+
+
Shares
संस्मरण :

विकल जिन्दगी

पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष हो जीवन, जीवन संघर्ष हो”। गीतको त्यही पङ्ति जस्तै गोविन्दको तमाम जीवन संघर्षको पर्याय बन्यो।

वसन्त थापा वसन्त थापा
२०८३ कात्तिक २ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोविन्द बोहोरा पछि गोविन्द विकल बनेर कविता, नाटक र राजनीतिक लेखनमा सक्रिय भए, तर २०६२ चैतमा असमयमै बिते।
  • धरानमा बाल्यकालदेखि सँगै हुर्केका गोविन्द र लेखकले बाल पुस्तकालय, ‘बालक’ पत्रिका र विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरे।
  • गोविन्दले छिन्ताङ घटना, जनजाति मुद्दा र कम्युनिष्ट राजनीतिमा संलग्नता देखाए, तर घरभाँडो, मद्यपान र रोगले उनको जीवन संघर्षपूर्ण बन्यो।

मेरो पहिलो नम्बरको ओरिजिनल जिगरी दोस्त थियो गोविन्द बोहोरा, पूरा नाउँ गोविन्दबहादुर बोहोरा। म तीन कक्षामा हुँदा हाम्रो श्री भगवती मिडिल स्कूल फाँटिलो ठाउँमा बनेको आफ्नै भवनमा सरेदेखि नै मैले उसलाई फेला पारेको थिएँ र ऊ मेरो निकटतम मित्र बन्न पुगेको थियो। मिडिल स्कूलदेखि कसिएको हाम्रो दोस्तीको बन्धन हाईस्कूल हुँदै कलेज पढ्दासम्मै कायम रह्यो- कुनै समय कसिलो, कुनै समय खुकुलो। अरू पनि थिए साथी मिडिल स्कूलमा सँगै पढ्ने। कक्षामा एक दर्जन पनि थियौं हामी। त्यसैले उनीहरूको नाउँ अहिले पनि मलाई सम्झन गाह्रो छैन। माधव थपलिया, भवानी ढकाल, शेखर आचार्य, राम आचार्य, श्याम मानन्धर, केशव वाग्ले, रूद्रनाथ बास्तोला, हरिहर प्यारा श्रेष्ठ आदि। तर गोविन्द भने थियो मेरो एक नम्बरको लँगोटिया यार। हर कदममा मलाई साथ दिने र हरेक उपद्रो तथा बदमासीमा मेरो मतियार।

काली खोलामा पौडी खेल्न जाऔं, ऊ तयार। उर्लेको सर्दु खोलाको भँगालोमा माछा मार्न जाऔं, ऊ तयार। यसै घुम्न जाऔं, ऊ तयार। कम्बाइन्ड स्टडी गरौं, ऊ तयार। हाडेओखर वा रुद्राक्ष दानाको खोपी खेलौं, ऊ तयार। चुरोटको बट्टाको खोल बटुलेर बनाएको कित्ताको तास खेलौं, ऊ तयार। गुच्चा नखेलेर डन्डिबियो खेलौं, ऊ तयार। क्यारम खेल्न कसैको घरमा जाऔं, ऊ तयार। फल लागेको अर्काको आँप र लिचीको रूखमा धावा बोल्न जाऔं, ऊ तयार। सिनेमा हेर्न जाऔं, ऊ तयार। कुनै कुरामा उसको नाइँनास्ति थिएन। हर कुरामा हरबखत तम्तयार।

हामी दुई मिलेर नगरेको शायदै कुनै काम थियो होला सानामा। पढ्नमा हामी अब्बल दर्जाका दुवै थिएनौं। तर निकै अगाडि थियौं अरू चकचकमा भने। रगरग गरी हिंड्थ्यौं यताउता। नाङ्लाको मोटो गोलो बिटलाई हामी गुडाउँथ्यौ अंकुसे पारेर बनाइएको दह्रो फलामे तारको सहाराबाट। त्यो हाम्रो गाडी थियो। त्यसलाई गुडाउँदै हामी जहाँ पनि पुग्थ्यौं। त्यो गाडी गुडाउँदै हिंड्दा कुनै ठाउँ टाढा नलाग्ने। त्यसले गाडीमा सवार भए झैं भान दिन्थ्यो हामीलाई। त्यही ठाउँ गाडी विना उसै हिंडेर जानलाई भने टाढा लाग्ने। आधा बाहुलाको कमिज, हाफ प्यान्ट वा कट्टु हुन्थ्यो हाम्रो सदाबहार पहिरन र गोडा चाहिं खाली, विना जुत्ताको। त्यही भेषमा हामी देशदेशान्तर चहार्थ्यौं। हाम्रो यो पहिरन हामीले धरान थाना मुन्तिरको छत्र फोटो स्टुडियोमा खिचाएको तस्वीरमा पनि देख्न सकिन्छ।

स्कूल अगाडि चउर थियो भकुन्डो खेल्नलाई। तर भकुन्डो खेल्नलाई अरू खेलाडी साथीहरूको टोली जुटाउनुपर्ने र सबभन्दा पहिले त स्कूलको सरबाट फूटबल फुत्काउन सक्नुपर्ने। दुइटै काम त्यति सजिलो थिएन। त्यसैले फिट्टाफिट्टै खेल्न सकिने खेल नै हामीलाई प्यारो थियो। त्यसका लागि फुस्रे जाने बाटाछेउ खडा भएको इन्डियन कोलोनी थियो हाम्रो खेलकुदको मैदान जहाँ हामी अक्सर गइरहन्थ्यौं, कहिले खुला चउरमा सित्तैंमा देखाइने सिनेमा हेर्न र कहिले यत्तिकै मटरगस्ती गर्न। ठूलो एरिया ओगटेर बनेको इन्डियन कोलोनीमा ससाना एकतले घरहरू बनेका थिए धरानवासीले यसअघि नदेखेका मटमैलो रंगको एस्बेस्टोस पाताका छाना भएका। ती भवनहरू त्यहाँ काम गर्ने कर्मचारीका आवास र कार्यालय प्रयोजनका लागि बनाइएका थिए। एउटा डिस्पेन्सरी पनि थियो। ती आवास र कार्यालय भवन, गोदाम घर र डिस्पेन्सरी आदिलाई जोड्ने फराकिला बाटा थिए पीच नहालेको भए पनि ग्राभेल गरिएका, सुख्खा। गाडी हम्मेसी नचल्ने, मानिसको आवतजावत पनि एकदमै कम। कोलोनीका तिनै बाटाघाटा र त्यहाँका खाली ठाउँ हामी खेल्ने खेलमैदान थिए।

तरबारको खेल प्रिय थियो हामी बीच, हिन्दी सिनेमाका कारण। ऐतिहासिक र पौराणिक विषयमा आधारित ती फिलिमहरूमा राजा, महाराजा, सिपाहसलार, शहनशाह, सहजादा, सुल्तान आदि हुने गर्थे। लामो तरबार हुन्थ्यो उनीहरूले भिर्ने हतियार, जुन हतियार चलाउन उनीहरू निपुण हुन्थे। तरबारबाजीमा कहलिएका फिल्मी हिरोहरूमा महिपाल, रञ्जन, प्रेमनाथ, कामरान आदि थिए उसबेला। उसो त समय नै यस्तो थियो कि सबै हिरोले कुनै न कुनै फिलिममा तरबार नखेली सुख नपाउने। रोमान्टिक हिरो भनेर कहलिएका देव आनन्द जस्ता अभिनेताले समेत तलबार खेलाउने चरित्रको भूमिका निर्वाह गरेका छन् भने अरूको त के कुरा! गम्भीर कलाकार मानिने संजीव कुमारले पनि आफ्नो व्यावसायिक जीवनको सुरुआती दौरमा तलबार चलाउने पात्र बनेर खेलेका थिए।

त्यसैको प्रभावले गर्दा हामी काठको लट्ठी या बाँसको सुहाउँदो भाटा फेला पर्नासाथ त्यसलाई तरबारमा परिणत गर्थ्यौं। त्यस तरबारले त्यसरी नै प्रहार, प्रतिप्रहार गर्दै एकअर्कासित मुकाविला गर्थ्यौं जसरी फिलिममा हिरो र भिलेन लड्थे। त्यसो गर्दा पर्खाल वा अग्लो ठाउँमा उक्लनु र अर्को अग्लो ठाउँमा उफ्रेर जानु, तरबारको हानाहान चलिरहेकै बेला एक जना भुईंमा लडेर उत्तानो पर्नु अनि अर्कोले उसको गर्धन रेट्ने कोसिस गर्दा त्यसको मारलाई उत्तानो पर्नेले आफ्नो तरबारबाट छेकेर घम्साघम्सी गर्नु इत्यादि क्रियाकलाप तरबारबाजीको खेलमा पर्थे। फिलिमकै सिको गरेर चक्कु वा बिंड भएको छुरीलाई दश–बाह्र हातको दूरीबाट कुनै रूखमा तारो हान्थ्यौं। धेरैजसो त छुरीको तीखो भाग नभई बिंड पहिले रूखमा ठोक्किन्थ्यो। तर यदाकदा भने चुच्चो भाग गएर रूखमा धसिन्थ्यो। त्यसो हुँदा हामी दङ्ग! त्यसरी नै फिल्मी टार्जनको देखासिकी अग्लो ठाउँबाट कालीखोलाको दहमा ‘डाइभ’ मार्थ्यौं वा वनमा लहरा भेटे त्यसमा झुल्दै रूखको एउटा हाँगोबाट अर्कोमा ‘जम्प’ गर्थ्यौं। वन टाढा थिएन। वनमा गएर सिजन अनुसारको काबरा, किम्बु, चिउरी, बेल, मलेश्वरी, अमला, बयर, ऐंसेलु टिपी खान पनि भ्याउँथ्यौं।

यो सबै त ठीकै थियो। तर हामीले दुइटा काम यस्ता गरेका थियौं जो हामीले नगर्नुपर्थ्यो। दुवै कामलाई म नकाम भन्छु र ती नकामको सम्झना मलाई अझै छ। एउटा नकामलाई हद दर्जाको मूर्खतापूर्ण भन्नुपर्छ भने अर्कोलाई अतिशय खतरनाक मान्नुपर्छ। हाम्रो मूर्खतापूर्ण नकामको किस्सा यस्तो छः एकपटक ढुङ्गा ओसार्ने घिर्लिङको एउटा ट्रली वा डिब्बा सर्दुखोलाको बगरमा खसेको फेला पार्‍यौं र त्यसलाई दिनभरि लगाएर ठेल्दै हाम्रो स्कूल छेउको चउरसम्म पुर्‍याएर छाड्यौं। त्यसो गरेर हामीले के के न गर्‍यौं भन्ने ठानेका थियौं। गोविन्द र म बाहेक चार–पाँच जना अरू साथी पनि सामेल थिए त्यस काममा। तर त्यो फजुलको काम हाम्रो बेबकुफीको पराकाष्ठा थियो। के प्रयोजनका लागि हामीले त्यत्रो मिहिनेत गरेका थियौं त्यो हामी कसैलाई थाहा थिएन।

गोविन्द र मैले मिलेर गरेको अर्को नकाम चाहिं खतरनाक प्रकृतिको थियो। भयो के भने एक दिन इन्डियन कोलोनीको सडकमुनि विछ्याइएको ड्रेनपाइप देखेपछि त्यसभित्र छिरेर वारपार गर्ने हामीलाई सुर चढ्यो। ‍ड्रेन पाइपको गोलाइ मुस्किलले थियो होला हाम्रो ख्याउटे ज्यान छिर्न सक्ने। त्यसमा पहिले म र मपछि गोविन्द घिस्रँदै छिर्‍यौं र सडकको अर्कोपट्टि निस्कियौं।

उसबेला हामीलाई टार्जनले पनि गर्न नसक्ने बहादुरी गर्‍यौं भन्ने लागेको थियो। त्यसरी साँघुरो ड्रेनपाइपमा घिस्रेर छिर्दा बीचैमा हामी अड्किएको भए के हुन्थ्यो? कसले हाम्रो गुहार सुन्थ्यो? को आउँथ्यो हामीलाई उद्धार गर्न? हामीले गरेको यो खतरनाक नकाम सम्झदा अहिले पनि जीउ सिरिङ्ग हुन्छ।

राजेश आचार्य, विकल र वसन्त थापा

हाम्रो घर रहेको लक्ष्मीचोकबाट नजिकै थियो गोविन्दको घर, यस्तै चार-पाँच सय मिटरको दूरीमा। फुस्रे जाने मूल सडकमा, भनौं लक्ष्मीचोक र अहिले जिरो पोइन्ट भनिने ठाउँको झन्डै मध्य भागमा। त्यहाँ जोगीको एउटा कुटी थियो। त्यही कुटीको दक्षिणपट्टि थियो गोविन्दको काठैकाठले बनेको च्यादरले छाएको दुईतले घर। उसबेला प्रायः सबै घर समुचा काठले नै बनेका हुन्थे।

धरानमा काठको पौल थियो नजिकै चारकोसे झाडी भएकाले।  इँटाले बनेका घर पनि थिए, तर एकदमै थोरै। जस्तै हाम्रो टोलका बास्तोला बाजेहरूका घर इँटाले बनेका थिए। इँटाको घर बनाउनलाई इँटा पारेर त्यसलाई पोल्न भट्टी समेत आफैंले बनाउनुपर्थ्यो जो सबैको हैसियतले भ्याउने कुरा थिएन। तरहरामा व्यापारिक उद्देश्यले इँटाभट्टा खडा गर्ने काम त्यतिञ्जेल भविष्यको गर्भमै थियो।

जोगीको कुटी र गोविन्दको घरको बीचमा रहेको खाली जग्गामा पछि खुल्यो भीमसेन डिस्टिलरी, जुन डिस्टिलरीले रम उत्पादन गर्थ्यो। त्यहाँ उत्पादित रमको मुख्य खपतकर्ता घोपाको ब्रिटिश क्याम्प थियो। डिस्टिलरीको सञ्चालन काठमाडौंबाट आएको मानन्धर परिवारले गरेको  थियो। श्रेष्ठ, प्रधान, मास्के, अमात्य, उदास, कायस्थ, ताम्राकार यावत् थरका नेवारहरू त धरानमा टन्न थिए। तर मलाई लाग्छ धरानमा बसोबास गर्ने संभवतः पहिलो मानन्धर परिवार थियो त्यो। डिस्टिलरी साहुका दुई छोरा थिए- श्याम र बलराम जो हाम्रा साथी बने। श्याम त हामीसँगै पढ्थ्यो एउटै कक्षामा। गोविन्दको घरको ठ्याक्कै सामुन्ने कुन्ता शर्माको घर थियो, दुई चार घर मास्तिर वेणु आचार्यको।

गोविन्दका मातापिता बाहेक ऊ र ऊमुनिको भाइ थियो उसको परिवारमा। लक्ष्मण थियो जस्तो लाग्छ भाइको नाउँ। गोविन्दको भाइ हाम्रै सामु बित्यो, असमयमै। उसको पिताको पनि मृत्यु भएको थियो त्यसभन्दा अघि। मानसिक सन्तुलन गुमाएका व्यक्ति थिए उसको पिता। सदैव सुरुवाल, कमीज र टोपीमा देखिने तिनी प्रायः खाली गोडा हिंडिरहेका हुन्थे, बाटामा अरूले खाएर मिल्काएको चुरोट र बिंडीको ठुटो उठाएर सल्काउँदै तान्दै। घरमा भने वाल्ल परेर बसिराखेका भेटिन्थे। आक्रामक चाहिं थिएनन्। पिताकै कारण गोविन्दलाई मानिसले गाली गर्नु परे बौलाहाको सन्तान वा पागलको सन्तान भन्थे।

डल्ली डल्ली बोलाकी स्वभावकी थिइन् गोविन्दकी आमा। बडो स्नेहपूर्ण व्यवहार गर्थिन् मलाई छोराको मिल्ने साथी भनेर। खाजाको समय भए खाजा दिन्थिन्। खाजामा के नै हुन्थ्यो र ! त्यही चिनीको एक चिम्टीसित दुई चार फाँको चिउरा वा भुटेको मकै–भटमास वा खुबै भए एक दुईवटा बिस्कुट। किन हो तिनी सधैं मलाई बताउँथिन् मगर र छेत्री बीच कुनै भेद छैन भनेर। भन्थिन्, “जन्मदेखि मरणसम्म सारा कर्मकाण्ड एउटै हुन्छ मगर र छेत्रीको। बाहुन पुरेत नै राख्नुपर्छ। फरक त्यही डोराको हो, जो मगरहरू लगाउँदैनन्।” कोही तेस्रो व्यक्ति त्यहाँ उपस्थित छ भने त उनी त्यो विषय नउठाइ छाड्दिन थिइन्। जातीय हिसाबले समेत बराबरीको भएकाले हाम्रो दोस्ती स्वीकार्य थियो भन्न खोजेकी थिइन् कि के हो त्यो चाहिं थाहा भएन।

गोविन्दको परिवार हाम्रो हेरी कता हो कता सम्पन्न थियो। खातापिता थियो भन्नुपर्छ उसको सानो परिवार, जो उसकी आमा र ऊ दुई जनामा सीमित हुन पुगेको थियो। भुईंतलाका किरायादारहरूबाट घरभाडा आउँथ्यो र बाँझगरा पानमारातिर खेती थियो क्यार उनीहरूको। हामीले जसरी शनिबारे हटियाबाट सामल बेसाएर खानुपर्दैनथ्यो उनीहरूलाई। आफ्नै खेतबाट आउँथे उनीहरूका चामल दालका बोरा।

टाढा थिएन गोविन्दको मावली पनि। त्यही इन्डियन कोलोनी मास्तिर फुस्रे जाने बाटा छेउ थियो उसको मावली घर। गोविन्दको कान्छो मामा त हाम्रो साथी नै थियो, भुवन वा भुपाल यस्तै नाउँ थियो उसको। गोपाल अधिकारी थियो जेठा मामाको नाउँ। उनी त्यसबेला धरानमा भर्खरै खुलेको नर्मल स्कूल तालिममा सरिक भएका थिए, जो पछि बुझ्दा शिक्षक तालिम थियो। उनी गीत राम्रो गाउँथे। सुरिलो थियो उनको कण्ठ। हामीले गाउँदा गरेको गल्तीलाई सच्याएर सुनाउँथे र गाउने सही तरिका हामीलाई सिकाउँथे। गाउनमा गोविन्द त्यत्ति राम्रो थिएन त्यो बेग्लै कुरा हो।

हामी पाँच कक्षामा पढ्दै गर्दा हुनुपर्छ कताबाट हो आइपुगे रमापति पराजुली हाम्रो दरिद्र स्कूलमा पढाउन। हकारपकार तथा पिटपाटको भरमा चलिरहेको परम्परागत शिक्षण शैलीभन्दा छुट्टै थियो उनको पढाउने तरिका। नौजवान, सुदर्शन र मृदुभाषी पराजुली सरले हामीलाई कक्षामा पढाउनु बाहेक ती अनेक थोक सिकाए जसबारे हामी पूर्णतः अनभिज्ञ थियौं त्यतिञ्जेल। उनी नआएको भए ती सबै कुरा सिक्न पाउँथ्यौं भन्नेमा मलाई शंका छ। अहिलेको भाषामा “एक्स्ट्रा करिकुलर एक्टिभिटिज” भनिने गतिविधिमा उनले हामीलाई प्रवृत्त गराए।

खेलकुद साथै वक्तृत्व  प्रतियोगिता गराउने। कविता कथा लेख्न प्रेरित गर्ने। गीत गाउन प्रोत्साहित गर्ने। टफी, पेन्सिल, इरेजर भए पनि राम्रो प्याकिङ गरेर पुरस्कार दिने। पोल भल्ट (उसबेला हामी पोलजम्प भन्थ्यौं) खेल उनले नै हामीलाई चिनाएका थिए।

त्यस खेलमा गोविन्द र मेरो निकै प्रतिस्पर्धा हुन्थ्यो।  गर्मीको विदामा घरैमा बोलाएर हामीलाई रोज सित्तैंमा पढाउने। उनकै प्रोत्साहनले गर्दा हामीले आफ्नो स्कूलको प्रतिनिधि बनेर बाल संगठनको शायद जिल्लाव्यापी सम्मेलनमा भाग लिएका थियौं छातीमा बिल्ला भिरेर। एक दिनको त्यो सम्मेलन धरान पब्लिक हाईस्कूलको हलमा भएको थियो। पराजुली सरको आगमन हाम्रो स्कूलमा हुँदा हामी पाँच कक्षामा थियौं जस्तो लाग्छ।

हाम्रो टोलमा लक्ष्मी वाचनालय नामक लाइब्रेरी खोल्ने संस्थापकहरूमा पराजुली सर पनि एक थिए। संवत् २०१६ मा खुलेको त्यस लाइब्रेरीको नाउँ त्यसै साल दिवङ्गत भएका महाकवि देवकोटाको स्मृतिमा राखिएको थियो। त्यसकै कारण साबिकको माथ्लो छाता चोक भन्ने हाम्रो टोलको नाउँ फेरिएर लक्ष्मीचोक हुन गएको थियो। बीपी कोइराला प्रधानमन्त्री हुँदा त्यस वाचनालयमा पनि पसेका थिए अतिथि बनेर। हामी केटाकेटीले वाल्ल परेर हेरेका थियौं उनी आएको, आगन्तुक पुस्तिकामा उनले लेखेको र उनी गएको।

त्यो लाइब्रेरी वस्तुतः हाम्रो सँधियार अभिमन्यु आलेको घरको भुईंतला भाडामा लिएर खोलिएको थियो। अब हामीलाई के चाहियो? त्यहीं हाम्रो बेलुकीको समय बित्न थाल्यो- पत्रपत्रिका र कोर्स बाहिरका किताब पढ्न सिक्दै, लाइब्रेरी खोल्ने जान्नेसुन्ने ठूला दाइहरूको कुरा सुन्दै। “चन्दामामा” हाम्रो फेवरेट बन्यो। त्यसमा प्रकाशित कतिपय कथा–कहानी अझैसम्म याद छ। दैनिक खबरकागतहरूमा एउटा बनारसबाट छापिने “आज” नामक हिन्दी दैनिक आउँथ्यो। त्यसैको  माध्यमबाट विश्वका परिघटनाहरूबारे थाहा पाउने भयौं। त्यसमा छापिने कार्टुन स्ट्रिप विशेष प्रिय थियो। त्यसबाट “जादुगर मेन्ड्रेक” र “वनभैरव” सित परिचय भयो। वनभैरवको मुख, नाक र आँखाबाहेक पूरै अनुहार र शिर ट्याप्प छोपिने नकाबबाट ढाकिएको हुन्थ्यो र शरीर पनि “स्किन टाइट” पहिरनले। हामी वनभैरव जस्तै पानीको छहराले छोपेको ओडारमा बस्ने, घोडा चढ्ने र निर्धा दुःखीहरूको भलाइ गर्ने अनि दुष्ट र दुर्जनहरूलाई ठेगान लगाउने कल्पना गर्थ्यौं।

पत्रमित्र बनाउने चस्का टोलका पढैया अग्रजहरूबाट हामीमा पसेको थियो। पत्रपत्रिकामा पत्रमित्र बनाउन चाहनेहरूको नाउँ ठेगाना छापिन्थे र तिनलाई खोजी खोजी हामी चिठी लेख्थ्यौं।

फिलिमका हिरो हिरोइनका तस्वीरहरू छापिएका सिने पत्रिकाहरू यसै मन पर्ने भइहाले।  सिनेमा हेर्न भनेपछि गोविन्द र म दुवै हुरुक्क हुन्थ्यौं। इन्डियन कोलोनीमा सित्तैंमा हेर्न पाएदेखि नै पसेको हिन्दी सिनेमा हेर्ने हाम्रो चस्कालाई झन्डै लतकै तहमा बढाइदिएका थिए धरानका दुई वटा सिनेमा हलले। हिन्दी फिलिम हेर्नाले र हिन्दीका पत्रपत्रिकाहरू नियमित पढ्नाले गर्दा हिन्दी भाषामा हाम्रो पकड बढ्दै गएको थियो र हामी हिन्दी जासुसी उपन्यास पढ्नतिर उक्लेका  थियौं। सेक्सटन ब्लेक, इब्ने सफी बि ए, कर्नल रञ्जित आदि थिए उसबेला जासुसी उपन्यास लेख्ने नामुद लेखकहरू।

लक्ष्मी वाचनालय हुँदाहुँदै र सित्तैंमा त्यहाँ पुस्तक पत्रिका पढ्न पाउँदापाउँदै कुन बहुलट्ठीपनले हो हामी आफ्नै पुस्तकालय खोल्न सुरियौं, तर बाल पुस्तकालय। मूलतः गोविन्द, केशव वाग्ले, अभिमन्यु आले र म मिलेर त्यो खोल्यौं पनि। एउटै घरको भुईंतलामा एकापट्टि लक्ष्मी वाचनालय थियो भने छेउको एउटा सानो कोठामा बाल पुस्तकालय। नेपाली र हिन्दी भाषाका किताबहरू कुनै यत्नले जम्मा पार्‍यौं, तिनलाई रजिस्टरमा सूचीकृत गर्‍यौं। पुस्तकालयबाट किताब लगेर पढ्ने सदस्यहरू बनायौं।

त्यस बाल पुस्तकालयको रबरको छाप पराजुली सरले काठमाडौंबाट बनाएर ल्याइदिए। हामीले त्यसको पैसा पनि तिर्नु परेन। “बाल पुस्तकालय” भन्ने नाउँ र “लक्ष्मी चोक, धरान” भन्ने ठेगानालाई नेपालको नक्शाले घेरेको थियो। त्यो पाएर हामी कम्ती खुशी भएका थिएनौं। हरेक किताब पत्रपत्रिकामा त्यो छाप लगाइहिंड्यौं। हाम्रा पराजुली सर कति महान् ! किन बेग्लै लाइब्रेरी खोल्न पर्‍यो भनेर उनले हामीलाई कहिल्यै हतोत्साहित गरेनन्, बरू हौस्याए रबरको छाप बनाइदिएर तथा सल्लाह सुझाव र सहयोग दिएर।

पुस्तकालय खोलेपछि आफ्नै पत्रिका पनि निकाल्नुपर्छ भन्ने सल्लाह भयो। प्रेसमा पत्रिका छाप्ने कुरा हाम्रो औकात बाहिरको कुरा थियो। अतः हाते पत्रिका निकाल्ने भयौं। हामी चारै जनाको हातको लेखाइबाट “बालक” पत्रिका निकाल्यौं कथा, कहानी, गीत, कविता आदि संग्रहित गरेर। तर भन्नै पर्छ, धेरै लेखाइ चाहिं गोविन्दकै हातको परेको थियो हामी अरू तीन जनाको भूमिका चाहिं सहयोगीको थियो। मुश्किलले तीन अंक निस्क्यो क्यारे हस्तलिखित “बालक” पत्रिकाको।

यसै बेलातिर हामीहरूले दुइटा नौला सोख समात्यौं। एउटा, हुलाक टिकट संकलन गर्ने र अर्को, पत्रमित्र खोजेर चिठी लेखालेख गर्ने। गोरे साहु थिए विजयपुरका धनाढ्य साहु, जो हुलाक टिकटका ठूला संकलनकर्ता थिए। उनै हाम्रा उत्प्रेरक र सहयोगकर्ता बने टिकट संकलन गर्ने कार्यमा। उमेरले हाम्रो बाजे भन्न सुहाउने तिनी हामी फुच्चाफाच्चेहरूसित घन्टौं बिताउँथे आफ्ना अलबमहरू देखाउँदै र दुर्लभ टिकट शृङ्खला तथा “फर्स्ट डे कभर”को महत्त्व बुझाउँदै। उनैले हामीलाई सिकाए टिकट अलबम राख्न। खाममा गुँदबाट टाँसिएको टिकटलाई पानीमा भिजाएर नबिगारी उक्काउन। उनी हामीसित टिकट साटासाट गर्थे। आफूसित दोहोरिएका टिकटहरू हामीलाई दिन्थे। आफूकहाँ नभएका टिकटहरू खोजेर ल्याउन भन्थे। त्यस बापत टिकटको छुट्टै उपहार पाउँथ्यौं। मैले यो सोख पछिसम्म पालिराखें, काठमाडौं आउँदासम्मै।

पत्रमित्र बनाउने चस्का टोलका पढैया अग्रजहरूबाट हामीमा पसेको थियो। पत्रपत्रिकामा पत्रमित्र बनाउन चाहनेहरूको नाउँ ठेगाना छापिन्थे र तिनलाई खोजी खोजी हामी चिठी लेख्थ्यौं। समुद्रपारका त होइन इन्डियाका धेरै ठाउँमा पत्रमित्र बनाउन हामी सफल भएका थियौं। त्यही सिलसिलामा काठमाडौंमा रहेका विभिन्न राजदूतावासहरूलाई लेखेर तिनका समाचार बुलेटिनहरू झिकाउन पनि सिकेका थियौं। तिनमा भारतीय राजदूतावासले छाप्ने “भारत समाचार” र  इजरायली दूतावासको न्युज लेटर नबिराई हुलाकबाट आउँथे। त्यसैबेला कसैले हामीलाई भारतको बैङ्गलोरबाट नेपाली भाषामा छापिने इसाइ धर्मका सुसमाचार भनिने प्रचार सामग्रीहरू मगाउन प्रेरित गर्‍यो।

ऊ भयावह ठाउँहरूमा अपराधी पछ्याउँदै जान्छ। अपराधीहरूसित मूठभेड हुन्छ अनिलको र उसले रिभोल्भर चलाउनुपर्ने हुन्छ- ढ्याङ ! ढ्याङ !! (हिन्दीमा धाँय ! धाँय !) तर हाम्रो संयुक्त जासुसी उपन्यास लेखन तीन चार पानाको खेस्राभन्दा अगाडि बढ्न सकेन।

हामीले लेखिपठायौं र ती नियमित रूपमा हुलाकबाट आउन थाले। ती सामग्री पढेर के बुझ्यौं कस्तो लाग्यो भन्ने किसिमका प्रश्नोत्तरहरू पनि हुन्थे जो हामी भरेर पठाउँथ्यौं। त्यसबापत अरू थप पुस्तिकाहरू आउँथे। हाम्रो दाँवलका केटाहरूमा त्यो निकै व्यापक बन्यो। पछि प्रशासनले थाहा पाएर त्यस्ता सामग्री हुलाकबाट आउन माथि रोक लगाइथियो अनि आउन छाड्यो। हामीलाई थाहा थिएन त्यो कार्य इसाइ धर्मको प्रचार थियो र त्यसो गर्न पाइन्न भन्ने। हामीलाई त प्रभु येशुका चामत्कारिक कथाहरू पढ्न पाउँदा रमाइलो लाग्थ्यो।

बाल पुस्तकालय सञ्चालनको क्रममा भएको उठबसबाट हामीले कोठैमा बसेर खेल्न सकिने लुँडो र चाइनिज चेकर जस्ता नयाँ खेल पनि सिक्न पायौं। हामीलाई चेकर र लुँडो बोर्ड कतैबाट प्राप्त भएको थियो। ती खेल सिकेर हामीले हाम्रो स्तर बाघचालभन्दा एक खुड्किलो माथि उचाल्न सकेको महसुस गरेका थियौं। तर चेस वा बुद्धिचाल भने अझै सिक्न भ्याइसकेका थिएनौं। जेहोस्, पुस्तकालय सञ्चालन, “बालक” प्रकाशन, किताब तथा पत्रपत्रिकाको पठनपाठन र नयाँ कोठे खेलको आकर्षणले गर्दा खोलामा गई हामीले गर्ने जलक्रीडा र वन विचरण कार्यक्रममा कटौती हुनगएको थियो।

आठ कक्षा उत्तीर्ण भएपछि धरान पब्लिक हाईस्कूल गयौं नौ कक्षामा पढ्न। ठूलो ठाउँ, ठूलो स्कूल, विद्यार्थीको संख्या पनि उत्तिकै ठूलो। नयाँ क्लास, नयाँ साथीहरू। तिनमध्ये कतिपयसित दोस्ती गाँसियो। भेडाले भेडाकै संगत खोज्छ भने झैं हामीले फेला पार्‍यौं कहानी उपन्यास पढ्ने हामी जस्तै केही भेडा। ती भेडामध्ये एउटा थियो नवीन राई। सिंगापुरमा जन्मिएको ऊ लाहुरेको छोरा थियो।

अंग्रेजी कार्टुन कमिक्सको एक नम्बरको भोगी, आफ्नो कापीमा जहिल्यै काउब्वाय र पिस्तोलको चित्र कोरिरहने। ऊबाट हामीले अंग्रेजीका कार्टुन कमिक्ससित चिनारी पायौं। त्यसअघि हिन्दीमा “वनभैरव” भनेर पढिराखेकोमा असलमा ऊ त “फ्यान्टम” रहेको थाहा पायौं। त्यसबाहेक वार र काउब्वाय कमिक्सको स्वाद पनि चाख्यौं। ऊसित सल्लाह भयो उसले चित्र कोर्ने अनि गोविन्द र मैले मिलेर एउटा जासुसी उपन्यास लेख्ने। मलाई अझै याद छ अनिल राखेका थियौं हामीले हाम्रो जासुसी पात्रको नाउँ।

ऊ भयावह ठाउँहरूमा अपराधी पछ्याउँदै जान्छ। अपराधीहरूसित मूठभेड हुन्छ अनिलको र उसले रिभोल्भर चलाउनुपर्ने हुन्छ- ढ्याङ ! ढ्याङ !! (हिन्दीमा धाँय ! धाँय !) तर हाम्रो संयुक्त जासुसी उपन्यास लेखन तीन चार पानाको खेस्राभन्दा अगाडि बढ्न सकेन।

हामी हाईस्कूलमा दाखिल हुँदा “बालक पत्रिका” र बालपुस्तकालय पछाडि छुटिसकेको थियो। समयको फड्कोसँगै हामी किशोर भइसकेका थियौं बालकको काँचुली फेरेर। यस दौरानमा गोविन्द बोहोरा पनि गोविन्द विकलमा रूपान्तरित भइसकेको थियो। आफूलाई चिनाउन वा छुट्टै देखाउन मानिसहरू केही उपनाम राख्ने गर्थे उसबेला।

धरानका चिनिएका वामपन्थी नेता पुण्यप्रसाद आचार्यले आफ्नो नाउँ पछाडि “विद्रोही” झुन्ड्याएका थिए। कवि महानन्द सापकोटाका ज्येष्ठ पुत्र सापकोटा नभई जगदीश नेपाली भनेर चिनिएका थिए। कोही वैरागी थिए, कोही उत्साही, कोही उत्सुक, कोही इच्छुक। गोविन्दलाई पनि आफ्नो नाउँका पछाडि केही नयाँ नौलो फुँदा जोड्ने लहड चल्यो।

मसित सल्लाह लिंदा विकलमा टुङ्गो लाग्यो। ध्वन्यात्मक हिसाबले पनि गोविन्द पछाडि विकल फुलनाउँ संगतिपूर्ण सुनिन्थ्यो। यस उपनामको न्वारान गर्दा आफूले खेलेको भूमिका मैले बिर्सेछु र केही सालपछि कुनै सन्दर्भमा त्यस उपनाम बारे टिप्पणी गर्दा “तैंले नै जुराइदिएको त होस् नि यो नाउँ” भनेर सम्झाएको थियो गोविन्दले। स्कूलमा हुँदै उसको “उच्छवास” शीर्षकको कविता एउटा सामयिक संकलनमा छापिएको पनि थियो गोविन्द विकलको नाउँमा।

हस्तलिखित पत्रिका “बालक” निकालेदेखि नै गोविन्द कविता लेख्नेतर्फ अग्रसर भएको थियो। खुबै रूचाउँथ्यो ऊ कविता लेख्न। मौका पाउनासाथ ख्यास ख्यास केही लेखिहाल्थ्यो र मलाई देखाउँथ्यो। कहाँसम्म भने मेरो घरमा आउँदा म भात खाँदैछु भने मलाई सिकुवामा पर्खंदै गर्दा पनि केही लेख्न भ्याइहाल्थ्यो। मसी भरेको कलमले लेख्नुपर्ने त्यस जमानामा ऊ जतनले कलम र कापी बोकेर हिंड्थ्यो। तर उसले लेख्ने कविता छन्दोबद्ध थिएन न त अन्त्यानुप्रासयुक्त। जसलाई अंग्रेजीमा “फ्रि भर्स” भनिन्छ र जसलाई हामीले गद्य कविता भनेर बुझेका थियौं त्यही शैली अँगालेको थियो गोविन्दले। आखिर नेपाली गद्य कविताको डंका फैलिंदै गरेको समय थियो त्यो। कविता पनि लेख्ने ऊ त्यत्तिकै रफ्तारमा। देवकोटा पथको अनुगामी थियो ऊ। एकपल्ट लेखेपछि लेख्यो लेख्यो, त्यसलाई उजिल्याउने र परिमार्जन गर्ने झञ्झट बेसाइ नरहने, बरू अर्को कविता लेख्नेतिर लाग्ने। मलाई अचम्म लाग्थ्यो उसलाई कविता फुर्थ्यो कसरी ? उसको पहिलो पाठक वा श्रोता त म नै थिएँ आखिर।

एस एल सी परीक्षा दिएपछि हामी कसरी कसरी लोकनृत्य संघ नामक एउटा सांस्कृतिक संस्थासित जोडिन पुग्यौं। त्यसमा थिए नवीनकिशोर राई जो त्यस संघका संगीत निर्देशक, नृत्य निर्देशक, प्रमुख गायक आदि सबै थोक थिए। धनकुटाको चुङवाङबाट झरेका नवीनकिशोर गाउँथे, नाच्थे, गिटार र हार्मोनियम बजाउँथे। त्यहाँ झुम्मिन पुगेका हामी जस्ता नौसिखाहरूलाई गाउन बजाउन र नाच्न पनि सिकाउँथे। त्यस संस्थाका हर्ताकर्ताहरूमा चाहिं वासुदेव थापा र मनमोहन पलिखे थिए। उनीहरूले धरान पब्लिक हाईस्कूल मुन्तिरको बाटाछेउ एउटा घर भाडामा लिएर त्यो संस्था चलाएका थिए। उता केही वर्षअघि नै खुलेर स्थापित भइसकेको सांस्कृतिक संस्थान थियो जसको मुली थिए चन्द्रशेखर श्रेष्ठ। त्यसैमा जोडिएको थियो दीप श्रेष्ठ (उसबेला दीपनारायण)।  दीपको त्यसबेला पुरुष कण्ठ खुलेकै थिएन। केटीको स्वरमा गाउने गर्थ्यो केटीहरूकै साथमा। हामी एकअर्काका, साथी त थियौं तर संयोगवश बेग्लाबेग्लै संस्थासित आवद्ध।

गोविन्द र मैले पनि नृत्य गर्न पाउने भयौं लोकनृत्य संघमा केटाकेटाको जोडी बनेर। यद्यपि केटीहरूसित समूहमा र एक्लाएक्लै नाच्ने रोल पनि हामीलाई मिलेको थियो। केटाले नै केटीको भेष धरेर नृत्य गर्नुपर्ने जमाना बितेर अब केटा र केटीले सँगै युगल नृत्य प्रस्तुत गर्ने चलन चलिसकेको थियो।

हामी सिकारू भएकाले शुरू शुरूमा खुब डर लागेको थियो। त्यसैले संघमा गरिने रिहर्सल बाहेक हामी बिहान बिहान सर्दु खोलाको बलौटे किनारमा गएर पनि नाच्ने अभ्यास गर्थ्यौं। प्रातः भ्रमण पनि हुने अनि एकान्तमा नृत्य अभ्यास पनि हुने। हामीले निकै पटक स्टेजमा प्रस्तुतीकरण दियौं र हाम्रो जोडी धरानका दर्शकमाझ निकै हिट भएको थियो। संघको टोलीमा सामेल भएर म २०२३ सालमा बनारस पनि गएँ त्यहाँको नेपाली छात्र संघको समारोहमा प्रस्तुति दिन भनेर। किन हो त्यस टोलीमा गोविन्द भने सामेल थिएन।

कलेज पढ्दै गर्दा मैले आफैं पहिले पढेको मिडिल स्कूलमा पढाउने काम पाएको थिएँ अस्थायी शिक्षकका रूपमा। गोविन्द भने आफ्नै पढाइ र कविताको खेतीमा लागेको थियो। बैंसको तकाजा, एउटा स्टाइल अपनाएको थियो गोविन्दले। उसले अँगालेको त्यो स्टाइल थियो उतिबेलाका हिन्दी फिलिमका विख्यात अभिनेता राजकुमारको शैलीमा फ्यास्स एउटा मफलर भिर्ने। त्यही मफलर भिरेर डुलिहिंड्थ्यो। मैले जसरी पढ्दै जागिर खाइहाल्नु परेको थिएन उसलाई।

यस्तै बेलामा गोविन्दले बिहे गर्ने भयो। घरमा आमाको दबाब पर्‍यो होला बिहेका लागि। उसबेला छोराले विवाह गर्नु नै बुहार्तनका लागि हुन्थ्यो, आमालाई घरधन्दाको झ्याउलोबाट फुर्सद दिनलाई। संयोगात, धनकुटाको कुनै गाउँबाट एउटा कार्की परिवार गोविन्दकै घर नजिकै डेरा गरी बस्न भर्खर भर्खर आइपुगेको थियो। त्यसै परिवारकी नवयौवनासित गोविन्दले मागी विवाह गरेको थियो, एक किसिमले झटपट।

गोविन्दको बिहेमा साथीहरु

आफ्नो कन्याको बिहेदान गरेपछि त्यो परिवार त्यहाँ धेरै बसेन पनि। सरेर कतै गयो। परम्परागत तरिकाले तर केही संक्षेपीकरणका साथ गरिएको विवाह थियो त्यो। अचानक जसो उसले गरेको बिहे गर्ने निर्णयबाट उसका मित्रमण्डलीका हामी केही अचम्भित भएका थियौं। तर बिहेमा बडो उत्साहका साथ सामेल भयौं- जन्ती गयौं र भोज खायौं।  त्यसबेला खिचिएको फोटोमा दुबोको माला र टोपी लगाएको बेहुला गोविन्द चुरोट तानिरहेको देखिन्छ। उसको दाहिनेपट्टि कुर्सीको हातमा बसेको म देखिन्छु भने बायाँपट्टि कवि वेणु आचार्य देखिन्छन् छालाको ज्याकेटमा। पछिल्तिर साथीहरू सूर्य श्रेष्ठ, हरिहरप्यारा, डम्बर बुढाथोकी र अन्य उभिएका छन्।

गोविन्दको विवाहपछि टीका गुरुले मलाई भनेका थिए, “गोविन्दले चाँडै बिहे गर्‍यो। बिहे गरेको शुरू शुरूमा त के के न पाए जस्तो लाग्छ। तर छिटो जन्मजालमा पर्नु बिल्कुल राम्रो होइन। वसन्त, तिमीले चाहिं बिहे गर्न नहतारिनु नि !” सानामा मलाई कखरा सिकाउने गुरु टीकाप्रसाद भण्डारी त्यही स्कूलमा अझै पढाइरहेका थिए। उनी मेरा प्राथमिक गुरु भए पनि अहिले हामी सहकर्मी बन्न पुगेका थियौं।

टीका गुरुले भने झैं गोविन्द लट्ठै परेको भान हुन्थ्यो ती नववधूको प्रणयपासमा। तिनलाई धरानको शहरी परिवेश सुहाउँदो नवआधुनिका बनाउन हतारिएको देखिन्थ्यो गोविन्द। कम्मरसम्मको केशराशिलाई कटाएर कुम कुमसम्म बनाउनेदेखि लिएर सौन्दर्य प्रसाधनका हरेक वस्तु लिपिस्टिक, लाली पाउडर, सुगन्धित तेल, अत्तरको उपयोगमा ती नववधूले भन्दा पनि गोविन्दले जोड दिने गरेको भनेर कुरा काट्थे टोलछिमेकका मानिसहरू।

कसैको पनि जीवनमा विवाह एउटा महत्त्वपूर्ण मोड हो र त्यसले जीवनशैलीमा केही परिवर्तन अवश्य ल्याउँछ। गोविन्दमा आएको परिवर्तन के थियो भने मलाई भेट्न हाम्रो घरमा आउने उसको आवृत्ति कम भएको थियो। नियमित उठबसको हाम्रो रुटिन बदलिएको थियो। त्यसका बाबजुद हामी कलेजको वार्षिकोत्सवमा नाटक मञ्चनका लागि फेरि एकपटक सँगै घुँडा धसेर लाग्यौं। निकै लामो समयको रिहर्सलपछि २०२६ सालको माघमा हुनुपर्छ ‘बहुलाकाजीको सपना’ नाटकको मञ्चन भयो महेन्द्र कलेजको खुला र फराकिलो प्राङ्गणमा। धरान बजार नै उर्लिएको प्रतीत हुन्थ्यो विजय मल्लद्वारा लिखित त्यो नाटक हेर्न। गोपालराज जोशीद्वारा निर्देशित त्यस नाटकमा चार जना प्रमुख पात्र थियौं गोविन्द र म लगायत।

 

त्यो नाटक खेलेको एक वर्ष पनि नपुग्दै समयको छालले हामी दुई दोस्तलाई दुईतिर हुत्याइदियो। म २०२७ सालको दशैं मनाएर काठमाडौं हानिएँ उच्च अध्ययन गर्ने इरादाले, घरघरायसीमा रूमल्लिएको मित्र गोविन्दलाई धरानमै छाडेर।

ठेगानाको बेठेगानले हो वा दुवै जना आआफ्नै जिन्दगीको बाङ्गोटिङ्गो बाटो लाग्नाले हो, एकआपसमा चिठीपत्र लेख्ने काम हामी बीच कहिल्यै भएन। तर उसको खोजखबर लिने गर्थें, बेलाबखत धरान गएको बखत होस् या काठमाडौंमै रहँदा होस्। म धरान गएको बेला ऊ त्यहाँ नहुनु मानौं नियम बनेको थियो। धेरैजसो उसलाई भेट्न नसकी म काठमाडौं फर्कन्थें।

२०२६ सालमा धरानको महेन्द्र कलेजमा मञ्चन गरिएको ‘बहुलाकाजीको सपना’ नाटक

काठमाडौंमा बसेर म उसबारे पुष्ट अपुष्ट कुरा सुन्थे तेस्रो व्यक्तिको माध्यमबाट। यस्तैमा सुन्नमा आयो, ऊ अर्का कवि मित्र बम देवानसित स्कूलमा पढाउन धनकुटाको छिन्ताङ गयो रे!

गुजाराका लागि कुनै नोकरी गर्नु जरूरी नै थियो र उसबेला सजिलैसित पाइने नोकरी भनेको गाउँमा गएर पढाउनु हुन्थ्यो। त्यसैले ती दुइ मित्र धरान छाडेर छिन्ताङ हानिनु अचम्मको कुरा भएन। तर उनीहरूको मकसद स्कूले मास्टर भएर पढाउनु मात्र थिएन गाउँले जनतालाई पञ्चायती सरकार विरुद्ध क्रान्ति गर्न उराल्नु थियो। छिन्ताङमा ती दुई कविले सल्काउँदै गरेको विद्रोहको धुवाँले सरकारको आँखा पोल्यो। त्यसलाई दबाउन सरकारले सशस्त्र कारबाही गर्‍यो। पुलिसको गोलीबाट सोह्र जना निहत्था गाउँलेहरू मारिए। दुइटी महिला पनि थिए मारिनेमा। धनकुटा मुगाकै सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा संवत् २०३६ मा घटित त्यो नृशंस घटना छिन्ताङ हत्याकाण्डको नाउँले कुख्यात छ। मारिनेहरूको स्मृतिमा बनाइएका अर्ध कदका सालिक छिन्ताङ गाउँ जानेले अझै देख्न सक्छ। वम देवान र गोविन्द त्यस घटनाबाट कसो दैवात् जोगिए र बाँचे।

उसको ज्यान त जोगियो, तर उसको घर भने जोगिएन। उसको घर विखण्डित भयो। सुन्नमा आयो, उसले त्यति विघ्न माया गरेर राखेको विवाहिता पत्नी उसलाई र उसका लालाबालालाई छाडेर अर्कैसित गइन् रे! त्यो आघात उसले कसरी सह्यो होला त्यो मलाई कल्पना गर्न पनि गाह्रो हुन्छ।

भन्न सक्तिनँ नेपालबाट पञ्चायती शासनको बहिर्गमन भएको र धरानबाट गोविन्दको बहिर्गमन भएको समय अघिपछि के थियो। तर त्यसै छेक हो मैले सुनेको, गोविन्द धरानको रासोबासो छाडेर चकरघट्टीमा बस्न गयो’रे! घर खर्चका लागि टुक्राटाक्री र खुद्रे ऋणसापट लिएकोमा सो तिर्न नसकेकोले उसको घर र खहरे खोलासम्म फैलेको घडेरी चुबुरचुबर ऋण दिने छिमेकीको पोल्टामा सस्तैमा पर्‍यो’रे! विस्मात् लाग्यो उसले धरान छाड्नु परेको कारण थाहा पाएर।

पार्टीहरू खुला भएपछि सुनें, भूमिगत राजनीतिबाट गोविन्द पनि खुला राजनीतिमा  आएको र कम्युनिष्ट पार्टीमा सक्रियतासाथ लागेको (कुन रंगको कम्युनिष्ट पार्टीमा भन्ने चाहिं मलाई थाहा भएन)। तर केही वर्षपछि सुनें, कम्युनिष्ट राजनीतिलाई त्यागेर जनजातिको मुद्दा उठाउने जनमुक्ति पार्टी नेपालमा गोविन्द सामेल भएको।

जीवनपथका अनेक मोड र उकाली ओराली पार गर्दै म आइपुगेको थिएँ त्यस समय “हिमाल” द्वैमासिक पत्रिकाको सम्पादन गर्न। लाग्यो, जनजाति उत्थानको राजनीतिमा होमिएको साबिकको जुझारू कम्युनिष्ट कविको विचार बुझ्नु सान्दर्भिक हुनेछ। केही समय त लाग्यो उसको लेखोट प्राप्त गर्न, तर “हिमाल”ले उसको लेख पायो र छाप्यो पनि २०५४ को फागुन-चैतको अंकमा “विचार” स्तम्भ अन्तर्गत। उसको लेख पाउनुभन्दा उसको तस्वीर फेला पार्न धौ धौ भयो हामीलाई। बडो मुश्किलले पाएको उसको फोटो त्यसैले मधुरो र अस्पष्ट देखिन्छ। “जनजाति, आदिवासी र ब्राह्मणवाद” शीर्षक दिइएको त्यस लेखमा त्यसबेला चर्चाको चुलीमा रहेको बाहुनवादलाई उसले यसरी पर्गेलेको थियो— “आफ्नो जात र सम्प्रदायलाई अन्य जात र सम्प्रदाय भन्दा ठूलो र सबैले मान्नुपर्छ भन्ने हठवाद नै ब्राह्मणवाद हो। अहङ्कार भएकाले ब्राह्मणवादभित्र छुद्रता छ। छुवाछूत र भेदभाव प्रथा भएकाले मिथ्या अभिमान छ। ब्राह्मणवादको विरोध ब्राह्मणहरूको विरोध होइन। ब्राह्मणको अस्तित्त्वको विरोध होइन। केवल ब्राह्मणले चलाएको धर्म-संस्कारभित्र रहेका रुढीवाद, अन्धविश्वास र मानवगरिमा विरोधी छुवाछूत तथा भेदभावको प्रवृत्तिको मात्र विरोध हो। — आफूले शारीरिक श्रम नगर्ने त्यो अरूद्वारा गराउने र आफूचाहिं बसी बसी गफ हाँकेर अरूको श्रमको फल खाने शोषणतन्त्र ब्राह्मणवाद हो।“

यस्तो बुझाइका साथ जनजाति आन्दोलनमा लागेको गोविन्द जनमुक्ति पार्टी नेतृत्वको सोपानमा कुन तहमा पुग्न सक्यो त्यो मलाई थाहा भएन।

त्यसको धेरै पछि भने मैले सुनें धरानबाट प्रकाशित हुने दैनिक अखबारमा जीवन निर्वाहका लागि उसले नोकरी गर्न थालेको, शायद राजनीतिबाट विरत भएर होला।

मेरो बा २०६२ मा बित्दा उहाँको काममा मैले गोविन्दलाई खुबै सम्झेर निकै खोजी गरेको थिएँ उसको। उसबेला ऊ चकरघट्टीतिरै बस्ने गरेको र धरान हम्मेसी नआउने खबर पाएको थिएँ। मलाई के थाहा ऊ चकरघट्टीमा विषम रोगको चक्करमा परेको रहेछ भन्ने। अर्को वर्ष त गोविन्द बिती पनि हाल्यो, असमयमै र अप्रत्याशित रूपमा।

किशोरवयमा विकल उपनाम अँगालेको गोविन्दलाई के थाहा, उसको सारा जीवन त्यही उपनामलाई चरितार्थ गर्ने खालको हुनेछ। उसले चाहेर पनि अविकल जिन्दगी जिउन सकेन वा पाएन।

उसको असामयिक मृत्युमा मैले एक घनिष्ठतम बालसखा गुमाएको थिएँ भने देशले एउटा होनहार प्रगतिवादी कवि। मैले “हिमाल” पत्रिकामा ऋतुराजका नाउँले लेख्ने गरेको आफ्नो स्तम्भ “ऋतुविचार” मा गोविन्द बितेकोमा शोकका साथै धरानले जन्माएको राष्ट्रियस्तरको कविको मृत्यु राष्ट्रिय समाचार बन्न नसकेकोमा दु:खेसो व्यक्त गर्दै यस्तो लेखेको थिएँ, “यति चाँडै, यही उमेरमा यसरी गइहाल्छ जस्तो लागेको थिएन। अप्रत्यासित र अनपेक्षित बज्रप्रहार जस्तो आएको थियो उसको मृत्युको समाचार।  …ऊ मेरो बालसखा थियो र थियो लँगौटिया यार।”

उसको देहान्त भएको थियो २०६२ को चैतमा र यो छापिएको थियो “हिमाल” पाक्षिकको १ वैशाख २०६३ को अंकमा।

गोविन्द थियो बडो अलमस्ती, हिन्दीमा भन्नु पर्दा “मस्त मौला” स्वभावको। निष्कपट, निश्छल, खुला दिल र आदर्श विचारको मानिस थियो ऊ। त्यस्तो मानिससित दुनियाँदारी झेल्न सक्ने सीप र सामर्थ्य नहुनु स्वाभाविक थियो। पूरापूर कविताको संसारमा रमाउने उसलाई घरव्यवहारको झै–झञ्झटले नराम्रोसित रिंगायो, खासगरी घर भाँडिनाले (त्यो पनि दुई दुई पटक)। आर्थिक संकट, अभाव र कष्टसितको उसको सहवास स्थायी रह्यो। राजनीतिमा लागेर कतै नपुगेको, अम्मल साहित्य भएको, घरबार बिग्रिएको र आयस्ताको गतिलो स्रोत नभएको। यस्तो व्यक्तिले आश्रय लिने भनेको मद्यपानमा हो। गोविन्दले पनि त्यसैको सहारा लियो। उसले जानेको काम त्यही कलम चलाउने थियो। तर कुनै पत्रिकामा पनि स्थिर भएर बस्न सकेन न लेखनलाई व्यवसाय नै बनाउन सक्यो।

विमल पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले दुःख पाएको कवि भनेर गोविन्दलाई बस्ने–खाने बन्दोबस्तका साथ पुस्तकालय भवनकै माथ्लो तलामा राखेका थिए एकताका। तर आउने जाने समयको बेटुङ्गो, हदै दर्जाको मदिरा सेवन र नशामा उसले गर्ने हर्कतबाट आजित भएर उनले गोविन्दलाई बिदा दिनु परेको थियो। “मातेर कराउने उफ्रिने, भित्री कट्टुमै भित्रबाहिर जताततै हिंड्ने आइमाई केटाकेटी भएको ठाउँमा— हैरान भइयो” भन्थे पूर्णबहादुर। उनको कथनबाट थाहा हुन्छ गोविन्दको निजी जीवन कुन हदसम्म विशृङ्खलित बनेको थियो। खानपिनको बेठेगान, अनियन्त्रित दैनिकी र अत्यधिक रक्सी सेवनबाट जे हुनु अपरिहार्य छ  गोविन्दलाई पनि त्यही भयो। शरीर जीर्ण बन्यो त्यसमा रोगले घर बनायो। जीवनमा सुखभोग गर्न पाउनु त उसले ल्याउन चाहेको साम्यवाद जस्तै स्वप्नमय मिथक बन्यो उसका लागि।

किशोरवयमा विकल उपनाम अँगालेको गोविन्दलाई के थाहा, उसको सारा जीवन त्यही उपनामलाई चरितार्थ गर्ने खालको हुनेछ। उसले चाहेर पनि अविकल जिन्दगी जिउन सकेन वा पाएन।

पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष हो जीवन, जीवन संघर्ष हो”। गीतको त्यही पङ्ति जस्तै गोविन्दको तमाम जीवन संघर्षको पर्याय बन्यो। संघर्ष र अल्पायुमै बित्यो उसको विकल जिन्दगी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?