२२ साउन, धनकुटा । मोरङको लेटाङबाट धनकुटाको छ नम्बर बुधबारे हुँदै पाँचथर र पश्चिमी इलामलाई तराईसँग सबैभन्दा छोटो दूरीमा जोड्न सडक निर्माण थालिएको ४५ वर्ष पुगिसक्यो ।
‘लेटाङ–छ नम्बर बुधबारे सडक’का नामले परिचित यो सडक निर्माणको आधा शताब्दि पुग्नैलाग्दा अझै निर्माण कार्य पूर्ण रूपमा भने सकिएको छैन ।
सडकको सपना देखेका एक पुस्ता उहिल्यै अस्ताइसक्यो । उतिबेलाको तन्नेरी पुस्ता अहिले वृद्ध भइसकेको छ । तर, सुरक्षित सडकको सपना अहिलेको युवा पुस्ताले पनि देख्नुपरिरहेको छ ।
मोरङको तत्कालीन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च नीरविक्रम किराँतीले पनि प्रधानपञ्च हुँदा नै सडक सपना देखेका थिए । सपना आफूले मात्रै देखेका थिएनन्, गाउँलेलाई पनि देखाउनेमध्येका एक थिए ।
त्यो बेला २०३८ सालमा उनी ३७ वर्षका युवा थिए । अहिले ८२ वर्षका भएका छन् । ‘उमेरले डाँडो काट्यो, आफैले सुरु गरेको सडकले अझै पूर्णता पाउनसकेन’, उनी भन्छन् ।

२०३८ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाको छ नम्बर बुधबारेमा सडकको शिलान्यास गरेका थिए । त्यसबेला ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत धनकुटा, पाँचथर र मोरङका स्थानीयले श्रमदान गर्दै सडक खन्न थालेका थिए । तर, २०४० सालमा सरकार परिवर्तन भएसँगै निर्माण कार्य रोकिएको थियो ।
पछिल्ला वर्षहरूमा बजेट अभाव र राजनीतिक परिवर्तनसँगै सडकले प्राथमिकतामा पाउन नसकेको हो । बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले आफ्नै श्रम र लगानीमा सडक निर्माणलाई पुन: सुरु गरेका थिए ।
२०५० सालतिर पाँचथरको तत्कालीन लिम्बा गाविसका उपाध्यक्ष थिए मेघराज घिमिरे । त्यो बेला स्थानीयको सामूहिक प्रयासबाट ट्रयाक खोल्न सफल भएको उनी बताउँछन् । ‘त्यो बेला मानिस हिँड्नसक्ने अवस्था बन्यो भने थप स्तरोन्नतिपछि २०६४ सालदेखि सवारीसाधन सञ्चालन हुनथालेका थिए,’ उनी भन्छन् ।
तर सडकको कालोपत्र भने पूरा हुन सकेको छैन । ‘सडक अझै पनि जोखिमपूर्ण छ । वर्षायाममा पहिरो, हिलो र साँघुरो सडकका कारण यात्रुहरुले दैनिक जोखिम मोल्नुपर्ने अवस्था छ,’ घिमिरे भन्छन् ।
लामो प्रतीक्षापछि २०८० वैशाख २८ गते तीन वर्षभित्र सडक कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता भएको थियो । मोरङको लेटाङदेखि धनकुटाको छ नम्बर बुधबारेसम्मको २९ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्न सन्तोषी जोया एन्ड ब्रदर्स जेभीले ७७ करोड ३ लाख ५३ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।
तर, सम्झौताको अवधि सकिँदासमेत भौतिक प्रगति करिब ४० प्रतिशत मात्रै भएको छ । हालसम्म लेटाङतर्फबाट करिब ६ किलोमिटर सडक कालोपत्रे भएको छ भने १६ किलोमिटर कटिङ तथा केही स्थानमा सामान्य संरचना निर्माण भएको छ ।

सुरुमा वन क्षेत्रको स्वीकृति, विद्युतका पोल स्थानान्तरण तथा अन्य प्राविधिक समस्याका कारण काम ढिलो भएको निर्माण कम्पनीका प्रतिनिधी भीम पौडेलले बताए ।
निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कामले अपेक्षित गति लिन नसकेको चौबिसे गाउँपालिका–१ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताए ।
यता पूर्वाधार विकास कार्यालय मोरङले भने निर्माण कम्पनीले काम नछाडेकाले थप एक वर्ष म्याद थप्ने तयारी भइरहेको जनाएको छ ।
यस सडकको करिब ९० प्रतिशत भाग मोरङ र १० प्रतिशत भाग धनकुटामा पर्छ भने यसको प्रत्यक्ष लाभ पाँचथरका अधिकांश बासिन्दाले पाउने छन् । साथै धनकुटाको दक्षिणपूर्वी क्षेत्र, पश्चिमी इलाम र उत्तरी मोरङका नागरिकलाई पनि सहज आवागमनको सुविधा पुग्ने अपेक्षा रहेको छ ।
सडक पूर्णरूपमा कालोपत्र बनेपछि कृषि उत्पादन बजारसम्म छिटो पुग्ने, ढुवानी लागत घट्ने, स्थानीय क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन हुने तथा शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउने स्थानीयको अपेक्षा छ ।
प्रतिक्रिया 4