+
+
Shares

जर्मनीको एयरपोर्टमा विस्फोटक ड्रोन भेटियो, रूसमाथि आशंका

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिक विस्फोटक पदार्थ जडित ड्रोन फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ ।
  • प्रहरीले ड्रोनमा जडान गरिएको विस्फोटक उपकरणलाई बम निष्क्रिय पार्ने टोलीमार्फत सुरक्षित रूपमा हटाएको जानकारी दिएको छ ।
  • घटनाको अनुसन्धान भइरहेको छ भने युक्रेनका राजदूतले यसमा रूसको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

२१ साउन, काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिकै विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेको छ । सोही क्रममा एउटा विमान उडान भर्ने क्रममा अज्ञात वस्तुसँग ठोक्किए पनि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको अधिकारीहरूले बताएका छन् ।

घटनापछि लाइपजिग–हाले विमानस्थलमा आउने सबै उडानहरू केही घण्टाका लागि अन्य विमानस्थलतर्फ मोडिएका थिए । यो घटना मंगलबार राति र बुधबार बिहानबीच भएको हो ।

जर्मन प्रहरीले बम निष्क्रिय पार्ने टोलीको सहयोगमा ड्रोनमा जडान गरिएको विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ ।

पूर्वी जर्मनीस्थित यो विमानस्थल जर्मन सेना र नेटोका लागि सैनिक सामग्री ढुवानीको प्रमुख केन्द्र हो । यहीँ युक्रेनको एन्टोनोभ एयरलाइन्सको सञ्चालन आधार पनि रहेको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा बम निष्क्रिय पार्ने रोबोटलाई एन्टोनोभ विमान नजिक काम गरिरहेको देखाइएको छ । विमानमा युक्रेनको झण्डासँगै ‘खेरसोनजस्तै साहसी बन’ भन्ने सन्देश पनि लेखिएको थियो । खेरसोन युक्रेनको रूसी आक्रमण प्रभावित क्षेत्रमध्ये एक हो ।

जर्मनीका लागि युक्रेनका राजदूत ओलेक्सी माकियेले घटनामा रूसको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले वेल्ट टिभीसँग कुरा गर्दै ‘रूसबाहेक अरू को हुन सक्छ ?’ भन्दै प्रश्न उठाएका छन् ।

यद्यपि जर्मन अधिकारीहरूले हालसम्म घटनामा रूसको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । रूसले पनि घटनाबारे तत्काल कुनै प्रतिक्रिया नदिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

जर्मन प्रहरीले सुरुमा ‘सुरक्षासम्बन्धी घटना’ का कारण विमानस्थलको सञ्चालन प्रभावित भएको जानकारी दिएको थियो ।

लाइपजिग–हाले विमानस्थल विश्वव्यापी ढुवानी कम्पनी डीएचएलको प्रमुख हबसमेत हो ।

प्रहरीका अनुसार मध्यरातपछि विमानस्थल नजिक एउटा मानवरहित हवाई उपकरण (यूएभी) उडिरहेको देखिएपछि केही उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका थिए । तीमध्ये एउटा यात्रुवाहक विमान पनि थियो ।

त्यसपछि विमानस्थलको दक्षिणी धावनमार्गमा एउटा शंकास्पद वस्तु फेला परेपछि संघीय प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानपछि बम निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको र ड्रोनमा जडान गरिएको डेटोनेटर सुरक्षित रूपमा हटाइएको प्रहरीले जनाएको छ ।

जर्मन पत्रिका डेर स्पिगेलका अनुसार चार रोटर भएको उक्त ड्रोनमा ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ एन्ड इन्सेन्डियरी डिभाइस (आईईआईडी)’ जडान गरिएको थियो ।

जर्मन पत्रिका बिल्डले सुरुमा डीएचएलको कार्गो विमानलाई चेतावनीपछि अवतरण स्थगित गरिएको र त्यसपछि अज्ञात वस्तुसँग ठोक्किएको जनाएको थियो । पछि प्रहरीले विमानलाई हानोभर विमानस्थलमा सुरक्षित अवतरण गराइएको र विमानको अगाडिको भागमा सामान्य क्षति पुगेको पुष्टि गरेको छ ।

बुधबार बिहानदेखि विमानस्थलको नियमित सेवा पुन: सञ्चालनमा आएको भए पनि हाल उत्तरी धावनमार्ग मात्र प्रयोग भइरहेको छ । अनुसन्धानकर्ताहरूले दक्षिणी धावनमार्गमा थप प्रमाण संकलन गरिरहेका छन् भने प्रहरीको आतंकवादविरोधी इकाइ ड्रोन उडाउने व्यक्तिको खोजीमा जुटेको छ । स्थानीय बासिन्दालाई पनि शंकास्पद गतिविधिबारे जानकारी दिन आग्रह गरिएको छ ।

युक्रेन युद्ध सुरु भएपछि जर्मनीसहित युरोपका विभिन्न देशमा विमानस्थल, सैन्य अड्डा र औद्योगिक क्षेत्रमा मानवरहित ड्रोन देखिने घटना पटक–पटक सार्वजनिक भएका छन् ।

जर्मनीले यस्ता घटनालाई रूसद्वारा सञ्चालन गरिएको तोडफोड, जासुसी र गलत सूचना फैलाउने अभियानसँग जोडेर हेर्दै आएको छ, तर रूसले यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ ।

सन् २०२४ को जुलाईमा पनि लाइपजिग विमानस्थलमा डीएचएलको कार्गो विमानमा लोड गर्न लागिएको एउटा पार्सलमा आगलागी भएको थियो ।

त्यस्तै गत वर्ष चीनका एक नागरिकलाई उडान तालिका र कार्गो ढुवानीसम्बन्धी संवेदनशील सूचना चीनका लागि जासुसी गर्ने व्यक्तिलाई उपलब्ध गराएको अभियोगमा सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?