९ असार, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ भारतीयलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो ।
पक्राउ पर्नेमा भारत मैनाटाड थाना–१ का १९ वर्षीय सञ्जित कुमार पटेल, २० वर्षीय सनी कुमार पटेल, ३५ वर्षीय बिरिन्ची सिंह छन् । त्यस्तै, सोही स्थानका २५ वर्षीय सत्यम साह, २५ वर्र्षीय धनञ्जय कानु, सन्दीप कुमार पटेल र आलोक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
नियन्त्रणमा लिएका सातै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
नेपाली भूमिमा आएर अत्यधिक मदिरा सेवन गरेका भारतीयले चेकजाँचमा खटिएका प्रहरीमाथि मदिरा ‘बिक्री निषेधित छैन, किन चेकजाँच गरेको’ भन्दै दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
उनीहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।
विहार राज्यले मदिरामा प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती क्षेत्रमा भारतीय आउने गरेका छन् । तिनै भारतीयलाई लक्षित गरेर सीमावर्ती क्षेत्रमा मदिरा पसल खुलेको स्थानीयवासीहरु बताउँछन् ।
त्यहाँबाट आउने भारतीयले स्थानीयलाई मात्र नभएर प्रहरीलाई समेत कुटपिट गर्ने गरेका छन् । गत जेठ ३१ गते मात्रै पनि ठोरी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय ठोरीको छेउको सेन्ट्री ड्यूटीमै बसेका प्रहरी जवान प्रसाद चौधरीलाई पाँच जना भारतीय युवाहरुले कुटपिट गरेका थिए । कुटपिट गर्ने पाँचै जना भारतीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4