Comments Add Comment

‘डिसिप्लिन बलिङ’ नहुँदा ओमानसँग नेपालको अर्को पराजय

२६ माघ, काठमाडौं । काठमाडौंमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आइतबार नेपाल ओमानसँग ८ विकेटले पराजित भयो । २४९ रनको स्कोर खडा गर्दा समेत नेपालले खेल जित्न सकेन । किन ? कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘डिसिप्लिन बलिङ भएन ।’

नेपालको पुरानै रोग हो एउटा क्षेत्रमा राम्रो गर्दा अर्को खराब हुने । अर्थात खराब पक्षलाई सच्याउदा राम्रो पक्ष खराबमा परिणत हुने । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले ओमानसँगै खेल्दा त्यस्तो भयो ।

लगातार समस्या देखिएको ब्याटिङ आइतबार राम्रो भयो । कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एकदिवसीय क्रिकेटमा दुई अर्धशतक हान्ने पहिलो खेलाडी बने । पहिलो अर्धशतक पनि उनैले २०१८ मा नेदरल्याण्ड्सविरुद्ध प्रहार गरेका थिए । ज्ञानेन्द्र ५६ रन अनि सबै खेलाडीको कन्ट्रिब्युसनमा नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । ओडीआईमा नेपालको यो दोस्रो उच्च स्कोर थियो भने लक्ष्य दिएको हिसाबमा सर्वाधिक हो ।

गत वर्ष नेपालले युएई टुरमा २५४ रनको लक्ष्य पछ्याउदै २५५ रन बनाएर जीत हात पारेको थियो । त्यो नै नेपालको ठुलो स्कोर हो । यस पटक नेपालले पूरै ५० ओभर खेल्न सक्नु अर्को उपलब्धी हो ।

कप्तान ज्ञानेन्द्र मल्लले भने,  ‘हामीले डिसिप्लिन बलिङ गर्न सकेको भए उनीहरुलाई अलि प्रेसर दिन सकिन्थ्यो होला । जसरी दुई जनाले ब्याटिङ गरे, हामीलाई कुनै पनि बेला खेलमामा फर्कन गाह्रो भयो ।’

तर लक्ष्यलाई जोगाउन सकेन । ओमानका उपकप्तान अकिब इल्यास हिरो बन्दा नेपालको केही लागेन । नेपाली बलरको केही लागेन ।

उनले सबै नेपाली बलरविरुद्ध रन जोडे । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले जस्तो रणनीति लगाएपनि त्यसले इल्यासलाई छोएन । इल्यासले अविजित रहँदै १०९ रनको शतकीय पारी खेले । यति मात्र होइन, उनले कप्तान जिसन मक्सुदसंग तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । ८३ रनमा २ विकेट गुमाए पनि यो जोडीले उत्कृष्ट ब्याटिङ गर्दै ओमानलाई जीतसम्म पुर्‍याए ।

खेलपछि नेपाली टोलीका कप्तान ज्ञानेन्द्रले राम्रै रन बनाएपनि बलिङ राम्रो नहुँदा हार बेहोरेको बताए । ‘२५० राम्रै टार्गेट थियो । तर हामीले बलिङमा धेरै बाउन्ड्री दियौं’ ज्ञानेन्द्रले भने,  ‘हामीले डिसिप्लिन बलिङ गर्न सकेको भए उनीहरुलाई अलि प्रेसर दिन सकिन्थ्यो होला । जसरी दुई जनाले ब्याटिङ गरे, हामीलाई कुनै पनि बेला खेलमामा फर्कन गाह्रो भयो ।’

उनले योजना अनुसार जुन समयमा जुन बलरलाई विश्वास गरे त्यति बेला राम्रो गर्न नसकेको स्विकारे ।

ओमानी प्रशिक्षक डुलिप मेन्डिसले पनि नेपालले राम्रो ब्याटिङ गरेको बताए । ‘नेपालको ब्याटिङलाई बिर्सनु हुँदैन । तर ओमानले धेरै राम्रो खेल्यो’ खेलपछि मेन्डिसले भनेका छन् । त्यसमा सहमत ओमानका शतकधारी उपकप्तान अकिब इल्यास भने, ‘नेपाल पनि ब्याटिङमा राम्रो थियो । तर हामीले राम्रो शुरुवात गर्‍यौं । जसरी मैले खेलेँ, कप्तानले पनि राम्रो साथ दिए ।

यस सिरिजमा लगातार ३ खेल जित्दै ६ अंक जोडिसकेको ओमान अमेरिकालाई २ अंकले पछि पार्दै लिग २ को अंकतालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । ९ खेलबाट ओमनको १४ अक भएको छ । १० खेलबाट १२ अंकरहेको अमेरिका दोस्रो स्थानमा झरेको छ । ७ राष्ट्र सम्मिलित लिगमा २ खेलबाट २ अक जोडेको नेपाल छैटौं स्थानमा छ । यो सिरिजको अर्को टोली अमेरिकाले ओमान र नेपालसँगको खेल हार ब्‍यहोरिसकेको छ ।

ओमानका अकिब इल्यासले नेपाल विरुद्ध बनाएको शतक ओडीआईमा उनको पहिलोसमेत हो । उनले ब्याटिङमा शतक बनाउनुअघि बलिङमा समेत ४ विकेट लिएका थिए ।

ब्याटिङमा उनी ओपनर जतिन्दर सिंह आउट भएपछि क्रिजमा आएका थिए । नेपालका करण केसीले पहिलो ओभर मेडन फाल्दै नेपालको लागि सुखद संकेत देखाएका थिए । तर दोस्रो ओभरबाटै ओमानी खेलाडी नेपाल बलरमाथि हावी हुन थाले ।

१० ओभरको पावर प्लेमा ओमानका ओपनरद्वय जतिन्दर सिंह र खावर अलीले ४१ रन जोडे । नेपालले पहिलो विकेटका लागि १२औं ओभरसम्म कुर्नुपरेको थियो । अघिल्लो खेलमा अमेरिकाविरुद्ध ओडीआई डेब्यु गरेका कुशल मल्ले यस पटक नेपाललाई पहिलो विकेट दिलाए । उनले १२औं ओभरको दोस्रो बलमा २३ रन बनाएका ओपनर जतिन्दर सिंहलाई बोल्ड गरे । आउट हुनुअघि उनले ४१ बल खेल्दै ३ चौका प्रहार गरेका थिए ।

त्यसपछि तेस्रो नम्बरमा क्रिजमा गएका इल्यासले अर्का ओपनर खावर अलीसंग दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे ।  खाबरलाई सुशन भारीले १९औं ओभरको पाँचौ बलमा बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

तर इल्यास विजयी रन प्रहार गरेर मात्र क्रिजबाट बाहिरिए ।

ओमानलाई ८३-२ बाट जितसम्म पुर्‍याउन इल्यासले कप्तान मक्सुदसंग अविजित १६७ रनको साझेदारी गरे । ओमानको जितमा नायक बनेका इल्यासले त्यसअघि नेपालको ४ विकेट समेत लिएका थिए । उनले १०८ बल खेल्दै १२ चौका र १ छक्काको मद्दतमा अविजित १०९ रन बनाए । यस्तै कप्तान मकसुदले ७९ बल खेल्दै ८ चौका मद्दतमा अविजित ७९ रन बनाए ।

ओडीआईमा पहिलो शतक प्रहार गरेका अकिब इल्यासले शतकपछि टीयू मैदानमा ढोगे । खेल सकिएपछि पनि उनी निकै खुशी थिए ।

नेपालका लागि दुई विकेट लिनेमा कुशल मल्ल र सुशन भारी रहे । ग्लोबल स्टार छवि बनाएका सन्दीप लामिछाने यस पटक पनि विकेटविहीन भए । अघिल्लो १० ओभरमा सन्दीपले ६५ रन खर्चिए । खेलमा पनि ओमानविरुद्ध उनले विकेट लिन सकेका थिएनन् ।

यस्तै यसअघि दुवै खेलमा ४-४ विकेट लिएका करण केसीले पनि ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चिँदा विकेट लिन सकेनन् ।

ब्याटिङमा नेपालका उपपक्तान दीपेन्द्र सिंह ऐरीले बाहेक सबैले दोहोरो अंकमा रन जोडेका थिए । कप्तान ज्ञानेन्द्रले सर्वाधिक ५६ रन जोड्दा पूर्वकप्तान पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्ले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन जोडे । सन्दीप लामिछाने १० र डेब्युटान्ट कमल सिंह ऐरी ९ रनमा अविजित रहे । ओमानका लागि इल्यासले ४ विकेट लिँदा यसअघि दुवै खेलमा म्यान अफ दि म्याच बनेका मोहम्मद नदिमले ३ विकेट लिए ।

ओमानविरुद्ध नेपालले शुरुवात केही कदसम्म राम्रो गरेको थियो । पहिलो विकेटका लागि ज्ञानेन्द्र र सुवासले ४८ रनको साझेदारी गरे । त्यसपछि दोस्रो विकेटका लागि ज्ञानेन्द्रले पूर्वकप्तान पारससँग ५९ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि पारस  र ज्ञानेन्द्रको यो दोस्रो अर्धशतकीय साझेदारी हो । यसअघि गत वर्ष यो जोडीले दोस्रो विकेटकै लागि युएईविरुद्ध ६२ रनको साझेदारी गरेका थिए ।

नेपालको सर्वाधिक ठूलो साझेदारी भने छैटौं विकेटका लागि छ । यसै सिरिजमा शनिबार अमेरिका विरुद्ध कुशल मल्ल र विनोद भण्डारीले छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment