News Summary
Generated by OK AI. Editorially reviewed.- मल लिन भारत गएका सर्लाहीका सुरेशप्रसाद र नागेन्द्रप्रसाद सिंहलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
- अदालतले आदेश दिए तापनि आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि उनीहरू बिहीबार जेलबाट मुक्त हुनेछन् ।
- १७ असारमा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेका उनीहरूलाई अदालतले धरौटीमा छाड्ने निर्णय गरेको हो ।
२० साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।
सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेश कुमार झाको एकल इजलासले सिंहद्वयलाई जमानतमा छाड्न आदेश दिएको हो । किसानहरूका तर्फबाट संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए ।
यद्यपि उनीहरू बिहिबार मात्र छुट्ने भएका छन् । अविनाशले अनलाइनखबरसँग भने, ‘धरौटीमा छाड्न आदेश दिएको छ । भारतकै आधार कार्ड भएका दुई जना साक्षी बसेपछि भोलि छुट्नुहुन्छ ।’
सुरेशप्रसाद र नागेन्द्रप्रसाद भारतको सीतामढी जिल्लाको सोनबर्षाबाट १७ असारमा पक्राउ परेका थिए । १८ असारमा जेल चलान भएका उनीहरूको रिहाइको माग राखेर दर्ता भएको निवेदनमाथि १५ साउनमा सुनुवाई हुने भनिएको थियो ।
न्यायाधीश बिदा बसेका कारणले बुधबार बल्ल सुनुवाइ भएको हो । उनीहरूलाई डिएपी र युरिया मल लिएर आउँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4