+
+

प्रधानसेनापति थापाले उद्घाटन गरे सेनाको पसल

सर्वसाधारणले पाउँदैनन् सामान किन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते २०:०२

१८ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा सुपथ मूल्य पसल उद्घाटन गरेका छन् ।

सैनिक कल्याणकारी कोषले सञ्चालन गरेको पसलको थापाले उद्घाटन गरेका हुन् ।

कोषको पहुँच र प्रभावकारिता अभिवृद्धि गरेर हिताधिकारीको आवासलगायत सेवालाई विस्तार गर्ने योजना अनुरुप एमईएसको हाताभित्र नवनिर्मित भवनमा सुपथ पसल सञ्चालनमा ल्याइएको सेनाको भनाइ छ । यसअघि सेनाले बसुन्धारामा पनि सुपथ पसल सञ्चालन गरिरहेको छ ।

प्रधानसेनापति थापाले जारी गरेको कमाण्ड मार्ग निर्देशनमा सैनिक कल्याणकारी कोषको पहुँच र प्रभावकारिता अभिवृद्धि गर्न हिताधिकारीको सेवाहरु विस्तार गर्ने योजना राखिएको थियो ।

पसललाई क्रमशः पृतना स्तरमा विस्तार गर्दैै लाने योजना रहेको उद्घाटन कार्यक्रममा बताइयो । पसलमा अन्यत्रभन्दा १० देखि २० प्रतिशतसम्म सस्तो दरमा सामान खरिद गर्न पाइनेछ ।

तर, सर्वसाधारणले भने यो सुविधा पाउने छैनन् ।

नेपाली सेनाले जस्तै अमेरिका, भारत, पाकिस्तान, बंगलादेश लगायतमा पनि सैनिकका लागि पसल सञ्चालित छन् । पाकिस्तान र बंगलादेशमा त्यस्ता पसल सर्वसाधारणका लागि पनि खुला छन् ।

उनीहरुले पसल चलाएवापत राज्यलाई कर पनि तिर्ने एक सैनिक अधिकृतले बताए । तर, अमेरिका र भारतका सैनिकले राज्यलाई कर तिर्नुपर्दैन ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार पसलबाट कोषका हिताधिकारी, कोषबाट तलब पाउने गरी नियुक्त गैरसैनिक कर्मचारी, रक्षा मन्त्रालयमा दरबन्दी भएका निजामति कर्मचारी र सैनिक विद्यालयमा अध्ययरत विद्यार्थीले मात्र सामान खरिद गर्न सक्नेछन् ।

पसलमा स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य सामानहरुको सङ्कलन तथा बिक्री वितरणबाट स्थानीय स्तरमा आर्थिक टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

पसलमा सैनिक पोशाक, दैनिक आवश्यकताका सामानहरु लत्ता कपडा, ग्रोसरी, खाद्य वस्तु, ईलेक्ट्रोनिक्स, खेलकुदका सामानहरु, स्टेशनरी, होम अप्लाइन्सका सामग्रीहरु, सौन्दर्य तथा औषधोपचार सम्बन्धी सामान, दुई पाग्रें तथा चार पाग्रें सवारी साधनलगायत अन्य सामानहरु उपलब्ध हुने उनले बताए ।

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?