+

वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य बने गंगालालको निर्देशक

२०८३ साउन  २२ गते ११:२५ २०८३ साउन २२ गते ११:२५
वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य बने गंगालालको निर्देशक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् । लामो समयदेखि केन्द्रमै कार्यरत उनी मुटु शल्यक्रियामा आवश्यक एनेस्थेसियाका अनुभवी चिकित्सकका रूपमा परिचित छन्।

ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यको प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा भएको थियो। त्यसपछि उनले बुढानीलकण्ठ विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। उच्च माध्यमिक शिक्षा भारतको दि लरेन्स स्कुल, सिम्लाबाट पूरा गरेका उनले बंगलादेश मेडिकल कलेज (ढाका विश्वविद्यालय)बाट सन् २००२ मा एमबीबीएस उतीर्ण गरेका थिए ।

एमबीबीएसपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप पूरा गरे । त्यसपछि सोही अस्पतालमा करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा कार्यरत रहे । पछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी गरे ।

एमडीपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिस्ट्रारका रूपमा आबद्ध भए । दुई वर्षपछि स्थायी नियुक्ति पाएदेखि निरन्तर केन्द्रमै कार्यरत छन् ।

गंगालालमा ४ वर्ष सेवा गरेपछि उनले मलेसियामा कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिप पूरा गरेका थिए । सात वर्षदेखि केन्द्रको कार्डियाक एनेस्थेसिया विभागको विभागीय प्रमुख रहेका उनले सन् २०१२ मा गंगालालमा रजिष्ट्रारका रुपमा जागिर सुरु गरेका थिए ।

नेपालमा कार्डियाक एनेस्थेसियाका अनुभवी चिकित्सकमध्ये एक मानिने डा. अमात्यले गंगालालमा एनेस्थेसिया सेवाको विस्तार, दक्ष जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।

गंगालाल निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय