News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशका विकेटकिपर–ब्याटर अकबर अलीले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
- कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत अकबरलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
- अकबरले बंगलादेश यू–१९ टोलीलाई सन् २०२० मा विश्वकप जिताएका थिए र भर्खरै बीपीएलमा राजशाही वारियर्सबाट उपाधि जितेका थिए ।
१ असोज, काठमाडौं । बंगलादेशका विकेटकिपर–ब्याटर अकबर अलीले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत दायाँहाते ब्याटर तथा विकेटकिपर अकबरलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
२४ वर्षीय अकबरले बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाए पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका छन् । उनले २८ प्रथम श्रेणी खेलमा १,३६१ रन, १०६ लिस्ट ‘ए’ खेलमा २,२२२ रन तथा ८६ टी–२० खेलमा १,१८० रन बनाएका छन् ।
अकबर भर्खरै सम्पन्न बंगलादेश प्रिमियर लिग (बीपीएल) मा राजशाही वारियर्सबाट खेल्दै उपाधि विजेता टोलीका सदस्य पनि बनेका थिए ।
सन् २०२० मा उनकै कप्तानीमा बंगलादेश यू–१९ टोलीले यू-१९ विश्वकप जितेको थियो । उक्त प्रतियोगितामा बंगलादेशले पहिलो पटक आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको थियो ।
कर्णाली याक्सले यसअघि स्कटल्यान्डका अनुभवी स्पीनर मार्क वाटलाई तेस्रो संस्करणका लागि निरन्तरता दिइसकेको छ ।
प्रतिक्रिया 4