Comments Add Comment

घरेलु मैदानमा नेपाली टिमको खेल हेर्न आतुर छन् फुटबल प्रशिक्षक

हामीले बेस्ट खेलाडी छानेका छौँ : योहान कालिन

१९ फागुन, काठमाडौं । ठीक एक वर्षअघि योहान कलिन नेपाल आएका थिए, नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीसंग दुई वर्षको सम्झौता गर्‍यो । तर, कलिनको प्रशिक्षणमा अहिलेसम्म नेपाली टिमले स्वदेशी भूमिमा अन्तर्राष्ट्रिय म्याच खेल्न पाएको छैन ।

कालिनको प्रशिक्षणमा नेपालले यो एक वर्षमा एक दर्जन खेल खेल्यो । तर सबै विदेशमा । जम्मा एक खेलमा मात्र जित निकाल्यो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई उसैको मैदानमा हराउनु कालिनको एक मात्र जित हो । अन्य खेलमा नेपालले कि बराबरी खेलेको छ कि त हारेको छ । विश्वकप छनोट अन्तर्गत नै नेपालले समूह बी मा खेलेको ५ मध्ये ४ खेलमा हार बेहोरेको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोटको दुई खेल नेपालले घरेलु मैदान खेल्दैछ । दोस्रो चरण अन्तर्गत नेपालले चैतमा चाइनिज ताइपेई र अष्ट्रेलियासंग खेल्नेछ ।

कालिनले नेपालमा हुन लागेका दुई खेलको प्रतिक्षामा रहेको बताए ।

‘दुई खेलका लागि हामी प्रतिक्षामा छौं  म आएपछि होम म्याच खेलेको छैन । घरेलु समर्थकको अगाडि खेल्न उत्साहित छौं’ कालिनले सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणपछि भने, ‘व्यक्तिगत रुपमा पनि म यसको प्रतिक्षामा छु,’ उनले भने ।

विश्वकप छनोटमा नेपालले यसअघि कुवेतविरुद्ध खेलेको थियो । होम म्याच भए पनि दशरथ रंगशाला पूर्ण रुपमा तयार नभएकाले नेपालले उक्त खेल न्यूट्रल भेन्युमा खेल्नुपरेको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा गएर खेलेको उक्त होम म्याचमा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले विश्वकप छनोटको चारवटै अवे म्याच खेलिसकेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला पूर्ण रुपमा तयार नहुँदा नेपालले कुवेत र जोर्डन विरुद्ध पहिले होममा खेल्ने तालिका उल्टाउदै अवेमा खेलेको हो ।

अवे चार र होमको एक गरि कूल पाँच खेलपछि नेपालले घरेलु मैदानमा खेल्न लागेको हो । कुवेतविरुद्ध भुटानमा भएको खेलमा राम्रो खेले पनि नतिजा आफ्नो पक्षमा पार्न नसकिएको कालिनले बताए ।

‘भुटानमा हामीले राम्रो खेलेका थियौँ, खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । तर हार्‍यौं,’ कालिनले भने ।

अब नेपालमा हुने खेलमा राम्रो प्रदर्शन गर्ने योजनासहित नेपालले आइतवार ट्रेनिङ शुरु गरेको छ । यसअघि नै एन्फाले राष्ट्रिय टिमको क्याम्पका लागि ३१ खेलाडीको नाम सार्वजनिक गरेको थियो । यसमा विदेशमा लिग खेल्ने ३ खेलाडी थपिने एन्फाले बताएको थियो । क्याम्पको सूचीमा नाम रहेका गोलकिपर एलन न्यौपाने अष्ट्रेलिया गएपछि उनको स्थानमा शहीद स्मारक ए डिभिजन लिगको उत्कृष्ट गोलकिपर बनेका मनाङ मर्स्याङ्दीका दीप कार्कीलाई बोलाइएको छ ।

नेपाली लिग बीचमै छाडेर माल्दिभ्स लिग खेल्न गएका फरवार्ड अभिषेक रिजाल पनि क्याम्पमा सहभागी भएका छन् । उनले सोमबार टिमसँगै ट्रेनिङसमेत गरेका थिए । यसबाहेक विदेशमा लिग खेलिरहेको किरण चेम्जोङ र रोहित चन्द पछि क्याम्पमा जोडिनेछन् ।

प्रशिक्षक कालिनले खेलाडीको हरेक विशेषतालाई हेरेर टिम छनोट गरिएको बताए । ‘खेलाडी हेर्दा हामीले फरक क्षेत्रमा हेरेका छौँ । यसअघिका प्रदर्शन हेरेका छौँ । उनीहरुले यसअघि कस्तो खेलेको छ हेरेका छौँ । लिगको प्रदर्शन पनि हेरेका छौँ,’ कालिनले भने ।

जम्मा दुई महिना जतिको ए डिभिजन लिग पछि क्याम्पका लागि खेलाडी छनोट गरिएको हो । यसमा लिगका उदीयमान खेलाडी दर्शन गुरुङले पहिलोपटक स्थान बनाउँदा केही खेलाडीले पुनरागमन गरे । केही नाम चलेकै खेलाडी भने टिममा परेका छैनन् ।

उनले ३४ जनाको ‘बेस्ट स्क्वाड’ छनोट गरेको बताए । ‘यो ट्रेनिङ स्क्वाड हो । हामी पछि फाइनल स्क्वाड छान्नेछौँ । केही नयाँ हुन सक्छ’ उनले भने ।

कालिनले लिग र अन्तर्राष्ट्रिय फुटबल खेल्नु धेरै फरक रहेको भन्दै केही खेलाडी लिगमा मात्र राम्रो हुने औंल्याए ।

‘अन्तर्राष्ट्रिय लेभलमा खेल्न सक्ने खेलाडी चाहिन्छ । घरेलु फुटबल लिग र अन्तर्राष्ट्रिय खेलमा धेरै फरक छ,’ कालिनले भने, ‘केही खेलाडीले लिगमा राम्रो गरेका छन् । तर अन्तर्राष्ट्रियमा केही कमी हुन सक्छ ।’

उनी क्याम्पमा परेका नयाँ खेलाडीहरुबाट पनि उत्सहित छन् । ‘हामीसँग केही नयाँ खेलाडी छन् । यो राम्रो हो । अब उनीहरुको प्रदर्शन कस्तो हुन्छ, हेर्न बाँकी छ ।’

भुटानमा कुवेतविरुद्ध खेल्न जाने अघिल्लो दिन नाइट क्लब काण्डमा परेका चार परेका चार खेलाडीमध्ये एकले मात्र क्याम्पमा स्थान पाएका छन् । ४५ दिनको निलम्बनपछि लिगमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्ट फर्केका हुन् ।

विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी भेन क्याम्पमै परेनन् । सन्तोषले पनि ४५ दिनकै प्रतिवन्धपछि लिगमा पुनरागमन गर्दै त्रिभुवन बर्मीबाट खेलेका थिए । ९० दिनको प्रतिवन्धमा परेका विमल र दिनेशले भने लिगमा जम्मा एक खेल मात्र खेल्न पाए । दिनेशले थ्री स्टारबाट खेलेका थिए भने विमलले अन्तिम खेल मछिन्द्रबाट खेल्दै लिग उपाधि नै जितेका थिए ।

कालिनले विमल लगायत खेलाडी नपर्नुमा अनुशासनको कारण मात्र नभएको बताए ।

‘हामीले फिट खेलाडीहरु छानेका छौँ । अनुशासन पनि टिमको मुख्य पाटो हो,’ कालिनले भने, ‘अनुशासन महत्वपूर्ण विषय हो । पिचभित्र र बाहिर पनि खेलाडी अनुशासित हुनुपर्छ ।’

विदेशमा लिग खेलिरहेका दुई खेलाडीको विषयमा सोध्दा कालिनले क्लबसंग छलफल भइरहेको तर कहिले आउने थाहा नभएको बताए ।

‘किरण भारत र रोहित इन्डोनेसियामा खेलिरहेका छन् । क्लबसँग छलफल भइरहेको छ । क्लबले रिलिज गरेपछि आउँछन्,’ कालिनले भने ‘हामी महत्वपूर्ण खेलाडी संगै होउन् भन्ने चाहन्थ्यौ । सबै अपेक्षा पूरा गर्न सकिन्न । हाम्रो खेलाडी विदेशमा खेल्नु राम्रो हो । अहिले हामीले यहाँ केन्द्रित हुनुपर्छ,’ उनले भने ।

नेपालमै भएका खेलाडी पनि नकआउट टुर्नामेन्टहरुले गर्दा क्याम्पमा आउन ढिला भइरहेको छ । यस्तै मोफसलको टुर्नामेन्टले गर्दा नै नेपाली टिमको क्याम्पसमेत दुई साता पछि धकेलिएको थियो । यहाँको क्लब र टुर्नामेन्टको अवस्था बुझेको भन्दै यसको समाधान आपूसंग नभएको कालिनले भनाई छ ।

समूहमा चोथो हुने लक्ष्य

पाँच टिम रहेको समूह बी मा अहिले नेपाल ३ अंकसहित चौथो स्थानमा छ । अपराजित अष्ट्रेलिया ४ खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रोमा छन् । अंकविहिन चाइनिज ताइपेई पूछारमा छ ।

शीर्ष स्थानमा रहेको टिम विश्वकपको तेस्रो चरणमा र एसिया कपमा सिधै छनोट हुनेछ । यस्तै दोस्रो हुने टिमले पनि विश्वकपको तेस्रो चरण र एसिया कप पुग्ने सम्भावना हुन्छ । बाँकी तीन टिमले कम्तिमा एसिया कपको छनोट खेल्ने मौका पाउनेछन् । तर अन्तिम स्थानमा रहने टिम एसिया कप छनोट खेल्ने सम्भावना न्यून हुन्छ ।

अहिले छनोटमा कूल एसियाका ४० टिमले खेलिरहेका छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । समूह विजेता ८ र उत्कृष्ट ४ समूह उपविजेता गरी कूल १२ टिम सिधै एसिया कप पुग्नेछन् । त्यही १२ टिमले विश्वकपको तेस्रो चरणको छनोट पनि खेल्नेछन् । यो दुवै बाटो नेपालको लागि कठिन बनिसकेको छ ।

त्यसैले अब नेपालको लक्ष्य कम्तीमा पनि एसिया कपको छनोटसम्म पुग्ने रहेको छ । समूहमा अन्तिम नभएमा नेपालको लक्ष्य पूरा हुनेछ ।

प्रशिक्षक कालिनले पनि चौथो स्थानमा रहने लक्ष्य राखेको बताए ।

‘हामी धेरै खेल जित्न चाहन्छौँ । आगामी खेलमा अंक जोड्दै समूहमा चौथो स्थानमा रहने लक्ष्य छ । नेपालले यही मार्च २६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अष्ट्रेलियासंग खेल्ने तालिका छ । नेपालले यसअघि यो लेभलको ‘टफ गेम’ सायदै खेलेको कालिनले बताए ।

‘हामीले आफ्नो लेभल अनुसार खेल्नु जरुरी छ,’ कालिनले भने, ’हामी कहाँ छौँ पनि हामीले हेर्नुपर्छ । हामी दुई खेलका लागि तयार हुनुपर्छ ।’

उनले अष्ट्रेलिया र नेपालको लेभल फरक रहेकाले तुलना गर्न नमिल्ने बताए । ‘अष्ट्रेलियासँग खेल्नु फरक छ । उनीहरुको लेभल धेरै माथी छ । तुलना गर्नु राम्रो होइन । त्यहाँ प्रिमियर लिग र बुण्डेसलिगाका खेलाडी छन्,’ कालिनले भने । यसअघि अवेमा खेल्दा नेपालले अष्ट्रेलियासंग राम्रो खेलेको उनले बताए । (सो खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।)

अहिले विश्वभर चासोको विषय बनेको कोरोना संक्रमणले नेपालको आगामी खेललाई असर पार्न सक्ने सम्भावना समेत रहेको छ । एसियाका विभिन्न प्रतियोगिताहरु देखि युरोपको लिग समेत यसले प्रभावित तुल्याइरहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत मानिसको स्वाथ्य भन्दा ठूलो विषय अरु केही नरहेको भन्दै अन्तर्राष्ट्रिय खेल तालिका सार्ने अवस्था आउन सक्ने बताएका छन् ।

प्रशिक्षक कालिन यस बारेमा आफूलाई भन्दा टिम फिजियोलाई जानकारी हुने बताउँछन् । यदी सुरक्षाको कारण खेल सर्ने अवस्था आए त्यसमा केही गर्न नसकिने उनको भनाइ छ ।

‘समथिङ इज बिगर देन फुटबल’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment