सरकारले खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेपछि त्यहाँका क्रिकेट खेलाडी उत्साहित भएका छन् । त्यहाँ अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्न लागेको छ । सदरमुकाम गोठलापानी नजिकै सुन्दरखालीमा सहिद दशरथ चन्दको नामबाट ‘दशरथ चन्द अन्तर्राष्ट्रिय क्रिकेट मैदान’को निर्माण कार्य सुरु भएको छ ।
दशरथ चन्दकै नामबाट स्थापना गरिएको विद्यालय परिसरमा उक्त क्रिकेट मैदान निर्माण गर्न लागिएको हो । मैदान निर्माणका लागि नेपाल सरकारले रु ११ करोड ५० लाख विनियोजन गरेको छ ।
दशरथ चन्द क्रिकेट स्टेडियमका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट एक करोड १९ लाख निकासा भइसकेको क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ६ का सचिव तेजप्रकाश भट्टले जानकारी दिए । ‘मैदान निर्माणको काम तीव्र रुपमा भइरहेको छ,’ उनले भने ।
टेन्डरपछि हाल ‘चन्द्र एन्ड वसन्त कन्स्ट्रक्सन’ले काम गरिरहेको छ । त्यस्तै क्रिकेट मैदान निर्माणका लागि दशरथ चन्द नगरपालिका र जिविसले समेत आर्थिक सहयोग गरेको छ ।
तीन वर्षको योजनासहित निर्माण सुरु गरिएको स्टेडियममा प्याराफिट, जिमखाना, इन्डोर हल र पेभेलियन हल निर्माण गरिनेछ । कुल ५५ यार्ड क्षेत्रफल रहेको सुविधा सम्पन्न खेलमैदान बनाउने योजनासहित निर्माण थालिएको हो ।
असार महिनासम्म दुई सय मिटर अग्लो पर्खाल बनाउने र सम्याउनेलगायतका काम सम्पन्न हुने सचिव भट्टले बताए ।
क्षेत्र नं ६ का कार्यवाहक अध्यक्ष विनोदबहादुर चन्दले खेल मैदान निर्माण भएपछि त्यस क्षेत्रको क्रिकेटले फड्को मार्ने बताए । ‘मैदान निर्माण भए क्रिकेटलाई मात्र होइन अन्य खेलको विकास र पर्यटन क्षेतलाई समेत मद्दत पुग्छ,’ उनले भने ।
क्रिकेट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै अहिलेसम्म महिलातर्फ अन्जली चन्द, रेखा रावल, जानकी भट्ट, द्रोपदी कुँवर, रीतु कनौजिया तथा पुरुषतर्फ धीरेन्द्र चन्द, जगदीश चन्द, मनोज जोशी, योगेन्द्र कार्कीलगायत खेलाडीले नेपाली टिममा स्थान बनाइसकेका छन् । केही वर्षयता बैतडीले दीपेन्द्रबहादुर चन्दलाई प्रशिक्षकका रुपमा पाएको छ । तर भौतिक पूर्वाधार अभावले खेलाडी ठूलो मर्कामा परेका छन् । स्तरीय खेल मैदानको अभावले त्यहाँ राष्ट्रियस्तरका प्रतियोगिता गराउन सकिएको छैन ।
‘अरु सवथोक छ, मैदान छैन,’ नेपाल क्रिकेट सङ्घका पूर्व उपाध्यक्ष एवम् क्षेत्र नं ६ बैतडीका संस्थापक अध्यक्ष चतुरबहादुर चन्द भन्छन् । मैदान अभावमा प्रतियोगिता आयोजना गर्ने थुप्रै प्रस्ताव अस्वीकार गर्दै आएको उनले पीडा सुनाए । रासस
प्रतिक्रिया 4