+
+
Shares
व्यङ्ग्यविनोद :

माटो सुहाउँदो मार्क्सवाद

सरदारजीको प्रतिप्रश्न सुनेर हरिबहादुर ट्वाँ परिरहे। उनी आजसम्म पनि ट्वाँ नै छन्। र, फिजीका आदिवासी समूहका तिनै सरदार र आफ्ना सरदारको तर्कलाई बारम्बार तुलना गरिरहन्छन्।

शैलेश भट्टराई शैलेश भट्टराई
२०८३ भदौ ६ गते १६:३१
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिजीमा टोमस बेकरलाई मारेर खाने तयारी गर्दा नरभक्षी सरदारले आफू बेलायतमा पढेको र काँचो नभई पोलेर मासु खाने बताए।
  • नेपालको कथामा हरिबहादुर कम्युनिस्ट प्रशिक्षणपछि धर्म, चाडपर्व र कर्मकाण्ड त्याग्छन्, तर पछि ती नेता सत्तामा पुगेर उल्टो अभ्यास गर्छन्।
  • सरदारले काजकिरिया, होली वाइन, चुनावी प्रतीक र जनैसम्बन्धी आफ्ना गतिविधिलाई ‘माटो सुहाउँदो मार्क्सवाद’ भन्दै हरिबहादुरलाई जवाफ दिन्छन्।

बेलायतबाट टोमस बेकर नामका इसाई मिसनरी धर्म प्रचारका लागि सन् १८६७ मा फिजीको पहाडी इलाकामा पुगेका थिए। त्यहाँ उनी नरभक्षी आदिवासी समूहको पक्राउमा परे। त्यो समूहले अब उनलाई मारेर खाने तयारी गर्न थाल्यो। मारिने पक्का भएपछि उनले तिनीहरूको सरदारलाई भने- ‘मलाई मारेर खाऊ, तर मेरो एउटा प्रश्नको जवाफचाहिं देऊ।’

सरदारले प्रश्न राख्न अनुमति दियो।

टोमस बेकरले सरदारसामु प्रश्न राखे- ‘बोलीवचन र पहिरनले तपाईं पढालिखा र सभ्य देखिनुहुन्छ। यस्ता सभ्य मान्छेले संसारमा कहीं पनि मान्छेको मासुचाहिं खाँदैनन्, बुझ्नुभो ? पढाइलेखाइले तपाईंको सोच र व्यवहारमा रत्तिभर फरक पारेनछ हगि ?’

यति सुन्नासाथ सरदारले रोबिलो पारामा भन्यो- ‘हो, म पढालिखा छु। सभ्य छु। मैले बेलायतबाटै उच्च शिक्षा लिएको हुँ। तर, पढाइलेखाइले मेरो सोच र व्यवहारमा फरक पारेको छैन भन्ने तपाईंको ठम्याइ सरासर गलत छ। यही पढाइलेखाइले म यिनीहरूभन्दा धेरै प्रगतिशील सोचको छु। मेरो कबिलाका अरू मान्छेहरू अहिले पनि मान्छेको मासु हातैले लुछेर काँचै खान्छन्; तर म भने काँचो नखाई पोलेर वा पकाएर काँटा–चम्चाले मात्र खान्छु !’

(प्रसिद्ध स्तम्भकार बाबुलाल भण्डारीको फेसबुक वालबाट सम्पादन सहित साभार गरिएको यो ‘स्टाटस’ एउटा कथासँग मिल्दोजुल्दो छ।)

कथा नेपालकै हो। कथामा हरिबहादुर नामका एक पात्र छन्, जो आफ्नै काममा व्यस्त भइराखेका हुन्छन्। उनी आफ्नै धर्म, संस्कृति र रीतिरिवाजमा रमाइराखेका हुन्छन्। दशैं मनाउँछन्। तिहारमा गाई पुज्छन्। दीपावली गर्छन्। साकेलामा पनि मस्ती गर्छन्। छठ, गौरा आदि पनि मनाउँछन्। बुबा–आमा दिवङ्गत हुँदा काजकिरिया पनि गर्छन्। श्राद्ध, छेवर, व्रतबन्ध, रुद्री, होम, आहुति लगायतका सारा कर्मकाण्डहरू पनि गर्छन्।

खेतबारीमा काम गर्दागर्दै एक दिन उनी कम्युनिस्ट नामधारी समूहको प्रशिक्षणमा पर्छन्। प्रशिक्षण अवधिभर उनलाई दिक्क लाग्छ। आफूलाई अब यिनले नास्तिक बनाउने भए, मानिआएका चाडपर्व र रीतिथिति सब नमान्न कर गर्ने भए भनेर विरक्तिन्छन्।

जति विरक्तिए पनि हरिबहादुरलाई त्यो समूहले नामुद नास्तिक र भयानक भौतिकवादी बनाएरै छाड्छ। उनीहरूको प्रशिक्षणकलाको यो गज्जबको पाटो हो- तिनले प्रशिक्षण दिएपछि बरु प्रशिक्षक बदलिएला, तर प्रशिक्षित बदलिंदैन।

यसपछि हरिबहादुर दशैंमा जमरा राख्दैनन्। टीका लगाउँदैनन्। लगाइराखेको जनै च्वाट्टै चुँडाइदिन्छन्। तिहारमा न गाई पुज्छन्, न दिदीबहिनी पुज्छन्। न छठमा सूर्यदेवको पूजाअर्चना नै गर्छन्। न साकेलामै रमाउँछन्। न गौरालाई गन्छन्। यो सब बकवास र झल्ला चलन हो भन्छन्। यस्ता झम्पाट कुराहरूमा समय बर्बाद नगरौं भन्छन्। यस्ता कुराले हाम्रो प्रगति हुँदैन भन्छन्।

समय बित्दै जान्छ। हरिबहादुरका कम्युनिस्ट भनिएका ती ‘भौतिकवादी’ गुरुहरू श्री ५ को गाउँमा पुग्छन्। ठ्याक्कै श्री ३ को आसन र शासनमा पुग्छन्। भौतिकवादी ती गुरुहरूको एउटा समूह पञ्चायतको पतनपछि र अर्को समूह राजतन्त्रको विघटनपछि पालैपालो श्री ३ र श्री ५ को आसन र शासनमा पटक–पटक, अनेक पटक विराजमान हुन पुग्छ।

विराजमान हुँदै जाँदा कोही थरीथरीका देवी–देवताहरूको फोटो ल्याएर तिनलाई पूजा गर्न थाल्छन् भने कोहीचाहिं मनुस्मृतिको व्याख्यामा जुट्छन्। कोही गेरुबस्त्रमा देशभरका मन्दिरहरूको दर्शनले नपुगेर विदेशमा पनि गेरुबस्त्रमै देखिन्छन्। कोही जनतालाई तेत्तीस कोटि भगवान्‌को पूजाविधि सिकाउनमा तल्लीन रहन्छन्।

कोही भने ‘होली वाइन’ पिउने कला सिकाउनमा मग्न हुन्छन्। सत्ताको चरम सुखबाट विमुख हुने डरले त्यो समूह अब कालो बिरालोले बाटो काट्दा हँसिया–हथौडाको झण्डा फहराउँदै एकछिन टक्क उभिएर आफ्नो गन्तव्य बदल्ने हुन्छ। कालो बोको बलि नदिई कुनै पनि शुभकार्य आरम्भ नै गर्दैन।

आँखा फर्फराउँदा महिला वा पुरुष कसको कुन आँखा फर्फराएको, सोही मुताबिक आफ्ना दैनिकीहरू निर्धारण गर्न सक्षम हुन्छ। कोही भने भगवान् शिवको आत्माको खोजमा तल्लीन रहन्छन् अनि कोही भगवान् रामको समाधिस्थलको खोजीमा राज्यस्रोत रित्याउँछन्।

तिहारमा पुष्पलालको फोटो गाईमाथि राखेर गाई पुज्न थाल्छन्। स्कूल, कलेज, अस्पताल आदिमा अकूत नाफाको धुनधान ग्यारेन्टी हुन्छ भने मन्दिर, गुम्बा र चर्चहरूमा राज्यको लगानी शानदार रूपले बढ्न थाल्छ।

हरिबहादुरका गुरुहरूले जति चोला फेरे पनि हरिबहादुर भने नास्तिक नै रहन्छन्। धर्मनिरपेक्षतावादी नै रहन्छन्। भौतिकवादी नै रहन्छन्। त्यसैले गुरुहरूका छाँट–छाँटका यस्ता कला देखेर हरिबहादुर चकित हुन्छन्। तीनछक्क पर्छन्।

छक्क नपरुन् पनि किन ? जसले उनलाई त्यो भाँडिम प्रशिक्षण दिएर भयानक भौतिकवादी बनाएको थियो, तिनीहरूको त्यो रूप आफ्नै आँखाले देख्नुपरेको छ। त्यति मात्रै हो र ! हरिबहादुरले अखण्ड अध्यात्मवादी हुँदा नै दुत्कारेका अन्धविश्वासका कतिपय अभ्यासहरू समेत तिनले ससम्मान टपक्कै टिपेको दृश्य समेत देख्नुपरेको छ।

यो आश्चर्यचकित मुद्रा उनले धेरैबेर तय गर्छन्। किनभने प्रश्न सोध्नलाई कम्युनिस्ट भनिएका समूहका सरदार श्री ३ र श्री ५ को ठाउँमा पुगेका हुन्छन्, जसलाई प्रश्न सोध्नु आफैंमा डरमर्दो थियो। भयानक र आत्मघाती थियो। ज्यान हत्केलामा राख्नु बराबर थियो।

संयोगवश एकदिन उनले सरदारलाई भेट्छन्। भएभरको साहस जुटाएर तत्कालै एकै सासमा एउटा प्रश्नचाहिं सोधिहाल्छन्- ‘नामले तपाईंहरू खाँटी मार्क्सवादी हो। मेरो बुझाइमा मार्क्सवादी मान्छे संसारमा कहीं पनि यस्ता हुँदैनन्। मार्क्सवादको पढाइलेखाइले तपाईंको सोच र व्यवहारमा केही फरक पारेनछ हगि ?’

यति सुन्नासाथ कम्युनिस्टका ती सरदारले हरिबहादुरलाई नचिने झैं गर्दै रोबिलो पारामा भने- ‘हो, हामीले मार्क्सवाद पढ्या छौं। हामीले मार्क्सवादी संस्कार नै अवलम्बन गरेका छौं। मार्क्सवादको पढाइले हाम्रो सोच र व्यवहारमा फरक पारेको छैन भन्ने तपाईंको सोच सरासर गलत छ। यही पढाइले हामी हाम्रा अरू इष्टमित्र र समकालीन कम्युनिस्टहरूभन्दा धेरै प्रगतिशील सोचका छौं।’

सरदारले उदाहरण दिंदै भने- ‘हाम्रो समाजमा बाउआमा मर्दा छोराले मात्र काजकिरिया गर्छन्। छोरा नभई काजकिरिया गर्ने कोही हुँदैनन्। त्यसैले तीन–चार वटी छोरी भए पनि छोरा जन्माउनैपर्ने बाध्यता छ। तर हामीले अस्ति भर्खर हाम्रा एक जना महिला कमरेडको पिताको देहान्त हुँदा छोरी नै भए पनि उहाँलाई पूरा विधिविधानका साथ काजकिरिया गर्न लगायौं। छोरी भएर पनि एक वर्षसम्म सेतो वस्त्र धारण गराउँदै उहाँलाई नै बरखी बार्न लगायौं। अब श्राद्ध, सोह्रश्राद्ध लगायतका सारा पितृकार्यहरू पनि उहाँले नै गर्नुहुनेछ। यो कसरी गैरमार्क्सवादी गतिविधि भयो ?’

बडो आत्मविश्वासका साथ सरदारले हरिबहादुरलाई फेरि प्रशिक्षण दिंदै भन्छन्- ‘यो त माटो सुहाउँदो मार्क्सवाद हो। मार्क्सवाद शब्दमा होइन, भावनामा हेर्ने गरौं। त्यसमाथि मार्क्सवादले काजकिरिया, श्राद्ध आदि गर्नु वा नगर्नु केही भनेको छैन।’

हरिबहादुर छक्क पर्छन्। यति धेरै छक्क शायद जीवनमा उनी कहिल्यै परेका थिएनन्। तर केही बोलेनन्। प्रतिप्रश्न पनि गरेनन्।

उता सरदारले तर्क गरिरहे- ‘हाम्रो समुदायमा एकाह, सप्ताह, नवाह पुराणको आयोजना हुँदा हँसिया–हथौडा अङ्कित रक्तरञ्जित झण्डाको झण्डोत्तोलन नगरी त्यस्ता कार्यक्रमको शुभारम्भ नै गर्दैनौं। होली वाइनलाई पहिला हाम्रा अष्टचिरञ्जीवी अर्थात् मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, पुष्पलाल, मनमोहन र मदनको तस्बिरमा तुरुक्तुरुक् चढाउँछौं अनि मात्र पिउँछौं र यो पेयलाई हाम्रो समूहको ‘पार्टी पेय’ का रूपमा अङ्गीकार गरिसकेका छौं। यो कसरी मार्क्सवादसम्मत भएन ?’

हरिबहादुरसँग अब सुन्नु, केवल सुन्नु एक मात्र विकल्प रह्यो। सरदारजीलाई श्री ३ को आसनमा बस्ने बानी लागेदेखि प्रश्न मन पर्दैन। प्रश्न त मन नपराउने सरदारजीलाई प्रतिप्रश्न झन् मन पर्ने कुरै थिएन। त्यसैले उनी चुपचाप सुनिरहन्छन्।

सरदारजी आफ्नो उपलब्धि वर्णन गरिरहन्छन् र भन्छन्- ‘अघिल्लो चुनावमा हाम्रा एक जना महिला उम्मेदवारको देहान्त भयो। उहाँको स्थानमा हामीले उहाँकै पतिलाई सेतो वस्त्र धारण गर्न लगाएर चुनावमा उतार्‍यौं र सहजै जित निकाल्यौं।

तागाधारी समुदायका कम्युनिस्टलाई पार्टी सदस्यताका लागि जनै धारण अनिवार्य गरिएको छ। यस्ता प्रगतिशील सोचका धनी हामी कसरी गैरमार्क्सवादी हुन सक्छौं ?’

सरदारजीको प्रतिप्रश्न सुनेर हरिबहादुर ट्वाँ परिरहे। उनी आजसम्म पनि ट्वाँ नै छन्। र, फिजीका आदिवासी समूहका तिनै सरदार र आफ्ना सरदारको तर्कलाई बारम्बार तुलना गरिरहन्छन्।

लेखक
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?