News Summary
Generated by OK AI. Editorially reviewed.- स्तनपान नवजात शिशुको स्वास्थ्य, पोषण, वृद्धि र विकासका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त सर्वोत्तम प्राकृतिक आहार हो ।
- नेपालमा स्तनपानको संरक्षण र प्रवर्द्धनका लागि नेपाल पेडियाट्रिक सोसाइटीले बहुक्षेत्रीय साझेदारीमा जोड दिएको छ ।
स्तनपान नवजात तथा बालबालिकाको जीवनरक्षा, समुचित पोषण, स्वस्थ वृद्धि–विकास, बौद्धिक क्षमता अभिवृद्धि तथा मानव पुँजी निर्माणको आधारभूत र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्राकृतिक अभ्यास हो । आमाको दूध नवजात शिशुको जैविक आवश्यकता अनुरूपको पूर्ण, सुरक्षित, स्वच्छ तथा जीवनोपयोगी प्राकृतिक आहार हो ।
यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुका साथै सङ्क्रामक तथा नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ । यसका अतिरिक्त स्तनपानले मातृस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । स्तन तथा डिम्बाशयको क्यान्सर, प्रसूति पश्चात् रक्तस्राव तथा अन्य स्वास्थ्य जटिलताहरूको जोखिम न्यूनीकरण गर्न योगदान पुर्याउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा संयुक्त राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ) ले जन्मपश्चात् पहिलो एक घण्टाभित्र स्तनपान प्रारम्भ गराउने सिफारिस गरेको छ । ६ महिनासम्म शिशुलाई केवल आमाको दूध मात्र खुवाउने, ६ महिनापछि उमेर अनुकूल पूरक आहारको सुरुवात गर्ने भनेको छ । कम्तीमा दुई वर्ष वा सोभन्दा बढी अवधिसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ ।यी सिफारिसहरू वैज्ञानिक अनुसन्धान, विश्वव्यापी अनुभव तथा सार्वजनिक स्वास्थ्यका स्थापित सिद्धान्तहरूमा आधारित छन् ।
विश्व स्तनपान सप्ताह (१–७ अगस्ट) स्तनपानको संरक्षण, प्रवर्द्धन तथा समर्थनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने महत्त्वपूर्ण अवसर हो । नेपाल पेडियाट्रिक सोसाइटीको नेतृत्वमा अघि बढाइएको ‘एउटा ध्येय, एउटा सन्देश, एउटा आवाज’ को अवधारणाले स्तनपान संरक्षणका लागि बहुक्षेत्रीय साझेदारी, समन्वयात्मक तथा संगठित कार्यप्रणालीको अपरिहार्यतालाई पुष्टि गर्दछ ।
नेपालको वर्तमान परिप्रेक्ष्य
नेपालले मातृ, नवजात तथा बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए तापनि स्तनपान सम्बन्धी राष्ट्रिय सूचकहरू अझै अपेक्षित स्तरमा पुग्न सकेका छैनन् ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान प्रारम्भ गर्ने तथा जीवनको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराइने दरमा अपेक्षाकृत सुधार आवश्यक रहेको देखाएको छ ।
यसले मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यकर्मीको क्षमता, परिवारको व्यवहार परिवर्तन तथा स्वास्थ्य प्रणालीको समग्र प्रभावकारितामा थप सुदृढीकरण आवश्यक रहेको स्पष्ट संकेत गर्दछ ।
स्तनपान अभ्यासमा प्रभाव पार्ने प्रमुख चुनौतीहरूमा शल्यक्रियामार्फत हुने प्रसूतिको बढ्दो दर, स्तनपानसम्बन्धी अपर्याप्त परामर्श, मातृदूधको पर्याप्तताप्रति विद्यमान भ्रम, आमाको दूधका विकल्प आहारको प्रत्यक्ष, अप्रत्यक्ष व्यावसायिक प्रवर्द्धन आदि रहेका छन् ।
त्यसैगरी स्तनपानमैत्री कार्यस्थलको अभाव, स्वास्थ्य संस्थाहरूबीच सेवाको गुणस्तरमा असमानता तथा सामाजिक–सांस्कृतिक व्यवहारजन्य पक्षहरू प्रमुख रूपमा रहेका छन् ।
कानुनी तथा नीतिगत आधार
नेपाल सरकारले शिशु तथा साना बालबालिकाको पोषण अधिकारको संरक्षण तथा स्तनपान प्रवर्द्धनका लागि स्तनपान विकल्प (बिक्री तथा वितरण नियन्त्रण) ऐन जारी गरी स्तनपान संरक्षणका लागि आवश्यक कानुनी आधार स्थापित गरेको छ । उक्त ऐन विश्व स्वास्थ्य संगठनद्वारा जारी स्तनपानको विकल्पहरूको बजारीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय संहिताको मूल मर्म तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप रहेको छ ।
ऐनले स्तनपानको विकल्प, धुलो दूध, प्यसिफाएर दूध दानी तथा निप्पलहरूको विज्ञापन, प्रचार– प्रसार, बिक्री तथा वितरणलाई नियमन गरी आमाको दूधलाई शिशुको पहिलो तथा सर्वोत्तम आहारका रूपमा संरक्षण गर्ने उद्देश्य लिएको छ । तथापि, ऐनको प्रभावकारी कार्यान्वयन, नियमन, अनुगमन तथा कानुनी प्रावधानहरूको पूर्ण परिपालन सुनिश्चित गर्न आवश्यक देखिन्छ ।
नेपाल पेडियाट्रिक सोसाइटीको संस्थागत भूमिका
नेपाल पेडियाट्रिक सोसाइटी नेपालका बालबालिकाको स्वास्थ्य, पोषण, वृद्धि तथा विकासका क्षेत्रमा क्रियाशील अग्रणी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक संस्था हो । यसका सदस्यहरूले संघीय, प्रादेशिक तथा स्थानीय तहका सरकारी, शिक्षण, निजी तथा विशिष्टीकृत स्वास्थ्य संस्थाहरूमार्फत नवजातदेखि किशोरावस्था सम्मका बालबालिकाको स्वास्थ्य सेवामा प्रत्यक्ष योगदान पुर्याउँदै आएका छन् ।
बालरोग विशेषज्ञहरू अभिभावकका लागि सबैभन्दा विश्वासिला चिकित्सकीय परामर्शदाता हुन् । यसका साथै नवजात तथा शिशु पोषणसम्बन्धी निर्णय प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने प्राविधिक जनशक्ति हुन् । स्तनपान प्रारम्भ गराउने, पूर्ण स्तनपान सुनिश्चित गर्ने, स्तनपानसम्बन्धी जटिलताको व्यवस्थापन गर्ने, विशेष हेरचाह आवश्यक भएका नवजात शिशुहरूको पोषण व्यवस्थापन गर्ने तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा उनीहरूको भूमिकामहत्वपूर्ण रहँदै आएको छ ।
यस परिप्रेक्ष्यमा नेपाल पेडियाट्रिक सोसाइटी तथा यसका सम्पूर्ण सदस्यहरू स्तनपान संरक्षण, प्रवर्द्धन तथा समर्थनसम्बन्धी नीति निर्माण, कानुन कार्यान्वयन, स्वास्थ्य सेवा सुदृढीकरण, अनुसन्धान, क्षमता विकास तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा प्रमुख सरोकारवालाका रूपमा स्थापित छन् ।
अवधारणा पत्रको औचित्य
स्तनपानको संरक्षण तथा प्रवर्द्धन केवल आमाको मात्र व्यक्तिगत जिम्मेवारी नभई राज्य, स्वास्थ्य प्रणाली, परिवार, समुदाय, पेशागत संस्था, विकास साझेदार तथा निजी क्षेत्रको साझा दायित्व हो । नेपालमा स्तनपान संरक्षणका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था विद्यमान भए पनि तिनको कार्यान्वयन प्रभावकारी नदेखिएकोले अन्तर निकाय समन्वय, नियमित अनुगमन तथा प्रमाणमा आधारित निर्णय प्रणालीलाई अझ सुदृढ बनाउनु आवश्यक छ ।
नेपाल पेडियाट्रिक सोसाइटीको नेतृत्वमा स्थापित ‘नेपालमा आमाको दूध खुवाउने गठबन्धन’ ले विभिन्न पेशागत संस्थाहरूलाई साझा उद्देश्य, साझा प्रतिबद्धता तथा साझा कार्यदिशामा आबद्ध गर्दै स्तनपान संरक्षणका लागि राष्ट्रिय अभियानलाई संस्थागत रूप दिने महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।
अन्त्यमा,
स्तनपानमा गरिएको लगानी वास्तवमा राष्ट्रको स्वास्थ्य, सामाजिक विकास तथा आर्थिक समृद्धिमा गरिएको दीर्घकालीन लगानी हो । स्वस्थ, सक्षम तथा उत्पादनशील मानव पुँजी निर्माणको आधार जीवनको प्रारम्भिक चरणमै स्थापित हुन्छ, जसको मूल आधार आमाको दूध हो ।
“एक उद्देश्य, एक सन्देश र एक साझा स्वर” को भावनालाई आत्मसात् गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन तथा समर्थनका लागि सबै सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य स्थापित गर्नु आवश्यक छ । यसो गर्न सके प्रत्येक नेपाली शिशुलाई जीवनको स्वस्थ र सुरक्षित प्रारम्भ सुनिश्चित गर्न तथा स्वस्थ, सक्षम र समुन्नत नेपालको निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ ।
(डा. अरुण कुमार न्यौपाने वरिष्ठ बालरोग विशेषज्ञ हुन् । हाल उनी नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष समेत रहेका छन् ।)
प्रतिक्रिया 4