 
																			१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।
शुक्रबार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए ।
‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,’यहाँ जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा प्रशस्त सम्भावना छन् ।’
प्रधानमन्त्री ओलीले सरकारले अब दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेर काम गरिरहेको भन्दै त्यसका लागि स्वदेशी पुँजी पर्याप्त नभएको बताए । ‘हामीलाई दोहोरो अंकको वृद्धि हात पार्न ठूलो विदेशी लगानी आवश्यक छ, त्यसका लागि हामीले विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन कानूनहरु संशोधन गरेका छौं, नयाँ कानून ल्याएका छौं,’ उनले भने,’हामी नाफाको सम्मान गर्छौं, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको साथ विना ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पुरा नहुने भन्दै त्यसैलाई ध्यानमा राखेर लगानीमैत्री कानूनहरु बनाइएको बताए । उनले नेपाल भूराजनीतिक हिसावले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै यहाँ गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने बताए ।
‘हामीले ब्यापार सहजीकारण लागि विभिन्न काम गरेका छौं, भारतसँग जलमार्गबाट पनि छिट्टै जाडिँदैछौं,’ ओलीले भने,’चीनसँग पनि पारहवन प्रोटोकलमा छिट्टै हस्ताक्षर हुँदैछ । यसले यहाँ हुने लगानीलाई अझ सहज गर्छ भन्ने हाम्रो विश्वास छ ।’
उनले सरकारले पारदर्शी भएर काम गर्ने भन्दै कुनै पनि सिन्डिकेटलाई संरक्षण पनि नगरिने लगानीकर्तालाई आश्वास्त पारे । करलाई अनुमान योग्य बनाउने, लाभांश सजिलै फिर्ता लैजान दिने, लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार उपलब्ध गराउने, सूचना प्रविधिमा आधारित भएर काम गर्ने लगायतका विषयमा सरकार प्रतिवद्ध रहेको ओलीले बताए ।
उनले विदेशी लगानीकर्तालाई दोहोरो करको मार पर्न नदिन विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता भइरहेको भन्दै बौद्धिक सम्पत्तिको संरक्षणलाई पनि ध्यान राखेर ऐन ल्याउन लागिएको बताए ।
नेपालमा सस्तो जनशक्ति उपलब्ध रहेको भन्दै ओलीले दक्ष र सिपयुक्त जनशक्तिको पनि समस्या नरेको लगानीकर्तामाझ ओलीले दावी पेश गरे । उनले सडक तथा औद्योगिक पूर्वाधार बनाउन सरकार अघि बढेको बताउँदै प्रत्येक स्थानीय तहमा एउटा औद्योगिक ग्राम बनाउने योजना रहेको पनि सुनाए ।
उनले सुरक्षित महसुस गरेर नेपाल आउन र नाफा कमाउन विदेशी लगानीकर्तालाई आग्रह पनि गरे । उनले विदेशी लगानीकर्तालाई नेपालको समृद्धिको यात्रमा हातेमालो गर्न आह्वान गरे ।
 
                









 
                     
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4