्यास अझै अपेक्षित स्तरमा पुग्न सकेको छैन बरू झन् घटदै गइरहेको देखिन्छ ।

नेपालले स्तनपान प्रवर्धनका लागि उल्लेखनीय नीति, कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गरिरहेको छ । राष्ट्रिय पोषण रणनीति, बहुक्षेत्रीय पोषण योजना, स्वास्थ्य संस्थामा स्तनपान परामर्श, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न पोषण कार्यक्रममार्फत स्तनपानलाई प्राथमिकता दिइएको छ । सार्वजनिक स्थानमा स्तनपान स्थान स्थापना, मातृ–शिशु तथा बाल मैत्री अस्पताल अवधारणाको कार्यान्वयन, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मानव दूध बैंकको स्थापना गरिएको छ । सबै प्रदेशमा एउटा मानव दूध बैंकको स्थापना गर्ने लक्ष्य अगाडि बढ़ाइएको छ ।

पूर्णस्तनपान घट्नुको दोष केवल आमालाई मात्र दिनु उचित हुँदैन । आज धेरै नेपाली महिला आर्थिक गतिविधिमा सक्रिय रहेका छन् । प्रसूतिपछि छिट्टै काममा फर्किनुपर्ने बाध्यता छ । कार्यस्थलमा स्तनपान गराउनका लागि आवश्यक व्यवस्था हुँदैन । लामो कार्य समय हुनु तथा बाल हेरचाह केन्द्रको व्यवस्था नहुनाले पूर्णस्तनपानलाई निरन्तरता दिन कठिन बनाइरहेको छ । विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूका लागि यो चुनौती गम्भीर रुपमा रहेको छ ।

सरकारले कामकाजी आमालाई सहयोग पुगोस भन्ने उद्देश्यले पूर्ण स्तनपानका लागि आवश्यक ६ महिनासँग मेल खाने गरी १८० दिनको मातृत्व बिदा दिने विषयमा छलफल अघि बढाइरहेको छ । यद्यपि यो व्यवस्था अझै पूर्णरूपमा कार्यान्वयन हुने नहुने भन्ने निर्णय भइसकेको छैन । यदि १८० दिनको बिदा प्रभावकारी रूपमा लागू गर्न सकियो भने, आमालाई पहिलो ६ महिनासम्म पूर्णस्तनपान गराउन महत्वपूर्ण सहयोग पुग्न सक्छ । तर केवल बिदा मात्र पर्याप्त हुँदैन, कार्यस्थलमा स्तनपानमैत्री वातावरण, सहज कार्य व्यवस्था र रोजगारदाताको सहयोग पनि आवश्यक हुन्छ ।

अर्कोतर्फ, परिवारको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहन्छ । नेपाली समाजमा हजुरआमा, श्रीमान् र परिवारका अन्य सदस्यहरूले आमालाई दिने सहयोगले स्तनपान सफल बनाउन ठूलो प्रभाव पार्छ । तर कतिपय अवस्थामा परम्परागत विश्वास, गलत धारणा र अपर्याप्त जानकारीका कारण समस्या उत्पन्न भइरहेको देखिन्छ ।

बच्चालाई आमाको दूधको सट्टा अन्य दूध खुवाउने, पहेंलो बिगौती दूध फाल्ने जस्ता चलन अझै समाजमा छन् । त्यसैले स्तनपान प्रवर्द्धनका लागि आमालाई मात्र होइन सम्पूर्ण परिवारका लागि पनि स्तनपान शिक्षा उत्तिकै महत्वपूर्ण विषय हो ।

डिजिटल मिडियाको बढ्दो प्रयोग तथा आक्रामक बजार प्रवर्धनको प्रभाव पनि स्तनपानका लागि आजको अर्को महत्वपूर्ण पक्ष हो । स्तनपानलाई प्रतिस्थापन गर्ने दूध तथा अन्य वस्तु, एवं बोटल फिडिङ सम्बन्धी सामग्रीको बढ्दो उपलब्धता र प्रचारले कतिपय परिवारलाई प्रभावित गर्न सक्छ । स्तनपान प्रतिस्थापन गर्ने वस्तुको अनुचित प्रचार नियन्त्रण गर्न नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ क्रियाशील भए पनि यसको प्रभावकारी कार्यान्वयन र अनुगमन अझै आवश्यक देखिन्छ ।

त्यसैगरी स्तनपान प्रवर्धनका लागि स्वास्थ्य प्रणालीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले जन्मेको पहिलो एक घण्टामै स्तनपान सुरु गराउने, स्तनपानसम्बन्धी समस्या समाधान गर्ने, आमालाई निरन्तर परामर्श दिने, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने जस्तो कार्यलाई बलियोसँग कार्यान्वयन गर्नुपर्छ । विभिन्न स्वास्थ्य संस्थामा स्तनपान प्रवर्धनका लागि थुप्रै कामहरू भइरहेका छन् तथापि यसको निरन्तरतासँगै प्रभावकारी कार्यान्वनमा जोड् दिन आवश्यक रहेको छ ।

त्यसैले वर्तमान परिपेक्ष्यमा नेपालमा पूर्ण स्तनपान किन घट्दैछ ? भन्दा पनि हामीले आमालाई स्तनपान सफल बनाउन कति सहयोग गरिरहेका छौं ? भन्ने प्रश्न हुनुपर्छ । स्तनपान आमाको व्यक्तिगत जिम्मेवारी मात्र होइन; यो परिवारको सहयोग, समाजको सकारात्मक सोच, कार्यस्थलको सुविधा, स्वास्थ्य प्रणालीको समर्थन र सरकारको प्रभावकारी नीतिको परिणाम हो । नेपालमा स्वस्थ र पोषित पुस्ता निर्माण गर्ने हो भने स्तनपानलाई केवल आमाको कर्तव्यका रूपमा मात्र होइन, बाल अधिकार, महिला अधिकार र जनस्वास्थ्यको साझा जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ ।

स्तनपानको सफलता आमाको इच्छाशक्तिले मात्र निर्धारण हुँदैन यो त आमाले पाउने सहयोग, परिवारको व्यवहार, कार्यस्थलको सुविधा र राज्यको प्रतिबद्धताले निर्धारण गर्छ । त्यसैले स्तनपान प्रवर्धनगर्नु भनेको आमालाई ज्ञान दिनु मात्र होइन, आमालाई सक्षम बनाउने तथा स्तनपानका लागि आवश्यक वातावरण निर्माण गर्नु हो ।

(दीपेन्द्र प्रसाद भट्ट चिकित्सा शास्त्र अध्ययन संस्थान, जनस्वास्थ्य केन्द्रीय विभागमा उपप्राध्यापक हुन् ।)

पूर्ण स्तनपान स्तनपान
लेखक
दीपेन्द्र प्रसाद भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय