+
+
Shares

अमरेशले ‘सैन्यीकरण’ भन्दा संसदीय समितिमा वादविवाद, रमेश प्रसाईंले गरे क्षमायाचना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूबीच विवाद भएको छ ।
  • सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दमा सांसद रमेश प्रसाईंले असहमति जनाएपछि समितिमा वादविवाद सिर्जना भएको थियो ।
  • सभापति हरि ढकालको सहजीकरणपछि सांसद प्रसाईंले आफ्ना अग्रज सांसद सिंहसँग क्षमायाचना गरेका छन् ।

२१ साउन, काठमाडौं । बिहीबार दिउँसो प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो ।

बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो ।

छलफलकै क्रममा रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो धारणा राख्ने क्रममा ‘सैन्यीकरण’ भन्ने शब्द प्रयोग गरे ।

उनको उक्त शब्दप्रति रास्वपाकै अर्का सांसद रमेश प्रसाईंले असहमति जनाए । सिंहको भनाइलाई प्रसाईंले खण्डन गरेपछि सिंहको आपत्ति थियो ।

सिंहको आपत्तिपछि समिति सभापति हरि ढकालले सहजीकरणको प्रयास गरे । ‘माननीय रमेशले व्यक्ति तोकेर कतै खण्डन गरेको जस्तो मैले अनुभूति गरेको छैन,’ उनले भने ।

लगत्तै सांसद सिंहले भन्न थाले, ‘मैले मिलिटराइजेशन (सैन्यीकरण) भनेको थिएँ, किन भनेको छैन ? मलाई बच्चा नठान्नु न सभापतिजी ।’

उनले सेना र प्रहरी कति छ भन्ने कुरा प्रमाणित गर्न भन्दै एकछिन आक्रोश पोखे ।

त्यसपछि सांसद प्रसाईंले क्षमायाचना गरे । ‘सभापतिज्यू म अग्रज माननीयज्यूसँग क्षमायाचना गर्छु,’ प्रसाईंले भने ।

सभापति ढकालले लगत्तै खण्डन र वादविवादको थलो समितिलाई नबनाउन आग्रह गरे ।

संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादनमा असर पुग्ने सांसद सिंहको तर्क थियो ।

आपत्ति जनाउँदै के भनेका थिए अमरेशले ?

समितिमा एक–अर्काको कुरा खण्डन गरेर समय व्यतीत गर्ने हो भने कुनैपनि काम अगाडि बढ्न सक्दैन । समितिको आफ्नै मर्यादा हुन्छ, त्यसैले यसलाई वादविवादको थलो बनाइनु हुँदैन । माननीय सदस्यहरूले आफ्नो धारणा स्वतन्त्र रूपमा राख्ने अधिकार राख्नुहुन्छ । समितिमा प्रत्येक सदस्यले आफ्नो विचार प्रश्तुत गर्ने हो, तर एकअर्काको अभिव्यक्तिको खण्डनमै समय खर्च गर्नु उपयुक्त हुँदैन । म सभापतिज्यूलाई पनि यही अनुरोध गर्न चाहन्छु कि समितिको छलफललाई रचनात्मक र विषयकेन्द्रित बनाइयोस् । हामी नयाँ समितिमा पहिलो पटक आएका होइनौं । मलाई लागेको कुरा म राख्छु, उहाँलाई लागेको कुरा उहाँले राख्नुहुन्छ । तर एकअर्काको भनाइको निरन्तर खण्डन गर्न थाल्यौँ भने समितिको छलफल प्रभावकारी रूपमा अघि बढ्न सक्दैन । समितिको आफ्नै गरिमा, मर्यादा र कार्यपद्धति हुन्छ । त्यसैले सबै सदस्यले एकअर्काको विचारको सम्मान गर्दै विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नु नै उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?