२२ साउन, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकद्वार सेवा प्रणाली लागू गरेपछि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवा छिटो र व्यवस्थित भएको जनाएको छ ।
कार्यालयले टोकन प्रणालीसहित सेवा प्रवाहको संरचना पुन:व्यवस्थित गरेपछि आवश्यक कागजात पूरा भएका सेवाग्राहीले २० देखि ३० मिनेटभित्रै नागरिकताको प्रतिलिपिसहितका सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले बताए ।
नयाँ प्रणालीअनुसार सेवाग्राहीले प्रवेशद्वारबाट टोकन लिएपछि एउटै सेवा कक्षबाट आवश्यक प्रक्रिया पूरा गर्न सक्छन् । कागजात रुजु, आवश्यक परामर्श र सेवा प्रवाह एउटै स्थानबाट हुने भएकाले पहिलेजस्तो विभिन्न कोठा धाउनुपर्ने अवस्था हटेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक दर्ता तथा वितरण, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक दर्ता र वितरणलगायत अधिकांश सेवा एउटै फ्लोरबाट उपलब्ध गराउन थालेको छ । कार्यालयमा सेवाग्राहीका लागि वेटिङ हल, खानेपानी र नि:शुल्क वाइफाइको समेत व्यवस्था गरिएको छ ।
कार्यालयको प्रवेशद्वारमा स्थापना गरिएको सहायता कक्षमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रका लागि नि:शुल्क अनलाइन आवेदन, कागजात परीक्षण, प्रमाणीकरण तथा आवश्यक परामर्शको सुविधा उपलब्ध गराइएको छ । कार्यालयसँग सम्बन्धित आवश्यक कागजातको फोटोकपी सेवा पनि नि:शुल्क उपलब्ध गराउन थालिएको प्रशासनले जनाएको छ ।
नायब सुब्बा रामप्रसाद पौडेलका अनुसार दुई वर्षअघि लागू भएको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत स्थानीय तहबाट पठाइएका विवरण अनलाइन प्रमाणीकरण हुने भएकाले नागरिकता वितरण प्रक्रिया थप सहज बनेको छ ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा लागू गरिएको एकद्वार सेवा प्रणालीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाएको कार्यालयको दाबी छ। प्रशासनले बिचौलियाको प्रभाव घटाउनुका साथै अनावश्यक झन्झट र अतिरिक्त खर्च कम गर्ने उद्देश्यका साथ सेवा सुधारलाई निरन्तरता दिने जनाएको छ ।
सेवाग्राहीहरूले पनि नयाँ प्रणालीपछि लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने र एउटै कामका लागि दिनभर कुर्नुपर्ने अवस्था हट्दै गएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4