एरोबिक व्यायाम गर्नाले स्मरण शक्ति ह्रास वा सिजोफ्रेनिया जस्ता रोगबाट पीडित मानिसहरुको स्मरण क्षमतामा सुधार ल्याउन सहयोग गर्ने एक अध्ययनले देखाएको छ ।
सिजोफ्रेनिया जस्तो दीर्घकालीन मानसिक समस्याको सामान्यतः अन्य आम औषधिहरुबाट उपचार गरिन्छ । तर यसले खासै सकारात्मक प्रभाव पार्ने देखिँदैन ।
बेलायतको म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ता जोसेफ फिर्थ सहितको टोलीले गरेको अध्ययन अनुसार १२ हप्तासम्म एरोबिक व्यायाम गर्नाले सिजोफ्रेनियाका विरामीहरुको स्मरण शक्तिमा उल्लेखनीय सुधार आएको देखिएको छ ।
सिजोफ्रेनिया जस्ता रोगमा स्मरण शक्ति क्षयिकरण हुनु रोगको एउटा लक्षण नै हो । जसका कारण मानिसहरुको निजी तथा सामाजिक जिवनमा ठूलो असर पर्दछ ।
तर यस्ता विरामीहरुले एरोबिक व्यायाम गर्नाले स्मरण क्षमतामा सुधार हुने र व्यक्तिले एकसाथ धेरै कुराहरुको स्मरण गर्न सक्ने हुन्छ । जति धेरै व्यायाम गर्यो स्मरण क्षमता वृद्धिमा उति नै सकारात्मक प्रभाव पर्ने शोधकर्ताको भनाई छ ।
शोधकर्ताका अनुसार यदि सिजोफ्रेनिया रोगको सुरुवाती अवस्थामै एरोबिक व्यायाम सुरु गरेमा त्यसले मानिसलाई दीर्घकालीन रुपमा स्मरण क्षमता गुमाउने दुष्प्रभावबाट बचाउँदछ ।
सिजोफ्रेनिया बुलेटिनमा यो शोध छापिएको छ ।
प्रतिक्रिया 4