News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिकाबारे विश्व मौसम एट्रिब्युसनको अध्ययन यसै साताको बुधबार सार्वजनिक हुने तय भएको छ।
- अध्ययनले २०७२ सालको भूकम्प, हिमनदी परिवर्तन, हिउँ पग्लिनु र तापक्रम वृद्धिले पहाडी भूभाग कमजोर बनाएको सम्भावनालाई एकसाथ मूल्याङ्कन गर्दैछ।
- सन् २०२४ को बाढीबारे डब्ल्यूडब्ल्यूएले मानवजन्य जलवायु परिवर्तनका कारण वर्षा १८ प्रतिशत बढी तीव्र र सम्भावना दुई गुणाभन्दा बढी भएको निष्कर्ष निकालेको थियो।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले उत्पन्न गरेको विपद्पछि एउटा प्रश्न राष्ट्रिय परिधिमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय बहसको प्रमुख विषय बनेको छ। यो विपद्को अनेकन कारक तत्वहरूमा जलवायु परिवर्तनले कत्तिको भूमिका खेल्यो त ? आम जनमानसमा व्याप्त चासो – जिज्ञासा, सम्बधित विषयका विज्ञहरूबीचको पैरवी र राजनीतिक तहमा यस घटनालाई जलवायु परिवर्तन, जलवायु न्याय तथा क्षति एवम् नोक्सानीको विविध कोणहरूबाट व्याख्या गरिएको छ।
स्वभावत : नेपालजस्तो जलवायु परिवर्तनमा न्यून योगदान गर्ने तर जलवायुजन्य जोखिमको उच्च सामना गरिरहेको देशका लागि यस्तो बहस आवश्यक छ। जलवायु परिवर्तनका कारण बढिरहेको जोखिमका लागि अन्तर्राष्ट्रिय सहयोग, अनुकूलन वित्त र क्षति तथा नोक्सानीका विषयमा नेपाल अझ मुखरित हुनुपर्छ। तर केवल यही प्रश्नमा अल्झिएर यसभन्दा पृथक र उतिकै महत्वपूर्ण प्रश्नहरूलाई उपेक्षा भने गर्न मिल्दैन। आफ्नो क्षतिपूर्तिको बारेमा दुहाई दिईराख्दा हामीले यसको वैज्ञानिक पक्षलाई पनि समान्तर तरिकाले लैजान सक्नुपर्छ। यसका लागि हामीले आफूलाई प्रश्न गर्नुपर्ने अवस्था आएको छ – हामीसँग त्यसको वैज्ञानिक प्रमाण कति छ?
जलवायु परिवर्तन र विपद्बीचको सम्बन्धलाई लिएर नेपालमा धेरैजसो सामान्यीकृत तवरमा बहस हुने गरेको छ। हाम्रा वहसका समग्रतालाई केही क्रियापदहरूमा संक्षेपीकृत गर्न सकिन्छ, जस्तो कि – हिमाल तातिरहेको छ, हिमनदी पग्लिरहेका छन्, हिमताल बढिरहेका छन्, वर्षाको स्वरूप बदलिरहेको छ-यी सबै तथ्यले जलवायु परिवर्तनका कारण नेपालको जोखिम बढिरहेको देखाउँछन्। तर कुनै एउटा निश्चित विपद्को सन्दर्भमा ‘जलवायु परिवर्तनले कति भूमिका खेल्यो?’ भन्ने प्रश्न अलि फरक हो।
यसका लागि क्लाइमेट एट्रिब्युसन अर्थात् कुनै घटनाको सम्भावना वा तीव्रतामा मानवजन्य जलवायु परिवर्तनले पारेको प्रभावलाई वैज्ञानिक रूपमा छुट्याएर हेर्नुपर्छ। यस्तो वैज्ञानिक प्रश्नको उत्तर खोज्ने काम विश्वभरका वैज्ञानिकहरूले विभिन्न अनुसन्धान सहकार्य र विधिमार्फत गरिंदै आएका छन्।
त्यसमध्ये विषम मौसमी तथा जलवायुसँग सम्बन्धित घटनामा जलवायु परिवर्तनको भूमिका तत्काल मूल्याङ्कन गर्न सक्रिय अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य हो-वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए)। डब्ल्यूडब्ल्यूए विश्वभरका जलवायु वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सहकार्य हो, जसले कुनै विषम मौसमीय घटना मानवजनित जलवायु परिवर्तनका कारण कति बढी सम्भावित वा तीव्र भएको थियो भन्ने वैज्ञानिक रूपमा मूल्याङ्कन गर्छ। सन् २०१४ मा स्थापना भएको डब्ल्यूडब्ल्यूएले त्यसयता विश्वका विभिन्न भागमा भएका तातो लहर, अत्यधिक वर्षा, खडेरी, बाढी, डढेलो र शीतलहरलगायत सयभन्दा बढी चरम मौसमीय घटनाको एट्रिब्युसन अध्ययन गरिसकेको छ।

नेपालको परिप्रेक्षमा भने यस्ता अध्ययनहरू अहिलेसम्म अत्यन्त सीमित रूपमा हुने गरेका छन्। सन् २०२४ को सेप्टेम्बरमा आएको विनाशकारी वर्षा र बाढीबारे डब्ल्यूडब्ल्यूएले गरेको अध्ययन नेपालमा कुनै विपद््मदमा जलवायु परिवर्तनको प्रभावलाई परिमाणात्मक रूपमा मूल्याङ्कन गर्ने प्रमुख र हालसम्मको एकमात्र प्रकाशित इभेन्ट-एट्रिब्युसन अध्ययन हो। उक्त अध्ययनले सन् २०२४ को तीन-दिने अत्यधिक वर्षा हुनुमा मानवजन्य जलवायु परिवर्तनका कारण करिब १८ प्रतिशत बढी तीव्र भएको र त्यस्तो घटना हुने सम्भावना दुई गुणाभन्दा बढी भएको अनुमान गरेको थियो। यद्यपि विभिन्न अब्जर्भेसनल डेटासेट्सबीचको भिन्नताका कारण यी संख्यामा केही अनिश्चितता रहेको अध्ययनले स्पष्ट पारेको थियो।
यस किसिमको प्रमाणले जलवायु परिवर्तनबारेको बहसलाई केवल ‘जलवायु परिवर्तनका कारण यस्तो भयो’ भन्ने सामान्यीकृत कथनबाट उठाएर ‘जलवायु परिवर्तनले जोखिमलाई यति हदसम्म परिवर्तन गरेको देखिन्छ’ भन्ने प्रमाणमा आधारित तथ्यको तहमा पुर्याउँछ।
तर रसुवा-भोटेकोशीको घटना भने जलवायु एट्रिब्युसनका दृष्टिले निकै जटिल छ। यो कुनै एउटा चरम मौसमीय घटनाको प्रत्यक्ष परिणाम मात्र थिएन। एउटा ठूलो चट्टान-हिम एभालान्चबाट सुरु भएको प्रक्रियाक्रममा चट्टान, हिउँ र डेब्रिस तीव्र गतिमा तल झरे र पछि डेब्रिस फ्लोमा परिणत भए। यसमा पहाडको भूगर्भीय बनोट र पहिले नै रहेको कमजोरीले कहाँ र कसरी हिम चट्टान भत्कियो भन्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ। त्यसैले यहाँ जलवायु परिवर्तनलाई घटनाको एकमात्र कारणका रूपमा भन्दा पहिलेदेखि नै जोखिममा रहेको पहाडी भूभागलाई थप अस्थिर बनाउन सक्ने एउटा कारकका रूपमा हेर्नु बढी उपयुक्त हुन्छ।
यसकारण रसुवा-भोटेकोशीको अध्ययन सामान्य एट्रिब्युसन अध्ययनभन्दा फरक ढंगले गर्नुपर्ने हुन्छ। सामान्यतया यस्ता अध्ययनले एउटा स्पष्ट मौसमीय घटना ( जस्तै अत्यधिक वर्षा वा हिटवेभ ) मा जलवायु परिवर्तनको प्रभाव कति थियो भनेर हेर्ने गर्छ, तर भोटेकोशीमा एउटा मात्र मौसमीय घटना छुट्याएर हेर्न सकिँदैन।

तसर्थ, यहाँ प्रश्न ‘विपद् हुनुअघि हिमाली पहाडको प्रणाली कस्तो अवस्थामा पुगेको थियो, र त्यो अवस्था निर्माण गर्न तथा अन्ततः घटना निम्त्याउन जलवायु परिवर्तनले कस्तो भूमिका खेलेको थियो?’ भन्ने हो।
अहिले भइरहेको डब्ल्यूडब्ल्यूए अध्ययनले घटनालाई असर गर्न सक्ने विभिन्न प्रक्रियालाई एकसाथ अध्ययन – अवलोकन गर्छ। लामो समयदेखि पहाडको स्थिरतामा असर पार्न सक्ने प्रक्रियामा २०७२ सालको भूकम्प, हिमनदीमा आएको परिवर्तन, हिउँ पग्लिएर पानी चट्टानभित्र पस्ने प्रक्रिया र तापक्रम बढेसँगै केही ठाउँमा हिउँको सट्टा पानी पर्ने परिवर्तन जस्ता विषय छन्।
त्यसैगरी, विपद् हुनुअघिको अवस्थालाई पनि उतिकै महत्वका साथ हेरिँदैछ-त्यो समयमा जिरो डिग्रीको सीमारेखा कति माथि थियो, अघिल्ला दिन र हप्तामा तापक्रम कस्तो थियो, अघिल्लो जाडोमा हिमपात कति असामान्य थियो, र विभिन्न उचाइमा तापक्रम कसरी बदलिँदै गएको छ भन्ने जस्ता प्रश्नहरूलाई केलाउने काम भईरहेको छ।
अर्को शब्दहरूमा, यहाँ प्रश्न ‘त्यो दिन मौसम कस्तो थियो?’ भन्ने मात्र होइन, मौसमको सामयिकतालाई मात्र केन्द्रीय विषय मान्ने होइन। प्रश्न यो पनि हो-लामो समयदेखि बदलिँदै आएको जलवायु र वातावरणले पहिलेदेखि नै संवेदनशील रहेको पहाडी भूभागलाई कसरी प्रभावित गरिरहेको थियो? कुनै हिमाली चट्टानी भूभाग एकै दिनमा अस्थिर हुँदैन। यसको स्थिरता वर्षौं वा दशकौंमा क्रमशः परिवर्तन हुन सक्छ। विभिन्न प्राकृतिक तथा जलवायुजन्य प्रक्रियाले चट्टान र त्यससँग जोडिएको भूभागलाई बिस्तारै कमजोर बनाउन सक्छन् र अन्ततः कुनै निश्चित अवस्थामा पुग्दा फेलियर हुन सक्छ।
यही जटिल प्रश्नलाई वैज्ञानिक रूपमा बुझ्न वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) ले पनि रसुवा-भोटेकोशी घटनाको अध्ययन गरिरहेको छ। अध्ययनले दीर्घकालीन जलवायु तथा हिमाली प्रक्रियादेखि विपद्् हुनुअघिका मौसमीय अवस्थासम्मलाई सँगै हेर्दै जलवायु परिवर्तनको सम्भावित भूमिकाको मूल्याङ्कन गर्दैछ।
यसमा २०७२ सालको गोरखा भूकम्प र त्यसपछि आएका साना-मझौला भूकम्पहरूले भू-संरचनामा पारेको सम्भावित पूर्वक्षति (प्रिकन्डिसनिङ), हिमनदीमा आएका परिवर्तन, हिमढिक्का (पर्माफ्रोस्ट) कमजोर हुँदै जानु, हिउँ पग्लिएर बनेको पानी चट्टानभित्र प्रवेश गर्ने प्रक्रिया र तापक्रम बढेसँगै केही उचाइमा प्रिसिपिटेसन हिउँबाट वर्षातर्फ सर्नुजस्ता प्रक्रिया पर्छन्। साथै, विपद् हुनुअघिको मौसम तथा हिमावस्थालाई पनि हेरिँदैछ-जिरो-डिग्री आइसोथर्म कति माथि थियो, अघिल्ला दिन र हप्ताको तापक्रम कस्तो थियो, अघिल्लो जाडोमा हिमपात कति असामान्य थियो र दीर्घकालीन तापक्रम वृद्धिमा मानवजन्य जलवायु परिवर्तनको संकेतलाई अध्ययन गरिंदै छ।
यी प्रक्रियालाई अलग-अलग होइन, एउटै प्रणालीका रूपमा बुझ्नु आवश्यक छ। उदाहरणका लागि, बढ्दो तापक्रमले हिउँ पग्लिने र पानी चट्टानभित्र प्रवेश गर्ने प्रक्रियालाई बदल्न सक्छ भने प्रिसिपिटेसनको फेज पनि हिउँबाट वर्षातर्फ सर्न सक्छ। यस्ता परिवर्तन पहिले नै कमजोर भएको भू-संरचनासँग जोडिँदा हिमाली चट्टानी भूभागको स्थिरतामा थप प्रभाव पर्न सक्छ।

यही अन्तरसम्बन्धले रसुवा-भोटेकोशी घटनाको एट्रिब्युसनलाई जटिल बनाउँछ। यस्तो अवस्थामा नेपाल सरकारको आधिकारिक धारणाहरू जतिसक्दो चाँडै सार्वजनिक गर्न जरुरी हुन्छ। दैनिक सिचुएसन रिपोर्ट, सरकारको आधिकारिक तथ्याङ्क, एनालिसिसहरूले अहिलेसम्म जे पत्ता लगाएका छन् र जे-जे पत्ता लगाउन बाँकी छ- तिनीहरूलाई सकेसम्म अंग्रेजी भाषामा सार्वजनिक गर्न जरुरी हुन्छ।
डब्ल्यूडब्ल्यूए अध्ययनको निष्कर्ष यसै साताको बुधबार सार्वजनिक हुने तय भएको छ। यसले रसुवा-भोटेकोशी घटनामा जलवायु परिवर्तनको भूमिकाबारे, विशेषगरी दीर्घकालीन जलवायु परिवर्तन, हिमाली भूभागको बदलिँदो अवस्था र विपद् अघिका मौसमीय अवस्थाबीचको सम्बन्धबारे थप वैज्ञानिक प्रमाण दिनेछ।
यस्तो प्रमाणले नेपालको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय धारणा र तर्कलाई थप प्रमाणमा आधारित र विश्वसनीय बनाउन सक्छ। जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीका विषयमा नेपालले उठाउँदै आएको आवाजलाई जलवायु परिवर्तनले नेपालमा विपद् जोखिम कसरी र कति बदलिरहेको छ भन्ने वैज्ञानिक प्रमाणसँग जोड्न यसले मद्दत गर्नेछ। यसले अन्तर्राष्ट्रिय तहमा नेपालको जलवायु तथा विपद् कूटनीतिलाई पनि थप बलियो बनाउन सक्छ।
प्रतिक्रिया 4