News Summary
Generated by OK AI. Editorially reviewed.- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी साउन २३ गते सात दलीय \'अग्रगामी मोर्चा\' गठन गर्ने घोषणा गरेका छन् ।
- विगतमा तीव्र राजनीतिक वैमनस्यतामा रहेका यादव र राउत पछिल्लो समय चुनावी हार र समान उद्देश्यका कारण एक ठाउँमा उभिन सहमत भएका हुन् ।
- मधेसकेन्द्रित दलका नेताहरूले यो मोर्चा स्वार्थबाट प्रेरित रहेको टिप्पणी गर्दै मधेसी जनताले नेतृत्वको पुस्तान्तरण खोजेको बताएका छन् ।
२० साउन, काठमाडौं । २०६३ सालको मधेस आन्दोलनबाट उदाएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र २०७९ को निर्वाचनबाट मधेसमा बलियो शक्तिका रूपमा देखिएका जनमतका अध्यक्ष डा. सीके राउतबीच विगतमा राजनीतिक सौहार्द्धता थिएन ।
मधेसकेन्द्रित दलको नेतृत्व गरेका यादव र राउत विगतमा एकले अर्काको अस्तित्व समेत नस्वीकार्ने गरी सार्वजनिक रूपमै आरोप प्रत्यारोप उत्रन्थे । प्रतिनिधिसभाको गत निर्वाचनमा दुवै शक्ति कमजोर भएपछि यी दुई नेताहरूको विगतको वैमनस्यतामा अल्पविराम लागेको छ ।
मधेसकेन्द्रित दलका नेताहरूका अनुसार यादव र राउतको संवाद पछिल्लो दिनहरूमा बाक्लिएको छ । मधेसका मुख्य प्रतिस्पर्धी नेताको पहिचान बनाएका यादव र राउत बीचको कटुता हट्दै गएपछि सात दलीय ‘अग्रगामी मोर्चा’ बनाउन सहमत भएका छन् ।
गत सोमबार (साउन १८ गते) मोर्चा गठन गर्ने छलफलमा सँगसँगै देखिए । साउन २३ गते मोर्चाको औपचारिक घोषणा गरिने जनमत अध्यक्ष राउतले जानकारी गराए । उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल छन् ।

जनअधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादव जसपा नेपालका अध्यक्ष यादव र जनमतका अध्यक्ष राउत नजिकिनुमा गत निर्वाचनको परिणाम कारण देख्छन् । उनी भन्छन्,‘शून्यमा झर्नु भएको छ । उपेन्द्रले जे-जे गर्दै आउनुभयो । सीकेजीले पनि त्यही प्रवृत्ति अंगाल्दै आउनु भएको छ । दुबैको व्यवहार मिल्दै गएपछि नजिकिनु भएको छ ।’
मुख्यत: मधेसवादी दलहरू सम्मिलित भएर बनेको अग्रगामी मोर्चाले मधेसका जनतालाई कुनै प्रभाव नपार्ने जनअधिकार पार्टीका अध्यक्ष यादव दाबी गर्छन् । नवगठित मोर्चालाई उनी स्वार्थीगामी मोर्चाको संज्ञा दिन्छन् ।
यादव र राउतकै कारणले विगतमा बनेको मधेस केन्द्रित दलहरूको मोर्चा कामयावी हुन सकेको थिएन ।
२०८१ चैतमा मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । मधेसकेन्द्रित दलबाट कुनै व्यक्ति विशेषलाई नेता बनाउने गरी हुने बैठकमा सहभागी नहुने अडान राउतले लिएका थिए ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठकको अध्यक्षता उपेन्द्रले गर्ने भएपछि त्यसप्रति राउतले आपत्ति जनाएका थिए । राउतकै अडानले संघीय लोकतान्त्रिक मोर्चाले गर्ने बैठकको अध्यक्षता आलोपालो गर्ने गरी निर्णय गरिएको थियो ।

मधेस केन्द्रित दलको मोर्चाको भूमिका प्रभावकारी हुन नसक्नुमा यी दुई नेताको ‘इगो’को लडाइँ भएको मधेसकेन्द्रित दलका नेताहरू आरोप लगाउँछन् ।
२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेर मूलधारको राजनीतिमा राउतलाई ल्याएदेखि यादव र राउतको शक्ति संघर्ष मधेसमा बढेको थियो ।
मधेसलाई हेर्ने दृष्टिकोणमा समेत यी दुई नेताको मत मिलेन । यादव स्वायत्त मधेसको पक्षमा आवाज उठाउँदै आएका थिए भने मूलधारको राजनीतिमा आउनु अघि राउतले स्वतन्त्र मधेसको नारा लगाउँथे ।
दुबै नेता एक अर्कामा गालीको तहमा समेत उत्रिएका थिए । राउतले यादवलाई ‘काला नाग’को संज्ञा दिन्थे । राउत आपराधिक प्रवृत्ति भएको व्यक्तिका रूपमा यादवले आरोप लगाउँथे ।
दुई जनाको प्रतिद्वन्द्विता बढ्दै जाँदा २०७९ सालमा प्रतिनिधि सभाको निर्वाचनमा यादवसँग सप्तरी-२ मा राउतले प्रतिस्पर्धा गरे ।

राउतले फराकिलो अन्तरले यादवलाई पराजित गरे । संघीय संसद्मा प्रत्यक्षमा जित्ने जनमतबाट राउत एक्लो व्यक्ति थिए । समानुपातिकबाट जनमतका पाँच सांसद बने ।
प्रदेश सभामा जनमतले मधेसमा १३ र लुम्बिनीमा ३ सिट जित्यो । २०६४ सालदेखि मधेसको राजनीतिमा ‘रजगज’ गर्दै आएका यादवलाई पराजित गरेपछि राउतको राजनीतिक उचाइ बढ्यो ।
२०७९ सालमा जनमतले प्राप्त गरेको सिटका आधारमा मधेसमा अबको प्रमुख शक्ति जनमत हुने भन्दै विश्लेषण भए ।
यी दुई नेताको टकराव २०७९ सालको निर्वाचनमा मात्रै देखिएन । त्यसपछिका घटनाक्रममा पनि देखिए । सप्तरी-२ मा पराजित भएपछि यादव बारा–२ मा उपचुनावमा प्रतिस्पर्धा गर्न गए । त्यहाँबाट निर्वाचित रामसहाय यादवलाई जसपा नेपालले उपराष्ट्रपति बनाएपछि रिक्त स्थानमा प्रतिस्पर्धा गर्न स्वयं यादव गएका थिए ।
तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले बारा–२ मा जिते । सत्ता र शक्तिको आडमा यादवले चुनाव आफ्नो पक्षमा पारेको जनमतले आरोप लगायो ।
यादव र राउतबीच दुश्मनीभन्दा यादव र राउतको प्रतिद्वन्द्विता उपराष्ट्रपतिको चुनावमा पनि देखियो । जसपाले रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउँदा जनमतले ममता झालाई उम्मेदवार बनाएको थियो ।
यी दुई नेताको शक्ति संघर्ष चुनावी क्षेत्र, उपराष्ट्रपति निर्वाचन हुँदै मधेस सरकारमा पनि देखियो ।
सप्तरी–२ मा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यायको विषयलाई लिएर यादव र राउतको सम्बन्ध झनै बिग्रियो ।
२०८० माघमा विश्वविद्यालयको भवन शिलान्यास गर्ने समय मुख्यमन्त्री जसपाका सरोजकुमार यादव थिए । मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष यादवबाट भवनको शिलन्यास गराउन चाहन्थे । शिक्षामन्त्री जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव थिए । यादवबाट हुने शिलान्यास स्विकार्न जनमत तयार भएन । यही विषयमा विवाद बढ्दा शिलान्यासको दिन जनमतले प्रदर्शन नै गर्यो जसमा प्रहरी हस्तक्षेप हुँदा मधेश प्रदेशका तत्कालीन शिक्षामन्त्री महेशप्रसाद यादवसहित केही सांसद र कार्यकर्ता सामान्य घाइते भएका थिए ।
मधेसको राजनीतिमा वर्चश्व कायम राख्न एकले अर्काको विरुद्धमा लाग्दा यादव र राउतका विवादहरू चरण-चरणमा भएका छन् । जसपा नेपालका प्रवक्ता मनिष सुमन वर्तमान सरकारबाट प्राप्त उपलब्धिहरू गुम्न सक्ने खतरा रहेको हुँदा मित्रशक्तिहरू मिल्नु स्वभाविक भएको बताए ।
‘संघीयता, समावेशीतामाथि यो सरकारबाट खतरा देखियो । सिद्धान्त र विचार मिल्नेहरूसँग अहिले सहकार्य गर्छौं,’ सुमनले अनलाइनखबरसँग भने,‘भविष्यमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्छौं । कुरा मिल्दै गयो भने पार्टी एकताको चरणसम्म पुग्छौं ।’
गत निर्वाचनमा भने दुबै जना पराजित भए । २०७९ सालमा जितेको क्षेत्र सप्तरी–२ मा राउत पराजित भए ।
सप्तरी–३ मा यादव पराजित भए । पराजित भएको केही दिनपछि सामाजिक सञ्जालमार्फत आगामी दिनमा आफू चुनावी प्रतिस्पर्धा नगर्ने राउतले घोषणा गरेका छन् ।
मधेसकेन्द्रित दलका एक शीर्ष तहका नेता अनुसार पराजयपछि यादव र राउतले पछि पटक-पटक संवाद गरेका छन् । ती नेताको दाबी अनुसार पार्टी एकीकरण गर्ने गरी दुई जनाबीचमा छलफल भएको छ ।
उनी भन्छन्,‘उपेन्द्रले अध्यक्ष तपाईं बन्ने भनेर वचन दिएका छन् । त्यही स्वार्थमा दुई जना मिलेको देखिएको हो ।’
मधेस केन्द्रित दलहरूले चुनावी तालमेल गर्नुपर्ने त्यतिबेला छलफल भएपनि यादव र राउतकै कारणले सम्भव हुन नसकेको ती नेताको दाबी छ ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा मधेसका जनताले दुई शीर्ष नेताको मिलन मात्रै नचाहेको बताउँछन् ।
मधेस केन्द्रित सबै दल मिल्नुपर्ने र नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने पक्षमा मधेसी जनता रहेको झाले बताए ।
उनी भन्छन्,‘दुई नेता मिल्नु वा मोर्चा बनाउनु मधेसी जनताको रुचीको विषय होइन । मधेस केन्द्रित सबै दल मिलेर नेतृत्वको पुस्तान्तरण मधेसका जनताले खोजेका छन् ।’
यादवसँग नजिकिएसँगै राउत प्रफुल्लित देखिन्छन् । विगतमा यादवको आलोचना गर्दै सामाजिक सञ्जालमा धारणा राख्ने राउतले उनै यादवको तस्वीर राखेर सत्तारुढ रास्वपाप्रति क्रुद्ध देखिएका छन् ।
आफूसहित यादव र रेशम चौधरीले संकटपूर्ण राजनीतिबाट यहाँसम्म आइपुगेको रास्वपा लक्षित उनको टिप्पणी छ ।
उनी भन्छन्, ‘ऐतिहासिक मधेश आन्दोलन, स्वराज आन्दोलन र थरूहट आन्दोलन सानो त्यागले भएको होइन, ठूलो बलिदानी लागेको हो । क्षणिक स्टन्ट होइन, दशकौंको संघर्ष लागेको हो, चाउचाउ कुपनबाट सांसद बन्ने सपना होइन करौडौं जनताको आस्था हो, त्यसलाई सम्मान गरौं ।’
प्रतिक्रिया 4