News Summary
Generated by OK AI. Editorially reviewed.- ‘हरित हस्ताक्षर’ प्रकृति, पर्यावरण र मानवीय संवेदनालाई केन्द्रमा राखिएको डा. गीता त्रिपाठीसहित सम्पादित ७९ कविताको कृति हो।
- पुस्तकले माटो, पानी, हरियाली र नारी–संवेदनालाई प्रतीकात्मक रूपमा जोडेर प्रकृति संरक्षण र मानव जिम्मेवारीको सन्देश दिन्छ।
- समालोचनाले यस कृतिलाई पर्यावरणीय साहित्यको सम्भावना फराकिलो बनाउने संवेदनशील साहित्यिक आवाज र अभियानका रूपमा मूल्याङ्कन गरेको छ।
‘हरित हस्ताक्षर’ प्रकृति, पर्यावरण र मानवीय संवेदना (मूलतः नारी–संवेदना) लाई केन्द्रमा राखेर तयार गरिएको महत्त्वपूर्ण कविता कृति हो। डा. गीता त्रिपाठी, डा. अशोक थापा, राधिका कल्पित र लक्ष्मी रुम्बाद्वारा सम्पादित यस पुस्तकमा कविका रूपमा प्रा.डा. अभि सुवेदीदेखि नयाँ पुस्ताका विभिन्न स्रष्टाका सिर्जना, अनुभूति र विचारलाई समेटिएको छ।
पुस्तकले प्रकृतिको प्रतीकात्मक सौन्दर्यसँगै यसको संरक्षणप्रतिको जिम्मेवारीलाई पनि कलात्मक रूपमा प्रस्तुत गरेको छ। ‘हरित हस्ताक्षर’ शीर्षक आफैंमा निकै अर्थपूर्ण छ। ‘हरित’ ले हरियाली, प्रकृति र पर्यावरणको प्रतिनिधित्व गर्छ भने ‘हस्ताक्षर’ ले स्रष्टाको मौलिक पहिचान र सिर्जनात्मक उपस्थिति जनाउँछ।
यस अर्थमा पुस्तकलाई प्रकृतिप्रतिको सामूहिक साहित्यिक हस्ताक्षरका रूपमा लिन सकिन्छ। पुस्तकको आवरणमा मानव आकृति (महिला) र प्राकृतिक परिवेशलाई जोडिएको दृश्यले पनि ‘मातृत्वशक्ति र प्रकृतिबीचको गहिरो सम्बन्ध’ लाई सङ्केत गर्छ।
पुस्तकमा माटो, पानी, वनस्पति, हरियाली तथा मानवीय जीवनसँग सम्बन्धित विविध अनुभूति र विचारहरू पाइन्छन्। ‘पानीजस्तै म’, ‘माटो खाने केटी’, ‘माटोको अस्मिता’, ‘यो बगिरहेको खोलाको कथा हो’, ‘बागमती’, ‘आमा र बागमती’, ‘नदी र मान्छे’ लगायत ७९ वटा विभिन्न शीर्षकका कविताहरू यस पुस्तकमा सङ्कलित रहेका छन्। यी कविताहरूले प्रकृतिका सामान्य मानिएका वस्तुलाई पनि गहिरो मानवीय अनुभूति र प्रतीकसँग जोडेको देखिन्छ।
माटोको प्रसङ्गलाई हेर्दा यसले मानिसको जन्मभूमि, पहिचान, श्रम, संस्कृति र स्मृतिलाई एकैपटक प्रतिनिधित्व गर्न सक्छ। मानिस जहाँ जन्मिन्छ, हुर्किन्छ र आफ्नो जीवनको अर्थ खोज्छ; त्यो भूगोलसँग उसको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यसैले माटोको संरक्षण गर्नु भनेको केवल जमिनको संरक्षण गर्नु होइन, मानिसको इतिहास र पहिचानको संरक्षण गर्नु पनि हो।
‘माटोको अस्मिता’ जस्ता रचनात्मक शीर्षकले माटोसँग जोडिएका विगत, सम्झना र जीवनानुभूतिलाई साहित्यिक रूपमा पुनः सम्झाउने सम्भावना बोकेको देखिन्छ। त्यस्तै ‘माटो खाने केटी’ जस्तो शीर्षकले पाठकको जिज्ञासा बढाउनुका साथै माटो, मानिस र जीवनका सम्बन्धलाई असामान्य तथा प्रतीकात्मक कोणबाट हेर्न बाध्य बनाउँछ।
त्यसैगरी ‘पानीजस्तै म’ जस्ता अभिव्यक्तिले मानिस र प्रकृतिबीचको दूरी मेटाउँदै मानिस आफैं प्रकृतिको एउटा अंश भएको अनुभूति गराउँछ। पानी मानव जीवनको आधार हो। पानीविना जीवनको कल्पना गर्न सकिँदैन। तर पानीलाई केवल प्राकृतिक स्रोत का रूपमा हेर्नुभन्दा त्यसलाई स्मृति, भावना र अस्तित्व सँग जोड्दा यसको साहित्यिक अर्थ अझ फराकिलो हुन्छ।
यस पुस्तकमा प्रकृतिका यस्ता सामान्य पक्षहरूलाई मानवीय संवेदनासँग जोडेर हेर्ने प्रयासले कृतिलाई भावनात्मक गहिराइ प्रदान गरेको छ। ‘प्रकृति र नारीले उपभोक्तामुखी संस्कृतिको गहिरो चोट खेप्दै प्रतिरोधमा उभिन थालेपछिका कविता हुन्’ यस सङ्ग्रहका अधिकांश कविताहरू।
आजको समयमा प्रकृति र पर्यावरणको प्रश्न झनै जटिल बन्दै गएको छ। वनविनाश, नदी तथा जलस्रोतको प्रदूषण, अनियन्त्रित सहरीकरण, प्राकृतिक स्रोतको अत्यधिक दोहन, प्लास्टिक तथा अन्य प्रदूषण र जलवायु परिवर्तनले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेका छन्।
यस्तो अवस्थामा वातावरण संरक्षणका विषयलाई केवल वैज्ञानिक तथ्य वा सरकारी नीतिका रूपमा प्रस्तुत गर्दा त्यसको भावनात्मक प्रभाव सीमित हुन सक्छ। साहित्यले भने त्यही विषयलाई ‘मानवीय अनुभूति र संवेदनामा’ रूपान्तरण गरेर पाठकको मनसम्म पुर्याउन सक्छ।
‘हरित हस्ताक्षर’ को महत्त्व यही ठाउँमा देखिन्छ। पुस्तकले प्रकृतिलाई संरक्षण गर्नुपर्ने विषय मात्र बनाउँदैन, प्रकृतिसँग मानिसको भावनात्मक सम्बन्धलाई पनि उजागर गर्ने प्रयास गर्छ। आज वनविनाश, प्रदूषण, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतको अत्यधिक दोहनजस्ता समस्या बढिरहेका छन्। यस्तो अवस्थामा प्रकृतिप्रतिको प्रेम र संरक्षणको चेतना जगाउने साहित्यको आवश्यकता अझ बढेको छ।
‘हरित हस्ताक्षर’ ले ‘प्रकृति मानिसको उपभोगका लागि मात्र होइन, मानव अस्तित्वकै आधार हो’ भन्ने भाव प्रस्तुत गर्छ। प्रकृतिको विनाश अन्ततः मानव जीवनकै विनाशतर्फ जाने भएकाले यसको संरक्षण गर्नु वर्तमान मात्र नभई ‘भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो’ भन्ने सन्देश पुस्तकले दिन्छ।
यस पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको ‘मानवीय संवेदना’ हो। प्रकृतिको चर्चा गर्दा केवल फूल, रूख, पहाड र हरियालीको सुन्दरता वर्णन गर्नु पर्याप्त हुँदैन। प्रकृतिसँग मानिसको दुःख, सुख, आशा, निराशा, स्मृति, प्रेम, पीडा र सङ्घर्ष पनि गाँसिएका हुन्छन्। पुस्तकका रचनाहरूमा प्रकृतिलाई ‘मानवीय जीवनका विभिन्न भावना’ सँग जोड्ने प्रवृत्ति देखिन्छ। यसले प्रकृतिलाई बाहिरको संसारका रूपमा मात्र नभई मानिसको भित्री संसारको एउटा अभिन्न हिस्सा बनाउँछ।
त्यसैगरी यस पुस्तकभित्र रहेका कविताहरूको साहित्यिक सौन्दर्य यसको प्रतीकात्मक प्रयोगमा पनि देखिन्छ। माटो, पानी, हरियाली, रूख, फूल, पहाडजस्ता प्राकृतिक वस्तुहरू आफ्नै भौतिक अर्थमा सीमित रहँदैनन्; तिनले जीवन, स्मृति, पहिचान, समय, सङ्घर्ष र भविष्यका अर्थसमेत ग्रहण गर्न सक्छन्। यस प्रकारको प्रतीकात्मकताले रचनाहरूलाई बहुअर्थी बनाउँछ। पाठकले एउटै रचनाबाट आफ्नो अनुभवअनुसार फरक अर्थ ग्रहण गर्न सक्छ। साहित्यको सौन्दर्य पनि यही ‘बहुअर्थीपन’ मा निहित हुन्छ।
भाषा र शैलीका दृष्टिले पुस्तकमा भावप्रधान, बिम्बात्मक तथा प्रतीकात्मक अभिव्यक्तिको प्रयोग देखिन्छ। विभिन्न स्रष्टाका फरकफरक शैली र दृष्टिकोणले पुस्तकलाई विविधतापूर्ण बनाएका छन्। कतिपय रचनाले प्रकृतिको सौन्दर्य अनुभूत गराउँछन् भने कतिपयले ‘पर्यावरणीय समस्या र मानवीय जिम्मेवारीबारे’ सोच्न बाध्य बनाउँछन्। यही विविधता पुस्तकको एउटा महत्त्वपूर्ण विशेषता हो।
पुस्तकलाई नेपाली समाजको सन्दर्भमा हेर्दा यसको महत्त्व अझ बढ्छ। नेपाल भौगोलिक तथा जैविक विविधताले सम्पन्न देश हो। हिमालदेखि तराईसम्म फैलिएको भूगोल, वनजङ्गल, नदी, ताल, पहाड, कृषि र ग्रामीण जीवन यहाँको सामाजिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका छन्। नेपाली समाजको ठूलो हिस्सा अझै पनि प्रकृतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्भर छ। कृषि, पशुपालन, वन, पानी र जमिनसँग मानिसको जीवन गहिरो रूपमा जोडिएको छ। त्यसैले प्रकृतिको संरक्षणको प्रश्न नेपाली समाजका लागि केवल वातावरणीय प्रश्न नभई सामाजिक, आर्थिक र सांस्कृतिक प्रश्न पनि हो।
‘हरित हस्ताक्षर’ ले यस सम्बन्धलाई साहित्यिक तहमा अनुभूत गराउने आधार प्रस्तुत गर्दछ। यस कृतिमा प्रकृतिको विषयसँगै मानवीय जिम्मेवारीको प्रश्न पनि जोडिन्छ। प्रकृति हाम्रो उपभोगका लागि मात्र होइन। हामीले प्रकृतिबाट निरन्तर लिइरहेका छौं; तर त्यसलाई फर्काएर के दिइरहेका छौं ? भन्ने प्रश्न महत्त्वपूर्ण छ।
आजका पुस्ताले प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्यो भने त्यसको परिणाम भावी पुस्ताले भोग्नुपर्नेछ। त्यसैले पर्यावरण संरक्षण वर्तमान पुस्ताको मात्र जिम्मेवारी होइन, भावी पुस्ताप्रतिको दायित्व पनि हो। ‘हरित हस्ताक्षर’ लाई यही दृष्टिले पढ्दा यस पुस्तकले ‘भावी पुस्ताका लागि हरियो, स्वस्थ र सुरक्षित संसार निर्माण गर्नुपर्ने चेतना अभिव्यक्त गरेको’ कृतिका रूपमा अर्थ सम्प्रेषण गर्छ।
समग्रमा ‘हरित हस्ताक्षर’ प्रकृतिको सौन्दर्यको वर्णनमा मात्र सीमित नरही प्रकृति, पर्यावरण र मानवीय जीवनबीचको सम्बन्धलाई साहित्यिक संवेदनामार्फत प्रस्तुत गर्ने अर्थपूर्ण कृति हो। यसले मानिसलाई प्रकृतिको मालिकका रूपमा होइन, प्रकृतिकै एउटा अंशका रूपमा बुझ्न प्रेरित गर्छ। माटो, पानी, रूख, फूल, हरियाली र प्राकृतिक परिवेशसँग जोडिएका रचनात्मक अनुभूतिले पाठकलाई आफ्नै परिवेशलाई नयाँ आँखाले हेर्न बाध्य बनाउँछन्।
पुस्तकको सबैभन्दा ठूलो उपलब्धि यही चेतनात्मक प्रभावमा रहेको देखिन्छ। आज वातावरणीय सङ्कट दिन–प्रतिदिन गहिरिँदै गएको समयमा साहित्यले मानिसलाई ‘प्रकृतिप्रति संवेदनशील’ बनाउनु अत्यन्त आवश्यक छ। नीति, नियम र वैज्ञानिक चेतनाले वातावरण संरक्षणको बाटो देखाउन सक्छन्; तर प्रकृतिप्रतिको माया र आत्मीयता जगाउने काम साहित्यले अझ प्रभावकारी रूपमा गर्न सक्छ।
‘हरित हस्ताक्षर’ ले यही साहित्यिक सम्भावनालाई आत्मसात् गरेको देखिन्छ। यसले पाठकलाई प्रकृतिको सुन्दरता हेर्न मात्र होइन, त्यसको पीडा महसुस गर्न र संरक्षणको जिम्मेवारीबारे सोच्न पनि प्रेरित गर्छ।
अन्ततः ‘हरित हस्ताक्षर’ प्रकृति, पर्यावरण, मानवीय संवेदना र सामाजिक चेतनालाई एउटै ‘साहित्यिक धरातल’ मा जोड्ने सार्थक प्रयास हो। विभिन्न स्रष्टाका सिर्जनात्मक आवाजलाई ‘हरित’ चेतनाको साझा सूत्रमा बाँधेर प्रस्तुत गरिएको यस कृतिले नेपाली साहित्यमा पर्यावरणीय साहित्यको सम्भावनालाई थप फराकिलो बनाएको छ।
यस पुस्तकको वास्तविक महत्त्व प्रकृतिको वर्णनमा मात्र होइन, ‘प्रकृतिसँग नारीका भोगाइ र संवेदनालाई गहिरो गरी हेरिनु’ मा रहेको छ। प्रकृति र घर सिर्जनाको निम्ति महत्त्वपूर्ण छन्। सिर्जनामा अझ धेरै दायित्व बोक्ने ‘प्रकृति र नारी दुवै दोहनमा परेका हुँदा’ यसको सन्तुलनका निम्ति पर्यावरणीय नारीवादी मान्यताले पहल गर्दछ र यो कविता कृतिमा यस जिम्मेवारीप्रति मानिसलाई सचेत गराउने विचार र भाव प्रकट भएको छ।
यस अर्थमा ‘हरित हस्ताक्षर’ एउटा पुस्तक मात्र नभई प्रकृतिप्रतिको ‘संवेदनशील साहित्यिक आवाज र अभियान’ पनि हो। यो कृति नारी र प्रकृतिबीचको सम्बन्धका आधारमा मानिसलाई अझ आत्मीय, जिम्मेवार र जीवन्त बनाउन गरिएको एउटा अर्थपूर्ण ‘हरित हस्ताक्षर’ हो।
प्रतिक्रिया 4