+
+

एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ : चीन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते ११:१३

१८ पुस, काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टीकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

पत्रकारले राजदूत होउ आफ्नो पदावधि नसकिँदै फर्किन लागेको चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?