News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि आग्रह गर्नुभयो ।
- मन्त्री पोखरेलले खेल क्षेत्रको विकासका लागि दीर्घकालीन लगानी आवश्यक रहेको बताउँदै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता यसै वर्ष गर्ने जानकारी दिनुभयो ।
- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले मिसन–२०२६ को तयारीले खेलाडीको क्षमता विकासमा मद्दत पुगेको बताउनुभयो ।
२३ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्न आग्रह गरेका छन् ।
एसियाडमा सहभागी हुने खेलाडीको तयारीलगायतका विषयमा जानकारी लिन मन्त्री पोखरेलले गौशालास्थित पशुपति बुटिकमा पुगेर बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई भेटेका हुन् । एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पशुपति र सिनामंगलस्थित रोयल बुटिकमा राखिएको छ ।
खेलाडीलाई भेट्दै मन्त्री पोखरेलले एसियाडमा देशको प्रतिनिधित्व गर्दा आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्न आग्रह गरे। उनले खेलाडीको तयारी र उनीहरूले भोगिरहेका समस्याबारे समेत जानकारी लिएका थिए ।
मन्त्री पोखरेलले शिक्षा र खेलकुद दुवै क्षेत्रमा आज लगानी गरेर भोलि नै परिणाम प्राप्त गर्न नसकिने बताए । दीर्घकालीन लगानीबाट मात्रै अपेक्षित परिणाम प्राप्त हुने उल्लेख गर्दै उनले खेल क्षेत्र र खेलाडीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता यसै वर्ष सम्पन्न गर्ने तयारी रहेको पनि जानकारी दिए ।
टेनिस खेलाडी प्रदीप खड्काले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताए । खेलाडीको भावना प्रत्यक्ष बुझ्न खेलकुद मन्त्री स्वयं उपस्थित भएकोमा उनले धन्यवाद दिए ।
एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङले ‘मिसन–२०२६’ को तयारीले खेलाडीलाई धेरै फाइदा पुगेको बताइन् । उनले आगामी एसियाडमा उत्कृष्ट नतिजा हासिल गर्न खेलाडीले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले अब्बल प्रशिक्षकबाट मात्रै अब्बल खेलाडी उत्पादन गर्न सकिने बताए । त्यसैले खेलाडीको तयारीसँगै प्रशिक्षकको दक्षता अभिवृद्धिमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंह तथा राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4