News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंमा मासुजन्य परिकार खाँदा सुरक्षित मासु चिन्ने, किन्ने, भण्डारण गर्ने र पकाउने सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ।
दसैं नेपालीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो । यस अवसरमा घर–घरमा मासुजन्य परिकार पकाउने र खुवाउने चलन छ । टीका, आशीर्वाद, आफन्तसँगको भेटघाट र रमाइलोसँगै मासुको भोज पनि दसैंको एउटा अभिन्न सांस्कृतिक अंग हो ।
चाडको यस उमंगमा हामी प्रायः बिर्सिने कुरा हो– सुरक्षित मासु कसरी चिन्ने, कसरी किन्ने, कसरी भण्डारण गर्ने, कसरी पकाउने र कसरी खाने भन्ने विषय ।
असावधानीपूर्वक पकाइएको र खाइएको मासुले पेट दुख्ने, पखाला लाग्नेदेखि लिएर गम्भीर खाद्यजन्य रोगसम्म निम्त्याउन सक्छ ।
के हो रातो मासु र सेतो मासु ?
सामान्यतया मासुलाई दुई मुख्य समूहमा बाड्न सकिन्छ– रातो मासु र सेतो मासु ।
रातो मासु भनेको खसी, बोका, राँगा, भैंसी, सुँगुर जस्ता ठूला स्तनधारी पशुको मासु हो । यसमा मायोग्लोबिन नामक प्रोटिन बढी मात्रामा पाइने भएकाले यो रातो रंगको देखिन्छ । दसैंमा खसी तथा च्यांग्राको मासु प्रमुख परिकारको रूपमा पकाउने गरिन्छ ।
सेतो मासु भनेको कुखुरा, हाँस जस्ता चरा प्रजातिको मासु र माछा पर्दछ । यसमा मायोग्लोबिन कम हुने हुँदा रङ हल्का हुन्छ।
रातो र सेतो मासुमा के भिन्नता छ ?
रातो मासुमा प्रोटिन, आइरन, जिंक र भिटामिन बी१२ प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि लाभदायक हो । तर यसमा स्याचुरेटेड फ्याट पनि बढी हुने भएकाले धेरै मात्रामा र बारम्बार सेवन गर्दा मुटुसम्बन्धी समस्या, उच्च कोलेस्टेरोल र मोटोपनाको जोखिम बढ्न सक्छ ।
सेतो मासु विशेषत: छाला निकालेर पकाइएको कुखुराको मासुमामा बोसो कम र प्रोटिन बढी हुने भएकाले यसलाई तुलनात्मक रूपमा हल्का र सजिलै पच्ने मानिन्छ।
यसको अर्थ रातो मासु पूर्णतः त्याग गर्नुपर्ने हो भन्ने होइन । चाडपर्वमा मिठो र परम्परागत परिकारको रूपमा यसलाई खान सकिन्छ, तर मात्रामा सन्तुलन कायम राख्न आवश्यक छ । एकैचोटि धेरै मासु नखाई तरकारी, दाल, फलफूल र पानीको सेवनलाइ पनि साथसाथै निरन्तरता दिनुपर्छ ।
किन आवश्यक छ मासुको खाद्य स्वच्छतामा ध्यान दिन ?
दसैंको समयमा एकैसाथ धेरै पशुपंक्षी काटिने, बजारमा मासुको माग र आपूर्ति दुवै हवात्तै बढ्ने हुँदा गुणस्तर नियन्त्रणमा चुनौती देखापर्छ । नराम्ररी काटिएको, असावधानीपूर्बक प्रशोधन गरिएको वा भण्डारण गरिएको मासुमा साल्मोनेला, ई–कोलाई, क्याम्पाइलोब्याक्टर जस्ता ब्याक्टेरिया हुन सक्छन्, जसले खाद्यजन्य रोग निम्त्याउन सक्छन् ।
वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरू खराब मासु खाएको केही घण्टादेखि १–२ दिनभित्र सम्म देखा पर्न सक्छन् ।त्यसैले तलका सामान्य तर व्यावहारिक सुझावहरू पालना गर्नु उपयुक्त हुन्छ ।
मासु किन्दा ध्यान दिनुपर्ने कुरा
-भरपर्दो ठाउँबाट किन्ने
-रङ र गन्ध जाँच्ने
–ताजा मासुको रङ स्वाभाविक रातो मासुमा गाढा रातो, कुखुराको मासुमा गुलाबी हुन्छ । खराब गन्ध आएमा वा रङ फिक्का र धूमिल देखिएमा त्यो नकिन्नु राम्रो ।
–पशुपन्छी स्वस्थ भएको यकीन गर्ने
–चिसोमा राखिएको मासुलाई प्राथमिकता दिने
घरमै वध गर्दा के मा ध्यान दिने ?
विशेषगरी, दसैंमा धेरै घरपरिवारले घरमा आफैं पनि खसी–बोका काट्ने चलन छ, जुन सामान्य दिनमा हुँदैन । यसका लागि छुट्टै सावधानी अपनाउनु आवश्यक देखिन्छ। काट्ने ठाउँ सफा र छुट्टै राख्ने, पछि राम्ररी सफा गर्ने ।
रगत र भुँडी लगायतका फोहोर तुरुन्त र उचित तरिकाले व्यवस्थापन गर्ने, किनकि यसले झिंगा र किटाणु आकर्षित गर्छ।
साना बालबालिकालाई काट्ने प्रक्रियाबाट टाढा राख्ने।
पशु काट्नुअघि नै बिरामी वा असामान्य देखिएको छ भने त्यसको मासु नखाने।
मासु भण्डारण
-छिटो फ्रिज गर्ने : मासु किनेपछि जति सक्दो चाँडो फ्रिज वा फ्रिजरमा राख्नुहोस् । बाहिरी वातावरणको तापक्रममा दुई घण्टाभन्दा बढी नराख्नुहोस्, विशेषतः गर्मी वा वर्षायाम भए झन् चाँडो बिग्रन सक्छ।
-काचो र पकाएको मासु छुट्टाछुट्टै राख्ने
-काचो मासु काट्ने चक्कु, चप्पिङ बोर्ड र भाँडा अन्य खानाका लागि प्रयोग गर्नुहुँदैन ।
पकाउँदा अपनाउनुपर्ने सावधानी
भित्रसम्म राम्ररी पकाउने : मासु भित्रसम्म राम्ररी पाकेको हुनुपर्छ । बीचमा रातो वा गुलाबी नरहोस् भन्नेमा ध्यान दिनुपर्छ । विशेषतः कुखुराको मासु आधाकाचो राख्दा साल्मोनेला संक्रमणको जोखिम धेरै हुन्छ।
–हात र भाँडा सफा राख्नेस् काचो मासु छोएपछि साबुनपानीले हात धुनुहोस् । भाँडाकुँडा पनि राम्ररी माझ्नुहोस्।
–पकाएको मासु धेरै दिन राखेर नखाने
सन्तुलित खाना खाने
–मासुसँगै सलाद, फलफूल, हरियो तरकारी पनि खानुहोस् ।
–पानी र तरल पदार्थ प्रशस्त सेवन गर्नुहोस्।
–धेरै तेल–मसलायुक्त परिकारभन्दा सन्तुलित पकाइएको मासु रोज्नुहोस्।
–मुटु, मृगौला वा पेटसम्बन्धी दीर्घरोग भएका व्यक्तिले रातो मासु सेवनमा विशेष ध्यान दिनुपर्छ
–साना बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाले राम्ररी पाकेको, ताजा मासु मात्र खानुपर्छ।
प्रतिक्रिया 4