+

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

२०८३ भदौ  ३१ गते १८:३८ २०८३ भदौ ३१ गते १८:३८
Shares
बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपछि सुरक्षित पानी, साबुनपानीले हात धुने बानी, खाना छोपेर राख्ने र झाडापखाला भए ओआरएस प्रयोग गरी गम्भीर लक्षणमा स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्छ।

तीन साताअगाडि आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । घर, सडक, पुल र बजार बगायो । खानेपानीका संरचना क्षतिग्रस्त भए । कतिपय परिवार विस्थापित भएर अस्थायी आश्रयमा बस्न बाध्य भए ।

अब बाढी प्रभावित समुदायले अर्को कम देखिने जोखिमको सामना गरिरहेका छन् । त्यो हो, दूषित पानी र खानाबाट फैलिन सक्ने झाडापखाला तथा अन्य पानीजन्य र खाद्यजन्य रोग । बाढीपछि खानेपानी र सरसफाइका संरचना बिग्रनु, मानिसहरू भीडभाडमा बस्नु, शौचालयको अभाव हुनु र स्वास्थ्य सेवामा पहुँच कठिन हुनुजस्ता कारणले सरुवा रोग फैलिने जोखिम बढ्छ ।

त्यसैले, बाढीको पानी घटेपछि पनि केही समयसम्म पानी, खाना र सरसफाइमा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ ।

बाढीको पानी सफा देखिए पनि दूषित

बाढीको पानी सफा देखिए पनि त्यसलाई पिउन वा घरायसी प्रयोजनमा प्रयोग गर्नु सुरक्षित हुँदैन । यसमा ढल, मानव तथा जनावरको दिसा, मरेका जनावर, फोहोर, रसायन तथा विभिन्न रोगका जीवाणु र परजीवी मिसिएका हुन सक्छन् ।

विशेषगरी भोटेकोशी र त्रिशूलीजस्ता नदीमा ठूलो बाढी आएपछि शव, मृत जनावर, फोहोर तथा अन्य प्रदूषक पदार्थ बगेर मिसिएको हुन सक्ने भएकाले नदीको पानी प्रयोग नगर्न र नदीबाट माछा तथा अन्य जलजन्य पदार्थ नसमात्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

त्यसैले, पिउन, खाना पकाउन, दाँत माझ्न तथा खाना तयार गर्न सुरक्षित वा प्रशोधित पानी मात्र प्रयोग गर्नुपर्छ । पानी सुरक्षित हो कि होइन भन्नेमा शंका छ भने त्यसलाई प्रयोग नगर्नु नै सुरक्षित हुन्छ ।

पिउने पानी सुरक्षित राख्ने

बाढी प्रभावित क्षेत्रमा घरमा उपलब्ध पानीलाई सुरक्षित राख्नु पहिलो प्राथमिकता हुनुपर्छ । सम्भव भएसम्म पिउने पानी उमालेर प्रयोग गर्नुपर्छ । उमालेको पानी सफा र ढाकिएको भाँडोमा चिस्याएर राख्नुपर्छ । पानी निकाल्दा हात, कप वा अन्य फोहोर वस्तु सिधै भाँडाभित्र नहाल्ने र सकेसम्म सफा भाँडोबाट पानी निकाल्ने गर्नुपर्छ ।

अस्थायी शिविर वा आश्रयस्थलमा पानीका भाँडा शौचालय, फोहोर, जनावर तथा बाढीको पानीबाट टाढा राख्नुपर्छ । पानीको भाँडो सधैं छोपेर राख्नु आवश्यक हुन्छ । विशेषगरी शिशु तथा साना बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, कुपोषित व्यक्ति र दीर्घरोग भएका व्यक्तिका लागि सुरक्षित पानी झनै महत्वपूर्ण हुन्छ ।

बाढीले छोएको खाना नखाने

खाना हेर्दा सामान्य देखिनु वा नराम्रो गन्ध नआउनुले मात्र त्यो खाना सुरक्षित छ भन्ने हुँदैन । बाढीको पानीले छोएको खानामा आँखाले देख्न नसकिने रोगका जीवाणु हुन सक्छन् । त्यसैले, बाढीको पानीले छोएको फलफूललगायत खाद्य पदार्थ प्रयोग गर्नु हुँदैन ।

प्याकेटमा बन्द गरिएका खानेकुरासमेत बाढीको पानीले छोएको, प्याकेट फुटेको, चुहिएको वा अस्वाभाविक रूपमा फुलेको छ भने प्रयोग गर्नु हुँदैन । खाना सुरक्षित छ कि छैन भनेर चाखेर परीक्षण गर्नु पनि हुँदैन । शंका लागेको खाना फाल्नु नै सुरक्षित उपाय हो ।

नदीको माछाबाट पनि सावधानी

बाढीपछि नदीमा बगेर आएका प्रदूषित पदार्थका कारण माछा तथा अन्य नदीजन्य खाद्य पदार्थसमेत जोखिमपूर्ण हुन सक्छन् । धेरै परिवारका लागि माछा खानाका साथै आम्दानीको स्रोत पनि हुन सक्छ । तर बाढीको तत्कालीन अवस्थामा नदीमा मानव फोहोर, ढल, मरेका जनावर तथा अन्य प्रदूषक पदार्थ मिसिएको हुन सक्ने भएकाले प्रभावित नदीबाट माछा समात्ने, खाने वा बेच्ने कामबाट सावधानी अपनाउनुपर्छ ।

नदीको पानी र त्यहाँबाट निकालिएका खाद्य पदार्थ सुरक्षित भएको सम्बन्धित निकायबाट पुष्टि नभएसम्म प्रयोग नगर्नु राम्रो हुन्छ ।

साबुनपानीले हात धुनु सबैभन्दा सजिलो सुरक्षा

बाढीपछि सफा पानीको अभाव हुन सक्छ । तर उपलब्ध स्रोतबाट सुरक्षित पानीको व्यवस्थापन गरेर हात धुने बानीलाई निरन्तरता दिनुपर्छ । शौचालय प्रयोग गरेपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खुवाउनुअघि तथा फोहोर वा जनावर छोएपछि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ ।

साबुन र पानी तत्काल उपलब्ध नभएको अवस्थामा हातमा देखिने फोहोर नभए अल्कोहलयुक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सकिन्छ । तर सम्भव भएसम्म साबुन र सुरक्षित पानीले हात धुने व्यवस्था गर्नुपर्छ ।

खाना छोपेर राख्ने, राम्ररी पकाउने

बाढीपछि राहत शिविर वा अस्थायी बसोबासमा झिंगा, कीरा, मुसा र धुलोबाट खानालाई जोगाउन थप सावधानी आवश्यक हुन्छ । काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्नुपर्छ । खाना राम्रोसँग पकाएर सकेसम्म तातै खानु राम्रो हुन्छ । लामो समयसम्म कोठाको तापक्रममा पकाएको खाना राखिरहनु हुँदैन ।

खाना पस्किँदा पनि सफा हात र सफा भाँडाकुँडा प्रयोग गर्नुपर्छ । राहत सामग्री वितरण गर्ने संस्थाले समेत सुरक्षित खानेपानी, हात धुने व्यवस्था, ढाकिएको खाना, सफा भाँडाकुँडा र उचित फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

झाडापखाला लागेपछि सबैभन्दा ठूलो खतरा ‘डिहाइड्रेसन’

बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलिएमा त्यसको असर बालबालिकामा छिटो देखिन सक्छ । पटक–पटक पखाला वा बान्ता हुँदा शरीरबाट पानी र आवश्यक लवण बाहिरिन्छ र डिहाइड्रेसन हुनसक्छ ।

त्यसैले, पखाला लागेपछि पहिलो प्राथमिकता शरीरमा पानीको कमी हुन नदिनु हो । यसका लागि सुरक्षित पानीमा प्याकेटमा दिइएको निर्देशनअनुसार ओआरएस तयार पारेर दिनुपर्छ ।

शिशुलाई स्तनपान गराइरहेको भए निरन्तर स्तनपान गराइरहनुपर्छ । उमेरअनुसार उपयुक्त तरल पदार्थ र खाना पनि दिनुपर्छ । अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, चक्कर लाग्नु, पिसाब निकै कम हुनु, असामान्य कमजोरी देखिनु तथा बालबालिकामा असामान्य रूपमा सुस्त हुनु डिहाइड्रेसनका संकेत हुन सक्छन् ।

दिसामा रगत देखिएमा, उच्च ज्वरो आएमा, लगातार बान्ता भएमा, अत्यधिक कमजोरी भएमा वा डिहाइड्रेसनका लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको सम्पर्कमा जानुपर्छ ।

अबको तयारी पानी र सरसफाइबाट पनि

भोटेकोशी बाढीले विपद्को तयारी भनेको उद्धार र आश्रयको मात्र तयारी होइन भन्ने देखाएको छ । विपद्पछि सुरक्षित पानी, खाना, सरसफाइ र स्वास्थ्य सेवाको निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा राहतमा संलग्न संस्थाले सुरक्षित खानेपानीका स्रोत पहिचान गर्ने, पानी प्रशोधनका सामग्री उपलब्ध गराउने, हात धुने स्थान बनाउने, सुरक्षित शौचालयको व्यवस्था गर्ने र खाद्य सुरक्षाबारे सरल भाषामा जानकारी दिने कामलाई प्राथमिकता दिनुपर्छ ।

साथै, झाडापखाला वा हैजाजस्ता रोगका असामान्य घटना देखिएमा तत्काल पहिचान र उपचार गर्न रोग निगरानी प्रणालीलाई सक्रिय बनाउनुपर्छ । घरपरिवारले पनि आपतकालीन अवस्थाका लागि सुरक्षित पानी, ओआरएस, साबुन, ढाकिने पानीको भाँडो, सुख्खा खाना र आवश्यक स्वास्थ्य सामग्री छुट्टै राख्न सक्छन् ।

बाढीपछि ध्यान दिने कुरा

यदि दुषित पानी र खानपानले पखाला लागेमा शरीरमा पानीको कमी हुन नदिन ओआरएस जीवनजलको प्रयोग गर्न सकिन्छ । गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान सकिन्छ । बाढीले घर, सडक र संरचना मात्रै बगाउँदैन । त्यसले खानेपानी, सरसफाइ र स्वास्थ्य सुरक्षाको आधारसमेत कमजोर बनाउँछ ।

त्यसैले, बाढीको पानी घटेपछि जोखिम सकिएको ठान्नु हुँदैन । सुरक्षित पानी, सुरक्षित खाना, हातको सरसफाइ र समयमै उपचार– बाढीपछि आउन सक्ने अर्को स्वास्थ्य संकट रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय हुन् ।

खाना दूषित पानी बाढी
बबिता अधिकारी
लेखक
बबिता अधिकारी
पोषणविद्

अधिकारीले बाल पोषण विकासमा स्नातक र ग्रामीण विकासमा स्नाकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?