News Summary
Generated by OK AI. Editorially reviewed.- हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताहले स्वस्थ भावी पुस्ता र दिगो समाज निर्माणमा स्तनपानको महत्वलाई जोड दिन्छ।
- स्तनपानले शिशुमा संक्रमणजन्य रोगहरूको जोखिम कम गर्नुका साथै आमामा समेत विभिन्न गम्भीर रोगहरूको खतरा घटाउँछ ।
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाइन्छ । यसले स्तनपानलाई केवल व्यक्तिगत अभ्यास मात्र नभई भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र दिगो समाज निर्माणको आधारका रूपमा स्थापित गरेको छ ।
आमाको दूध नवजात शिशुको लागि प्रकृतिले प्रदान गरेको सबैभन्दा उत्कृष्ट, सुरक्षित र सम्पूर्ण आहार हो । जन्मेपछि आउने पहेंलो बाक्लो दूधलाई ‘तरल सुन’ भनिन्छ । यसमा इम्युनोग्लोबुलिन ए (आईजीए), ल्याक्टोफेरिन, लाइसोजाइम, साइटोकाइन, ग्रोत फ्याक्टर जस्ता जैविक सक्रिय तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । यही कारणले आमाको दूधलाई शिशुको ‘पहिलो खोप’ पनि भनिन्छ । यसले जन्मेदेखि नै रोगसँग लड्ने क्षमता विकास गर्न मद्दत गर्दछ ।
विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न भनेको छ । यसपछि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको छ । विश्वव्यापी रूपमा अझै पनि ५० प्रतिशत भन्दा कम शिशुले मात्र पूर्णस्तनपान गरिरहेका छन् । स्तनपानको सबैभन्दा महत्वपूर्ण लाभ मध्ये एक संक्रमणजन्य रोगहरूबाट सुरक्षा हो ।
विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित अनुसन्धान सहितको मेटा–विश्लेषणले स्तनपान गर्ने शिशुहरूमा झाडापखालाका कारण अस्पताल भर्ना हुने जोखिम ७२ प्रतिशत र मृत्युको जोखिम ७७ प्रतिशतसम्म कम भएको देखाएको छ । त्यस्तै स्तनपानले श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा निमोनियाका कारण अस्पताल भर्ना र मृत्यु हुने सम्भावना पनि उल्लेखनीय कमी देखाएको छ ।
नेपालजस्ता विकासोन्मुख देशहरूमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये निमोनिया र झाडापखाला अग्रस्थानमा छन् । यस्तो अवस्थामा पूर्ण स्तनपान सबैभन्दा प्रभावकारी, कम खर्चिलो र वैज्ञानिक रूपमा प्रमाणित स्वास्थ्य हस्तक्षेप हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्तनपानले केवल विकासोन्मुख देशहरूमा मात्र होइन, विकसित देशहरूमा समेत संक्रमणबाट महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ । यही कारणले विकसित देशहरूमा सुत्केरी बिदा ६ देखि २४ महिना बनाउनुपर्छ भन्ने कुरामा सहमत भई कार्यन्वयनको अवस्थामा गइसकेका छन् ।
आमाको दूध एक शक्तिशाली इम्युनोमोडुलेटर पनि हो । यसले शिशुको आन्द्रामा लाभदायक जीवाणुहरूको वृद्धि गराउँछ, स्वस्थ माइक्रोबायोम निर्माण गर्छ तथा प्रतिरक्षा प्रणालीलाई सन्तुलित र परिपक्व बनाउँछ । स्तनपान गर्ने बालबालिकामा कानको संक्रमण, श्वासप्रश्वास संक्रमण, पेटका संक्रमण तथा अन्य धेरै बालरोगहरू कम हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
पछिल्ला वर्षहरूमा स्तनपान र एलर्जीजन्य रोगबीचको सम्बन्धबारे व्यापक अनुसन्धान भएका छन् । अमेरिका, युरोप तथा अन्य देशहरूमा गरिएका अध्ययनहरूले स्तनपानले एक्जिमा तथा केही एलर्जीजन्य अवस्थाको जोखिम कम गर्न सहयोग पुर्याउन सक्ने देखाएका छन् । विशेषगरी प्रारम्भिक जीवनमा पूर्ण स्तनपान प्राप्त गर्ने शिशुहरूमा छालासम्बन्धी एलर्जी र अटोपिक रोगहरूको सम्भावना कम देखिएको छ।
त्यसैगरी, स्तनपान र श्वास–प्रश्वाससम्बन्धी रोगबीचको सम्बन्धबारे भएका अनुसन्धानहरूले पनि उत्साहजनक नतिजा दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार स्तनपान गर्ने बालबालिकामा दमको जोखिम कम हुन सक्छ । स्तनपानले श्वासप्रश्वास प्रणालीको परिपक्वता तथा प्रतिरक्षा सन्तुलनमा सहयोग गर्ने भएकाले दीर्घकालीन रूपमा यसको सुरक्षात्मक प्रभाव देखिन्छ ।
आमाको दूधको अर्को महत्वपूर्ण फाइदा भनेको यसले मस्तिष्क विकासमा पार्ने प्रभाव हो । आमाको दूधमा पाइने डीएए, एआरए, कोलेस्टेरोल तथा अन्य आवश्यक फ्याटी एसिडहरूले स्नायु प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । डब्लुएचओले गरेको विभिन्न अध्ययनबाट स्तनपान गरेका बालबालिकाहरूमा बौद्धिक क्षमता, विद्यालय उपस्थिति तथा सिकाइ उपलब्धि राम्रो हुने उल्लेख गरेको छ । पछिल्ला दशकहरूमा स्तनपान र अटिजम स्पेक्ट्रम डिसअर्डर बीचको सम्बन्धबारे पनि अनुसन्धानहरू भएका छन् ।
इजिप्ट, चीन, अमेरिका तथा युरोपका विभिन्न अध्ययनहरूको मेटा–विश्लेषणहरूमा स्तनपान नगर्ने बालबालिकामा अटिजमको जोखिम उल्लेखनीय रूपमा बढी पाइएको छ । यद्यपि अटिजम बहुआयामिक कारणले हुने अवस्था हो र स्तनपान मात्रले यसको पूर्ण रोकथाम गर्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन, तर हाल उपलब्ध वैज्ञानिक प्रमाणहरूले स्तनपानलाई एक सम्भावित सुरक्षात्मक कारकका रूपमा समर्थन गरेका छन् ।
स्तनपान र क्यान्सरबीचको सम्बन्ध पनि अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ । विभिन्न अध्ययनहरूले स्तनपान गर्ने बालबालिकामा हुने ल्युकेमिया लगायत केही रक्त क्यान्सरहरूको जोखिम कम हुन सक्ने देखाएका छन् । साथै बालमोटोपना, टाइप–२ मधुमेह तथा अन्य नसर्ने रोगहरूको जोखिम पनि कम हुने सम्भावना देखाएको छ ।
स्तनपानका फाइदा शिशुमा मात्र सीमित छैनन् । स्तनपान गर्ने आमाहरूमा प्रसूति पश्चात रक्तस्राव कम हुने, गर्भाशय छिटो सामान्य अवस्थामा फर्किने तथा स्तन र डिम्बाशयको क्यान्सरको जोखिम कम हुने प्रमाणित भै सकेका छन् । साथै टाइप–२ मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी केही रोगहरूको जोखिम पनि कम हुन सक्ने देखिएको छ ।
आधुनिक विज्ञानले बारम्बार पुष्टि गरेको तथ्य के हो भने आमाको दूध केवल नवजात शिशुको खानेकुरा मात्र होइन; यो त पोषण, प्रतिरक्षा, विकास र रोग रोकथामको अनुपम उपहार पनि हो । यसले नवजात शिशुलाई जीवनको पुर्बार्ध बाटै सुरक्षित जिबन प्रदान गर्दछ । त्यसैले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउने तथा दुई वर्ष वा सोभन्दा बढी पनि समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिने अभ्यासलाई समाजका सबै तहबाट प्रोत्साहन गरिनुपर्छ ।
विशेष गरी राज्यले सुत्केरी विदा ६ महिना नदिँदास्वास्थकर्मीको सल्लाह व्यवहारिक नभएको गुनासो हाम्रै स्वास्थ्यकर्मीहरूले गरिरहनुपरेको अवस्था छ।
६ महिना सुत्केरी विदाको निर्णय छिटो भन्दा छिटो गर्न सके जागिरे आमाहरू लावान्वित हुने थिए र स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ राष्ट्र निर्माणको आधार स्तनपान नै हो भन्ने मान्यता प्रमाणित हुने थियो ।
(प्रा. डा. रामचन्द्र बास्तोला पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल वार्डका विभागीय प्रमुख हुन् ।)
प्रतिक्रिया 4