News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा केही हप्तायता जापानिज इन्सेफलाइटिसका कारण छ जनाभन्दा बढीको मृत्यु भएको छ भने आगामी दिनमा थप जोखिम बढ्ने देखिएको छ।
पछिल्लो केही हप्ता यता जेई अर्थात् जापानिज इन्सेफलाइटिसको कारण नेपालमा आधा दर्जन बढीले मृत्युवरण गर्नुपरेको तथ्यांक सार्वजनिक भएको छ । हाल कीटजन्य रोग देखिने सुरुवाती समय भएकाले आगामी दिनमा जेईको जोखिम थप बढ्न सक्ने देखिन्छ ।
कोभिड-१९ को महामारी लगतैको ट्रेन्ड हेर्दा जेईको तथ्यांक उकालो लाग्ने क्रम निरन्तर देखिन्छ । सन् २०२३ मा लगभग आधा दर्जनको हाराहारीमा देखिएको मृत्युको संख्या २०२४ यता ह्वात्तै बढेर कम्तीमा २ दर्जन बढी देखिँदै आइरहेको छ ।
लगभग दुई दशक भन्दा बढी नियन्त्रणमा राख्न सफल जेई भाइरस हाल नेपालमा किन निरन्तर बढ्दो छ भन्ने प्रश्न पेचिलो रूपमा खडा भएको छ ।
‘पाथ’ नामक एक अन्तरराष्ट्रिय संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार नेपालको तराईमा सन् २००५ मा झन्डै दुई हजारको ज्यान जेईको कारणले भएको थियो । यसमा बालबालिकाको संख्या धेरै थियो ।
लेखकले पनि मेडिकल अफिसरको रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा मनसुन सिजनमा जेईको कारणले हप्तैपिच्छे दर्जनौं बिरामीको मृत्यु हुने गरेको देखेको थियो ।
विशेषत त्यस्ता बिरामी तराईबाट नै आउने गर्दथे । तर सन् २००६ मा जेई विरुद्धको खोपलाई अभियानको रूपमा राष्ट्रिय स्तरमा प्रयोगमा ल्याए लगतै संक्रमणबाट हुने मृत्युदरमा उल्लेखनीय कमी आएको थियो । बालखोप कार्यक्रम अन्तर्गत भने सन् २००८ बाट केही जिल्लाबाट नमुनाको रुपमा सुरु गरिएको थियो ।
जेई भाइरसको धेरै मृत्युदर प्रायगरी १५ वर्ष मुनिका बालबालिका हुने गर्दछ । तर पछिल्लो समय जेई भाइरसको कम्ब्याक बालबालिकामा नभई वयस्कमा भएको देखिन्छ । अर्थात् बालखोप कार्यक्रममा जेई विरुद्धको खोप अनिवार्य भए सँगै वयस्कहरुमा यसको संक्रमण अनि मृत्यु हुने क्रम बढेको पछिल्ला तथ्यांकले देखाउँछ । यो नेपालका लागि अनुमान विपरीत भाइरसले गरेको आश्चर्यजनक ‘उमेर सिफ्टिङ’ भन्दा फरक नपर्ला ।
हुनत दुई दशक अगाडि नै वयस्कमा पनि यो भाइरसले संक्रमण गर्ने गरेको देखिएको थियो तर अहिले जस्तो दर्जनौंको मृत्यु हुने गरेको भने उल्लेख गरेको पाइँदैन । यसबाट नेपालले फेरि एकपटक जेईको गहन तर फरक शिराबाट सर्भेलेन्स/अध्यन गर्नुपर्ने देखिन्छ । गतवर्ष चितवनबाट एक जेई संक्रमित बिरामीका आफन्त मेरो सम्पर्कमा आइपुग्दा आफूले खोप लगाउन चाहेको तर कहाँ पाउछ भन्ने जानकारी नभएको भनेका थिए । अर्थात् नेपालको कुन क्षेत्र जेई जोखिममा छ त्यसको राम्रो अध्यन गर्नुपर्ने र त्यही अनुसार योजना बनाएर वयस्कहरूका लागि खोप उपलब्ध गराउनु पर्ने तथा जनचेतना तीब्र पार्नु पर्ने देखिन्छ ।
डेंगु, कालाज्वरो, मलेरियाजस्ता कीटजन्य रोगहरू सुरुमा तराई केन्द्रित देखिएता पछिल्लो वर्षहरुमा पहाड तथा हिमालनजिक पुगिसकेको जानकारीहरू सार्वजनिक भइसकेका छन् । जेई भाइरस पनि माथि उल्लेख गरेझैँ तराईमा मात्र सीमित नभएको विभिन्न अध्यनले देखाएका छन ।
सन् २००७ मा प्रकाशित एक अनुसन्धानले काठमाडौँमा ४० जनामा जेई भाइरस पुष्टि भएको र त्यस मध्ये ७५ प्रतिशत काठमाडौँ बाहिर नै नगएको अर्थात् उनीहरू स्थानीय लामखुट्टेबाट संक्रमित भएको उल्लेख गरिएको थियो । सो लेख प्रकाशित भएको झन्डै २० वर्ष पुग्नै लाग्दा अहिले काठमाडौँमा जेईको जोखिमता के छ भन्ने बारेमा हामी लगभग अनविज्ञ नै छौं । काठमाडौंमा भएको अव्यवस्थित घना बस्ती, तीब्र शहरीकरण, मानिसको बाक्लो आवतजावत अनि जेई बारेमा न्यून जानकारी, र स्थानीय स्तरमा जेई संक्रमित पुष्टि हुनुले काठमाडौँ पनि जेईको उच्च जोखिममा रहेकोमा नकार्न सकिदैन ।
तसर्थ जेईको पछिल्लो ३ वर्षयताको आक्रमकता तथा तिब्रतालाई मध्ये नजर गर्दा काठमाडौँमा पनि खोपको आवश्यकता अभियानको रुपमा अगाडि बढाउनु पर्ने हो वा होइन भन्नेमा ढिला गर्न नहुने देखिन्छ । डेंगु, कालाज्वरो, मलेरियाको भौगोलिक फैलदो उदाहरणलाई आधार मान्ने हो भने काठमाडौँ मात्र नभई अन्य पहाडि क्षेत्रहरूमा पनि जेईको सम्भावित जोखिमको अनुसन्धान आवश्यकता देखिन्छ र सोही अनुसार खोपको उपलब्धता अनि जनचेतनामुलक कार्यक्रमको योजना बनाउनु पर्ने हुन्छ ।
जेई एक संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्ने भाइरस हो । जेई भाइरस नेपालमा पहिलो पटक सन् १९७८ मा रुपन्देहीमा पुष्टि भएको थियो । जेईको मृत्युदर उच्च हुनुले पनि यो भाइरस कति गम्भीर छ भनेर बुझ्न सकिन्छ । संक्रमित मध्ये ३० प्रतिशतसम्मको मृत्यु हुने गर्दछ । नेपालमा पनि पछिल्लो वर्षहरूमा कम्तीमा २० प्रतिशत भन्दा बढी नै संक्रमितको मृत्यु हुने गरेको देखिन्छ ।
संक्रमित भएको ४ देखि १४ दिनमा जेई भाइरसका लक्षणहरू देखापर्ने गर्दछ । ज्वरो आउने, टाउको दुख्ने, घाँटीको मांसपेशीमा कडापन देखिने, भ्रामकता देखिने, कम्पन आउने, अचेत हुने, पक्षाघात हुने जस्ता स्वास्थ समस्याहरू देखिने गर्दछन् । तर झन्डै ३० प्रतिशत बिरामीमा उपचारपछि दीर्घकालीन स्वास्थ समस्याहरू जस्तै बेलाबेलामा कम्पन आउने, श्रवण तथा दृष्टिमा समस्या देखिने, बोलीमा समस्या देखिने, स्मरण शक्तिमा कमी तथा मांसपेशी कमजोर हुने देखिन सक्दछ । यसको निश्चित औषधि भने हुँदैन र लक्षणमा आधारित उपचार गर्नुपर्ने हुन्छ । तर जेईविरुद्ध प्रभावकारी खोप भने उपलब्ध भएको र बिगतमा यसको सफल प्रयोग समेत गरिसकेकोले यसको निर्विकल्प उपाय भनेको खोप नै हो ।
अन्तमा, मनसुन सुरु हुदा नै दर्जनौं मानिसको मृत्यु जेईको कारणले हुनु दुर्भाग्यपूर्ण हो । नेपालमा जेई भाइरस अझै लगभग तीन महिना सक्रिय हुने बिगतका तथ्यांकले देखाउँछ । र सबैभन्दा मुख्य कुरा भनेको यसको ‘पिक सिजन’ (अगस्ट-सेप्टेमबर महिना) बल्ल सुरु हुँदैछ ।अर्थात् जेईको ठूलो जोखिम बल्ल सुर भएको छ । नेपालमा जेईको प्रभाव बालबालिकाबाट वयस्कमा सिफ्ट हुँदै गर्दा कस्तो खोप अनि कुन उमेर समूहदेखि माथिकालाई आवश्यकता पर्छ भन्ने वैज्ञानिक निर्क्यौल गरी सिघ्र उपलब्ध गराउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया 4