News Summary
Generated by OK AI. Editorially reviewed.- आँखामुनिको कालोपन निद्राको कमी, वंशाणुगत कारण, पिग्मेन्ट बढ्नु र उमेरका कारण हुन सक्ने यस लेखले जनाएको छ।
- डार्क सर्कल कम गर्न पर्याप्त निद्रा, चिसो सेक, घामबाट जोगिनु र छालाको उचित हेरचाह गर्नुपर्ने सुझाव दिइएको छ।
ऐना हेर्दा अनुहार उस्तै देखिन्छ, तर आँखामुनि देखिने कालोपनले अनुहारलाई थकित देखाइरहेको हुन्छ । त्यसलाई केही बेर लुकाउन कन्सिलर प्रयोग गरे पनि अनुहार धोए पनि जस्ताको त्यस्तै देखिन्छ ।
स्थायी कालो घेरा अथवा ‘डार्क सर्कल’ हटाउन सकिदैन ?
केही अवस्थामा डार्क सर्कल कम गर्न सकिन्छ, तर सबैमा पूर्ण रूपमा हटाउन सकिन्छ भन्ने ग्यारेन्टी छैन । किनभने आँखामुनिको कालोपन निद्रा नपुगेको संकेत मात्र होइन । यसका धेरै कारणहरू हुन्छन् ।
आँखामुनि कालो घेरा किन बस्छ ?
डार्क सर्कल एउटै कारणले हुँदैन । कसैको आँखामुनि खैरो रङ देखिन्छ, कसैको नीलो वा बैजनीजस्तो देखिन्छ भने कसैको आँखामुनि खाल्डो परेजस्तो भएर छाया बनेको हुन्छ । यी फरक देखावटका कारण र उपचार पनि फरक हुन सक्छन् ।
१. निद्रा नपुग्दा
राति पर्याप्त निद्रा नपुग्दा आँखामुनि पहिलेदेखि रहेको कालोपन र छाया अझ स्पष्ट देखिन सक्छ । थकानसँगै आँखामुनि सुन्निने समस्या पनि हुन सक्छ । तर निद्राको कमी नै सबै डार्क सर्कलको कारण भने होइन ।
२. वंशाणुगत कारण
परिवारका सदस्यमा आँखामुनि कालो घेरा देखिने समस्या छ भने आफूमा पनि देखिन सक्छ । छालाको प्राकृतिक रङ, आँखामुनिको बनावट र छालाको मोटाइले पनि यसको स्वरूप निर्धारण गर्छन् । यस्तो अवस्थामा निद्रा सुधार्दा वा घरेलु उपाय अपनाउँदा केही सुधार भए पनि कालोपन पूर्ण रूपमा नहट्न सक्छ ।
३. छालामा पिग्मेन्ट बढ्दा
घाममा धेरै बस्दा छालामा मेलानिन नामक ‘पिग्मेन्ट’ बढ्न सक्छ । यसले आँखामुनिको छाला थप गाढा देखाउन सक्छ । एलर्जी, एक्जिमा वा आँखालाई बारम्बार मिच्ने बानीले पनि छालामा पोल्ने र त्यसपछि कालोपन बढाउन सक्छ ।
४. उमेर बढ्दै जाँदा
उमेरसँगै आँखामुनिको छाला पातलो हुँदै जान सक्छ र त्यसको भित्री भागका रक्तनली बढी देखिन सक्छन् । आँखामुनिको बोसो र तन्तुमा हुने परिवर्तनले खाल्डोजस्तो बनावट सिर्जना गर्न सक्छ ।
यस्तो अवस्थामा प्रकाश पर्दा छाया बनेर कालोपन अझ बढी देखिन्छ ।
डार्क सर्कल हटाउन के गर्न सकिन्छ ?
आँखामुनिको कालोपन कम गर्ने पहिलो उपाय महँगा उत्पादन किन्नु होइन, त्यसको सम्भावित कारण बुझ्नु हो । सामान्य दिनचर्यामा केही परिवर्तन गर्दा पनि यसको देखावट कम हुन सक्छ ।
१. पर्याप्त निद्रा लिने
वयस्कले सामान्यतया प्रत्येक रात कम्तीमा सात घण्टा सुत्ने लक्ष्य राख्नुपर्छ । सुत्ने र उठ्ने समय नियमित बनाउनुपर्छ । निद्राको कमीले बढाएको थकित देखावट कम हुन सक्छ, तर सबै प्रकारका डार्क सर्कल निद्राले मात्रै हटाउँदैन ।
२. चिसो कपडाले सेक्ने
सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामुनि केही मिनेट हल्कासँग राख्न सकिन्छ । यसले रक्तनलीको देखावट र सुन्निएको भाग केही समयका लागि कम गर्न मद्दत गर्न सक्छ । बरफ सिधै छालामा नराख्नुहोस् र आँखामुनि जोडले नथिच्नुहोस् । यो अस्थायी उपाय हो, स्थायी उपचार होइन ।
३. घामबाट छालालाई जोगाउने
घामका कारण छालाको रङ गाढा भएको अवस्थामा सूर्यको पराबैंगनी किरणबाट जोगिनु महत्त्वपूर्ण हुन्छ । बाहिर निस्कँदा यूभी सुरक्षा भएको चस्मा लगाउने र आँखाको वरिपरि प्रयोग गर्न मिल्ने ब्रड‑स्पेक्ट्रम एसपीएफ ३० वा सोभन्दा माथिको सनस्क्रिन प्रयोग गर्न सकिन्छ ।
४. आँखामुनिको छालाको उचित हेरचाह गर्ने
छालालाई सुख्खा हुन नदिन उपयुक्त मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । आँखामुनि चिलाउने वा एलर्जी हुने समस्या छ भने त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ। आँखालाई बारम्बार मिच्ने वा रगड्ने भने गर्नु हुँदैन । नयाँ क्रिम प्रयोग गर्दा पोल्न थालेमा त्यसको प्रयोग बन्द गर्नुपर्छ ।
काँक्रो र आई क्रिमले साँच्चै काम गर्छन् ?
आँखामाथि काँक्रोका टुक्रा राख्ने, चियाका चिसा ब्याग प्रयोग गर्ने वा विभिन्न घरेलु लेप लगाउने चलन छ । चिसोपनले केही समयका लागि सुन्निएको भाग कम गर्न सक्छ । तर काँक्रो वा घरेलु उपायले सबै प्रकारका डार्क सर्कल हटाउँछ भन्ने वैज्ञानिक प्रमाण छैन । आँखाको संवेदनशील छालामा कागती, कडा लेप, तथा पोल्ने कुराहरू प्रयोग गर्नु उल्टै हानिकारक हुन सक्छ ।
बजारमा पाइने आई क्रिममा क्याफिन, भिटामिन सी, भिटामिन के, वा छालाको पिग्मेन्ट कम गर्न प्रयोग गरिने अन्य तत्त्व हुन सक्छन् । त्यस्तै म्याट्रिक्स ३००० अन्डर आई क्रिम पनि प्रभावकारी छ । तर उत्पादनमा यी तत्व हुनु मात्रै प्रभावकारिताको प्रमाण होइन । कुन तत्वले कति फाइदा गर्छ भन्ने कुरा त्यसको मात्रा, उत्पादनको बनावट र डार्क सर्कलको कारणमा निर्भर हुन्छ ।
अध्ययनले डार्क सर्कलबारे के भन्छ ?
आँखामुनिको कालोपनको कारण र उपचारबारे वैज्ञानिक अध्ययन भएका छन् । तर अहिलेसम्म सबै प्रकारका डार्क सर्कल हटाउने एउटै प्रभावकारी उपाय स्थापित भएको छैन ।
सन् २०१६ मा जनरल अफ क्लिनिकल एण्ड एस्थेटिक डर्माटोलोजिस्टमा प्रकाशित समीक्षाले आँखामुनिको कालोपनमा रङद्रव्य, छालाको बनावट, रक्तनली र आँखाको वरिपरिको संरचनाबाट बन्ने छायाजस्ता विभिन्न कारणको भूमिका औँल्याएको थियो । यसले उपचार छनोट गर्दा कालोपनको कारण छुट्याउनुपर्ने देखाउँछ ।
त्यस्तै, सन् २०२१ मा एनल्सअफ डर्माटोलोजीमा प्रकाशित अध्ययनले आँखामुनिको कालोपनको गम्भीरतासँग सम्बन्धित पक्षहरूको मूल्याङ्कन गरेको थियो । डार्क सर्कलको देखावट धेरै पक्षसँग सम्बन्धित हुने भएकाले सबै व्यक्तिमा एउटै उपचारले समान परिणाम दिन्छ भन्ने मान्न मिल्दैन ।
सन् २०२१ मा प्रकाशित अर्को समीक्षामा विभिन्न उपचारले केही व्यक्तिमा सुधार ल्याउन सम्भव छ भनिएको थियो । तर उपचारको प्रभावकारिता कारणअनुसार फरक पर्न सक्ने र थप प्रमाण आवश्यक पर्ने कुरा बताइएको थियो ।
यसको अर्थ डार्क सर्कलले कति सुधार ल्याउँछ भन्ने कुरा वास्तविक कारण पहिचान भएमा निर्भर गर्छ ।
क्रिमले नहटे भने के गर्ने ?
घरेलु हेरचाह र नियमित दिनचर्या सुधार नल्याएमा डार्क सर्कलको छाला रोग विशेषज्ञसँग परामर्श गर्न सकिन्छ । डार्क सर्कलको कालोपनको कारणअनुसार चिकित्सकले उपयुक्त क्रिम, केमिकल पिल वा लेजर उपचार सुझाउन सक्छन् ।
के छन्, उपचार ?
आँखामुनि खाल्डो परेर छाया बनेको अवस्थामा केही व्यक्तिका लागि फिलरजस्ता प्रक्रिया विकल्प हुन सक्छन् । पेट्रीरिच प्लाज्मा वा पेट्रीरिच प्लाज्मा प्यूरिन र माइक्रो निडलिङ गर्न सकिन्छ ।
त्यससँगै अहिले चलेको अर्को उपचार हो, पोलोन्युक्लोटाइड इन्जेक्शन । यो लगाएमा आँखा वरपरको कालो घेरा मात्र नभई वरपरको छालालाई कसिलो बनाउँछ । अर्को आँखालाई पोल्ने, चिलाउने नगर्ने केमिकल पिलिङ पनि प्रभावकारी हुन्छ ।
प्रतिक्रिया 4