२१ माघ, काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै बोल्ने बताएको छ ।
प्रशिक्षक पटवालले राजीनामा दिएको खबर अनलाइनखबरले प्रकाशित गरेको थियो । तर क्रिकेट संघका पदाधिकारीहरुले यसबारे बोल्न मानेका थिएनन् ।
भोलिबाट सुरु हुने त्रिकोणात्मक सिरिजको अघिल्लो दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यान सचिव अशोकनाथ प्याकुरेलले पटवालले आईसीसीलाई पठाएको राजीनाको बोधार्थ क्रिकेट संघमा पनि आएको स्वीकार गरे ।
तर क्यान निलम्बनमा रहेका बेला आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच सम्झौता भएर प्रशिक्षक नियुक्त भएकाले उनीहरुले नै बोल्ने उनले बताए । ‘राजीनामाको विषय हामीले सीसी भएर जानकारी पाएको हो’ क्यानका सचिव प्याकुरेलले भने, ‘यसबारे आईसीसीले बोल्नुपर्छ, के हो ? कसो हो ? कुन टर्म एण्ड कन्डिसन के हो ? अब के गर्ने हो ?’
आईसीसी र राखेप जसरी अगाडि बढ्छ, त्यसमा क्रिकेट संघले सहयोग गर्ने उनले बताए ।
प्रतिक्रिया 4