+
+
Shares
नाइमा मोबिलिटी एक्स्पो :

गाडी कर्जामा बैंकहरूको अफर नै अफर, सस्तो ब्याजदेखि ‘स्वाप’ सम्म सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा देखिएको सर्वसाधारणको सहभागिताले बैंकहरूमा अटो कर्जाको माग सुधार हुने अपेक्षा बढाएको छ।
  • ग्लोबल आईएमई, एनएमबी र सिद्धार्थ बैंकले एक्स्पोका अवसरमा विशेष सहुलियत दरमा अटो कर्जा योजना सार्वजनिक गरेका छन्।
  • विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई बैंकहरूले आधार दरमा थप प्रिमियमसहित कर्जा र प्रक्रियागत शुल्कमा छुट दिने व्यवस्था गरेका छन्।

२८ साउन, काठमाडौं । बैंकहरूलाई कर्जा लगानी बढाउन हम्मे हम्मे परेका बेला अटो क्षेत्रले केही आशा बढाएको छ । यसै साताको मंगलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’मा देखिएको सर्वसाधारण सहभागिता र बैंकहरूमा आएको अटो कर्जाको सोधपुछले कर्जा मागमा सुधार आउने अपेक्षा बढेको हो ।

एक्स्पोमा बैंकका स्टलहरू पनि छन् । एक्स्पोमा आएका धेरैजसो आफूलाई मनपरेको गाडीको विशेषता बुझेपछि बैंकको स्टलमा जाने गरेको देखिन्छ । एक्स्पोमा ग्लोबल आईएमई, एनएमबी र सिद्धार्थ बैंकले प्रत्यक्ष सहभागिता जनाएका छन् ।

अटो लोन बैंकको कर्जा लगानीमा महत्वपूर्ण हिस्सा ओगटेको क्षेत्र हो । त्यसैले सबै बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा वा अटो लोन भनेर विभिन्न खालका योजनाहरू ल्याएका छन् । तर, नाइमा एक्स्पोमा गाडी छनोट गर्न आएकालाई कर्जा सम्बन्धी जानकारी तथा सहुलियत दरमा उपलब्ध गराउने बाचासहित बैंकहरुले तुलनात्मक रुपमा नाइमा केन्द्रित कर्जा योजना ल्याएका छन् ।

विगतका वर्षमा नाइमा एक्स्पोमा सहभागी सर्वसाधारणको सहभागिता बढेको ग्लोबल आईएमई बैंकका प्रतिनिधि मञ्जिल विष्टले बताए ।

उनका अनुसार गाडी हेर्न र कर्जाको योजना बनाउन बैंकको स्टलमा आउने ग्राहक बढेका छन् । ‘विगतमा अटो एक्स्पोमा गाडी हेर्ने बैंकको स्टलमा निकै कम संख्यामा मात्र ग्राहक आउने गर्नुहुन्थ्यो,’ विष्टले भने,‘ अहिले भने गाडी किन्ने योजना भएका व्यक्ति बैंकमा छलफल र योजनाका लागि आउने गरेको पाइयो, गाडी फाइनान्सिङ गरेर किन्नुपर्छ भन्ने बुझाइ बढेको छ ।’

त्यसैगरी एनएमबी बैंक र सिद्धार्थ बैंकका स्टल प्रतिनिधि पनि गाडीका स्टलमा जत्तिकै भिजिटर आएको बताउँछन् । पछिल्लो समयमा घर गाडी नगदमा भन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ गरेर खरिद गर्ने अभ्यास विकास भएको उनीहरूको भनाइ छ ।

बैंकहरूले आधार दरमा थोरै प्रिमियम थप गरेर अटो कर्जा योजना सञ्चालनमा ल्याएका छन् । त्यसैगरी प्रक्रियागत सहजीकरण सहित विभिन्न शुल्क समेत छुट दिने भएका छन् ।

ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष योजना ल्याएको छ । सो योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउनेछन् ।

नाइमा एक्सपोमा नयाँ ईभी किन्ने ग्राहकलाई सो बैंकले ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ । ३ वर्ष पछि उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।

त्यसैगरी बैंकले अटो लोन स्वाप गर्ने योजना पनि सञ्चालन गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङमा खरिद भएको गाडीलाई पुनर्मूल्याङ्कन गरी कर्जा दिने र पुरानो संस्थाको राफसाफ गरी ग्लोबलमा सार्न सकिने व्यवस्था पनि गरेको छ । ३ वर्ष भन्दा पुरानो गाडीको हकमा भने यस्तो सुविधा नभएको बैंकले जनाएको छ ।

त्यसगरी सिद्धार्थ बैंकले पनि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर विशेष सवारी कर्जा योजना ल्याएको छ । एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा रहेको सिद्धार्थ बैंकले सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकलाई लक्षित गर्दै ०.५ प्रतिशत मात्र प्रोसेसिङ शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा प्रदान गर्ने योजना सञ्चालनमा ल्याएको छ ।

बैंक तथा वित्तीय संस्थाले सेवा शुल्क स्वरुप कर्जा आकारको ०.७५ प्रतिशतसम्म शुल्क लिन पाउने व्यवस्था छ । बैंकका अनुसार यो विशेष योजना ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो अवधिभर लागू हुनेछ ।

एक्स्पोलाई लक्षित गर्दै एनएमबी बैंकले पनि विद्युतीय गाडी खरिदमा विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत नयाँ विद्युतीय गाडी खरिद गर्दा आधार दरमा थप ०.५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम हुने बैंकले जनाएको छ । नाइमा अटो एक्स्पोका अवलोकनकर्ता तथा सम्भावित खरिदकर्ताहरूले एक्स्पोमै रहेको एनएमबी बैकको स्टल वा देशभरका जुनसुकै शाखाबाट सहजै आवेदन दिन सक्ने बैंकले जनाएको छ । देशभर बैंकका १९८ शाखा कार्यालय रहेका छन् ।

माथिका बैंकहरुले नाइमा लक्षित योजना सञ्चालन गरेको भएपनि अन्य बैंक तथा वित्तीय संस्थाले पनि अटो कर्जा प्रदान गर्छन् । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले आधार दर र प्रिमियम जोडेर ब्याजदर तय गर्छन् । कर्जाको सीमा संस्थाअनुसार फरक छ । ब्याजदरको हकमा संस्था अनुसार फरक दर सहित स्थिर र परिवर्तनशील ब्याजदर कायम गरेका छन् । गाडीको मूल्य र कर्जाको अनुपातका सन्दर्भमा केन्द्रीय बैंकले नै सीमा तोकिदिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सवारी साधनमा कर्जा प्रदान गर्दा सवारीको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ । सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनको हकमा यहीं सीमा लागु हुनेछ ।

तर, सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिन्छ । केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाले डेढ खर्ब रुपैयाँ अटो कर्जा प्रदान गरेका छन् ।

एक्स्पोमा विभिन्न ५५ भन्दा धेरै ब्रान्डका विद्युतीय, डिजेल तथा पेट्रोल इन्जिनका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?