२१ असोज, काठमाडौं । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन्, ४७ वर्षीया ऋचा कोइराला । १५औं महाधिवेशनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनी कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी हुन् ।
राजनीतिमा किन ? ऋचा महाधिवेशनस्थलमा यस्ता प्रश्नहरूको सामना गरिरहेकी छिन् ।
‘मलाई सोसल वर्कमा इन्ट्रेस्ट छ । पहिलेदेखि नै सोसियल्ली एक्टिभ छु । समाजमा केही पर्दा अगाडि सर्छु’ उनको जवाफ छ, ‘कोभिड महामारी होस् कि २०७२ सालको भूकम्प, हालैको भोटेकोशी बाढी नै किन नहोस्, म सहयोगी हातहरू लिएर पीडितसम्म पुगेकी छु ।’
कोइराला परिवारद्वारा स्थापित ‘मातृका फाउन्डेसन’ मार्फत आफू सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय रहेको ऋचा बताउँछिन् ।
सामाजिक कार्य गर्न राजनीतिक मञ्च नै किन चाहिन्छ ?
अनलाइनखबरको प्रश्नमा ऋचा भन्छिन्, ‘सामाजिक कार्य गर्दागर्दै राज्यको असल नीति निर्माण प्रक्रियामा प्रभाव पार्न राजनीतिक मञ्च आवश्यक पर्छ भन्ने लाग्यो । त्यसैले राजनीतिमा जोडिएँँ ।’
त्यसो भए केन्द्रीय सदस्यमा उम्मेदवारी किन नदिएको त ?
उनी जवाफ दिन्छिन्, ‘केन्द्रीय सदस्य बन्न अहिल्यै हतार छैन । सिक्ने क्रम जारी छ, समय मिलाएर अघि बढ्नुपर्छ । म राजनीतिलाई अझै राम्रोसँग बुझ्न, सिक्न र अनुभव सँगाल्न चाहन्छु ।’
काठमाडौंको बानेश्वर थापागाउँ बसोबास गर्दै आएकी ऋचा दुई सन्तानकी आमा हुन् । पारिवारिक जिम्मेवारी, छोराछोरीको हेरचाह र आफ्नै सामाजिक रुचिलाई मिलाएर उनी राजनीतिमा समय दिइरहेकी छिन् । उनी भन्छिन्, ‘परिवारलाई समय दिनुपर्छ । छोरा सानै छन् । घर र राजनीति दुवै म्यानेज गर्नुपर्छ ।’
उनी सामाजिक कार्यबाट राजनीतिसम्मको यात्राको मनसाय पार्टीमा पद लिन र निर्वाचनमा उम्मेदवार भएर चुनाव जित्ने माध्यमका रूपमा प्रयोग गर्ने नरहेको पनि बताउँछिन् ।
भन्छिन्, ‘मेरो मुख्य रुचि सामाजिक सेवामा छ । सधैं भुइँमान्छेका दु:खमा मल्हम लगाउन पाइयोस् । आम नागरिकसँगै रहन सकियोस् । यस निम्ति हो राजनीति ।’
ऋचाको राजनीतिक पृष्ठभूमि माइतीतिर कोइराला परिवार र घरतिर राजनीतिक इतिहाससँग जोडिएको छ । उनका ससुरा बुवा प्रेमनाथ अधिकारी २०५४ सालमा सिन्धुलीमा तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका थिए । प्रेमनाथ नेपाली कांग्रेसका स्थानीय नेता थिए ।

राजनीतिक संस्कारमा हुर्केकी ऋचाका लागि राजनीति कुनै नयाँ विषय होइन । उनलाई अहिले पनि आम नागरिकको आवाज राज्य सत्तासम्म पुर्याउनुपर्ने महसुस हुन्छ, त्यसैले भएकोले राजनीतिमा जोडिएर सक्रिय भएकी हुन् ।
‘सचेत छन् नयाँ पुस्ता’
१५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । त्यसउपर महाधिवेशन प्रतिनिधिले दिएका सुझाव र प्रश्नको सम्बोधन गर्दै थापाले आगामी दिन कांग्रेस कसरी अगाडि बढ्छ भनेर त्यसको रूपरेखासमेत प्रस्तुत गरेका छन् ।
सभापति थापाको नीतिबाट ऋचा प्रभावित छिन् । उनी नयाँ पुस्तालाई समेटिएकोमा सकारात्मक ठान्छिन् । विभिन्न क्लस्टरको प्रतिनिधित्वको व्यवस्था र युवाहरूलाई राजनीतिमा अवसर दिने सभापति गगनको नीतिप्रति आशावादी छिन् ।
‘पहिला पार्टीमा युवाका लागि ठाउँ नै थिएन भन्ने थियो । अहिले जेनजीलाई लक्षित गरेर जुन खाका सभापतिले ल्याउनुभएको छ, त्यसले युवाहरूलाई अघि बढ्ने वातावरण बनाएको छ ।’
ऋचाका नजरमा महाधिवेशनका क्रममा प्राप्त भएको आशालाई व्यवहारमा उतार्न र आवश्यक पर्दा खबरदारी गर्नु पर्नेछ ।
ऋचा आफैं कस्तो कांग्रेस चाहन्छिन् ?
जवाफमा उनी प्रजातन्त्रको जननी मानिने नेपाली कांग्रेस अब पुराना शैली र परम्परागत ढर्रामै सीमित रहन नसक्ने बताउँछिन् । डिजिटल युग र प्रविधिको विकाससँगै पार्टीलाई रुपान्तरण गर्नुपर्ने उनलाई लाग्छ ।
यस निम्ति तीन वटा काम गर्नुपर्ने उनको बुझाइ छ ।
पहिलो : युवाको आर्कषण ।
रिचा भन्छिन्, ‘आजका युवाको सोच्ने तरिका र विश्व परिवेश इन्टरनेसनल एक्सपोजर अर्कै छ । उनीहरूलाई पुरानै भाषण र आश्वासनले आकर्षित गर्न सकिँदैन ।’
दोस्रो : प्रविधिको सही प्रयोग ।
ऋचाका नजरमा प्रविधि र सञ्चारको प्रयोग समग्रतामा कसरी गर्ने र यसलाई शिक्षामा कसरी ढाल्ने भन्ने चिन्तन आवश्यक छ ।
सूचना प्रविधिको प्रयोगका कारण सामान्य नागरिक पनि राजनीतिक रूपमा निकै सचेत भइसकेका छन् । यस कारण नागरिकको सचेतनालाई ख्याल गर्नै युग र समय अनुसार नेपाललाई विश्वमा अगाडि बढाउने राज्यको नीति आवश्यक रहेको उनको भनाइ छ ।
तेसो : विचार र व्यवहारमा एकरूपता र रुपान्तरण ।
‘कांग्रेसले आफ्ना नीति, सोच र कार्यशैलीलाई एआई र आधुनिक डिजिटल युगअनुकूल ढाल्नुपर्छ,’ ऋचा भन्छिन्, ‘हामीले हाम्रो मेन्टालिटी चेन्ज गर्नैपर्छ । कांग्रेसले विचार र व्यवहारमा एकरूपता र रुपान्तरण गर्न आवश्यक छ ।’
सँगाल्दै छिन् अप्रकाशित कृतिहरू
राजनीति र समाजसेवा बाहेक ऋचा अध्ययन, लेखन र पुस्तक सम्पादनमा सक्रिय छिन् ।
आफ्ना बुवा कमलप्रसाद कोइरालाले जीवनका विभिन्न अनुभव, राजनीतिक इतिहास र संस्मरणहरू समेटेर धेरै सामग्रीहरू लेखेका छन् । ती लेख तथा पाण्डुलिपीहरूलाई सम्पादन गर्ने, प्रकाशनका लागि तयार पार्ने काममा ऋचा व्यस्त छिन् ।
कमलप्रसाद कोइराला मातृकाप्रसादका छोरा हुन् । पूर्वराजदूतसमेत रहेका कमलप्रसाद कोइरालाले नेपालको कूटनीतिक क्षेत्रका साथै साहित्य र राजनीतिमा योगदान पुर्याएका छन् ।

ऋचाका अनुसार हजुरबुवा मातृकाप्रसाद कोइरालाका पुराना ऐतिहासिक दस्तावेजहरूलाई व्यवस्थित गर्नु पर्नेछ ।
‘हजुरबुवाका पनि केही केही किताबहरू छन् । यसकारण मेरो समय लेखपढ अनि तिनकै एडिटिङमा बितिरहेको छ । यसबाट समय निकोर सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय छु,’ उनी भन्छिन् ।
मातृकाप्रसाद कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता हुन् । २००७ सालमा प्रजातन्त्र आएपछि गठित सरकारमा पहिलो प्रधानमन्त्रीका रूपमा मातृकाप्रसादले देशको नेतृत्व सम्हालेका थिए । जनआन्दोलन, प्रजातन्त्र स्थापना र मुलुकलाई आधुनिक युगमा प्रवेश गराउन मातृकाको योगदान स्मरणीय छ ।
कांग्रेस र नेपाली राजनीतिमा कोइराला परिवारको आफ्नै ऐतिहासिक पहिचान र विरासत छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजनीतिक पदचाप पछ्याउँदै कोइराला परिवारका दोस्रो, तेस्रो पुस्ताका सदस्यहरू राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
यही विरासतको तेस्रो पुस्ताको रूपमा ऋचा कोइराला देखा परेकी छिन् ।
प्रतिक्रिया 4