२१ असोज, काठमाडौं । शनिबार राति आफ्नै कार्यकक्षबाट घुससहित पक्राउ परेका नेपाल प्रहरीका बहालवाला डीएसपी श्यामकुमार राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेससमेत माग गरेको खुलेको छ ।
घुस लिँदालिँदै रंगेहात समातिएका महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डीएसपी राईले असारदेखि नै बालुवा व्यवसायीसँग टेलिभिजन र त्यो राख्ने सोकेस माग्दै आएको अनुसन्धानका क्रममा खुलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार डीएसपी राईले पटक-पटक माग गर्दा पनि व्यवसायीले रकम नदिएपछि उनले बालुवाको व्यापार चौपट पारिदिने भन्दै धम्क्याउन थालेका थिए ।
‘टीभीको व्यवस्था गरिदिए सहजरुपमा बालुवाको व्यापार गर्न दिने शर्त राखेका रहेछन्’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, पटक-पटक केरकार गर्दा पनि टीभी र सोकेस नदिएपछि पछिल्लो समय दशैं लागेको भन्दै राईले १ लाख ७० हजार रुपैयाँ मागेका रहेछन् ।’
स्रोतका अनुसार रकम बार्गेनिङका क्रममा १ लाख ४० हजार रुपैयाँमा ‘डिल फिक्स’ भएको थियो । तर, केही समयअघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका डीएसपी राईले घुस लिन लागेको सूचना भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने उनकै पूर्वकार्यालयसम्म पुग्यो । र, शनिबार राति उनी कार्यकक्षबाटै रंगेहात समातिए ।
अख्तियारको नाम लिँदै भ्रष्टाचार
डीएसपी राईसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेको अनुभव थियो ।
डीएसपी राईले यसअघि अन्य व्यवसायीलाई पनि दुःख दिएपछि गृहमन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेको थियो । तर, उनीमाथि कुनै कारबाही हुन सकेको थिएन । बरु उल्टै उनले आकर्षक ठाउँमा पोष्टिङ पाउँदै आएका थिए ।
डीएसपी राईले यसअघि प्रहरी वृत्त चापागाउँको प्रमुख हुँदा पनि हप्ता असुली गर्ने गरेको खुलेको थियो । तर, उनी जोगिँदै आएका थिए ।
डीएसपी राईले यसअघि अख्तियारमा काम गरिसकेका र हाल गृहसचिव रहेका प्रेमकुमार राई आफ्नो मान्छे भएको बताउँदै कारवाही हुनबाट जोगिने गरेको प्रहरी स्रोत बताउँछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालदेखि काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामासम्मले पटक-पटक चेतावनी दिए पनि राईले आफ्नो भ्रष्ट बानी सुधारेका थिएनन् ।
गृहसचिव भन्छन्- मेरो मान्छे होइन
गृहसचिव प्रेमबहादुर राईले भने डीएसपी श्यामकुमार राई आफ्नो कुनै नातासम्बन्धको मान्छे नभएको बताएका छन् । उनले अनलाइनखबरसँग भने- ‘म पनि अख्तियारमा काम गरिरहेको थिएँ, उनी पनि अख्तियारमा आए । राई भएकाले उनले दाइ भने पनि उनीसँग मेरो कुनै नाता सम्बन्ध छैन ।’

कतिपय शंकास्पद क्रियाकलाप गरेको गुनासो आएपछि आफूले त्यस्तो काम नगर्न र इमान्दारितापूर्वक काम गर्न उनलाई चेतावनी दिएको गृहसचिव राईले अनलाइनखबरलाई बताए ।
‘यस्ताखालका काम नगर्नु भनेर मैले चेतावनी दिएको थिएँ,’ गृहसचिव राईले भने, ‘कानूनविपरीत कारवाही गर्ने यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्छ, हाम्रो नाम लिएकै भरमा कसैले पनि उन्मुक्ति पाउँदैनन् ।’
कमिसन लिएर जुवाघरलाई अनुमति
डीएसपी राई पक्राउ पर्नु अघिल्लो दिनमात्रै काठमाडौं प्रहरी परिसरले राईकै संरक्षणमा चल्दै आएको मूलपानीस्थित जुवाघरमा छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा शनिबार दुईजनाको मृत्युसमेत भयो । प्रहरीले त्यहाँबाट २४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
डीएसपी राईले जुवा खेलाडीका नाइके भनिएकी दोलखाकी हेमा गुरुङबाट रकम असुलेर निर्विवादरुपमा जुवा अखडा चल्न दिने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया 4