News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनगुनासोका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
- गृहमन्त्री गुरुङले भने, ‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साँच्चै भन्ने हो भनेदेखि ।’
- उनले जेन–जी शहीदका परिवार र नयाँ पुस्ताका मागहरूलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे ।
२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेन–जी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे ।
‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साँच्चै भन्ने हो भनेदेखि । कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ । कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ । यो अवधिमा हरेकचोटि केही न केही त भएको छ । मैले कामै राम्रोसँग गर्न पाएको छैन,’ गृहमन्त्री गुरुङले भने ।
जेन–जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएपनि परिस्थिति अनुकूल नभएको उनको भनाइ थियो ।
यद्यपि जेन–जी शहीदका परिवार र जेन–जी पुस्ताका मागहरु पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए ।
‘जेनजीको सम्बन्धमा गर्नुपर्ने कयौँ योजना र कामहरु छन् जुन मैले बनाउनुपर्नेछ । तर हरेक नागरिक मेरो ढोकामा आएर आँशु झर्दै गर्दा त्यो उहाँहरुको माग सम्बोधन गर्ने कुरा पनि मेरो कर्तव्य त हो नि,’ उनले भने, ‘त्यही गर्नको लागि त जिताएर पठाउनुभएको हो हजुरले हामीलाई । त्यो जिम्मेवारी पनि सम्हाल्नु छ, जेन–जी नेता जेनजी पुस्ताको सुनेन भनेर पनि धिक्कार्लान । सदनमा बोल्दै गर्दाखेरी जहिले पनि म मनको कुरा मात्रै बोल्छु । केही भूमिका बाँध्दिन, मन पनि पर्दैन ।’
उनले पछिल्लो समय राजनीति गरिरहेका जेनजी प्रतिनिधिहरुको नियत ठिक नरहेको आशंका पनि गरे ।
प्रतिक्रिया 4